किन थोरै छ नेपालमा बौद्धहरुको जनसंख्या?

Buddhists offering cangle lights, to save Buddhist monuments at Buddha Park, Swayambhu, Kathmandu (Photo : Razen)

राजेन मानन्धर
बुद्ध नेपालमा जन्मेको भन्न हामी सबैलाई मन पर्छ । कोही वल्र्ड रेकर्ड बनाउँछन्, कोही टिभी कार्यक्रम बनाउँछन्, कोही फिल्म बनाउँछन् अनि कोही टिशर्ट लगाउँछन् । तर नेपालका कति प्रतिशत जनताले बुद्धधर्म अँगालेका छन् भनेर सोध्यो भने हामी नेपालीहरु लाजले भुतुक्कै हुनुपर्ने अवस्था छ ।

Countries with largest Buddhist population

अहिलेसम्मको अध्यावधिक तथ्यांक सन् २०११को जनगणनाले नेपाको कुल जनसंख्याको ९.०४ प्रतिशत जनता बौद्ध देखाउँछ । तपसिलका कुरा छोडेर देशको सरकारी आँकडा देखाउने तथ्य यही हो । अन्य देशहरुमा क्याम्बोडियामा ९६ प्रतिशत, थाइल्याण्डमा ९३ प्रतिशत, म्यानमारमा ८० प्रतिशत, भुटानमा ७४ प्रतिशत, श्रीलंकामा ६९ प्रतिशत, लाओसमा ६६ प्रतिशत बौद्धहरु छन् । अरु त के, साँस्कृतिक क्रान्तिको नाममा बुद्धधर्मलाई तहसनहस गरिएको चीनमा समेत अहिले १८ प्रतिशतले बुद्ध धर्म मानिराखेको अवस्था छ ।

Population percentage of Buddhists in different countries

सानै छँदादेखि मेरो मष्तिष्कमा एउटा घुमिरहने प्रश्न हो यो — नेपालमा बौद्धहरुको जनसंख्या किन यति थोरै ? नेपालीहरुलाई किन बुद्धधर्म अँगाल्न सकस हुन्छ ? यहाँ यी प्रश्नहरुको सामान्य जवाफ खोज्ने वा खोतल्ने प्रयास गरिन्छ ।

बुद्धधर्मको प्रकृति
बौद्धहरुको जनसंख्या किन कम भनेर सोच्नु भन्दा अगाडि हामीले यो बुझ्नु पर्छ कि बुद्ध धर्म भनेको यस क्षेत्रमा, अझ संसार भरी नै, चलेका धर्महरु भन्दा कलिकति फरक धर्म हो । यस्तो फरक किन छ भने बुद्धधर्मले कुनै ईश्वरीय शक्तिलाई मानेको छैन । हामीले दुइ हात जोडेर पुकारा गर्दैमा कुनै स्वर्गबाट झरेर वा कतै बसेर तथास्तु भनेर हाम्रो समस्या समाधान गरिदिने वा भाकल पुरा गरिदिने तत्व यसमा छैन ।

Tengboche Monastery, Solukhumbu (Photo : Wiki)

मानिसहरु स्वभावैले जब आफ्नो बलबुताले वा ज्ञानले केही प्राप्त गर्न सक्दैन, तब कुनै अदृष्य शक्तिले आफ्नो काम बनाइदिओस् भनेर चाहना गर्दछन् । यो कुरा बुद्धधर्ममा नपाइने देखेपछि यसमा मानिसहरुको लगाव वा विश्वास नरहनु स्वभाविक हो ।

२५सय वर्ष अगाडि भगवान बुद्धले ती पुराना दैवी शक्तिका विश्वासहरुले मानवमात्रको कल्याण नहुने देखेर नै नयाँ मार्ग पत्ता लगाएर हामीलाई दिनुभएको थियो । यसले कुनै शक्तिमा हैन आफ्नै बानी व्यवहार वा कर्ममा विश्वास गर्न सिकाउँछ । त्यसकारण यो मार्गमा हिँड्न सजिलो छैन, अनि त्यसकारण धेरै मानिसहरु बुद्धधर्ममा लाग्न चाहँदैनन् ।

बौद्धहरुको सोचाइ
बुद्धधर्मलाई अवलम्बन गर्न वा बुद्धले सिकाएको जस्तो जीवन बाँचेर आफुलाई सुखी बनाउन सरल त छैन नै, अझ त्यसमा पनि केही बौद्धहरु, अनि विशेष गरेर बुद्धधर्मका गुरुहरु वा पथप्रदर्शकहरु नै सामन्य जनलाई बुद्धधर्म कठिन छ, यो जो पायो त्यहीले बुझ्दैन, गोप्य कुरा, भन्न मिल्दैन अथवा जसले पूर्व जन्मबाट केही लिएका आएका हु्न्छन् उनीहरुले मात्र यसलाई बुझ्न सक्छ भन्ने आशयका वक्तव्यहरु दिइरहेका हुन्छन् । केही हदसम्म यो सही हो, किन भने माथि नै भनिसकें, यो कठिन हो । तर यो पाउन नसकिने, बुझ्न नसकिने वा लाभ लिन नसकिने गरी कठिन धर्म भने पक्कै होइन ।
अनि यस्तो भन्नेहरुले सत्यलाई सही ढंगले प्रस्तुत गर्न नसकेको एक पक्ष हुनसक्छ भने, अर्को पक्ष भनेको केही धर्म गुरुहरुमा नै धेरैले यो धर्म सिकेर लाभ लिउन् भन्ने खुल्ला हृदय नभएको, केही कुरा गुरुमुठ्ठी राखेर आफ्नो वर्चश्व कायम रहोस् भन्ने दुराशय बाँकी रहेको वा आफु जानकार हुँ भन्ने दम्भ भएको पनि हुनसक्छ ।

जब कोही सामान्य जन आफ्नो बाउबाजेले जानेको, सिकाएर आएको धर्म भन्दा अलग्ग केही सिक्न चाहन्छ, उसलाई प्रवेशद्वारमै चेतावनी सूचक रातो बत्ती देखाइन्छ भने आउन वा सिक्न हिच्किचाइरहेका मानिसहरु ढोकैबाट फर्कनु स्वभाविक हो । त्यसकारण त २५ सय वर्ष अगाडि सारा दक्षिण भारतमा व्याप्त भएको धर्म अहिले केही नगरका केही समुदायमा मात्र सिमित बनिरहेको छ ।

बौद्ध गुरुहरुको ढुलमुलेपन
दुःखका साथ हामीले यो स्वीकार गर्नुपर्छ कि नेपालको कुरा गर्दा यहाँ जतिले आफुलाई बौद्ध हुँ भनेर भन्छ त्यसमा निकै थोरै अंश मात्र सही अर्थमा बौद्ध हुन् ।

जब बुद्ध शिक्षासँग ठ्याक्कै नमिल्ने कुराहरु बौद्धहरुले अपनाउँछ, तब उनीहरुले आफ्ना धर्मग्रन्थहरुले जेजस्तो भनेको भनेर जानेपनि ती बुद्धधर्म विपरितका कर्मकाण्ड, दर्शन, सोचाइ र आनीबानी छोड्न सक्दैन । फलस्वरुप उनीहरु हिँड्ने बाटो आखिरमा दुइटा नाउमा दुइटा पाइला राखेर यात्रा गर्ने सरह नै हुन्छन् । उनीहरुले कस्तो गन्तव्य समात्ला? यो सबैले बुझेकै कुरा हो । हामीलाई थाहा छ कि बुद्धधर्मको प्रचारमा बौद्धहरु नै सजग हुनुपर्छ ।

उता हिमाली बुद्धधर्मको आफ्नै समस्या छ । पुज्य गुरु पद्मसम्भवले फरक स्वभावका मानिसहरुका माझ बुद्ध धर्म फैलाउनुभयोे । यस्तो अवस्थामा त्यहाँका मानिसहरुले बुद्धको शिक्षालाई यसरी लिनु त सबैका लागि गौरवको कुरा नै हो तर त्यो अहिले त हजारौं वर्ष भइसक्यो । अहिलेको अवस्थामा पनि मानिसहरुमा आफु बौद्ध हुनुअगाडिको धर्मको छाप रहिरहनु अनि त्यही रुढीवादमा अलमलेर बुद्धको मूर्ति मात्र राखेर देखावटी, खर्चालु र अबौद्ध कर्मकाण्डमा अल्झिरहनपर्नु भनेको बत्तीको मुनि अँध्यारो हुनु नै हो कि जस्तो देखिन्छ ।

रुढसँगको नाता
पुराना बानीहरु छुट्न मुश्किल हुन्छ भनिन्छ । यहाँ पनि यस्तै हो । जुन धर्मले यस क्षेत्रका मानिसहरुलाई हजारौं वर्षसम्म गाँजेर राखेको छ, त्यो त्यति सजिलैसँग तोडिँदैन । सुत्दा, उठ्दा चारैतिर जुन धर्म, विश्वास वा परम्परा देख्छ, मानिसहरुले त्यही मात्र उचित, शुद्ध अनि आफ्नो लायकको भनेर स्वीकार गर्दछ । यस्तो अवस्थामा यस सनातन धर्मको नाममा जुन प्रचारित भयो, जसलाई यहाँका राजनीति व्यवस्थाहरुले अँगाल्यो, त्यसले नै फल्ने फुल्ने अवसर पाउनु स्वभाविक हो । त्यसैले यहाँ अबौद्ध धर्म फैलियो र बौद्ध धर्म खुम्चियो ।

हिन्दुहरुको असर
पश्चिमाहरु भन्छन् — संसारभरी नै बुद्ध धर्म फैलिएपनि भारत र नेपालमा बुद्धधर्म राम्रोसँग फैलिने सम्भावना कम छ, किनभने यहाँको बुद्धधर्मले रातोदिन हिन्दु वा सनातनवादीहरुसँग लडिरहनुपर्छ । विभिन्न कारणले यहाँ अहिलेको अवस्थामा बौद्धहरु अल्पसंख्यक भएको त थाहै छ, त्यसमा पनि हिन्दुहरु स्वभावैले बौद्धहरुको विरुद्धमा प्रचार गर्नमा नै धेरै समय बिताउँछन् र यति गरेर नै उनीहरु आफ्नो अस्तीत्व जोगाउँछन् ।

Lumbini, the birthplace of the Buddha (Photo : Razen)

कहिले बुद्ध पहिले हिन्दु थिए भनेर, बुद्ध धर्म र हिन्दु धर्म भनेको सिद्धान्ततः एकै हो भनेर वा बुद्ध धर्म भनेको हिन्दु धर्मको शाखा हो भनेर प्रतिक्रिया नदिई उनीहरुलाई हिन्दु धर्म जोगाइराख्न सकिन्छ जस्तो नै लाग्दैन । उनीहरु आफु मात्र हिन्दु धर्म निर्बाध रुपमा अभ्यास गरिरहन पाऔं भनेर सन्तोष मान्न तयार छैनन् । अनि बुद्धधर्मले आफ्नो अस्तीत्व मात्र खोजे पनि बुद्ध धर्म र हिन्दु धर्म एकै हो, अहिले आएर धार्मिक अशान्ति मच्चाउन आए भनेर ठाडै आरोप लगाउन पनि पछि पर्दैनन् । अहिले पनि हिन्दु र बौद्ध बिचको संर्घषको कुरा र बौद्धहरुलाई बलजफ्ती हिन्दु बनाइको कुरा, नेपालका राजाहरुले बौद्धहरुमाथि अन्याय गरेको कुरा मथिक मात्र हो भन्ने हिन्दु अतिवादी लेखकहरुले पत्रपत्रिकाको पेज भरिरहेकै छन् । तर उनीहरुले बुद्ध जन्मेको देशमा बुद्धका अनुयायीहरुलाई जमिनले निल्यो कि आकाशले उडायो त भन्ने प्रश्नको जवाफ हुँदैन ।

यस्ता प्रतिक्रिया राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा सानो–ठुलो वृत्तमा आइ नै रहन्छन् । यस्तो अवस्थामा माथि भनिए जस्तै बौद्धहरुमा आफ्नै स्वभावको कारणले पनि हिन्दुहरुसँग बादबिवाद गर्नेहरु कम छन् जसले गर्दा बुद्धधर्मको प्रभाव समाजमा बढ्न पाइरहेको छैन ।

धर्म परिवर्तन
अहिलेको आधुनिक युगमा मानिसहरु धर्मको दास हुन मन पराउँदैनन् । तर नेपालमा आज पनि हिन्दुहरु अरु धर्मबाट हिन्दु धर्म ग्रहण गर्नुलाई प्रशंसा गर्छन् भने हिन्दुहरुले वा अन्य धर्मावलम्बीहरुले पनि धर्म परिवर्तन गर्नुलाई अपराधको संज्ञा दिन्छन् । त्यसकारण कुनै बेलामा बुद्ध धर्म छोडेर हिन्दु बनेकाहरु पनि बौद्ध भएर फर्कने वातावरण सहज देखिँदैन ।

यति भनिरहँदा पनि केही बौद्ध समुदायका मानिसहरु केही थान कम्बल, औषधी उपचार वा स्कुल भर्नाको लोभले आफ्नो धर्म छोडेर क्रिश्चियन धर्ममा लागेका समाचारहरु पढ्न परिरहेको अवस्था छ । यसले नेपालको धार्मिक जनसंख्याको मानचित्रमा उल्लेख्य असर परिरहेको स्पष्ट देखिन्छ । हुन त अहिले हिन्दु धर्मको छुवाछुत र भेदभाव सहन नसकेर केही कथित तल्लो जातका हिन्दुहरुमा बुद्धधर्म अबलम्बन गर्ने अभियान चालिरहेको पाइन्छ तर बुद्ध धर्म छोड्नेहरुको तुलनामा अवलम्बन गर्नेहरु नगन्य भएकोले अहिले नै यो कारणले बौद्ध जनसंख्या बढेको देख्न पाइने सम्भावना छैन ।

शिक्षा प्रणाली
स्कुल जाने विद्यार्थीहरुको पाठ्यपुस्तक सरसरती हेर्दा यो देखिन्छ कि नेपालको शिक्षा प्रणालीले बुद्ध धर्मलाई अलग पहिचान भएको धर्मको रुपमा लिएको नै देखिँदैन । अपवाद बाहेक अधिकांश पाठ्यपुस्तकमा धर्म भनेपछि हिन्दु धर्म, मन्दिर भनेर हिन्दु मन्दिर, देउता भनेर हिन्दु देवी देउता तथा चाडपर्व भनेर हिन्दु चाडलाई नै देखाइन्छ । कतै कतै बुद्धलाई नेपालको लुम्बिनीमा जन्मेका र राष्ट्रिय विभूति भनेर चिनाउने बाहेक न यिनको सिद्धान्त र दर्शन सिकाउँछ न त यो विश्वभरी फैलिएको छ भनेर नै पढाइन्छ । बरु बौद्ध धार्मिक स्थललाई पर्यटकको आकर्षण गर्न सकिन्छ, त्यसबाट आर्थिक लाभ लिन सकिन्छ भनेर भने देखाइन्छ । अनि सामान्य नेपालीले नेपालमा बुद्ध धर्म छ भनेर नै पनि कसरी जानुन् ?

Bauddha Mahachaitya, Kathmandu (Photo : Razen)

सबैका लागि भनेर तयार पारिएको परियत्ति शिक्षाले औपचारिक मान्यता नपाउनु अनि संरचनाकै कारणले यदाकदा बाहेक बौद्ध समाज भन्दा बाहिर यो जान नसक्नाले पनि यो अहिलेलाई देशको जनसंख्यामा बौद्धहरुको संख्या बढाउने खालको भूमिका खेल्न समर्थ देखिँदैन ।

अनि बौद्धहरुले ठुलै आशा लिएको एउटा बौद्ध विश्वविद्यालयले पनि अरु किसिमका शिक्षित जमात बनाए पनि बौद्धहरु बनाउन नसकेको यथार्थ हाम्रो सामु छ । हुन त यो बौद्ध बनाउने खालको प्राज्ञिक संस्था नभएकोले पनि यस्तो आशा लिनु अप्रासंगिक नै देखिन्छ ।

राज्यको नीति
कुनै पनि धर्मको विकास र पतनमा त्यहाँको राज्य व्यवस्थाको सबैभन्दा ठुलो हात रहने कुरा सर्बविदितै छ । भारतमा भगवान बुद्धको परिनिर्वाण पछि सबैभन्दा व्यापक रुपमा धर्मविस्तार सम्राट अशोकको समयमा भयो भने उनको अन्तसँगै यो व्यापकताले एक किसिमबाट भनौं भने विश्राम नै लियो । कुनै राजाले मन पराए धर्म विस्तार हुने र कुनै राजाले मन नपराए भएका सम्पदाहरुको समेत नष्ट गर्ने परिपाटी यो भारतवर्षमा चलिरहेकै हो । यसैको फलस्वरुप अजन्ता, एलोरा जस्तो विश्वकै आश्चर्यजनक सम्पदाको निर्माण गर्ने बौद्धहरु आठौं शताब्दीदेखि आफ्नै अस्तित्वको लागि लड्नुपर्यो ।

नेपालको बुद्धधर्मको इतिहास भने भारतको भन्दा केही कारणले भिन्न छ । काठमाडौं उपत्यका, केही हिमाल जिल्लाहरु तथा सुदुरपश्चिमका केही भागहरुलाई अपवादको रुपमा लिँदा अन्य क्षेत्रमा बुद्धधर्मले कहिल्यै लामो समयसम्म प्रश्रय पाएको भेटिँदैन । लुम्बिनीकै कुरा गर्दा पनि राजा सुद्धोधनले भगवान बुद्धलाई अति आदरका साथ आफ्नो दरवारमा आमन्त्रण गरेको इतिहास छ तर शाक्यवंशको अस्तसँगै यस क्षेत्रमै बुद्धधर्मको विकासले गति लिन नसकेको अहिले त्यहाँ एक दुइ ठाउँमा बाहेक कतै बौद्ध स्मारक नभेटिनु र वर्तमानमा पनि कुनै आदिबासी बौद्धहरुको समुदाय नहुनुले देखाउँछ । नभए यति ठुलो विश्वमा आफ्नो प्रभाव पार्नसक्ने बुद्धधर्मले रुपन्देही जिल्लामै र वरिपरी पनि एउटा उल्लेख्य बौद्ध जनसंख्याको उपस्थिति देखाउनु किन सक्दैनथ्यो ?

World Peace Temple at Pokhara (Photo : Wiki)

काठमाडौं उपत्यकाको हकमा पनि लिच्छवीकालदेखिको इतिहास हेर्दा पनि एक दुइजना राजाहरुले एकदुइवटा अभिलेखमा बुद्धधर्मको उच्चारण गरेको वा बौद्ध स्मारकहरुमा अनुदान दिएको आधारमा बुद्धधर्मले राजकीय संरक्षण पाएको भनेर दंग हुने बाहेक त्यो बेलामा राज्य व्यवस्थाले नै बुद्धधर्म अँगालेको र बौद्धहरुलाई त्यस्तो अभिभावकत्व प्रदान गरेको भन्ने वातावरण दुर्लभ थियो ।

भारतमा बौद्धहरुले हिन्दूहरुको अतिवाद र मुस्लिमहरुको आक्रमणबाट बच्न यहाँ काठमाडौं उपत्यकामा शरण लिएको एउटा सकारात्मक पक्ष हो भने यसै कालदेखि नै यहाँ काठमाडौंको बुद्धधर्मले हिन्दु धर्मको रंगमा आफुलाई ढालेर वैदिक वा तान्त्रिक मतसँग तादात्म्य जोड्नुलाई विस्तार भन्ने कि वा विचलन भन्ने ? यो प्रश्न यहाँ खडा छ । समग्रमा जयस्थितिमल्लको कथित सामाजिक विभाजनले बौद्धहरुलाई र बुद्धधर्मलाई नै राजालाई मनपर्ने धर्मको अंशको रुपमा परिमार्जित गरेको सत्य कसैबाट छिपेको छैन ।

मल्लकाल र शाहकाल भरी नै बुद्धधर्मले कहीँ कहीँ बाहेक राज्य व्यवस्थाको प्रशयमा हुर्कने र विस्तार हुने मौका पाएन । यस अवधि भरीमा जति पनि जस्तो पनि बुद्धधर्मको विकास भयो त्यसमा स्थानीय बौद्ध समुदायको नै दान, लगन, चातुर्य र श्रद्धाले नै काम गरेको पाइन्छ ।

त्यसमा पनि राणाकालको अन्यमा बुद्धधर्मको प्रचार गरेको आरोपमा घरबार त्यागेका भिक्षुहरुलाई तत्कालिन सरकारले देशद्रोहीलाई झैं देश निकाला गरेको थियो । यो लज्जाजनक इतिहासको कलंकले नेपालको राज्य व्यवस्थाको एक अमुक धर्मप्रतिको घृणा र प्रतिशोधलाई उदांगो पारिरहन्छ, विश्व मानचित्रमा नेपाल बुद्ध जन्मेको देश होकि बौद्ध भिक्षुहरुलाई अपमान गरी देश निकाला गर्ने देश भनेर संसारले सोधिरहन्छ ।

Buddha Park, Swayambhu, Kathmandu (Photo : Razen)

अहिलेको अवस्था भनेको हाम्रो आँखा सामु घाम जतिकै छर्लङ्ग छ । पञ्चायतकालमा बन्दै गरेको पोखराको शान्ति स्तुप भत्काइनु, सुर्खेतमा स्थापना गर्न लागेको बुद्धमुर्तिलाई प्रहरीले ट्रकमा कोचेर लानु, भैरहवाको बिचबाटोमा राखिएका बुद्धमूर्तिहरु रातारात भत्काइनु अनि अहिले सडक विस्तारको नाममा स्वयम्भु बुद्धपार्क र हजार मूर्ति भएको चैत्य भत्काउन खोज्नु केही उदाहरण मात्र हुन् । मुख्य कुरा राज्यको नियतको हो ।

राज्यले बुद्धधर्मलाई केही गर्नुपर्यो कि कसैको आलापबिलाप सुन्न नसकेर निगाह बक्सेको अनि हिन्दुहरुको मन्दिर बनाउनु पर्यो भने राष्ट्रिय गौरवको परियोजनाको नाममा बजेट निकासी गरेको हामी आफ्नै आँखाले देख्दैछौं ।

४६सालका राजनीतिक परिवर्तन पछि बनेको संविधानमा नेपाललाई धर्म निरपेक्ष लेखाउन वृहत आन्दोलन गरियो, तर संविधान लेख्नेहरुले देशका सबै धर्महरुलाई समान देखेन । गणतन्त्रात्मक देशको संविधानमा समेत साँचो अर्थमा नेपाललाई धर्मनिरपेक्ष बनाउन सकिएन, आफ्नो धर्मलाई अरु धर्म सरह स्वावलम्बी भएर दर्शन र सिद्धान्तको आधारमा जनमानसमा विश्वास ग्रहण गराउन सकिन्छ भन्ने विश्वास नभएको समुदायको कारणले । यस्तो अवस्थामा नेपालमा सबै धर्म कसरी समान रुपले फस्टाउन सक्छ ? सबै नेपालीले बुद्धी र विवेक प्रयोग गरेर कसरी आफुलाई ठिक लागेको धर्म अबलम्बन गर्न सक्छ ?

उपसंहार
यो लेखको उद्देश्य नेपालको धार्मिक राजनीति र बौद्धहरुको अवस्थामाथि सरसरी विश्लेषण गर्ने मात्र हो, कसैलाई बलजफ्ती वा जालझेल गरेर बौद्ध बनाएर जनसंख्यामा बौद्धहरुको संख्या धेरै देखाउनु पर्छ भनेर यहाँ आग्रह गरिएको छैन ।

Buddha’s idol demolished in Bhairahawa, neear Lumbini

हुन त कसले कुन धर्म मान्ने भन्ने व्यक्तिको स्वतन्त्रताको विषय हो तर कुन देशका कति मानिसले कुन धर्म अवलम्बन गरेको छ भन्ने तथ्यले विश्वमा त्यस देशको छवि देखाइरहेको छ । अहिलेको यथार्थ नेपालका दशजनामा १ जनालाई मात्र बुद्ध धर्म मनपरेको छ । बाँकी ९ जनालाई बुद्ध धर्म मन परेकै छैन भने उनीहरुले बुद्ध नेपालमा जन्मेको भनेर चिच्याउनु र मिडियामा नाटक वा हल्ला मच्चाउनुले नेपालकै मात्र दोहोरो चरित्र छर्लङ्ग हुन्छ । यसबारे हामी नेपालीहरु सजग र सचेत भएर मात्र विदेशमा बुद्ध नेपालमा जन्मेको भनेर प्रचार गर्नुपर्ने देखिन्छ ।

(Ananda Bhoomi Buddhist monthly, 2021 January)

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.

Get the Medium app

A button that says 'Download on the App Store', and if clicked it will lead you to the iOS App store
A button that says 'Get it on, Google Play', and if clicked it will lead you to the Google Play store