अफगानस्तानमा बुद्धधर्म : बौद्ध केन्द्रदेखि तालिबानको निशानासम्म

राजेन मानन्धर

पृष्ठभूमि :
अफगानस्तान भन्ने देश एशियाको दक्षिण पश्चिममा पाकिस्तान र इरानको बिचमा पर्दछ । ६५२,००० र्ग किलोमिटर क्षेत्र भएको यो देश नेपाल सदस्य भएको दक्षिण एशियाली सहयोग संगठन (सार्क)को सदस्य राष्ट्र हो । मध्यपाषणयुगदेखि मानव सभ्यताको विकास भएको भनिएको यस देशलाई रेशममार्गले मध्यपूर्व र एशियामा अन्य देशहरुसँग जोडिएको । आजभन्दा ५० हजार वर्ष अगाडि नै बसोबास भएको अनि यहाँका कृषकअरु संसारकै प्राचिन कृषि सभ्यताका निर्माता पनि भनिन्छ । यहाँको सभ्यतालाई मिश्रको सभ्यताजतिकै पुरानो भनेर पनि भनिन्छ । महान् एलेक्जेन्दरदेखि लिएर मंगोल, ब्रिटिश, सोभियत, मुस्लिम र अहिले पश्चिमी शक्ति हुँदै विभिन्न समयमा विभिन्न राज्य वा साम्राज्य शक्तिको हातमा पर्न गएको यो देश निकै लामो समयदेखि शान्तिपूर्वक बाँच्न पाएनको देखिँदैन ।

सन् १९९४ देखि तालिबान भनिने कट्टरपन्थी मुसलमानहरुले हिंसात्मक आन्दोलन गरेर विभिन्न धार्मिक कानून लादेर मानव स्वतन्त्रता अपहरण गर्यो भन्ने सुनिन्थ्यो भने प्रजातान्त्रिक वातावरणमा चुनिएका राष्ट्रपतिलाई अमेरिकी साम्राज्यका पुतला पनि भन्ने गरिन्छ । हालै तालिबानले सबै देश कब्जा गरेपछि एकातिर अफगानस्तान विदेशीहरुको चंगुलबाट मुक्त भए भनेर खुशियाली मनाएको देखिन्छ भने अब यहाँ बस्न सकिँदैन भनेर लाखौं जनता देश छोडेर भागेको पनि देखिन्छ । यसै कारण पनि प्राकृतिक श्रोतले सम्पन्न भएर पनि सयौं वर्षदेखि गरिवीको चपेटामा परेको यो देश अहिले विश्वमा चर्चाको विषय बनेको छ ।

अस्तिसम्म यो देशलाई इस्लामिक गणतन्त्र अफगानस्तान भनिन्थ्यो जहाँ असफर घानी राष्ट्रपति भएर सत्ता चलाइरहेको थियो । अहिले याहाँ ३ करोड १८ लाख जनसंख्या छ । यो एक बहुजातीय देश हो । यहाँ पाश्तुन, ताजिक, हाजरा, उज्बेक आदि जातिका मानिसहरुको बसोबास छ र उनीहरुले दारि, पाश्तो, उज्वेक, तुर्कमान व अन्य अरबिक भाषाहरु बोल्छन् । यहाँका ९९ प्रतिशत जनताले मुस्लिम धर्म अपनाइरहेका छन् । अहिले जस्तो अवस्थामा भएपनि कुनै बेला अफगानस्तान बुद्धधर्ममा आस्था हुनेहरुको देश थियो र त्यहाँको बुद्धधर्मको इतिहास हजारौं वर्ष पुरानो छ । यस लेखमा विशेष गरी यहाँको बुद्धधर्मको इतिहास र सभ्यताको संक्षिप्त चर्चा गरिन्छ ।

बुद्धधर्मको प्रवेश :
अफगानस्तानको बुद्धधर्म भगवान बुद्ध जतिकै पुरानो छ । उहाँको जीवनकालमै यहाँ बुद्धधर्मले प्रवेश पाएको विश्वास गरिन्छ । बौद्ध धर्मग्रन्थहरुका अनुसार तपुस्स व भल्लुक (त्रपुस्स व भल्लिक) नामक दुई ब्यापारीहरु ५ सय गाडा लिएर मध्यदेसको उक्क्ल नामक प्रदेशमा जान लाग्दा भरखरै बोधिज्ञान लाभ गर्नुभएका बुद्धयात सबैभन्दा पहिला सात्तु र मह दान दिएर उनीहरु बुद्धधर्मका प्रथम उपासक भए । उनीहरुले बुद्धसँग मागेर ल्याएको केशधातु (आठवटा केश)गर्भमा राखेर आफ्नै देशमा बाल्ख भन्ने शहरमा चैत्य बनाए भनेर पनि लेखिएको पाइन्छ । उनीहरुलाई ब्याक्ट्रिया वा अहिलेको अफगानस्तानका बासिन्दा भनेर विश्वास गरिन्छ । त्यसमध्ये भल्लिक पछि भिक्षु भएर वर्तमान मजार–इ–शरिफ भन्ने ठाउँको नजिक विहार बनाएर बसे भनिन्छ । यस मानेमा अफगानस्तान बुद्धको पहिलो उपासक र पहिलो चैत्य भएको पवित्र स्थान भयो । साथै मानिसहरु बुद्धको शिरको अस्थिधातु यहाँ ल्याएर नगरमा विहार बनाएको भन्ने पनि विश्वास गर्छन् (हुन त यसकै कथालाई आधार मानेर कसैले उनीहरु श्रीलंका वा म्यानमार फर्केको भन्ने पनि गरिन्छ) ।

बुद्धको निर्वाण पश्चात् बौद्ध भिक्षुहरुमा मतभेद आएर बुद्धधर्म नै कति कति निकायमा विभाजित भयो । दोश्रो संघायना पछाडि ३४९ इपूतिर थेरवादबाट महासांघिक निकाय छुट्टिएर गयो । त्यसबेला धेरै महासांघिक भिक्षुहरु अहिलेको अफगानस्तानस्थित कन्दहारमा गए भनिन्छ । पछि महासांघिक पनि पाँच टुक्रामा विभाजित भयो, जसको मुख्य शाखा अफगानस्तानमा लोकोत्तरवादको नामले विकास भयो । त्यसैले महासांघिक लोकोत्तरवादको उद्भव यही अफगान क्षेत्रमा भएको विश्वास इतिहासकारहरुले गरेका छन् । यसप्रकार लोकोत्तरवादीहरुले त्यही बामियान उपत्यकामा आफुलाई स्थापित गरे जहाँका प्राचिन बुद्ध मूर्तिहरुलाई तालिबानहरुले बल पूर्वक ध्वस्त पारेका थिए ।

त्यस्तै तेश्रो संघायना पछि मौर्य सम्राट अशोक (३०४ इपू — २३२ इपू) ले विभिन्न देशमा नौ जना धर्मदूतहरु पठाएको मध्ये काश्मिर र गन्धार क्षेत्रमा मज्झन्तकलाई पठाएको भन्ने लेखिएको छ । अफगानस्तानको यस दक्षिणपूर्वी शहर कन्दहारमा अशोक अभिलेख समेत भेट्टिएको छ । पहिले नैे बुद्धधर्म फैलिसकेको यस क्षेत्रमा सम्राट अशोकका धर्मदूतहरुले पनि त्यहाँ बुद्धधर्मको विकास गराउन योगदान गरे होला अनि आपसमा मतभेद भएर छरिएर रहेको बुद्धधर्मलाई फेरि संगठित गर्न र बुद्धदर्शनको अध्ययन पुनः राम्रोसँग गर्ने वातावरण बनाइदियो होला भनेर अनुमान गर्न सकिन्छ ।

जे होस्, अफगानस्तानमा ईशापूर्व ३०५ देखि नै बुद्धधर्म विस्तार हुँदै गएको देखिन्छ । यसबेला ग्रीसको सेल्युसिड साम्राज्यले भारतवर्षमा मौर्य साम्राज्यसँग सहकार्य वा गठबन्धन बनाई सम्पूर्ण मध्यपूर्वमा आफ्नो अधिपत्य कायम गरेको थियो । त्यसै कारण ग्रेको बाक्ट्रियन अधिराज्यमा २५० इपू देखि १२५ इपू सम्म भनेजस्तै बुद्धधर्म फैलिँदै गयो । पछि फेरि यही इन्डो–ग्रीक अधिराज्यको नामबाट १८० इपू देखि १० इस्वीभित्र यो पाकिस्तान र अफगानस्तानमा फैलिन गएपछि यसको साथसाथै बुद्धधर्मलाई पनि विस्तार हुने अवसर प्राप्त भयो । यस क्षेत्रमा विकास भएको बुद्धधर्मलाई समग्रमा ग्रेको बुद्धिज्म भनिन्छ, जुन हेलेनिस्टिक वा पछिल्लो ग्रिक सभ्यता र भारतवर्षमा विकसित बुद्धधर्मको संमिश्रण हो । यसरी यहाँ बुद्धधर्म इशापूर्वको ४औं शताब्दी देखि ईस्वीको ५औं शताब्दीसम्म राम्रैसँग विकास हुन पायो । यो भनेको सम्राट एलेक्जेन्डरको समयदेखि इन्डोग्रीक अधिराज्यको स्थापना भएको र पछि कुशान साम्राज्यको निर्माण भएको समयसम्मको अवधि हो ।

बुद्धधर्मको विस्तार :
अफगानस्तान विभिन्न समयमा विभिन्न राजनीतिक शक्तिको सम्पत्ति जस्तै भएकोले अनि समय–समयमा यस्तै किसिमबाट अफगानस्तानको राजनीतिक सिमाना परिवर्तन भइरहने, राज्यसत्ताको कारणले यहाँको सामाजिक र धार्मिक नीतिमा परिवर्तन आइरहने भएकोले नै यहाँ समय अनुसार बुद्धधर्म विस्तार भएको देखिन्छ । विशेष गरी यहाँ अलेक्जेन्डरले विजय प्राप्त गरिसकेपछि यसलाई अन्य बौद्ध केन्द्रहरुसँग जोडेपछि यसको त्यस किसिमको धार्मिक प्रभाव बढ्दै गयो । पछि त यहाँका पश्तुनहरु र सिथियनहरुले समेत बुद्धधर्म अवलम्बन गरे । यही कारणले त अफगानस्तानमा बुद्धधर्मको प्रचार भएको मात्र हैन कि यहाँ मुस्लिमहरुले आक्रमण गर्न अगाडिसम्म यो देश नै मध्यपूर्वको एक अद्वितीय बौद्ध केन्द्रको रुपमा विकास भएको थियो । यहाँका बौद्ध विद्वानहरुले नै चीन, रसिया लगायतया विभिन्न देशहरुमा बुद्धधर्मको प्रचार गरे अनि बौद्ध दर्शनको व्याख्यालाई नयाँ उचाइ दियो भनेर समेत इतिहासकारहरुले भन्छन् । कसैकसैले त बौद्ध विद्वान बोधिधर्म, जसले चीनमा गएर ध्यान वा जेन बुद्धधर्मसँगै कुङफु प्रशिक्षण दिए, अनि त्यस्तै लोकक्सेमा, जसले चीनमा गएर महायान बौद्धग्रन्थहरुलाई चीनियाँ भाषामा अनुवाद गरे, अनि महाधर्मरक्षित, जसले अहिलेको काबुल क्षेत्रबाट ३० हजार भिक्षुहरुलाई श्रीलंकाको अनुराधापुरस्थित स्तुप दर्शन गराउन तीर्थाटनमा लगे, उनीहरु सबै अफगानस्तानसँगै सम्बन्धित थिए भन्ने गरिन्छ ।

संक्षिप्तमा भन्ने हो भने अफगानस्तान भनिने स्थानमा विभिन्न समयमा क्रमशः अलेक्जेन्डर, सेल्यूसिड, ग्रेको बाक्ट्रियन, मौर्य, इन्डो–सिथियन, इन्डोपार्थियन, कुशान, ससानिड, कडाराइट, हिन्दुशाही, पालवंशीहरुले पालैसँग शासन गरे । उनीहरुले शासन मात्र गरेका थिएनन्, अझ त्यहाँ बुद्धधर्म प्रचार समेत गरेर र जनतालाई पनि बुद्धशिक्षाको प्रचार गर्न मार्गप्रशस्त गरिदिए तथा जनतालाइ बुद्धको मार्गमा लाग्न प्रोत्साहन पनि दिए । त्यसबेला त्यहाँ गान्धारा (वर्तमान अफगानस्तान र पाकिस्तानको बिचमा रहेको इलाका ) र ब्याक्ट्रिया भन्ने दुइटा ठुला बौद्ध प्रदेशहरु थिए । त्यहँका तक्षशिला व बामियान त्यसबेलाका निकै प्रशिद्ध बौद्ध केन्द्रहरु थिए । त्यस्तै ग्रेको ब्याक्ट्रियन राजा मिनान्दर (१६५ इपू — १३५ इपू), जसले बौद्धहरुले अति आदर गर्ने मिलिन्द प्रश्न नामक बौद्धग्रन्थ रचनाको आधार बनाए, उनी पनि यसै क्षेत्रका थिए ।

बौद्ध स्मारकहरु :
समयचक्रमा सबै कुराहरु बदलिए । अहिले त्यहाँ कोही बौद्धहरु छैनन् । तर त्यहाँ अहिले पनि यत्रतत्र प्रशस्तै बौद्ध स्मारकहरु पाइन्छन् ।उनीहरुलाई बुद्धको थिए र त्यहाँ किन बुद्धका त्यतिधेरै मूर्तिहरु बने भन्ने समेत हेक्का छैन होला ।

अफगानस्तानको बुद्धधर्म भन्ने बितिक्कै त्यहाँको रेशममार्गमाा अवस्थित बामियानका विशाल बुद्धमूर्तिहरुको सम्झना हुन्छ । पर्सियन भाषामा “बोथा–ए–बामियान” भनिने यी मूर्तिहरु त्यहाँका भित्ता जस्तै ठाडो पहाडमा त्यहाँका बौद्धहरुले चट्टानका भित्तामा कोप्दै कोप्दै बनाएका थिए । मुख्य गरी त्यहाँ दुइवटा त्यस्ता ठुल्ठुला बुद्धमूर्ति छन्, समयले धेरै क्षय गरेको भएपनि त्यहाँ बाँकी रहेका अंशको मुद्राका आधारमा तिनीहरु वैरोचन व शाक्यमुनि बुद्धका मूर्ति थिए भन्न सकिन्छ । त्यस मध्ये सानो (३८ मीटर वा १२५ फीट अग्लो पूर्वी बुद्ध, जसलाई स्थानीय भाषामा शाहमामा भनिन्छ) सन् ५४४ देखि ५९५ भित्र बनाइएको थियो । त्यस्तै ठुलो बुद्ध (५५मीटर वा १८० फीट अग्लो पश्चिमी बुद्ध, जसलाई स्थानीय भाषामा सोलसोल भनिन्छ) सन् ५९१ देखि ६६४भित्र बनाइएको थियो । यी मूर्तिहरु कुशान कलाकारहरुले त्यहाँका बौद्धभिक्षुहरुको निर्देशनमा बनाइएको भनिन्छ । यसको समयावधि हेर्दा यी मूर्तिहरु कलाकारहरुको तीन पुस्ताले बनाएको हुनुपर्छ अर्थात् शुरु गर्ने कलाकारले अन्त भएको देख्न पाएन, अनि अन्तिम रुप दिने कलाकारले शुरुको कलाकारलाई भेटेन ।

यस स्थानमा चीनिया यात्री हुएनसाङ सन् ६३०मा यात्रा गर्दै आएको देखिन्छ । उनले आफ्नो यात्रा विवरणमा यहाँको वर्णन गर्दा यहाँ दशवटा भन्दा धेरै ठुला विहारहरु र हजार जना भन्दा बढी त भिक्षुहरु मात्र भएको एक ठुलो बौद्ध समाज देखेको कुरा उल्लेख गेरका थिए । त्यस्तै ती विशाल बुद्धमूर्तिहरुलाई सुन र हिरा जवाहरातले सजाएर राखेको थियो भनेर पनि भनेका छन् । त्यसबेला उनी त्यहाँको एक लोकोत्तरवाद विहारमा पनि भ्रमण गरेका थिए । यसबाट त्यहाँ त्यसबेला बुद्धधर्ममा श्रद्धा भएका जनता निकै धेरै थिए भन्ने स्पष्ट हुन्छ ।

अफगानस्तान लगायतका मध्यपूर्व क्षेत्रको बुद्धधर्मले विश्वलाई दिएको एउटा उपहार भनेको गन्धार कला हो, जसको अर्को नाम ग्रेको बौद्ध कला हो । अफगानस्तान–पाकिस्तानको गन्धार क्षेत्रबाट विकसित र विस्तार भएको बुद्धधर्म — त्योे भनेको मध्य एशिया, अफगानस्तान, पाकिस्तान, भारत र चीन क्षेत्रमा — आफ्नै किसिमको एक विशेष कलाको लहरको विकास भयो जुन ग्रीक कला र पूर्वीय धर्मको संयोग भनिन्छ । ग्रेको–ब्याक्ट्रियन अधिराज्य, जहाँ अहिले अफगानस्तान छ, त्यहाँ नै यो कलाको विकास किन भयो होला भने यो भनेकोे पश्चिमी कला र पूर्वी दर्शनको मिलन विन्दु थियो ।

यसबाहेक, जापानी अन्वेषकहरुले त बामियानका गुफाहरुमा प्राप्त सन् ६५०इस्वी तिरका भित्ते चित्रहरुलाई संसारकै सबैभन्दा पुरानो तेलचित्र भनी दाबी गरेका छन् । उनीहरुले त्यहाँ हजारौं बुद्धका चित्रहरु पत्ता लगाएका थिए ।

पुरातात्विक अन्वेषणले त्यहाँ त्यसबेला केही महायानी सुत्रहरु कोरिएका ताडपत्र अभिलेखहरु भेट्टाएका थिए । त्यसमा कुनै अभिलेखहरु गान्धारी भाषा र खरोष्ठी लिपिमा लेखिएका छन् भने कुन संस्कृत भाषा र गुप्त लिपिबाट लेखिएका छन् । त्यहाँ उनीहरुले महासंघिक लोकोत्तरवादको प्रतिमोक्ष विभंग, आगम (सुत्तपिटक)को महापरिनिर्वाण सुत्र, वज्रछेदिका प्रज्ञापारमिता सुत्र, भैषज्यगुरु सुत्र, श्रीमलदेवी सिंहनाद सुत्र र सारिपुत्र अभिधर्म सुत्र इत्यादि ग्रन्थहरु पत्ता लगाएका थिए । त्यहाँ अब अझ भेटिन सक्ने, नष्ट भइसकेको त्यस्ता अमूल्य ग्रन्थहरु होलान् त्यसका अनुमान पनि गर्न सजिलो छैन ।

अफगानस्तानको पूर्वी शहर गजनीमा अवस्थित तेपे सरदार विहार यहाँको एक महत्वपूर्ण पुरातात्विक स्थल हो । यहाँ एउटा डाँडाको टुप्पामा एउटा ठुलो स्तुप छ जसको चारैतिर ससाना स्तुपहरुले घेरिएको छ । त्यस्तै त्यहाँ एउटा १८ मीटर लामो बुद्ध परिनिर्वाण मूर्ति पनि उत्खनन् गरेर पत्ता लगाइएको छ । त्यस्तै गजनीमै अर्को होमाइ काला भन्ने स्थानमा पनि बौद्ध विहारहरु छन् । बासावाल भन्ने स्थानमा त झन् १५० वटा जति त बौद्ध गुफाहरु नै छन् ।

दुःखका साथ भन्ने पर्छ कि जस्तोसुकै गौरवमय इतिहास र पुरातत्वको भण्डार रहेतापनि वर्षैभरी विश्वका ठुलठुला इतिहासकार तथा पुरातत्वविद्हरुको यहाँ अनुसन्धान चलिरहेपनि यहाँका जनतालाई भने यसको कुनै चासो छैन । विश्वकै उत्कृष्ट बौद्धकलाका नमुनाहरु यहाँ पाइन्छन्, जमिनमुनि लुकिरहेको अवस्थामा होलान् तर यसको संरक्षण र जिर्णेद्धार गर्ने समेत पनि यहाँको सरकारले वा जनताले गरेको देख्न मुश्किल छ । यहाँका संग्रहालयमा केही त्यस्ता उल्लेखनीय मूर्तिहरु राखिएको त देखिन्छ तर ती मूर्तिहरु कहिले कुन कट्टरपन्थीको क्षोभको शिकार हुने हो त्यो भन्न सकिने अवस्था छैन ।

तत्कालिन बौद्ध समाज :
कुनै समयमा अफगानस्तानको समाज भन्नु नै बौद्धसमाज थियो । बुद्ध धर्मको त्यहाँ व्यापक प्रचारप्रसार भयो, समाजले बुद्ध धर्म र संघलाई नै जीवनको लक्ष्यको रुपमा स्वीकार गर्यो । भगवान बुद्धको शिक्षालाई उनीहरुले जीवन मान्यो र त्यस बाहेकको शिक्षा उनीहरुले देखेन पनि होला । हुन त त्यसबेलाका अफगानस्तानको बौद्धसमाज कस्तो थियो, कति धर्ममा आधारित थियो, केले बौद्ध समाजलाई शासन गथ्र्यो वा निर्देशन दिन्थ्यो अनि राज्यले त्यहाँको बौद्ध समाजलाई कस्तो सहयोग वा अभिभावकत्व प्रदान गर्यो भनेर देखाउने अभिलेख प्राप्त गरेको देखिँदैन । तर पनि हजारौं वर्षसम्म त्यहाँको एकमात्र धर्म र जीवनशैली भइरहेको बुद्धधर्मले नै उनीहरुको समाजलाई सहि मार्गमा लग्यो होला, उनीहरुले भगवान बुद्धले देखाउनुभएको मार्गलाई नै पछ्यायो भनेर अनुमान गर्न सकिन्छ । अन्य प्रतिद्वन्द्वी धर्मको उपस्थिति नभएको अवस्थामा उनीहरुलाई राज्यले राम्रोसँग प्रोत्साहन र संरक्षकत्व दियो होला । अझ राजा वा शासकहरु नैे बौद्ध हुने भएकोले जनतालाई आफ्नो धर्म अनुसार जीवन यापन गर्न कुनै कठिनाइ वा अवरोध आएन होला भनेर सजिलै अनुमान गर्न सकिन्छ ।

बुद्धधर्मको अवनति :
भगवान बुद्धले नै भन्नु भएको थियो संसारका सबै कुराहरु अनित्य हुन् भनेर । अफगानस्तानको यो वैभवताले भरिएको बुद्धधर्म पनि ह्रासतर्फ उन्मूख हुनुपर्यो । हुँदा हुँदै सातौं देखि ११औं शताब्दीसम्म पुग्दा यहाँको समाजमा बौद्धहरुको छाँया समेत नभेटिने अवस्था हुँदै यहाँको बुद्धधर्म आखिरमा इतिहासका कथाहरुमा मात्र सीमित हुनुपर्यो ।

हजारौं वर्ष पुरानो यहाँको बौद्ध सभ्यता यसरी विलिन हुनुको मुख्य कारण भनेको मुस्लिमहरुको आक्रमण नै थियो । सातौं शताब्दी तिर मुस्लिमहरुले विश्वका विभिन्न देशमा आक्रमण गर्दै त्यहाँको सभ्यता संस्कृति नाश गर्दै त्यसमाथि आफ्नो धर्मको शासनको झण्डा गाड्ने क्रममा अफगानस्तानमा पनि उनीहरुको आखाँ पर्यो । यो भनेको मध्यपूर्वमा मुस्लिमहरुको शाक्ति बढिरहेको अवस्था थियो । उनीहरुले अरु अरु देशमा जस्तै यहाँ पनि पाइला राखे, चूर्ण हुने गरी यहाँको सभ्यता कुल्चे र त्यसमाथि आतंक मच्चाएरै आफ्नो धर्म, संस्कृति र धर्मको नाममा गरिने राज्यको स्थापना गरे । यो भनेको भारतमा मुस्लिमहरुको आक्रमणभन्दा धेरै पृथक थिएन।

संक्षिप्तमा भन्दा सन् ६४२मा इस्लामको झण्डा बोकेर अरब सैनिकहरु पश्चिमबाट आए र यहाँका सुसानियनहरुलाई हराए । उनीहरु बिस्तारै पर्सियाको पूर्वतिर बढे र सन् ६५२मा अफगानस्तानको पश्चिमी शहर हेरुत कब्जा गरे । सन् ६६७ सम्म पुग्दा अफगान वा पश्तुनहरुको सबै क्षेत्र मुस्लिमहरुको कब्जामा गयो । सन् ६८३मा काबुल र अन्य क्षेत्र पनि उनीहरुकै भयो । यस बेला स्थानीय अफगानहरुले कतै कतै त प्रतिकार गरे तर उनीहरुले भित्र आइसकेका मुस्लिमहरुलाई धपाउन सकेन । फलतः ८औ व ९औ शताब्दी भित्रमा अहिलेको अफगानस्तान र पाकिस्तानका जनतालाई उनीहरुले सुन्नी मुसलमान बनाए । उनीहरुले गजनी, काबुल इत्यादि ठाउँमा तत्कालिन बौद्ध शासकहरुकहाँ प्रभाव देखाउँदै गए । त्यहाँका बौद्धहरु उमयाहरुको आक्रमण र अबसित कलिफतहरुको शासनमा त टिके तर पछि सफारिदत, गज्नाविदत व गुरिदहरको आक्रमणको अगाडि केही लागेन । त्यसैले ११औं शताब्दीसम्म पुग्दा त्यहाँ बौद्धहरुको नामोनिशान नै रहेन भन्दा पनि हुन्छ । त्यत्रो ठुलो बौद्ध सभ्यतालाई गति दिने बौद्धहरु किन आत्मरक्षाका लागि उठेनन् वा उठेर पनि आफ्नो जन्मभूमि, धर्म र संस्कृतिको रक्षा गर्न सकेनन् भन्ने कुरा इतिहासकै गर्भमा छ ।

वर्तमान अवस्था :
एउटा सभ्यता, धर्म व समुदायले अर्कोलाई आक्रमण गर्ने, अतिक्रमण गर्ने र त्यहाँकोलाई निमिट्यान्न पारेर त्यहाँ आफ्नो स्थापना गर्ने नै मानव इतिहास हो । यति गर्दा गर्दे मानिसहरु शिकारी अवस्थादेखि यहाँसम्म पुगेको हो । यहाँ पनि यही भयो, आफ्नो धर्म संस्कृतिको रक्षा गर्न नजान्ने वा नसक्नेहरुमाथि अर्काको धर्म संस्कृति मास्नु नै जीत भन्नेहरुले बलपूर्वक मिचे ।

तर यहाँ विशेष गरी बौद्धहरुले शिक्षा लिनुपर्ने कुरा के भने यहाँको इतिहासको बुझ्न निकै कठिन घटनाको विकासक्रममा पनि त्यहाँका बौद्धहरुले आफ्नो हजारौं वर्ष पुरानो धर्म, संस्कृति कला र सभ्यतालाई बचाउन कसरी प्रतिकार गरे अनि आफु बस्नै नसक्ने गरी हारेपछि आफ्नो धर्म र संस्कृति बोकेर कहाँ पलायन भयो होला भन्ने बुझ्न झन् कठिन छ । आफ्नो धर्म, दर्शन, जीवन पद्धति अनि संस्कृति नै भइसकेका बुद्ध धर्मलाई बतासले उडाइ लगेको जस्तै लग्यो । त्यतिमात्र होइन बुद्धकाल र त्यसभन्दा पछिको समयदेखि बुद्धदर्शनका लागि शास्त्रार्थ गरेर महासांघिक–लोकोत्तरवादको विस्तारको केन्द्रविन्दु भएको अनि पहिले सम्पूर्ण मध्यपूर्व क्षेत्रकै बुद्धधर्मको केन्द्र भइरहेको यस अफगानस्तानमा चारसय केही वर्षकै समयमा के के भयो होला र कि त्यहाँ बुद्धधर्मको छायाँ समेत बाँकी रहेन, जीव नभएको ढुंगा र माटोको स्मारक अनि प्रार्थना वा ध्यानगर्ने पवित्रस्थलहरु बाहेक? त्यति धेरै धर्मग्रन्थको रचना भएको, पाठ भएको ठाउँमा अहिले बुद्धधर्म भनेको के हो भनेर थाहा भएका मानिसहरु नै पाउन छोडिसक्यो ।

यहाँ सम्म भयो कि युनेस्कोले विश्वसम्पदामा सूचिकृत गरेको बामियानका विशाल बुद्धमूर्तिहरुलाई सन् २००१ मार्च २ का दिनमा तालिबान शासकहरुले बन्दुकले हानेर तोप पड्काएरै ध्वस्त पारे । एन्टी–एअरक्राफ्ट गन र एन्टी–ट्यांक माइन प्रयोग गरेर पनि एक महिना जस्तो लाग्यो तिनीहरुलाई त्यो आफ्नै देशको सभ्यताको अनुपम चिनोलाई माटो बनाउन । यसका लागि तत्कालिन तालिबानका सर्वोच्च नेता मुल्लाह ओमारले यो सम्पदा नभत्काउनका लागि दिएको विश्वब्यापी दबावलाई वास्ता नगरी यसलाई भत्काएरै छाड्ने आदेश दिएका थिए । उनीहरुले बुद्धका मूर्तिहरुलाई इस्लाम धर्मका विरुद्ध उभिरहेको ठाने । त्यसपछि त्यहाँको धार्मिक मामिला मन्त्रालयले यो विनाश इस्लामिक कानुन अन्तर्गत गरेको भनेर वक्तव्य पनि निकालेको थियो । मानिसहरु सबैभन्दा पहिले यसको विनाशको आदेश धार्मिक अतिवादी संगठन अल–कायदाया नेता ओसामाबिन लादेनले नै दिएको भन्ने पनि गरे । मुस्लिमहरुलाई यो नबोल्ने मूर्तिदेखि किन यत्रो त्रास भएको भन्ने स्पष्ट भएन । जुन धर्मको भएपनि त्यो अफगानी जनताको सम्पदा थियो र पुरानो पुस्ताको नयाँ पुस्ताका लागि नासो पनि थियो । यो देखेर विभिन्न देशका जनताहरु आआफ्नो ठाउँबाट बोले तर सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरु चुप लागेर बसे वा उनीहरु तालिबानलाई यो कार्य रोकाउन असफल भए । यसै विध्वंशको विषयलाई लिए स्वीस निर्माता क्रिश्चियन फ्रेइले “दि जायन्ट बुद्धज” नामक वृत्तचित्र नं सन् २००५मा बनाए । अफगान शासकहरुले यसको महत्व नबुझेपनि विदेशी सहयोगमा अहिले केही वर्ष मात्रैमात्रै थ्रिडि प्रकाश प्रविधि प्रयोग गरेर ध्वस्त पारिएको बुद्धमूर्तिलाई प्रतिविम्ब मार्फत देखाउने काम भएको छ ।

अब यो क्षेत्र विदेशी पुरातत्वविद्हरुको अनुसन्धानका लागि एउटा प्रयोगशाला बनिरहेको छ । चालिसौं वर्ष अघिदेखि विभिन्न देशका पुरातत्वविद्हरु आएर यहाँका माटोका पत्रहरुको उत्खनन् गरिरहेको छ, यो भेटियो, त्यो भेटियो भनेर विश्व संचारमाध्यममा तहलका मच्चाइरहेका छन् तर यहाँका स्थानीय मानिसहरु आफ्नो देशमा त्यस्ता अमुल्य खजाना भेटिएर पनि खास उत्साहित भएका पाइँदैन । उनीहरुमा बुद्धधर्मप्रति कति पनि आस्था, श्रद्धा र सम्मान देखिँदैन ।

तर यहाँ अफगानस्तानको घटनाक्रमले एउटा पाठ नै विश्वलाई सिकाएको छ । अरुको नाश गर्नेहरु सँधै सुख चयनमा बाँच्न पाउँदैन रहेछ । अरुलाई विदेशी हस्तक्षेप भन्दै आतंककारी वा लडाकु बनिरहेको मुस्लिम कट्टरपन्थीहरुले पनि देशमा कुनै शान्ति वा विकास ल्याउन सकिरहेको छैन । अरुको विनाश चाहनेहरुको नियति यस्तै हुन्छ भनेर पनि यसले देखाएको छ । आफ्नै ढुंगा माटोमा हजारौं वर्षमा विकसित भएको सभ्यतालाई तहस नहस गरेर पनि अहिले त्यहाँ मुस्लिमहरु सुखचयनमा बस्न पाइरहेका छैनन् । हुन त मुस्लिमहरुको एकछत्र राज छ, अन्य धर्म वा संस्कृतिले तिनीहरुको एकाधिकारमाथि आक्रमण त गरेको छैन तर पनि यो शान्त छैन । एकातिर मुस्लिम मुस्लिमहरुको आपसी लडाइ छ भने यो अहिले रसिया वा तत्कालिन सोभियत रुस, चीन र अमेरिकाको हानथापको शिकार भइरहेको छ ।

हामीलाई थाहा छ, सन् १९४६ मै संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको अफगानिस्तान ७० को दशकसम्म दक्षिण पश्चिम क्षेत्रमा विकसित जस्तै देश थियो । सन् १९७३मा जहिर शाह विदेश भ्रमण गएको बेला सेना कमाण्डर दाउद खानले रक्तपातपूर्ण कू गरेपछि त्यहाँ राजतन्त्रको अन्त्य भयो । तत्कालीन सोभियत संघको सहयोगमा गरिएको त्यो कू नै अफगानिस्तानको दुर्दशाको शुरुवात थियो । यस्तैमा सन् १९७९ मा सोभियत सेनाले अफगानिस्तान कब्जा नै गर्यो । कुनै बेला कम्युनिष्टहरुको हातमा देश गयो, उनीहरुले भनेजस्तो केही गर्न सकेन, खाली त्यहाँको श्रोतसाधनको दोहन मात्र विभिन्न शक्तिशाली देशहरुले पालैपालो गर्यो । अमेरिकालाई पनि यहाँ के कारणले हो धेरै चासो लाग्यो । यहाँ शान्ति स्थापना गर्ने भनेर खर्बौं डलर खर्च गरेर कहिल्यै नसकिने युद्ध मचायो । यहाँका अफगानी जनता पनि कोही कसका पछि र कोही कसका पछि लागेर आफु आफु लडेरै सकिए । आधा शताब्दी यो देश विभिन्न देशहरुको हस्तक्षेपको नमूना मात्र बन्यो, जनता झन् झन् गरिबीको खाडलमा पुरिए । हालै तालिबानीहरुले काबुल सहित देश कब्जामा लिएको खबरले विश्वमा सनसनी फैलायो । यता केही नेपालीहरु अफगानस्तान पुनः धार्मिक कट्टरपन्थी तालिबानहरुको हातमा गएकोमा खुशी छन् भने अफगानस्तानका जनता भने तालिबानको त्रासबाट बच्न झुण्डिएरै भएपनि यात्रा गरेर देश छोड्ने तरखरमा छन् । यो बिच तिनीहरले त्यो देश कुनैबेला बुद्धधर्मको केन्द्र थियो भन्ने सम्झन पनि पाएन ।

नेपालले सिक्नुपर्ने पाठ :
अफगानस्तानमा बुद्धधर्मको अवनति व बौद्धस्मारकको श्रृंखलावद्ध विनाश नेपालका लागि एउटा ठुलो पाठ हो । पहिलो यसले कुनै धर्मको रक्षाको निमित्त राज्यसत्ताको भूमिका कति हुन्छ भनेर सिकाएको छ । जब राज्यले कुनै धर्मलाई छाडेर अन्य धर्मलाइ काखी च्याप्छ, त्यो अर्को धर्मको हविगत त्यस्तै हुन्छ जस्तो अफगानस्तानमा बुद्धधर्मको भयो । हामी नेपाली बौद्धहरु राज्य र धर्म बिचको सम्बन्ध बुझ्दैनौं अनि राज्यको सहयोग वा सद्भाव बिना पनि धर्म बाँच्न सक्छ भन्ने भ्रममा बस्छौं । बुद्ध धर्मको रक्षा वा चीरस्थायित्वको लागि कि राज्यको संरक्षणको खाँचो छ, कि भने कमसेकम राज्य धर्म निरपेक्ष भइ सबै धर्मलाई समान व्यवहार गर्ने व्यवस्था भएपनि चाहिन्छ । अहिलेको नाममात्रको धर्मनिरपेक्षतामा राज्यले हाकाहाकी हिन्दु धर्मको संरक्षणमा वर्षेनी करोडौं बजेट खर्च गरिरहेको छ भने बौद्ध तीर्थस्थलमा प्रत्येक नेपालीलाई टिकट काट्न बाध्य पारी विभेदको राजनीति गरिरहेको छ । बौद्धहरु सचेत हुनु यहाँ जरुरी छ ।

अर्कोतर्फ सबै कुरा अनित्य भएजस्तै बौद्धस्मारकहरु पनि अनित्य भनेर अफगानस्तानले शिक्षा दिएको छ । बुद्धका मूर्ति, मन्दिर र विहारहरु समयको अमूल्य निधि हो तर त्यसले मात्र धर्म रहिरहँदैन । धर्म रहन धर्म बुझेका भिक्षु, भिक्षुणी, उपासक र उपासिकाहरुको आवश्यकता हुन्छ । यहाँ अहिले नेपालमा पनि धेरै पैसा खर्च गरेर बुद्धको मूर्ति, विहार वा गुम्बा बनाउने होड नै चलेको छ । यी सबै श्रद्धाका उपज हुन्, यसले बुद्ध शासनलाई चीरकालसम्म जीवित राख्न मदत त गर्छ तर यो नै सबैथोक होइन । बुद्धधर्म बुद्धशिक्षाको बलमा चीरस्थायी हुन्छ । यदि मानिसहरुको मनमा बुद्धको शिक्षाले स्थान लिन सकेन भने, उनीहरुले बुद्धमार्गलाई अवलम्बन गरेन भने ती सबै महँगा विशाल बौद्धस्मारकहरु पर्यटकहरुको लागि शोभा मात्र बन्न जान्छ र अफगानस्तानमा जस्तै अन्य धर्मको शासन आयो भने धुलो बनाइदिन्छ अनि यसको विरोध गर्ने बौद्धहरु पाइने समेत छैन । अहिलेको नेपालमा बौद्धहरुको अवस्था त्यति सन्तोष जनक छैन र भएका बौद्धहरुमा पनि विपरित धारको राज्यव्यवस्थासँग प्रतिकार गरेर बुद्धधर्म बचाउनु पर्छ भन्ने प्रतिरक्षात्मकताको अभाव छ । यस्तो अवस्थामा बुद्ध जन्मभूमि नेपालमा पनि मानिसहरुको सत्ताको मोह मात्र बढ्यो भने, बुद्धधर्म विरोधी कट्टरपन्थीहरुको हातमा सत्ता गयो भने अहिले हाम्रो गौरव भएर खडा भएका बौद्ध स्मारकहरु पनि एक एक गर्दै ढल्दै गएको हाम्रै आँखाले देख्नुपर्नेछ । समयमै नेपाली बौद्ध समुदायमा चेतना आए राम्रो हुनेछ ।
०००

(बौद्ध मासिक आनन्दभूमिमा अगस्ट २०२१मा प्रकाशित ।तसबिरहरु इन्टरनेटमार्फत संकलन गरिएका हुन् )

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.