एउटा बौद्ध देश म्यानमारमा सेनाको बर्बर आतंक

राजेन मानन्धर

बौद्धहरुलाई सर्वत्र शान्तिप्रेमी र अहिंसावादी मानिसहरुको रुपमा चित्रण गरिन्छ, जुन एक हदसम्म सही पनि हो । तर मानवीय स्वभाव अलग हुन्छ, अनि राजनीति र सत्तासँग जोडेर हेर्ने हो भने त्यहाँ बौद्ध आदर्शको अवमूल्यन भएको अवस्था पनि भेटिन सक्छ । केही महिनादेखि हामीले बौद्धहरुको देश भनेर श्रद्धा र गौरव गर्ने म्यानमारमा चलिरहेको हिंसात्मक द्वन्द्वले विश्वका बौद्धहरुको ध्यान आकृष्ट गरेको छ । त्यहाँ भएको गतिविधिले अबौद्धहरुलाई तिमी बौद्धहरु त यस्तो भनेर अर्धसत्यमा टेकेर खिसिट्युरी गर्ने अवसर दिइरहेको छ । यस लेखमा म्यानमार (जसलाई पहिले बर्मा भनिन्थ्यो), त्यहाँका बौद्धहरु र अहिले सत्ताको लागि त्यहाँ भइरहेका गतिविधिहरुलाई संक्षिप्तमा नियाल्ने प्रयास गरिन्छ । यो हरेक बौद्धहरुले सिक्नुपर्ने पाठ पनि भएकोले पनि यसलाई बौद्ध पाठकहरु समक्ष प्रस्तुत गर्ने जमर्को गरिएको हो ।

म्यानमारको इतिहास

म्यानमार दक्षिण पूर्व एशियाको एउटा ठूलो देश छ, जसको कुल क्षेत्रफल ६,७८,५०० वर्ग किलोमीटर छ । यसको सीमा भारत, बंगलादेश, चीन, लाओस र थाईल्याण्डसँग जोडिएको छ ।

एघार हजार वर्ष पुरानो इतिहास छ भनेर दावी गरिने म्यानमारमा सन् १०४४मा मियन वंशले शासन गरे, सन् १२८७मा कुबला खांले आक्रमण गरेपछि यस वंशको विनाश भयो । करिब पाँचसय वर्ष सम्म यहाँ ससाना राज्यहरु चलिरहेको अवस्थामा सन् १७५४मा शान तथा मान साम्राज्यहरु जितेर बर्मा वंशको राज्य संचालन भयो ।

सन् १८२६देखि अंग्रेजहरुले क्रमिक रुपमा यसलाई उपनिवेश बनाए । पछि यो भारतकै प्रान्तको रुपमा अंग्रेजहरुले शासन पनि गरे । यसलाई एक समय जापानीहरुले पनि आफ्नो बनाए । अन्ततः सन् १९४८मा यो ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भयो ।

त्यो बेलादेखि लोकतान्त्रिक परम्परा बसेकोमा सन् १९६२मा जनरल बिनले सैनिक कु गरेपछि निरन्तर जस्तै सैनिक शासन चलिरहेको छ । देशमा राजनीतिक अस्थिरताको कारणले गर्दा कुनै बेला दक्षिणपूर्वी एशियामै धनी कहलिएको देश म्यानमार अहिले गरिब देशहरुको सूचिमा पर्दछ ।

म्यानमारको बुद्ध धर्म

भगवान बुद्धले दिनुभएको शिक्षाले लुम्बिनी लगायत नेपालमै खास प्रभाव पार्न नसकेतापनि यो विश्वका विभिन्न देशहरुको सगौरव फैलिरहेको छ । जनसंख्या र कुल जनताको अनुपातको आधारमा म्यानमार विश्वमै सबैभन्दा धेरै बौद्धहरु भएको देश हो । यहाँ लगभग ९० प्रतिशत जनताले बुद्धधर्म मान्छन्, र ती मध्ये अधिकांशले थेरवाद परम्परा अँगाल्छन् ।

इशापूर्व २२८मा भारतका सम्राट अशोकले धर्म प्रचारका लागि दुइजना भिक्षुहरु सोन र उत्तरलाई सुवर्णभूमि पठाएको प्रसंग बौद्ध इतिहासमा उल्लेखित छ । त्यही सुवर्णभूमि नै हालको म्यानमार (र थाइल्याण्ड) क्षेत्र हो भन्ने विश्वास गरिन्छ । त्यस्तै इशाको तेश्रो शताब्दीको आन्ध्र इक्षाकुको अभिलेखले तथा तेश्रो शताब्दीकै चीनिया अभिलेखले पनि हालको म्यानमार क्षेत्रमा त्यसबेला बुद्ध धर्म फैलिएको पुष्टी गर्दछ ।

पाँचौं र छैठौं शताब्दीका सबैभन्दा पुराना भनिएका पालि भाषाका बौद्ध अभिलेख पनि हालको म्यानमार क्षेत्र भित्र नै पाइएको छ । त्यस्तै प्यू क्षेत्रमा वज्रयान तथा महायान बुद्धधर्मसँग सम्बन्धित बौद्ध देवदेवीहरुका मूर्तिहरु पनि पाइएका छन् ।

ब्रिटिश उपनिवेशकालमा त्यहाँको बुद्धधर्ममा केही ह्रास आएपनि स्वतन्त्र भइसकेपछि तिनीहरुले बुद्धधर्मको पुनरुत्थानका लागि धेरै मिहेनत गरे । यसैको फलस्वरुप सन् १९५४–५५मा त्यहाँ ऐतिहासिक छैठौं संगायना समेत भयो । अहिले पनि विभिन्न देशका मानिसहरु म्यानमार गएर बुद्धशिक्षा लिएर फर्कन्छन् ।

सैनिक शासन र म्यानमारको बुद्ध धर्म

जहाँ म्यानमार भनेकै बौद्धहरुको देश भनेको सुन्दा त्यहाँका हरेक बासिन्दाको हृदयमा बोधिचित्त उत्पन्न भइ मैत्री र करुणाले देश सञ्चालन भएको भनेर कल्पना गरिन्छ, त्यहीँ म्यानमारको सैनिक शासनको भयानक चित्र हाम्रो सामु तेर्सिन्छ ।

देशमा राज्य हुन्छ र राज्यको लागि सेनाको आवश्यकता हुन्छ । हामी म्यानमार बौद्ध देश भन्ने बितिकै उनीहरु बौद्ध भएकोले सेनाले पनि शील, समाधि जस्ता बौद्धहरुको आचरणले युक्त भएका होलान् अनि उनीहरुले पनि सोही अनुरुप देशको सेवा गर्दै होलान् भनेर सहजै अनुमान गर्छौं । तर कटु वास्तविकता यो छ कि जहाँ त्यहाँका औसत बासिन्दाहरुमा बुद्धशिक्षाको प्रभावले बौद्ध उपासक उपासिकाको जस्तो नरम हृदय र सहयोगी भावना छ भने राज्य चलाउने सेनामा त्यसको विपरित नै मनस्थिति भएको पाइन्छ ।

ब्रिटिश राजबाट स्वतन्त्र भएपछि म्यानमारमा पनि लोकतान्त्रिक परिपाटीको विकास भएको थियो र सोही अनुसार सन् १९५२, १९५६ र १९६० मा स्वतन्त्र निर्वाचन भयो । तर बिस्तारै त्यहाँको सेनामा सत्ता हथ्याउने कुनियत देखा पर्न थाल्यो र जननिर्वाचित सरकारलाई आफ्नो कठपुतली बनाउने वा सरकारै बरखास्त गरी सेना स्वयम् राज्य चलाउने नियतका साथ अघि सर्न थाल्यो ।

सन् १९६२को मार्च २ मा भएको सैन्य कूले जनरल ने वीनको अध्यक्षतामा सरकार बनायो । उनले म्यानमारमा प्रजातन्त्रको अन्त्य र एकदलीय पद्धतिको शुरुवात गर्यो । यस परिवर्तनले समाजवादको नाममा त्यहाँ नयाँ व्यवस्था ल्यायो र सन् १९७४मा बनाइएको नयाँ संविधानले बुद्धधर्मलाई राज्य धर्मको हैसियतबाट निकाल्यो । उनले धार्मिक सुधारको नाममा विहारहरुको छापा मारे र राजनीतिक रुपमा सचेत भिक्षुहरुलाई यातना पनि दिन थाले । यस प्रकार हेर्दा म्यानमारको सैनिक शासन त्यहाँको नागरिक अधिकारको हत्या र विशेष गरी त्यहाँ लगभग दुइ हजार वर्षदेखि फैलिरहेको बुद्धधर्ममाथि समेत प्रहारको शुरुवात थियो । यसलाई गैरबौद्ध देशहरुको म्यानमारमा बुद्धधर्म सखाप पार्ने वा तेजोवध गर्ने षडयन्त्रको हिस्सा होइन भन्न सकिन्न ।

सन् १९८८ मा एक होनहार महिला नेतृ आङसान सुचीको नेतृत्वमा प्रजातन्त्रको लागि आन्दोलन भयो र सैन्य सरकार निर्वाचन गराउन बाध्य भयो । यसैको फलस्वरुप सन् १९९०मा निर्वाचन पनि भयो तर चुनावमा सुचीको नेशनल लीग फर डेमोक्रेशी (एनएलडी)ले दुईतिहाइ हासिल गरेतापनि त्यहाँको सेनाले चुनाव जितेको पार्टीलाई सत्ता हस्तान्तरण गरेन । बरु त्यस सैन्य सरकारले प्रजातन्त्रको लागि गरिँदै आएको आन्दोलनमाथि निर्मम दमन गरे । बुद्ध शिक्षामा हुर्केका सेना अधिपतिहरुको यो क्रुरताले विश्वका बौद्धहरुको समेत शिर नुहेको अनुभव भएको थियो ।

हामीलाई थाहा छ, आफ्नै देशको प्रतिकूल राजनीति अवस्थाको कारणले लामो समय नेपालमा समेत बिताएकी, बुद्धधर्ममा आस्था राख्ने सुचीले झन्डै पन्ध्र वर्ष कठोर कारावास र नजरबन्दमा बिताउनुपर्यो । सन् १९९१मा नोबेल शान्ति पुरस्कार दिँदा समेत उनी नजरबन्दमै थिइन् ।

भरखरै सन् २०२० नोभेम्बर ८को दिन म्यानमारमा चुनाव भएको थियो । यस चुनावमा सुचीको पार्टीले स्पष्ट बहुमत प्राप्त गरेपछि सेनाले आफ्नो पकड भन्दा बाहिर देश जाने देखेर हस्तक्षेप गरे । २०२१को फेब्रुवरी १ का दिन म्यानमार सशस्त्र बलले त्यस चुनावलाई गैरकानूनी भएको दाबी गर्दै अर्को कू गरे र सुची तथा राष्ट्रपति वीन म्यीन्तलाई कैद गरे । त्यसपछि म्यानमारका नागरिकका मौलिक अधिकारसमेत निलम्बन गरेर सेनाले अधिनायकवादी शासनको पुनः शुरुवात गरे । त्यसैले अहिले म्यानमार अशान्त छ ।

त्यहाँका जनता अहिले यस कूको विरोधमा तथा प्रजातन्त्रको पुनस्र्थापनाको लागि आन्दोलन गरिरहेका छन् तर त्यहाँको सैन्य सरकार भने जनतामाथि अति बर्बर ढंगले दमन गरिरहेको छ । अभाव र महँगीले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ, मानिसहरु देश छोडेर छिमेकी देशमा शरणार्थी बन्न बाध्य भइरहेको छ तर पनि सेनाले सत्ता छोड्न तयार भइरहेको अवस्था छैन । झन् नागरिकहरुमाथि समेत सैन्य कानुन लादिएको छ । त्यहाँको सेनाले हालसम्म ७०० भन्दा धेरै नागरिकको हत्या गरिसकेको छ र ५,००० भन्दा बढी नागरिकलाई हिरासतमा राखेको भन्ने खबर आइरहेको छ ।

मनिसहरुले यस घटनालाई विभिन्न दृष्टिकोणले विश्लेषण गरिरहेका छन् । हामी सबैलाई थाहा छ — साना र गरिब देशहरुमा हुने यस्ता राजनैतिक अस्थिरताको पछाडि ठुला र विकसित राष्ट्रहरुको राजनीतिक, सामरिक तथा आर्थिक स्वार्थ लुकेको हुन्छ । एउटा बुद्धशिक्षाद्वारा सिंचित शान्तिप्रिय देश म्यानमारमा बिना कारण पचासौं वर्षदेखि अशान्ति मच्चिरहेको छैन । बौद्ध हुनुको कारण पनि हामीले म्यानमारको यो अवस्थालाई गंभीर रुपमा बुझ्न जरुरी छ ।

म्यानमारको आन्दोलनमा बौद्ध भिक्षुहरु

म्यानमारमा प्रजातन्त्रको लागि आन्दोलन भइरहँदा त्यहाँका बौद्ध भिक्षुहरु मुक दर्शक मात्र भएर बसेनन् । यस्ता प्रर्दशन र आन्दोलनहरुमा धेरै बौद्ध भिक्षुहरूले भाग लिए । उनीहरु त्यहाँको अखिल बर्मा बौद्ध भिक्षु सञ्जाल (एबीएमए)सँग सम्बद्ध थिए ।

त्यसैले त सैन्य सरकारले थुप्र्रै बौद्ध भिक्षुहरुलाई यातना दिए, ती मध्ये धेरै त मारिए पनि । सन् १९८९को कू अगाडि पनि भिक्षुहरु विरोधको अग्रपंक्तिमा थिए । उनीहरुले अव्यवस्थाको समयमा ट्राफिक पुलिसको काम गर्न तथा फोहर संकलन गर्न समेत गरेर देखाए । उनीहरुले सैन्य शासनको खुलेर विरोध गरे अनि सैन्य शासकहरु पनि बौद्ध भिक्षुहरु माथि आक्रमक बने । यसको विरोधमा बौद्ध भिक्षुहरुले सेना तथा उनीहरुको परिवारबाट दिइएको दान अस्वीकार गरेर, उनीहरुकहाँ धार्मिक कार्यक्रम नगरेर पनि विरोध जनाए । त्यसैले त सन् १९९० तिर सेनाले त्यहाँका १३३वटा विहारहरुमा छापा मारे, कतिपय भिक्षुहरुलाई जबर्जस्ती चिबर फुकाल्न लगाई श्रम शिविरहरुमा पठाइदिए । त्यहाँका बौद्ध जनताले त्यसमा प्रतिक्रिया जनाएपछि सैन्य अधिकारीहरुले आफु विहार गएको र भिक्षुहरुलाई दान दिएको दृष्य संचारबाट प्रचार गराएर जनताको सहानुभूति लिने कोशिस गरे ।

सन् २००७को केशर आन्दोलन नाम दिइएको नागरिक आन्दोलनमा हजारौं भिक्षुहरुले महत्वपूर्ण भूमिका खेले । यसैको फलस्वरुप सैन्य शासन सन् २००८मा नयाँ संविधानलाई संस्थागत गर्न बाध्य भयो । र यसैबेलादेखि त्यहाँ सेनाले भिक्षुसंघलाई आफ्नो पक्षमा ल्याउन धेरै कसरत गरे ।

पछि राज्य शासन तथा विकास परिषद् अन्तर्गतको सैनिक सरकारले भिक्षुसंघ आफ्नो पक्षमा राख्न र छ भनेर देखाउन केही विहारहरुलाई संरक्षकत्व प्रदान गरे, यही देखाउनकै लागि सेनालाई साथ दिने भिक्षुहरुलाई उच्च पदमा राखिदिए, अनि विहारहरुको जिर्णोद्धार गर्न रुची देखाए । सत्ताका लोभमा केही भिक्षुहरुले सैन्य सरकारको समर्थन गरेकोले त्यहाँका भिक्षुहरु विभाजित जस्तो पनि देखिए । तर यसै ताका पनि सैन्य सर्वोच्चता स्वीकार नगर्ने विहारहरुमा छापा मारिए, भिक्षुहरु कैद गरिए, पिटिए र मारिए पनि । यो पचास वर्षमा मात्र म्यानमारमा कति बौद्ध भिक्षुहरु सैन्य सरकारको आक्रमण र षडयन्त्रमा मारिए, लुटिए तथा हिंसाका शिकार भए भन्ने लेखाजोखा गर्न सजिलो छैन ।

राजनीतिक अस्थिरताको पछाडि

यो कुरा सर्वविदितै छ कि अहिले संसारमा अधिकांश देशमा भइरहेको अशान्ति पछाडि केही शक्तिराष्ट्रहरुको स्वार्थ लुकेको छ । नेपालमा जस्तै म्यानमारमा पनि अमेरिका, रूस, चीन अनि भारत जस्ता शक्तिराष्ट्रहरूको भूराजनीतिक तथा सामरिक स्वार्थले काम गरिरहेको छ भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

चीन म्यानमारको ठूलो छिमेकी, उत्पादनको सप्लायर मात्रै होइन, सैन्य सामग्री आपूर्ति गर्ने प्रमुख देश पनि हो । म्यानमारमा चीनको कति गहन भूराजनीतिक, सामरिक तथा व्यापारिक स्वार्थ छ, यसैबाट स्पष्ट हुन्छ । यस्ता कम विकसित देशहरुमा अशान्ति मच्चिरहेमा विकसित शक्तिराष्ट्रहरुको हैकम कायम रहने एवं हतियार इत्यादि बेचेर आफ्नो स्वार्थ सिद्ध गराइरहने सत्य १० वर्षसम्म सशस्त्र विद्रोहको अभिशाप भोगेको नेपालीहरुलाई राम्रोसँग थाहा छ । एकातिर सर्बशक्तिमान कहलिएका अमेरिकाको आफ्नो स्वार्थ होला भने अर्कोतिर हालै शक्तिराष्ट्रको रुपमा विश्वमा प्रभाव बनाउँदै गरेका चीन एवं भारतका लागि पनि म्यानमार एउटा व्यापारको केन्द्र भएकोले त्यसलाई विकसित भएर आत्मनिर्भर बनेको हेर्न उनीहरु चाहँदैनन् ।

यस्तो अवस्थामा म्यानमारको सैन्य शक्तिले कसैको प्रत्यक्ष वा परोक्ष सहयोग नपाइकन प्रजातन्त्रको दुहाइ दिने विश्वसामु यसरी आधा शताब्दीसम्म प्रजातन्त्रको घाँटी निमोठेर एकछत्र शासन गरिरहन सम्भव छैन । अन्य विभिन्न देशको आन्तरिक मामलामा हस्तक्षेप गर्नेे देशहरुले म्यानमारमा भइरहेको मानव अधिकारको हननको विषयमा खासै चासो नदेखाइकन तटस्थ बसिरहनुलाई पनि अर्थपूर्ण नै मान्नु पर्छ ।

संक्षिप्तमा भन्नुपर्दा अहिलेको म्यानमारको सैन्य कु र शासन भनेको चीनको इण्डो–प्यासाफिक क्षेत्रमा प्रवेश गर्ने महत्वकांक्षा र त्यसलाई रोक्न खोज्ने इण्डो–अमेरिकी समुहको प्रतिकारजनक उत्तरको फल हो भन्ने गरिन्छ ।

नेपालले सिक्नु पर्ने पाठ

म्यानमार भनेको नेपालसँग घनिष्ठ राजनीतिक, धार्मिक र सांस्कृतिक सम्बन्ध भएको देश हो । नेपालमा जन्मनुभएका भगवान बुद्धको शिक्षालाई अधिकांश म्यानमारका जनताले शिरोपर गरेका छन् । उनीहरु नेपाललाई पुण्यभूमिका रुपमा लिन्छन् । म्यानमारमा गएर सयौंका संख्यामा नेपाली भिक्षु एवं अनागारिकाहरुले बुद्ध शिक्षा लिएका आएका छन् । त्यसबाहेक म्यानमारमा करिब ३ लाख नेपालीमुलका मानिसहरु बस्छन् । यसअर्थमा त्यहाँ भएका सबै प्रकारका परिवर्तनहरुले नेपालको राजनीतिक, धार्मिक तथा सामाजिक रुपमा प्रभाव पारिरहेको हुन्छ ।

बौद्ध विद्यार्थीहरुलाई पढाइन्छ — भगवान बुद्धले द्वन्दको व्यवस्थापनको सवालमा यस्तो भन्नु भएको थियो, अनि राज्य कसरी सञ्चालन गर्नुपर्छ भनेर पनि केही भन्नु भएको थियो । साँच्चै सबै देशका राष्ट्रप्रमुखहरुले भगवानबुद्धको शिक्षा अबलम्बन गरेको भए त कतै कुनै द्वन्द्व वा युद्ध नै हुने थिएन होला, कति शान्त हुन्थ्यो होला यो विश्व ब्रम्हाण्ड नै । तर यस्तो युटोपियाको त अब कल्पना मात्र गर्न सकिन्छ । बौद्ध देश होस् वा अबौद्ध देश, जो कोही नेतृत्वमा जान्छ, वा जाने चाह गर्छ, उनीहरुको एउटै मात्र ध्येय भनेको जसरी भएपनि सत्ता हथ्याउने र सत्तामा टिकिरहने मात्र हुन्छ । उनीहरुले बुद्धको शिक्षालाई मनन सम्म पनि गर्दैनन् । यो मानवीय स्वभाव हो ।

कोही कोही बुद्धधर्मका विद्यार्थीहरु पनि बौद्ध देशमा सेनाको के काम होला र, त्यहाँ त सेना नै हुँदनन् भन्ने सोच राख्छन् । तर यथार्थमा हेर्दा बौद्ध देशका सेना पनि ह्रिंसक र परपिडक भएको उदाहरणहरु यथेष्ट भेटिन्छन् । नेपालकै कुरा गर्दा पनि भगवान बुद्ध नेपालमा जन्मनुभएको भनेर जगजाहेर छ, त्यो अनुसार त नेपालका सेनालाई पनि शान्तिमा विश्वास हुनु पर्ने हो । तर हाम्रो आँखा अगाडिको तसबिर ताजै छ, सीमामा तन्केर विदेशीको शत्रुको अगाडि उभिन नपर्ने सेना आफ्नै नेपाली जनताले सशस्त्र विद्रोह गर्दा हदै सम्म अमानवीय भएर विद्रोही तडपाई तडपाई मारेको, महिलाहरुलाई बलात्कार जस्तो कुकर्म गरेको समेत पनि प्रतिवेदनले देखाएको छ । त्यसकारण सेना भनेको सेना मात्र हो, यो हामीले बिर्सन हुँदैन ।

यहाँ नेपालमा अहिलेको राजनीति पार्टी एवं नेताहरुले जनचाहना बमोजिम काम नगर्दा केही जनसमुदायमा अब देश सेनाले लिएर सैनिक शासन चलाएपनि हुन्छ भन्ने चाहना देखिएको छ । पार्टी तथा नेताहरुमा वितृष्णा बढेर एकमात्र सहाराको रुपमा सेनालाई देख्न अस्वाभविक होइन, तर यहाँका सेना कति भर पर्न लायक छन् भन्ने कुरा सशस्त्र विद्रोहको बेलामा सेनाले गरेको कारबाही, राजा सक्रिय हुँदा सैन्य अधिकारीहरुको देखाएको सत्तालोलुपता अनि अहिले पनि सडक निर्माणको प्रसंगमा समेत जनतालाई पेलेरै जाने रणनीतिले उनीहरुमाथि त्रास पैदा गराउँछ । एक पल्ट देश सेनाको हातमा गयो भने नेपाल म्यानमार जस्तै हुने कुरामा शंका छैन ।

त्यो भन्दा महत्वपूर्ण पाठ नेपाली बौद्ध जगतले म्यानमारका भिक्षुहरुको राजनीतिक चेतनाबाट लिनुपर्छ । परापूर्वकालदेखि नै त्यहाँका भिक्षुहरु राजनीतिकरुपमा चेतनशिल, सक्रिय मात्र होइन निर्णायक नै रहेको पाइन्छ । गत ५० वर्षको इतिहास मात्र हेर्दा पनि त्यहाँका शासकहरुले भिक्षुहरुलाई दमन गरेको अनि भिक्षुहरुले आआफ्नो समयमा देशमा राजनीति परिवर्तनको लागि आन्दोलन हुँदा जनताको र प्रजातन्त्रको पक्षमा आवाज उठाएको इतिहास छ । अति गरेपछि सहन नसकेर त्यहाँका भिक्षुहरु बेलाबेलामा आक्रमकसम्म पनि बन्नुपरेको समेत दृष्टान्त छ । सर्भाइभल अफ द फिटेस्टको सिद्धान्तले म्यानमारका भिक्षुहरुलाई निर्देश गरेको पाइन्छ ।

संख्यात्मक रुपमा भिक्षुहरु कम भएको र तुलनतात्मक रुपमा बौद्ध समाज नै सानो भएकोले होला, नेपालको राजनीतिक वृत्तमा बौद्ध भिक्षुहरुको कुनै भूमिका देख्न सकेको छैन । त्यसमा पनि पहिलेदेखि नै राज्यबाट देशनिकाला जस्तो अमानवीय व्यवहारबाट आजित भएर होला, नेपालका नेतृत्वदायी स्थामा पुगेका भिक्षुहरु नै राजा होस् वा सरकार प्रमुख, सबैलाई रिझाएरै धर्मशासनलाई चीर बनाउन मिहेनत गर्नुभएको पाइन्छ । तर त्यसो भन्दैमा थोरै मात्र सहयोगका लागि पनि बुद्धधर्मको मर्मलाई स्वीकारै नगर्ने नेताहरुलाई खुशामद गर्ने प्रचलन बस्ने डर छ । यस्तो भइरहे नेपालका बौद्धहरुले कहिल्यै राज्यमा समान स्तरको नागरिक हुँ भन्ने अनुभूति पाउने छैन ।

आफ्नो पहिचान नै खतरामा परेको बौद्ध समाजमा राज्यले विभेदकारी व्यवहार गर्दा खबरदारी गर्न सक्ने नेतृत्वको खाँचो छ, जसका पछाडि सम्पूर्ण बौद्धहरु अडिग भएर उठ्ने छन् । यहाँ नेतृत्वदायी भिक्षुहरुको सक्रिय भूमिका एवं सम्पूर्ण बौद्ध समाजकै चेतनशिल भूमिकाको अपेक्षा गरिन्छ । अनि मात्र देशका सम्पूर्ण जनताले आफु सबै धर्मलाई समान दृष्टिले हेर्ने साँच्चैका धर्मनिरपेक्ष देशका सम्मानिता जनता हुँ भन्ने गर्व अनुभूति गर्न पाउँछ र यो नै देशको प्रगतिको सूचक पनि हो ।

आनन्दभूमि ल्हुति पुन्हि 2021 04 27 मा प्रकाशित

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.