भारतको कर्नाटक राज्यमा बुद्ध धर्म

Razen Manandhar
14 min readJan 8, 2024
Ashoka Inscrition at Bramhagiri, Karnataka

राजेन मानन्धर

कर्नाटक अथवा कर्णाटक भारतको दक्षिण–पश्चिममा अवस्थित एक राज्य हो । यसको पश्चिममा अरब सागर, उत्तर–पश्चिममा गोआ, उत्तरमा महाराष्ट्र, पूर्वमा आन्ध्र प्रदेश, दक्षिण–पूर्वमा तमिल नाडु अनि दक्षिणमा केरल रहेका छन् । यसको कुल क्षेत्रफल १,९१,९७६ वर्ग कि.मी. छ, यस अनुसार यो नेपालभन्दा केही ठुलो छ । यस राज्यको राजधानी बंगलुरु वा बैङलोर शहर हो अनि यहाँको नवीनतम जिल्ला विजयनगर हो । यहाँको आधिकारिक तथा सर्वाधिक बोलिने भाषा कन्नड़ हो । यो राज्य रेशम, मसला तथा चन्दन काठको लागि प्रशिद्ध छ । यसका साथै यहाँ भएका वन्य जीवजन्तु र राष्ट्रिय निकुञ्ज, सम्पदा स्थल, तीर्थस्थल तथा समुद्र तटको कारणले यो अहिले भारतकै एक सफल पर्यटक केन्द्रको रुपमा पनि विकसित हुँदैछ ।

कर्नाटक प्राचीन एवं मध्यकालीन युगमा एक समृद्ध तथा शक्तिशाली साम्राज्य थियो । यहाँको प्राचिन इतिहास ३००० ई.पू पुरानो सिन्धु घाटीको सभ्यतासँग जोडेर हेर्ने गरिन्छ । पहिला यो नन्द वंशको अधिनमा थियो अनि तृतीय शताब्दी ई.पूमा यो राज्य मौर्य वंशका सम्राट अशोकको अधीनमा आयो । त्यसपछि करिब ४०० वर्ष जति सातवाहन वंशको शासनमा रह्यो । त्यस पछिको समयमा कदम्ब वंश तथा पश्चिम गंग वंशको अधिपत्य रह्यो । त्यसपछि बादामी चालुक्य वंश, पश्चिमी चालुक्य वंश, होयसाल वंश आदिको नाम इतिहासमा आउँछ । १०औ शताब्दीमा यहाँ चोल वंशले शासन गर्यो । त्यसपछि १४औं शताब्दीमा विजयनगर साम्राज्य स्थापना भएको पाइन्छ । मुस्लिमहरु १०औ शताब्दीमा कर्नाटक छिरे अनि सन् १५६५ मा समस्त दक्षिण भारत सहित कर्नाटक इस्लामी शासनको अधीन भयो । १७औ तथा १८औं शताब्दीमा यो मराठा साम्राज्य अन्तर्गत पर्यो । भारत स्वतन्त्र हुनु अगाडिसम्म यस क्षेत्रमा मैसुर नामक एक शक्तिशाली राज्य थियो । स्वतन्त्रता पछि यस क्षेत्रमा रहेका विभिन्न ससाना राज्यहरको एकीकरण गरिएको थियो र सन् १९७३ मा यसको नाम कर्नाटक राखियो ।

भारतको कर्नाटक राज्यमा बौद्ध धर्मको इतिहास समृद्ध र गौरवमय छ । यसको प्रशंसा अहिले जो कोही भारतीय पनि गर्न चाहन्छ । यहाको इतिहासको खोतल्दै जाँदा प्राचीन कालसम्म पुगिन्छ । यहाँ यस्ता थुप्रै पुरातात्विक स्थलहरु छन् र त्यहाँ त्यस्ता अनगिन्ती शिलालेख आदि प्रमाणहरु पाइएका छन् जसले यस राज्यमा बुद्ध धर्मको प्रसार धेरै अगाडि नै भएको र त्यहाँको राजनीति तथा सामाजमा यसले धेरै गहिरो प्रभाव पारेको भन्ने बारे जानकारी प्रदान गर्छ ।

प्रारम्भिक काल
कर्नाटकमा बुद्ध धर्मको प्रारमिभक इतिहास सम्राट अशोक (तेश्रो शताब्दी ईसा पूर्व)को समयदेखि पाउन सकिन्छ । अशोकले बुद्ध धर्मको महत्व बुझेपछि आफ्नो बाँकी जीवन यसै धर्मलाई विश्वभरी प्रचार गर्ने नै जीवनको एक मात्र उद्देश्य बनाए । यसको प्रचारका लागि उसले कल्पना गर्न सक्ने ठाउँ जतिमा धर्मदूतहरु पठाए । यसमा कर्नाटक क्षेत्र लगायतमा ठाउँहरु समेत परेको देखिन्छ ।

मौर्य तथा सातवाहन काल
मौर्य तथा सातवाहन कालमा कर्नाटकमा बौद्ध विहारहरु तथा स्तूपहरुको निर्माण व्यापक रुपमा भएको पाइन्छ । यसले त्यहाँ बुद्ध धर्मको प्रचारले गति लिइसकेको देखाउँछ । यसका साथै यस बेला धेरै बौद्ध भिक्षुहरु तथा विद्वानहरु पनि बौद्ध दर्शनको के प्रचार–प्रसारमा सक्रिय भएर लागेको देखिन्छ ।

विजयनगर साम्राज्य
विजयनगर साम्राज्य (१४औंदेखि १७औं शताब्दी) सम्म पनि कर्नाटकमा बुद्ध धर्मले स्थान जमाइरहेको पाइन्छ, जब कि यसबेला भारतका अन्य राज्यहरुको बुद्ध धर्म लोप नै भैसकेको अवस्था थियो । कर्नाटकको बुद्ध धर्मको अध्ययन गर्दा यस विषयमा ध्यान दिनु जरुरी छ । यो अवधि भनेको त यहाँको इतिहासमा बुद्ध धर्मको दृष्टिकोणबाट एक महत्वपूर्ण अवधिको रुपमा लिनु पर्छ । हुन त त्यसबेला भारतमा वैदिक धर्मले पुनरुत्थान पाइसकेको थियो, तर पनि विजयनगर साम्राज्यका शासकहरु धार्मिक सहिष्णुता कायम राख्न सफल थिए । उनीहरुले सबै धर्मलाई समान व्यवहार गरेको कारणले गर्दा त्यहाँ बौद्धहरु सहित विभिन्न धार्मिक समुदायका मानिसहरुले राज्यको नजरमा समान व्यवहार पाइरहेको थियो र हिन्दु लगायतका अन्य धर्मले पनि संरक्षण पाइरहेको थियो ।

कर्नाटकका पुरातत्व स्थलहरु
कर्नाटक राज्यमा थुप्रै पुरातात्विक अवशेषहरु भेटिएका छन् जसले प्राचीन कालमा यो एक महत्वपुर्ण बौद्ध केन्द्रको रुपमा विकास भएको थियो भन्ने प्रमाणित गर्दछ । यस क्षेत्रमा पाइएका शिलालेखहरु तथा और स्तूपहरुको अवशेषले यहाँ कुनै बेला बुद्ध धर्मको राम्रो प्रचार प्रसार भएको देखाउँछ यहाँका बौद्ध संरचनाहरुको उपस्थितिको कारणले कर्नाटक सरकारले यसको संरक्षणमा विशेष पहल गरेको देखिन्छ ।

अशोक अभिलेख
भारतमा ईशा पूर्व २६८ देखि २३२का बिचमा शासन गरेका सम्राट अशोकले भारतमा बुद्ध धर्मको विकास र प्रचार प्रसार गरेर युगान्तकारी भूमिका निर्वाह गरेको छ । उनले ठाउँ ठाउँमा आफ्नो विचार र सन्देश सहित राखेर गएका यस्ता शिलालेखहरु नै आज उनले बुद्धधर्मको विकासमा गरेका योगदानका साक्षी बनेका छन् ।

कर्नाटकमा उनको शिलालेख जम्मा ११ वटा पाइएका छन् । ती मध्ये केही चित्रदुर्ग जिल्लाका ब्रह्मगिरि, सिद्धपुरा र जतिंगामा, कोप्पला जिल्लाको कोप्पलामा तथा रायचुर जिल्लाको मस्कीमा पाइएका हुन् । यिनीहरु सबैमा प्राकृत भाषा तथा ब्राह्मी लिपि प्रयोग गरिएका छन् । यी शिलालेखहरु मूलतः बुद्ध धर्मका सिद्धान्तहरु जीवनोपयोगी ढंगले प्रचार गर्न तथा राजा अशोक आफुले भोगेका संघर्ष तथा भगवान बुद्धको बारेमा आफुलाई लागेको कुरा राखेका हुन्छन् । ती मध्ये रायचूरमा पाइएको अभिलेखमा उनको नाम अशोक भनेर उल्लेख गरिएको छ (प्रायः उनका अभिलेखमा उनी आफूलाई देवानाम प्रिय मात्र भनेर सम्बोधन गराउँथे) ।

राजघट्टा
बैंगलोर भन्दा अलिकती बाहरी क्षेत्रमा अवस्थित एक सानो गाउँ राजघट्टामा केही महायानी बौद्ध चैत्य, धर्मागार तथा विहारका अवशेषहरु पाइएका छन् । ती अवशेषहरुले त्यो स्थान
ईस्वीको दोश्रो देखि ७आंै शताब्दीसम्म एक उन्नत बौद्ध बस्ती थियो भन्ने प्रमाणित गरेको छ । यहाँका संरचनाहरु काँचो माटोले बनाएको तथा केही ग्रेनाइटका स्तम्भ हरु पनि छन् । यसका साथै यहाँ सयौं साना साना माटोबाट बनाइएका स्तूपहरु पनि पाइएका छन् जसमा ब्राह्मी लिपिबाट महत्वपूर्ण बुद्ध वचनहरु समेत कुँदिएका छन् । यी अभिलेखहरुले यी बौद्ध स्मारकहरु महायानी बुद्ध धर्मको अभ्यास गर्नेहरुले प्रयोगमा ल्याउने भएकोले यहाँ त्यसबेला महायानी बुद्ध धर्मको प्रचार भएको थियो भन्ने जनाउँछ । यहाँ केही अस्थि सहितका कलशहरु पनि पाइएका छन् ।

यसले बैंगलोरमा महायान बुद्ध धर्मको इतिहास उजागर गर्ने मात्र होइन, यसले त त्यो भन्दा पनि समस्त कर्नाटक राज्य र अझ दक्षिण भारतमा बौद्ध समाज तथा बौद्धहरुको जनजीवनका बारे अध्ययन गर्नेहरुका लागि महत्वपूर्ण जानकारी दिन्छ । अचम्मको कुरा यो हो कि संसारमा बुद्ध धर्मको यति धेरै प्रचार भइसक्दा पनि, अनि भारतमै पनि बुद्ध धर्मको पुनरुत्थान भइसक्दा पनि यस स्मारक क्षेत्र करिब १५०० वर्ष सम्म लुप्त अवस्थामा रहिरह्यो । यो स्थान सन् २००१ ÷ २००४ तिर मैसूर विश्वविद्यालयको पुरातत्व विभागका प्रोफेसर एम. एस. कृष्णमूर्तिले पत्ता लगाएको थियो ।

कादरी मञ्जूनाथ मन्दिर
कर्नाटक राज्यको मैंगलोर स्थित कादरी मञ्जुनाथ मंदिर भारतकै केही प्रशिद्ध मन्दिरहरु मध्ये एक हो । यहाँको कादरीको पहाडमा अवस्थित यस मन्दिरमा पुजिने मुख्य देवता भनेको बोधिसत्व लोकेश्वर हो । यो करिब ६ फिट अग्लो, तीनवटा टाउको भएको, छ वटा हात भएको मूर्ति हो जसको शीरमा ध्यानी बुद्धको मूर्ति राखिएको छ । मुख्य मूर्तिको दायाँ बायाँ दुइ ससाना मूर्तिहरु पनि राखिएका छन् । त्यस्तै दायाँ बायाँ भएका अवलोकितेश्वरलाई नारायण अनि बुद्धलाई वेदव्यास भनेर सम्बोधन गर्ने गरिन्छ । यो मुख्य मूर्ति मञ्जुश्रीको हो र यिनैको नामले यसलाई मञ्जुनाथ भनिएको हो भनेर अहिले बौद्ध विद्वानहरुले व्याख्या गर्ने गरेका छन् ।

यहाँ पाइएको सन् ९६८को अभिलेखका अनुसार अलुपा वंशका राजा कुंडवर्माले कादरिका विहारमा लोकेश्वरको यो मूर्ति स्थापित गरेको थिए । यसै अभिलेखको आधारमा यसलाई लोकेश्वर भनिएको हो । यस मन्दिरलाई दक्षिण भारतीय मंदिरहरु मध्ये सबैभन्दा पुरानो भनेर पनि भनिन्छ । अहिले यसको मध्य भागमा शिवलिङ्ग स्थापना गरिएको छ र यसैको आधारमा यो अहिले शिव मन्दिर बनेको छ । यसै आधारमा मञ्जुनाथ भनेकै शिवको नाम भनेर भन्ने गरिएको हो ।

यहाँ १०औं शताब्दीसम्म बुद्ध धर्म प्रचलनमा रहेको र पछि यसको अवसान भएपछि नाथ सम्प्रदायको उदय भई ती बौद्ध मूर्तिहरुलाई नाथ देवताको रुपमा पुज्न थालिएको कुरा त्यहाँका हिन्दुहरु पनि स्वीकार्छन् । विद्वान लेखक एम गोविन्द पाइले यो मन्दिर पहिले वज्रयान विहार भएको र अहिले मञ्जुनाथ शिवसँग सम्बन्धित हुनआएको कुरा लेखेका छन् ।

त्यहाँको एन्कोला शहर नजिकैको बबरुवाडा भन्ने ठाउँमा पहिले बुद्धको करिब चौथो वा ५औं शताब्दीको बुद्ध मूर्ति थियो जसलाई बबरु भन्ने स्थानीय देउताको मूर्तिको रुपमा पुजा गरिन्थ्यो । तर सन् २००७ पछि यो मूर्ति पुरानो भयो भनेर यसको सट्टामा उनै जस्तो अर्को नयाँ मूर्ति ल्याएर पुजा गर्न थालियो जुन कुनै जैन मुनिको मूर्ति जस्तो देखिन्छ ।

त्यस्तै त्यहाँ उडुपी जिल्लाको कपु बस्ती नजिकै मुलुर भन्ने बस्तीमा उष्णीष सहितको भूमिस्पर्ष मुद्रामा रहेको बुद्ध मूर्ति छ । यसलाई आजभोलि धातुले मोडेर धातुकै आँखा लगाइदिएर कृष्ण भनेर पुजा गर्ने गरिन्छ । र यस देउताले कुष्ठरोग निको पार्न सक्छ भन्ने विश्वास पनि स्थानीयहरुले लिने गरेको छ ।

ऐहोले
कर्नाटकको इतिहासको कुरा गदा चालुक्य वंशको उल्लेख गर्नुपर्छ । चालुक्य वंशले ६औँ देखि १२औँ शताब्दीको बीचमा दक्षिणी र मध्य भारतको ठुलो भागमा शासन गरेको थियो । यस युगलाई कर्नाटकको इतिहासमा स्वर्ण युगको रूपमा पनि मानिन्छ ।

अहिलेको कर्नाटक राज्यकोे एहोले चालुक्य साम्राज्यको सबैभन्दा पुरानो मन्दिरहरुको शहर थियो । यहाँको बागलकोट जिल्लाको मलप्रभा नदीको उपत्यकामा फैलिएको यस क्षेत्रमा १२० भन्दा बढी ढुंगाका मूर्तिहरु, अवशेषहरु तथा गुफाहरु पनि छन्, जसले यस क्षेत्रको इतिहासका पानाहरु पल्टाइदिन सक्छन् । बुद्ध धर्मको इतिहासको अध्ययन गर्न पनि यो क्षेत्र धेरै महत्वपूर्ण छ । यो नै कर्नाटक राज्यको एक मात्र यस्तो स्थान हो जहाँ एक प्राचीन बौद्ध विहारको संरचना अहिले पनि उपस्थित देखिन्छ । यहाँ बौद्ध, हिन्दु तथा जैन मठ मन्दिरहरु पाइन्छन् जुन ईस्वीको चौथो देखि १२औं शताब्दी भित्र चालुक्य शासकहरुले बनाउन लगाएका थिए । त्यसमा अहिले पाइने भनेको अधिकांश ७औं देखि १०औं शताब्दीका अवशेषहरु हुन् ।

यहाँ बुद्ध धर्मको प्रवेश बुद्धकालीन ऋषि बावरीका शिष्यहरु माध्यमबाट भएको भन्ने आधारमा यहाँका बुद्ध धर्मका अवशेषहरु सम्राट अशोक भन्दा पहिलेका पनि हुन सक्ने सम्भावना छ । त्यस्तै यहाँ बुद्ध धर्मको अन्त्य भएको समयसम्मका अवशेष भएकोले भारतको बुद्ध धर्मको उदय र विलयको ऐतिहासिक प्रमाण पाउन सक्ने कुरामा इतिहासकारहरु आशावादी छन् । अहिले यहाँ पाइएका थुप्रै पुरातात्विक मूर्ति इत्यादि अवशेषहरु यहाँका असुरक्षित हुने देखिएकोले स्थानीय ऐहोले संग्रहालयमा राख्न लगिएको छ ।

मेगुती पहाडका बौद्ध चैत्य विहार
एहोले उपत्यका नजिकै मेगुती पहाडमा ६औं शताब्दी ईस्वीका बौद्ध चैत्य तथा विहार पाइएका छन् । यहाँको दुइतल्ले भवन जस्तो संरचना भित्रका कलात्मक बुद्ध मूर्तिहरु तथा अन्य बुट्टाहरु अहिले पनि सुरक्षित छन् । यहाँको एक बुद्ध मूर्तिको माथि तीन तह भएको छाता रहनुले यहाँ त्यसबेला महायानको बलियो पकड रहेको देखाउँछ । त्यस्तै यहाँ विभिन्न ठाउँमा बुद्ध जीवनीका विभिन्न घटनाहरु दर्शाउने चित्र कोरिएका छन् । यसमा बुद्धको महाअभिनिष्क्रमण, धर्मचक्र प्रवर्तन, नलगिरि हात्तीलाई दमन गरेको, देवदत्तले आक्रमण गरेको इत्यादि छन् । त्यस्तै यहाँ बुद्धको पूर्वजन्मका जातक कथाहरु चित्रित छन् । यहाँ कतिपय बुद्ध मूर्तिहरु शिर काटिएको अवस्थामा पनि फेला परेका छन् । अनि यहाँ बौद्धका साथै यहाँ केही जैन मन्दिरहरु वा अवशेषहरु पनि पाइएका छन् ।

मध्य कर्नाटक (धारवाड, गडग र कोप्पल)
मध्य कर्नाटकका जिल्लाहरु धारवाड़, गडग र कोप्पलमा पनि १०औं देखि १२औं शताब्दीका बौद्ध सभ्यताका अवशेषहरु पाइएका छन् । यहाँ पाइएका बुद्ध मूर्ति तथा मन्दिर वा विहारका अवशेषहरु यसकारण पनि महत्वपूर्ण छन् कि यिनीहरुले भारतमा बुद्ध धर्म लोप हुँदै गइरहेको अवस्थाको चित्रण गर्दछ । यहाँका ऐतिहासिक सामाग्रीले भारतमा त्यसबेला प्रचलित वज्रयान बुद्ध धर्मको आस्था, दर्शन र अभ्यासका केही पाटाहरु देखाउँछ । यहाँ विशेष गरेर तारा तथा अवलोकितेश्वरका मूर्तिहरु पाइएका छन् जसले वज्रयानको उन्नत उचाइलाई प्रतिविम्बित गर्छ ।

त्यसबेलाको समयलाई धार्मिक सद्भावको युग पनि भनिन्छ । यस समय समाजमा व्याप्त रहेका चारवटा धर्महरु — शैव धर्म, वैष्णव धर्म, जैन धर्म र बुद्ध धर्मलाई त्यहाँका शासकहरुले समान दृष्टिले हेर्थे र सबैलाई आआफ्नो धर्ममा आस्था राख्ने स्वतन्त्रता थियो ।

गडग जिल्लामा स्थित दम्बल भन्ने ठाउँमा प्राप्त ११औं शताब्दीको एक शिलालेखबाट पनि त्यस समयको समाजमा बुद्ध धर्मको अवस्थाको बारेका धेरै कुरा थाहा पाउन सकिन्छ । यसमा भएका कुराले त्यससमय मानिसहरुमा विहार निर्माणका लागि धर्म चित्त उत्पन्न हुने तथा त्यस समय यहाँ थुप्रै बौद्ध विहारहरु थिए भन्ने कुरा देखाउँछ । यो शिलालेख अहिले लक्कुण्डी संग्रहालयमा राखिएको छ ।

बेलगाभी
कर्नाटक राज्यको के शिमोगा जिल्लामा अवस्थित एक गाउँको नाम बल्लीगावी वा बेलगाभी हो । यहाँ अहिले बुद्ध धर्मको अवशेष केही देखिँदैन तर पनि माध्यमिक कालमा यो ठाउँ बुद्ध धर्मको अध्ययनको एक केन्द्र थियो भन्ने कुरा अहिले प्राप्त केही पुरातात्विक अवशेषहरुले देखाउँछ । यहाँ अवलोकितेश्वर, तारा तथा अन्य योगिनीहरुको मूर्तिहरु भेटिएका छन् । ती मध्ये कतिपय भने शिर छेदन गरिएका वा अङ्ग भङ्ग भएका मूर्तिहरु पनि छन् । यहाँ भेटिएको ताराको एउटा मूर्ति ४ फिटसम्म अग्लो छ ।

यहाँ महायान तथा वज्रयान जस्ता बुद्ध धर्मका मतहरुको अध्ययन र अध्यापन गरिन्थ्यो । त्यसका साथैं शैववाद, वैष्णववाद, वैदिक ब्राह्मणवादका साथै जैन धर्मको पनि अध्ययन गर्ने ठाउँ थियो । यहाँ पाइएका १०औ तथा १२औं शिलालेखहरुले यहाँ विभिन्न धर्म तथा दर्शनको केन्द्र बनेको थियो भन्ने बुझाउँछ ।

बनवासी
कर्नाटक राज्यमों सिरसी नजिकको एक प्राचीन मंदिर भएको शहर बनवासी हो । कुनै बेलामा कदम्ब साम्राज्यले कर्नाटक क्षेत्रमा शासन गर्दा बनवासीलाई राजधानी राजधानी बनाएका थिए । यो उत्तरी कर्नाटक क्षेत्रको शहर सिरसीबाट २४ किलोमिटर टाढा छ ।

सम्राट अशोकको पाला अर्थात् ईशापूर्व तेश्रो शताब्दीदेखि नै कर्नाटकमा बनवासी बुद्ध धर्मको एक केन्द्र बनिसकेको थियो । उनले विभिन्न प्रदेशमा धर्मदुत पठाएका मध्ये बनवासी पनि एक हो भनेर ग्रन्थहरुले उल्लेख गरेका छन् । यसबेला बुद्ध धर्मको विकास भएको यो क्षेत्र ११औं वा १२औ शताब्दीसम्म पनि बुद्ध धर्मको एक केन्द्र बनिरह्यो । पहिले श्रावकयानको अधिपत्य रहेको यस स्थानमा पछि महायान तथा वज्रयान जस्ता मतको पनि विस्तार हुँदै गयो । सातौं शताब्दीमा भारतको भ्रमण गर्न आएका चीनियाँ भिक्षु हुएनसाङ वा जुआनजÞैंगले पनि यस क्षेत्रको भ्रमण गरको कुरा उल्लेख गरेका थिए । त्यसबेला उनले यसलाई कोंग–किएन–ना–पु–लो (कोंकणापुरा) भन्ने नाम सुनेका थिए । उनले यस क्षेत्रमा धेरै बौद्ध स्तूपहरु तथा विहारहरु देखेको भनेर लेखेका थिए ।
कालान्तरमा यस क्षेत्रको महत्व हराउँदै गयो र मानिसहरुले बुद्ध धर्मसँगसँगै यहाँको इतिहासलाई समेत बिर्से ।

कल्या गुफाहरु
भारतको महाराष्ट्रमा जस्तै केही बौद्ध गुफाहरु कर्नाटकमा पनि पाइएका छन् । तीमध्ये एक कल्या गुफाहरु पनि हो । बैंगलोरको बाहिरी क्षेत्रमा मगदी नजिकै रहेको कल्या गुफाले यहाँको उन्नत बौद्ध सम्भता, कला र संस्कृतिको झल्को दिन्छ । यहाँ पाइएको यसबेलाको एक अभिलेखमा यस स्थानको नाम ’बौद्ध–आवास–महा–पुरी कलावती’ देखिन्छ । यहाँ बौद्ध सम्पदाहरु यति बेवास्ता गरिएका छन् कि यहाँको कल्लेश्वर गुफा भित्र एउटा बोधिसत्वको मूर्ति टाउको मात्र देखिने गरेर ढलान नै गरेर छोपिदिएको छ । अझ यहाँ भएका केही मूर्तिहरु १६औशताब्दीका भएकोले यसले भारतका बुद्ध धर्म यस बेलासम्म बलियो थियो भन्ने समेत प्रमाण दिन्छ । सामान्यतया भारतमा १२औं शताब्दी पछि बुद्ध धर्म कमजोर हुँदै गएको मानिन्छ ।

यो स्थानमा बौद्धहरुका साथै जैन, शैव योगीहरु तथा वैष्णवहरु पनि आउने गर्थे ।

बदामी गुफाहरु
कर्नाटकको मलप्रभा नदीले बनाएको उपत्यकामा एक सानो शहर बदामी अवस्थित छ । यो स्थान पहिले ६औं र ७औं शताब्दीमा चालुक्य साम्राज्यको राजधानी थियो । यहाँ पहाडी चट्टानमा थुप्रै गुफाहरु तथा मन्दिरहरु बनाइएका छन् । यिनीहरु अजन्ता र एलोराका गुफाकलाबाट प्रेरित भएर बनाइएका भनेर समेत भनिन्छ । यहाँ भित्र थुप्रै बौद्ध मूर्तिहरु छन् । त्यसमध्ये एक पद्मपाणि अवलोकितेश्वरको मुर्ति ढुँगाको भित्तामा कुँदिएको छ ।

यो ठाउँमा बौद्धका साथै शैव, वैष्णव तथा जैन धर्मका मूर्ति वा कलाकृतिहरु पनि कुँदिएका छन् ।

कर्नाटकको कला र संस्कृतिमा बुद्ध धर्मको प्रभाव
कर्नाटकको कला र संस्कृतिमा बुद्ध धर्मको गहिरो प्रभाव परेको देखिन्छ । त्यसै कारण त अहिले त्यहाँ बुद्ध धर्म आफै लोप भइसक्दा पनि उनीहरुको बुद्ध धर्मसँगको प्रगाढ सम्बन्ध अहिलेको कला र संस्कृतिमा कुनै न कुनै तरिकाबाट झल्किरहेको पाइन्छ । यस क्षेत्रमा पाइएका विभिन्न मूर्तिहरु र अन्य कलाकृतिहरुले त्यहाँको ऐतिहासिक महत्व प्रतिविम्बित गरिरहेका छन् । यहाँका बौद्ध संरचनाहरु त्यस्ता अवशेषहरु हुन् जसले कुनै बेलामा यहाँको सभ्यता र सांस्कृतिक इतिहास कति बलियो तथा उन्नत भइसकोको थियो भन्ने कुरा सम्झाइरहन्छ ।

बुद्धधर्मको विलय र पुनरुत्थान
भारतका अन्य राज्यहरुमा जस्तै कर्नाटकमा पनि बुद्ध धर्म विस्तारै कम प्रभावशाली हुँदै गयो । सरसरी हेर्दा कर्णाटकमा ७औं शताब्दीमा बुद्ध धर्मको प्रभाव कम हुँदै १२औ शताब्दीसम्म पुग्दा विलय जस्तै भइसकेको देखिन्छ । यति विशाल र गौरवमय इतिहास बोकेको कर्नाटकको बुद्धधर्म विलय जस्तै भएर जानुका थुप्रै कारणहरु हुन सक्छन् । इतिहासकारहरु विशेष रुपमा विधर्मीहरुको बाहिरीे आक्रमण र बुद्धधर्मलाई राजनीतिक संरक्षण नहुनुलाई यसको कारण भनेर व्याख्या गरिन्छ ।

जुन देशमा भगवान बुद्धले ज्ञान लाभ गर्नुभयो, समस्त विश्वका लागि भनेर धर्मचक्र प्रवर्तन गर्नुभयो र जीवन को अन्तिम क्षण सम्म पनि धर्मदेशना गरेर बिताउनुभयो त्यही देशमा बुद्ध शिक्षाको छाँया समेत बाँकी नरहनुलाई सामान्य मान्न सकिन्न । यसै कारण पनि भारतीय एवं विदेशी इतिहासकार तथा विश्लेषकहरुले यसको बारेमा चर्चा परिचर्चा गर्न थालेको पनि सय वर्ष जस्तै भइसक्यो । तर पनि यसको सबैलाई चित्त बुझ्ने सबैले स्वीकार्ने तथ्य निस्केको जस्तो लाग्दैन । भारतीय विद्वानहरुले त प्रायः जसो ठाउँमा मुख्य कारणलाई स्पष्टसँग नभनी कुरा घुमाएर सबैलयाई रणभुल्लमा पारेको जस्तो समेत देखिन्छ ।

यद्यपि अहिले भने कर्नाटकमा बुद्ध धर्मको नामनिशानै बाँकी छैन भन्नु पर्ने अवस्था छैन । व्रिटिश इतिहासकारहरु तथा पुरातत्वविद्हरुले यहाँका विभिन्न ठाउँमा गरेका उत्खनन् र अध्ययन, शिलालेखहरुको अनुवादले भारतीयहरुको पनि ध्यान आकर्षण भयो । र अन्तर्राष्ट्रिय जगतमा बुद्ध शिक्षालाई महत्व दिन थालेदेखि भारतीयहरुले पनि यसलाई नदेखेको जस्तो गरेर बस्न सक्ने अवस्था रहेन । यसमा पनि विशेष गरेर हिन्दुधर्ममा रहेको जात व्यवस्थाले गर्दा तल्लो जातका मानिसहरुले भोग्नु परेको विभेदको उपचारको लागि भनेर डा. बाबासाहव अम्बेडकरले बुद्ध धर्म ग्रहण गर्दा र लाखौं अछुतहरुलाई हिन्दु धर्म त्यागेर बुद्ध धर्म ग्रहण गर्न दिँदा भारतमा बौद्धहरुको संख्या बढ्न थाल्यो ।

वर्तमान अवस्थामा कर्नाटकमा बुद्ध धर्म
विभिन्न अवस्थामा विभिन्न समुदायका मानिसहरु अहिले बुद्धधर्मप्रति आकृष्ट भएका छन् । उनीहरुले अहिले बुद्ध धर्मको अध्ययन गरेर यसको महत्व बुझेर यसप्रति श्रद्धा राख्दै यहाँका बेवास्ता गरिएका सम्पदाहरुको संरक्षणमा समेत रुचि देखाइरहेका छन् । यस बाहेक विशेष रुपमा हिमाली बुद्ध धर्मका गुरुहरुले यहाँको इतिहास बुझेर यसलाई बुद्ध धर्मको शिक्षण केन्द्रको रुपमा विकास गरिरहेका छन् । भारतमा बुद्ध धर्मको चर्चा हुँदा यस दृष्टिकोणबाट पनि कर्नाटकको नाम आउने गरिन्छ ।

आज कर्नाटकमा थुप्रै बौद्ध समुदायहरु तथा अनुयायीहरु छन्, उनीहरु केही हदसम्म संगठित पनि छन् । अर्कोतर्फ यहाँको राज्य सरकारले पनि यहाँका बौद्ध सम्पदा स्थलहरुको संरक्षण तथा प्रचार प्रसार गरेर स्थानीय पर्यटनको प्रवर्धन गर्ने कोशिस गरिरहेको पाइन्छ । यसले स्थानीय मानिसहरुमा बुद्ध धर्मको ऐतिहासिक महत्वका बारेमा जानकारी पुग्छ र उनीहरुमा यस धर्म प्रति रुचि तथा श्रद्धा जाग्ने सम्भावना समेत छ ।

कर्नाटकका प्रमुख बौद्ध संघसंस्थाहरु —
अहिले कर्नाटकमा विभिन्न बौद्ध संघसंस्थाहरुले आआफ्नो ढंगले बुद्ध धर्मको प्रचार गर्ने र बौद्धहरुलाई संगठित गर्ने काम गरिरहेको छ । यहाँ केही बौद्ध संस्थाहरुको सामान्य जानकारी दिइन्छ ।

क. धर्माराराम विहार, बेंगलुरु
कर्नाटकोे बेंगलुरुमा अवस्थित एक प्रमुख बौद्ध केन्द्र धर्माराराम विहार हो । यसले बुद्ध शिक्षा दिने, ध्यान गराउने तथा अन्य सांस्कृतिक गतिविधिहरु गर्ने गर्दछ । यसले विहार क्षेत्रमा रहेका बौद्धहरुको बीच संगठिन पनि गर्ने गर्छ ।

ख. ड्रेपुङ गोमाङ मोनास्टिक कलेज, मुण्डगोड
कर्नाटकमा रहेको हिमाली बौद्धहरुको मुख्य बस्ती मुण्डगोडमा डे«पुङ गोमाङ मोनास्टिक कलेज खोलिएको छ । यहाँ तिब्बती बुद्ध धर्मको गेलुपा सम्प्रदायसँग सम्बन्धित बौद्ध दर्शन तथा कर्मकाण्ड विधि सम्बन्धी पढाइ हुन्छ ।

ग. नामड्रोलिंग निंगमापा गुम्बा
नामड्रोलिंग निंगमापा गुम्बा (थेगचोग नामड्रोल शेड्रब डार्गे लिंग) कर्नाटकको मैसूरु जिल्लाको बायलाकुप्पेमा अवस्थित छ । यो निङमा सम्प्रदायको एक ठुलो शिक्षण केन्द्र हो, जहाँ ५००० भन्दा बढी लामा भिक्षुहरु तथा आनीहरु बुद्ध धर्म र दर्शनको अध्ययन गर्छन् । यहाँ आफ्नै अस्पताल समेत छ ।

घ. नालन्दा बौद्ध अध्ययन संस्थान, मुण्डगोड
मुण्डगोडमा खोलिएको अर्को बौद्ध शिक्षा केन्द्र नालन्दा संस्थान हो । यहाँ लामा भिक्षुहरु तथा आनीहरुका लागि बुद्ध शिक्षा तथा दर्शनशास्त्र, भाषा र कर्मकाण्ड विधि इत्यादिको पढाइ हुन्छ ।

ङ. बुद्ध विहार, गुलबर्ग
गुलबर्ग अथवा कालाबुरागीमा एक बुद्ध विहार स्थापना गरिएको छ जसले स्थानीय बौद्ध समुदायका बिच धार्मिक तथा सांस्कृतिक केन्द्रको रूपमा काम गरिरहेको छ । बुद्ध शिक्षा दिनुका साथै धार्मिक कार्यक्रमहरु, कार्यशालाहरु र साँस्कृतिक समारोहहरुको पनि आयोजना गरिन्छ ।

च. ज्ञानभारती बुद्ध विहार, बैंगलोर
ज्ञानभारती बुद्ध विहार बैंगलोरमा अवस्थित छ र यहाँ विभिन्न बौद्ध गतिविधिहरु हुने गर्छ । यहाँ बुद्ध धर्मको इतिहास तथा दर्शनका बारमा अध्ययन अनुसन्धान समेत गर्ने भएकोले विद्वानहरुका लागि यो एक महाविद्यालयको रुपमा रहेको पनि छ ।

छ. गुरुप्रिया फाउंडेशन, मैसूर
मैसूरमा अवस्थित गुरुप्रिया फाउंडेशन अन्तरधार्मिक ज्ञान तथा साँस्कृतिक अनुभवको आदान–प्रदान गर्नको लागि स्थापना गरिएको संस्था हो । यसले अन्य धर्मका साथै बेला बेलामा बुद्ध धर्मसँग सम्बन्धित कार्यक्रमहरु पनि आयोजन ागर्ने भएकोले यहाँ बौद्धहरुको पनि भेला हुन्छ र बुद्ध धर्म सम्बन्धी ज्ञानको आदान प्रदान हुने गर्दछ ।

ज. विपश्यना ध्यान केन्द्रहरु
कर्नाटक में छवटा विपश्यना केन्द्रहरु स्थापना गरिएका छन् । ती हुन् ः १.धम्म पपुल्ला विपश्यना ध्यान तथा अनुसन्धान केन्द्र (तुमकुर रोड, अलूर), २. धम्म सुखालय विपश्यना अन्तर्राष्ट्रीय ध्यान केन्द्र (अरेहल्ली, बैंगलोर), ३. धम्म वन विपश्यना अन्तर्राष्ट्रीय ध्यान केन्द्र (नादप्पनहल्ली, आर. नगर तालुक, मैसूर) ४. दावणगेरे विपश्यना ध्यान तथा अनुसन्धान केन्द्र (दावणगेरे), ६.
धम्म नदी विपश्यना ध्यान केन्द्र (कुंतेबेट्टू, शिवपुरा, चारा पोस्ट, उडुपी) । यी केन्द्रहरुमा बौद्धहरुका साथै अन्य धर्मावलम्बीहरुका लागि समेत भगवान बुद्धले देशना गर्नुभएको विपश्यना ध्यानका शिविरहरु नियमित सञ्चालन हुँदै आएका छन् ।

झ. महाबोधी धम्मदुत ध्यान केन्द्र
बैंगलुरुमा ध्यान अभ्यास गराउनको लागि महाबोधी धम्मदुत ध्यान केन्द्र खोलिएको छ । यहाँ भारतका साथै म्यानमार लगायतका देशहरुबाट आचार्यहरुको निर्देशनमा भिक्षु तथा गृहस्थाहरुका लागि हरेक वर्ष तीसौंवटा ध्यान शिविरहरु सञ्चालन हुने गर्दछ ।

ञ. कर्नाटक बुद्ध धर्म परिषद
कर्नाटकमा नयाँ ढंगबाट बुद्ध धर्म फैलिरहेको सन्दर्भमा यहाँ बुद्ध शिक्षा तथा दर्शनको प्रचारप्रसारका लागि भनेर कर्नाटक बुद्ध धर्म परिषद खोलिएको छ । यसले यहाँ बुद्ध धर्म तथा सिद्धान्तको बारेमा नयाँ समुदायलाई प्रवेश गराउने, इच्छुकहरुलाई जानकारी दिने लगायत यस बारे कक्षा, कार्यक्रम तथा सेमिनार सञ्चालन गर्ने गर्दछ ।

संक्षेपमा भन्नुपर्दा कर्नाटकमा बुद्ध धर्मकाको प्रवेश दुइ हजार वर्ष अगाडि जस्तै भइसकेको भएपनि र करिब एक हजार वर्षसम्म यहाँ बुद्ध धर्म जीवित रहेको भएतापनि कालान्तरमा भारतका अन्य राज्यहरुबाट जस्तै यहाँबाट पनि बुद्ध धर्म मेटिसकेको अवस्था छ । तर पनि अहिले विश्वभर जस्तै यहाँ पनि बुद्ध धर्ममा रुचि र श्रद्धा बढ्दै गए अनुसार यहाँ विभिन्न व्यक्ति तथा संस्थाहरुको मिहेनतबाट बुद्ध धर्मको प्रचार प्रसार बढिरहेको अवस्था छ । यद्यपि यहाँका उच्च जातका भनिएका हिन्दुहरुले यसलाई अंगिकार गरेको अवस्था भने विरलै छ, र यहाँ अहिले कि हिमाली मुलका बौद्धहरुले कि तल्लो जातका भनिएका हिन्दुहरुले धर्मान्तरण गरेर बौद्ध बनिरहेको अवस्था छ ।

Buddhism in Karnataka, India

Published in Buddhist Monthly from Kathmandu, Nepal “Anandabhoomi” in 2023 December

Photographs are collected from various sites in the Internet.

#Buddhism in #Karnataka #India #razenmanandhar

--

--

Razen Manandhar

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.