अनोजा गुरुमां : नेपालको बौद्ध समाजका एक प्रेरणादायी व्यक्तित्व

राजेन मानन्धर
काठमाडौं उपत्यका भन्दा करिब २८ किलोमिटर टाढा रहेको प्राचिन बस्ती बनेपाको वांख्यः टोलमा शारदा मानन्धरको रुपमा उहाँको जन्म हरि नारायण मानन्धर र रत्न माया मानन्धरको कोखबाट विसं २०१६ असार २९ गते अर्थात् सन् १९६० जुलाइ १७का दिनमा भयो ।
खानपिउन समस्या नभएको मध्यम वर्गीय परिवारमा उहाँ एक सामान्य सामाजिक, मिलनसार सदस्यको रुपमा हुर्कनुभयो । खेती किसानी गर्नुपथ्र्यो, घरमा व्यापारको पनि काम थियो — दुबै काममा उहाँको सानैदेखि सहयोग हुन्थयो । तर पढाइलेखाइलाई खासै प्राथमिकता थिएन । त्यसैले कक्षा ५ पुरा हुने बितिकै उहाँले पढाइ त्याग्नु पर्यो । बाल्यकालदेखि नै पञ्चशीलमा बस्ने, भन्ते गुरुमांहरुको धर्मदेशना सुन्नजाने वा कतै परित्राण जस्तो धार्मिक गतिविधि भयो भने सँधै पहिलै पुग्नुहुन्थ्यो उहाँ । घरमा मारकाट गर्ने कुरा आयोकि उहाँ अघि सरेरै विरोध गर्नुहुन्थ्यो ।

सुन्दर र सुशिल भएकीले होला १० वर्षको कलिलै उमेरमा नै विभिन्न परिवारबाटउहाँलाई बुहारी बनाउने प्रस्तावहरु गइरहन्थ्यो उहाँको परिवारसामु । स्वभाविक थियो त्यसबेला सानै उमेरमा विवाह गरिदिने चलन — घरमा आइरहने विवाह सम्बन्धी प्रस्तावबाट बच्न उहाँलाई कठिनै भयो । उहाँ भने जीवनलाई दुखको रुपमा देख्नहुन्थ्यो । यो जंजालबाट मुक्त हुने बाटो खोजिरहनुहुन्थ्यो ।

स्थानीय बौद्ध समाजमा अलिकति सम्बन्ध भएपछि उहाँमा अचानक सामाजिक जीवन र वैवाहिक जीवनप्रति वितृष्णा जस्तो विकास भयो । प्रवजित भएर भिक्षुणी जीवन बिताउन उहाँले निर्णय लिइसक्नुभएको थियो । तर यसरी जानलाई घरको स्वीकृति अनिवार्य थियो । यसको लागि उहाँले आफैले कागज बनाएर बुबाको औंलाको छाप लिएर समेत जानुभयो । प्रवजित हुनु समेत एउटा संघर्ष थियो त्यो बेला ।

वि.सं. २०२७ कार्तिक ८ उहाँले एक्लै घर छाड्नुभयो र धुलिखेल बिहारका भिक्षु धर्मानन्दको काठमाडौंस्थित घरमा ७ दिनसम्म लुकेर बस्नुभयो । पछि अनागारिका संघरक्षिता र भिक्षु धर्मान्दको साथमा शारदा बनारस पुग्नुभयो । त्यहाँको बर्मेली विहारमा खेमा नामबाट सर्वप्रथम अनाकारिका हुनुभयो, र पछि भिक्षु प्रज्ञानन्द महास्थवीरले उहाँको लागि अर्कै नाम जुराइदिनुभयो — अनोजा । विधिवत अनागारिका भइसकेपछि उहाँले घरमा सन्देश पठाउनुभयो र उहाँको नयाँ जीवन शुरु भयो ।
प्रवजित जीवन पनि व्यवहारमा त्यति सजिलो भएन उहाँको लागि । उहाँ नेपाल फर्केर त्रिशूलीको सुगतपूर विहारमा एक महिना बस्नुभयो । पछि पाटनस्थित चन्कीटोलको विहारमा संघरक्षिता गुरुमासँग केही समय बस्नुभयो । जीवन कता कता सकसपूर्ण थियो । घरमा जाँदा समेत पनि खासै सहयोग नपाएपछि उहाँले दृढनिश्चय गर्नुभयो — अब कस्तो सुकै कठिन परिस्थिति किन नआओस् म बरु भिक्षाटन गरुंला तर प्रवजित जीवनबाट फर्केर जान्न ।
केही समय धर्मचारी गुरुमांसँग किमडोल विहारमा पनि बस्नुभयो र उहाँकै सहयोगमा पछि धम्मावती गुरुमासँग धर्मकीर्ति विहारमा बस्न थाल्नुभयो । र यहीँ उहाँले भनेजस्तो धर्ममा र अध्ययनमा लाग्ने समय पाउनुभयो ।

पढाइमा उहाँको सानैदेखिको रुचि थियो । बिचमा पढाइ छुटेको भएपनि उहाँले एसएलसी उतीर्ण गर्नुभयो । उहाँको पढाइको यात्रा जारी रह्यो । उहाँ सन् १९८१मा बुद्धधर्मको अध्ययन गर्न म्यानमार पनि पुग्नुभयो । उहाँले खेमाराम विहारमा अभिधर्मको अध्ययन गर्न थाल्नुभयो तर त्यहाँको सरकारले विदेशी विद्यार्थी नराख्ने नीति लिएपछि फर्केर आउनुभयो । त्यसपछि बनासरमा गएर काशी हिन्दु विश्वविद्यालयमा अध्ययन गर्नुभयो र पछि सन् १९९८मा सम्पूर्णानन्द विश्वविद्यालयबाट विद्यावारिधी हासिल गर्न सफल हुनुभयो । अहिले पनि उहाँ केही न केही लेखिरहनुहुन्छ । लेखपढ गर्न उहाँ कहिल्यै छोड्नुहुन्न — करिब एक दर्जन पुस्तक प्रकाशित भइसक्यो र केही हुन बाँकी छन् ।
अन्तर्राष्ट्रिय बौद्धहरुको बिचमा उहाँ स्थापित नै हुनुहुन्छ अनि यसैको कारण विश्वका विभिन्न देशहरुको भ्रमणमा पनि पुगिरहनुहुन्छ । उहाँले अहिलेसम्म बिसौंवटा अन्तर्राष्ट्रिय स्तरका सभा समारोहहरुमा भाग लिइसक्नुभएको छ र विश्वका बौद्ध संघसंस्थाहरु, विहारहरुको नियमित सम्पर्कमा हुनुहुन्छ ।
उहाँको लगन, योगदानलाई कदर गर्दै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरुले उहाँलाई विभिन्न समयमा सम्मान र कदरपत्रहरु दिएको पाइन्छ । ती मध्ये प्रमुख म्यानमार सरकारबाट दिइएको महासद्धम्म जोतिकधज एक हो ।
विभिन्न देशहरुको भ्रमण गर्ने नेपालका गुरुमांहरु मध्ये उहाँ एक हुनुहुन्छ । उहाँको यस यात्रालाई विश्व भ्रमण भनेर पनि भन्न सकिन्छ । उहाँले भ्रमण गरिसक्नुभएका देशहरु मध्ये इटली, फ्रान्स, जर्मनी, बेलायत, स्वीजरल्याण्ड, संयुक्त राज्य अमेरिका, क्यानाडा, इजराइल, थाइल्याण्ड, बेल्जियम, म्यानमार, सिंगापुर, भारत, श्रीलंका, मलेसिया, पाकिस्तान, चीन, कोरिया आदि हुन् ।
निडर, स्पष्टवक्ता र स्वावलम्बी स्वभावका कारण उहाँ कतिपय अवस्थामा नेपालकै बौद्ध वृत्तमा कहिलेकाहीँ असहज स्थितिमा समेत पर्नुहुन्छ । तर उहाँ कहिल्यै डकमगाउनुहुन्न । यो २१औ शताब्दीमा भिक्षुहरु जस्तै भिक्षुणीहरु पनि सक्षम छन् अनि महिला भएकै कारणले कसैमाथि लान्छना लगाउन र विभेद गर्नुहुन्न भन्ने मुद्दामा अडिग पनि हुनुहुन्छ ।
उहाँ विशेष गरी सामान्य जनसमुदायलाई उनीहरुले बुझ्ने भाषामा प्रवचन दिन मनपराउनुहुन्छ र त्यसैले उहाँका प्रवचनहरु सरल र सामान्य मानिसले सजिलोसँग बुझ्ने खालका हुन्छन् ।
उहाँले प्रवजित जीवन शुरु गर्नुभएको नै ५० वर्ष पुगिसकेको छ । तैपनि उहाँ संघर्षबाट थाक्नुभएको छैन । २०५३सालमा चोभार सुन्दरीघाट र बाग्मती नदीको छेउमा उपासक उपासिकाहरुबाट पाएको सहयोगबाट उहाँले. ‘सुलक्षण कीर्ति विहारस्थाना गर्नुभयो । त्यहाँ ३८ फिट अग्लो सिद्धार्थ सालिक समेत उभ्याइएको छ ।
सन् १९८७ देखि उहाँले नेपाली उपासक उपासिकाहरुका लागि भारत लगायत विभिन्न बौद्ध देशमा तीर्थयात्राहरु हरेक वर्ष जस्तै आयोजना गरिरहनुभएको छ । यसको फलस्वरुप विदेशी बौद्ध समाज नदेखेका नेपालीहरुले विभिन्न देशका जनताले भगवान बुद्धलाई कति कसरी श्रद्धा गर्छन् र बौद्ध समाज भनेको कस्तो हुन्छ भन्ने ज्ञान प्राप्त गर्न पाएका छन् ।

उहाँ धर्मदानको नाममा प्रवचन मात्र दिएर पनि बस्नुहुन्न । उहाँले अहिले आफ्नो विहार मार्फत करिब ४० जना अनाथ बालबालिकाहरुलाई पढाउने र संरक्षण दिइरहनुभएको छ ।
विहारमा परियत्ति कक्षा संचालन गर्नमा पनि उहाँको योगदान छ । उहाँकै प्रेरणाले काठमाडौं देखि दुर्गम जिल्लाहरुका किशोरीहरुले समेत अनागारिका भई बुद्ध शिक्षा ग्रहण गर्ने अवसर प्राप्त गरेका छन् । ती मध्ये कतिले भने अध्ययन पश्चात् चीवर त्याग गरी सामान्य जीवन बिताउन पनि पुगेका छन् ।
विहारमा आउने उपासक उपासिकाहरुमा बुद्धधर्म सम्बन्धी चेतना जगाउन हरतरह प्रयास गरिरहनुहुन्छ उहाँ । त्यसमा पनि युवा तथा किशोर किशोरीहरुका लागि आकर्षक कार्यक्रमहरु ल्याएर जसरी भएपनि प्रवचन सुन्ने बनुन् र सधर्मतिर लागुन् भनेर उहाँले हिउँको कक्षा कार्यक्रम, अंग्रेजी कक्षा आदिको कार्यक्रमहरु पनि दिनुहुन्छ । त्यस्तै किशोरीहरुका लागि ऋषिणी शिविर चलाएर पनि ती किशोरीहरुलाई बुद्ध शासनमा सामेल गराउने प्रयत्न गर्नुहुन्छ ।
बेलाबखतमा समय मिलाएर उपत्यका बाहिर जस्तै म्याग्दी, तनहुँ, मकवानपुर, नुवाकोट लमजुङ आदि जिल्लामा पनि बुद्ध शिक्षा फैलाउने शिविरहरु चलाउने गर्नुहुन्छ ।
बुद्ध शिक्षालाई मानव जीवनसँग जोड्न उहाँ व्यवहारिक कार्यक्रमहरुको आवश्यकता देख्नुहुन्छ । त्यसैले नियमित जस्तै विहारमा स्वास्थ्य शिविरहरु चलिरहन्छ । यी कार्यहरुलाई पनि उहाँ एक जना भिक्षुणीले गर्नुपर्नेै कामका रुपमा व्याख्या गर्नुहुन्छ ।
यतिमात्र होइन । अहिले उहाँ उमेर पुगेका र अशक्त नागरिकहरुको लागि शान्ति सुधम्मावास तथा सुलक्षण च्यारिटेवल अस्पताल बनाउने योजनामा हुनुहुन्छ । उहाँको लगन र मिहेनती काम गराइबाट प्रभावित भएर सरकारले तथा स्थानीय जनताले पनि उहाँलाई सक्दो सहयोग गरिरहेको पाइन्छ ।
गरे नसक्ने के छ र ? एक जना महिलाले परिवारको निर्णय विरुद्ध घरबार त्यागेर प्रवजित भई समाजमा बुद्ध शिक्षाको प्रचार प्रसार गर्नेमात्र होइन समाजलाई चाहिने शिक्षा, स्वास्थ्य एवं अन्य सेवा सुविधाको समेत व्यवस्था गर्न उहाँ तल्लिन हुनुहुन्छ । बुद्ध जन्मेको यस नेपालमा उहाँको जस्तो व्यक्ति सबै बौद्धहरु र अझ सबै नेपालीका लागि एक प्रेरणाको श्रोत हुनुहुन्छ भन्ने कुरा उहाँले अहिलेसम्म गर्दै आउनुभएको कामहरुले प्रमाणित गर्दछ ।

Get the Medium app

A button that says 'Download on the App Store', and if clicked it will lead you to the iOS App store
A button that says 'Get it on, Google Play', and if clicked it will lead you to the Google Play store