जातीय विभेद, अम्बेडकर र बुद्ध धर्म

राजेन मानन्धर

नेपालमा जातीय विभेदको अवस्था
समाजमा समानताको वकालात गर्नेहरुले भने, संसारमा दुइटा मात्र जात छन् — हिला र पुरुष । कम्युनिष्टको राजनीति गर्नेहरुले अर्कोतिर कुरा मोडे — जातको कुरा गर्नुहुन्न, वर्गको मात्र कुरा गर्नुपर्छ — शोषित वर्ग र शोषक वर्ग । जसले जहाँ जति कुरा मोडे पनि सम्पूर्ण नेपाल र भारतको समान यथार्थ यही हो कि कमसेकम हिन्दु धर्ममा विश्वास गर्नेहरु यही भन्छन् कि मानिसहरु चार वर्णमा विभाजित छन् — व्राम्हण, क्षेत्री, वैश्य र क्षुद्र । त्यसमा व्राम्हण वर्णमा जन्मेकाहरुले विनाकारण अरुमाथि शासन र हिंसा गर्न अधिकारप्राप्त गरेका हुन्छन् र क्षुद्रलाई यो हिंसाबाट बच्ने बाटो पनि छैन । हिन्दु धर्मलाई जति पुरानो भनेर व्याख्या गरिन्छ यो वर्णाश्रम व्यवस्था र यसको आधारमा गरिने विभेद त्यति नै पुरानो भन्ने प्रष्ट हुन्छ ।

मानिस प्रकृतिको त्यही निमयबाट जन्म हुन्छ, संसारका जहाँ सुकै, जस्तोसुकै रंग भएका र धर्म अवलम्बन गर्नेहरु किन नहोस् । तर हिन्दु धर्म अँगाल्ने यो स्वीकार्दैनन् । उनीहरु कोही कहाँबाट जन्मेका र कोही कहाँबाट जन्मेका भनेर व्याख्या गर्छन् र त्यसैको आधारमा एक थरी मानिस जस्तै देखिने प्राणीले अर्को आफु जस्तै देखिने प्राणीलाई शारीरिक, आर्थिक, धार्मिक र मानसिक रुपमा विभेद मात्र होइन शोषणै गर्नै पाउने अधिकार राखेको बताउँछन् र उनीहरुले त्यो अधिकार एक धर्मको कुनै ग्रन्थबाट प्राप्त गरेको हो भनेर खुलेआम बताउँछन् ।

कोही भन्छन् कहाँ छ विभेद ? यो त हिन्दु धर्मको विशेषता नै होइन, केही मानिसले तोडमोड गरेको मात्र हो । कोही यसका सकारात्मक पक्ष छन् भनेर वकालात गर्छन् । अनि कोही यो त हाम्रो अधिकार हो, हामीले पहिलेदेखि मान्दै आएको कुरा बन्द हुँदैन भनेर हुँकार गर्छन् । कोही त अब यस्तो कानुन आइसक्यो, विभेद हुँदैन भनेर चित्त बुझाउन खोज्छन् । जब राज्य नै यस विभेदको पक्षमा छ भने कतै दुइचार अक्षर लेखेर कुनै कानून इत्यादि बनाएर हजारौं वर्षदेखि शोषित पीडितलाई ठम्ठम्याउन पाइन्छ भने कसले यसबारे धेरै चिन्ता लिइरहन्छ ?

यही धर्मको आधार लिएर विभेद र अझ हिंसा समेत गर्ने गरिएको तथ्य हाम्रो सामु उदाङ्गो छ । यहाँसम्म कि यसैको आधारमा उसले छोएको नखाने, बाटोमा हिँडेको मन नपराउने, एउटै धारा, कुवा वा इनारमा पानी लिन नदिने, उनीहरुलाई मन नपर्ने मलमुत्र सोर्ने जस्तो घृणित कार्य गर्न बाध्य तुल्याउने, वा समग्रमा मान्छे सरहको व्यवहार नगरिदिने अनि उनीहरुलाई सामान्य मान्छे नै होइन भन्ने मनोवैज्ञानिक छाप दिने जस्तो काम कम–बढी नेपालका दुर्गम सुगम ठाउँहरुमा शिक्षित अशिक्षित सबैजसो ती उच्च जातका भनिएका मानिसहरुले गर्दैै आएका छन् । संविधानमै जेसुकै लेखेपनि, जस्तो सुकै कानून आएपनि, जस्तोसुकै आयोग बनाइएतापनि नेपालको जनसंख्याको करिब १३ प्रतिशत जनताको समुहले निकृष्ट प्रकारको विभेद र हिंसा सहेर बस्नुपर्ने बाध्यात्मक परिस्थिति आज पनि छ ।

उदाहरणहरु दिइरहनु यस लेखमा सम्भव छैन । केही समय अघि रुकुममा तल्लो जातको भनिएको पुरुषले माथिल्लो जातको भनिएको महिलालाई विवाह गर्न खोज्यो भनेर नरसंहार नै जस्तो गरिएको एउटा घटना यहाँ उल्लेखनीय हुन्छ । त्यस्तै जातको प्रश्न उठाउने एक कार्यक्रम संचालकको विरोधमा हिन्दु संगठनले पुतला जलाउने कार्य समेत गरेको पनि धेरै भएको छैन ।

पहिले राज्य नै एक धर्मका संरक्षक मानिएका राजाले भने जस्तो हुन्थ्यो । तर अहिलेको गणतन्त्रात्मक व्यवस्थामा पनि त्यस्ता चरम हिंसाका मान्यता र व्यवहारले स्थान पाइरहनु नेपालको नाम नै विश्वमा कलंकित हुनु हैन र ?

शोषण गर्ने, अरुलाई हेय बनाएर आफुलाई सर्वेसर्वा भनेर घोषणा गर्ने चाह यस दक्षिण एशिया भेगमै छ कि कुन्नी, हिन्दु वर्णाश्रमको यो कलंकले यस व्यवस्थालाई अंगिकार नगर्ने आदिवासी जनजातिहरुमा समेत प्रभाव पारेको केही उदाहरणहरु भेटिन्छन् । उनीहरुले पनि दलितहरुलाई अछुत सरह व्यवहार गर्ने गरको पाइन्छ । त्यस्तै उनीहरुमा पनि ४ जात र १६ जात भनी आफु आफु विभेद गर्ने गरेको सुनिन्छ । त्यस्तै मधेशी समुदाय भित्र पनि आपसमा हदैसम्मको छुवाछुत रहेको पाइन्छ ।

भगवान बुद्धले प्रतिपादन गर्नुभएको र विश्वका विभिन्न देशमा फैलिएको बुद्धधर्मको आधार नै समानता हो । उहाँले जन्मले कोही उँच वा नीच हुँदैन भनेर २५ सय वर्ष अगाडि नै भनेर जानुभएको थियो । तर अहिले यसै हिन्दुहरुको लहलहैमा लागेर वा आफुलाई माथिल्लो जातको भन्न लागाउने रहर भएर बौद्ध समुदायले समेत वर्ण व्यवस्था आफ्नो समाजमा कायम गर्न लगाएर भेदभाव गर्ने गरेको तथ्यहरु खुल्न थालेका छन् ।

अरुको के कुरा, काठमाडौं उपत्यकाका आदिबासी नेवार बौद्धहरु आफुलाई एकदम धार्मिक, सुसंस्कृत भनेर चिनाउन चाहन्छन् तर दुःखका साथ भन्नु पर्छ कि काठमाडौंका नेवारहरुमा जातीय विभेदको प्रमुख कारक नै बौद्ध आचार्यहरु हुन् । बुद्धभाषित श्लोकहरु पाठ गर्ने, बुद्धशिक्षाको प्रचार गर्ने आचार्यहरु पनि अन्य बौद्धहरुलाई तिमीहरुले छोएको हामी खान्नौं, तिमीहरु यो पूजामा यति भित्र आउनुहुँदैन, वा तिमीहरुको जन्म यो जातमा भएको कारणले तिमीहरुले यो पढ्न वा सिक्न सक्दैनौ भनेर विभेदको रेखा कोर्छन् ।

भारतमा जातीय विभेद र अम्बेडकर
नेपालमा जुन वर्ण व्यवस्थाको आधारमा विभेद गरिन्छ त्यसको श्रोत भनेको हिन्दु धर्म हो भनिसकेपछि नेपालमा भन्दा कयौं गुणा क्षेत्रमा फैलिएको र कयौ गुणा धेरैले मान्ने हिन्दु धर्मको प्रभाव त्यहाँ पनि छ भनेर सहजै अनुमान गर्न सकिन्छ ।
वर्ण व्यवस्था अर्थात् जात प्रणालीको उत्पत्ति नै प्राचीन भारतमा भएको थियो ।

विभिन्न कालखण्डमा राजनीतिक, धार्मिक र सामाजिक रुपान्तरणहरुलाई झेलेर पनि यो व्यवस्था आज पनि त्यहाँ ज्यूं का त्यूं छ । बुद्ध धर्मको प्रचार, मुगल साम्राज्य तथा बेलायती उपनिवेशले पनि यस वर्ण व्यवस्थाको जरालाई उखेल्न सकेन ।

अझ मुगल युगको पतन हुँदै जाँदा त चतुर उच्च वर्णका हिन्दुहरुले यसै व्यवस्थामा टेकेर उनीहरुले मात्र सत्ता भोग गर्नपाउने जस्तो व्यवस्था बनाएर धर्मको आडमा एकछत्र शासन चलाए । त्यसमा पनि विकसित र सभ्य भनाउँदा अंग्रेजहरुले भारतलाई उपनिवेश बनाउँदा समेत यसै वर्ण व्यवस्थालाई नै र यसबाट उब्जिने विभेदलाई नै सघाउ पुग्ने जस्तो शासन पद्धतिलाई समेत प्रश्रय दिए । यस अनुसार सन् १८६० देखि १९२०सम्म त अंग्रेजहरुले नै जातीय विभेदलाई सत्ताको साझेदारी व्यवस्था बनाए जस्तै सरकारी ठुला पदहरु क्रिश्चियनहरु र उच्च हिन्दुहरुलाई नै जाने जस्तो प्रणाली बसाइदिए ।

समयानुसार यसमा केही परिवर्तनहरु अवश्य भए तर निम्न वर्णका मानिसहरुले त्यहाँ प्राचिनकालमा जुन उच्च वर्णका हिन्दुहरुको अहंकार, भेद र शोषण भोग्नु परेको थियो त्यो अहिलेसम्म पनि कुनै न कुनै रुपमा अवशेषकै रुपमा भएपनि छँदैछ । यद्यपि अहिले सकारात्मक कदमको रुपमा ती निम्न वर्णका लागि आरक्षण दिएकोले उनीहरुले कतै केही भएपनि अगाडि आउने मौकाहरु भने पाइरहेका छन् ।

यस्तै असमानता, विभेद र छुत अछुतको बिचमा भारतमा डा. भीवराव अम्बेडकर यस्ता व्यक्ति संरक्षकका रुपमा देखा परे जसले हजारौं वर्षदेखि दलनमा परेका निम्न वर्णका मानिसहरुका लागि एक आशाको ज्योति लिएर आए । निम्न वर्ण भनेपछि अहिले हामीले कल्पना पनि गर्न नसक्ने किसिमको विभेदको शिकार बन्नुपर्ने भारतीय समाजमा उनले विभिन्न विभेदहरु झेलेर, संघर्ष गरेर विदेशबाट उच्चशिक्षा प्राप्त गरेर फर्कने अवसार पाए ।

बाल्यकालमा झेलेका विभेदहरुको दृष्य उनको आँखामा झलझली थियो र त उनले आफु हिन्दु भएर जन्मेपनि हिन्दु भएर नमर्ने अठोट गरे । आफुलाई निम्न वर्णको जताउने आफ्नो थर फेरेर उनी जातीय विभेदको विरुद्ध अघि बढे । यसैबिच कसैले बुद्ध जीवनीको पुस्तक उपहार दिएकोले बुद्धधर्म सिके । विशेष गरी बुद्धको जीवन र उहाँले वर्ण व्यवस्थालाई अस्वीकार गरेर समानताको आधारमा समाजको निर्माण गर्न खोजेको अंशबाट उनी बढी प्रभावित भए । उनले हिन्दु धर्म त्यागेर बुद्ध धर्म अवलम्बन गरे र लगभग सन् १९३५तिरदेखि त्यसलाई वर्णको आधारमा हिन्दुहरुले गरिरहेको विभेद र अत्याचारको विरुद्ध युद्ध गर्ने अस्त्रको रुपमा उनले बुद्धधर्मलाई लिए । उनले भनेका थिए — “यदि तपाइँलाई आत्मसम्मान चाहिन्छ भने, ताकत र सत्ता चहिन्छ भने, समानता र स्वराज चहिन्छ भने अनि यस्तो दुनिया बनाउनु छ जहाँ खुशी भएर बाँच्न सकिन्छ, भने धर्म बदल्नुस् ।” १९४४मा उनले भने कि बुद्ध धर्म नै सबैभन्दा बैज्ञानिक धर्म हो । यसै बिच भारत अंग्रेज उपनिवेशबाट स्वतन्त्र भयो तर जातीय उत्पीडनबाट भने अझै स्वतन्त्र हुन पाएन ।

समयले उनलाई भारतकै संविधान बनाउने जिम्मेवारी दियो र उनले त्यस ऐतिहसिक कार्य पनि सफलतापूर्वक सम्पन्न गरे । त्यस पश्चात उनको प्रशंसा देश भर भयो भने विशेष गरी उनी जुन अछुत समुदायबाट आएको थियो त्यसको त उनी आँखाको नानी नै बने । उनले बुद्धधर्मलाई जातीय उत्पीडनको मुक्तिको साँचोको रुपमा लिए र सोही अनुरुप सबैलाई बुद्धधर्मको बारेमा प्रचार प्रसार गर्नमा जोड दिए । सन् १९५५मा उनले भारतीय बौद्ध महासभाको गठन गरे । अनि सन् १९५६ अक्टोबर १४का दिन त्रिरत्न शरणगमन गरेर पञ्चशिल लिएर बुद्धधर्ममा प्रवेश गरे । त्यसको लगत्तै पछि ५ लाख दलित समुदायका व्यक्तिहरुका लागि २२ प्रतिज्ञा गराएर बुद्धधर्ममा प्रवेश गराए । उनी चतुर्थ बौद्ध सम्मेलनमा भाग लिन काठमाडौं पनि आएका थिए ।

कुनैबेला भारत भरी फैलिएको बुद्धधर्म विभिन्न कारणले लोप जस्तै भइसकेको अवस्थामा अहिले जति पनि बौद्धहरु भारतमा छन् तिनीहरु सबैजसो नै अम्बेडकरको नीति र मार्गदर्शनबाट बौद्ध भनेका हुन् भन्दा फरक नपर्ला ।

जातीय विभेदको विरुद्ध बुद्धधर्म
२५ सय वर्ष अगाडि नै भगवान बुद्धले कोही उच्च जात र कोही नीच जात हुन्छ भन्ने मान्नुभएन । उहाँले कोही मानिस जुनसुकै जातको होस् धर्मको अगाडि सबै समान छन् र सबैले कुशल कर्म गरेर संसारको भवचक्रबाट मुक्त हुन पाउँछ भनेर सिकाउनु भएको थियो । उहाँले देखाउनु भएको समतामूलक समाजसम्म पुग्ने बाटो बुद्धधर्म हो, यसलाई डा. अम्बेडकर लगायत थुप्र्रैले स्वीकारिसकेको इतिहास हामीसँग छ । तर पनि हिन्दुधर्ममा हुर्केका मानिसहरु माझ जातीय विभेदसँग लड्न धर्म परिवर्तन वा बुद्धधर्म नै अँगाल्नु आवश्यक छ त? भन्ने यो प्रश्न गहन बनिरहेको छ ।

हिन्दु धर्ममा अभिन्न अङ्गको रुपमा रहेका जातीय छुवाछुतको विरुद्धमा अम्बेडकरभन्दा अगाडि पनि आवाज उठेको थियो । उनीहरुले पनि धर्मत्याग गर्ने विचार गरेका थिए । स्वतन्त्रता संग्राम चलिरहँदा कोही धर्म अफिम हो भन्दै यस्तो संवेदनशिल अवस्थामा धर्मको कुरा ल्याउनु प्रतिउत्पादक हुने शंका गर्दा पनि उनी धर्म परिवर्तनलाई नै जोड दिइरहेका थिए । उनले त्यही बाटो रोजे र परिणाम हाम्रो सामु छ ।

नेपालमा पनि जातीय विभेद त्यही उचाइमा छ । यहाँ पनि यो विभेदको विरुद्धमा थुप्रै आन्दोलनहरु भए । ती मध्ये कतिले यसै कारणले धर्म त्याग गरी सजिलोसँग क्रिश्चियन बनेको हामीले देखेका छौं । यसबिच कतिले धर्म त्यागेर हुँदैन, यही धर्मभित्र बसेर संघर्ष गरी हिन्दु धर्मलाई नै विभेदरहित बनाउनु पर्छ भन्ने तर्क पनि नल्याएका होइनन् । यो कति सम्भव छ, अनि हिन्दु भइरहने तर विभेदलाई निषेध गराउने क्षमता अछुत भनेर दलित जीवन बिताउनु परेको समुदायसँग छ छैन, त्यो अर्कै छलफलको विषय हो । तर धर्म त्यागेर अब म हिन्दु हैन भनेर बाँच्न चाहनेहरुलाई त हिन्दु अतिवादले विभेद गर्न छोडेको छैन भने त्यहीँ बसेर समानता कसरी हासिल गर्न सकिन्छ भनेर पनि सोच्नु पर्ने अवस्था छ ।

हिन्दु धर्मभित्रको छुवाछुतबाट मुक्ति पाउन बुद्धधर्म नै अँगाल्नु पर्छ भन्ने छैन । तर यसको भुमरीबाट मुक्त हुन चाहनेहरुले भारतमा मार्गदर्शन पाएको ६४ वर्ष भइसक्दा पनि नेपालमा यसले खासै प्रभाव पार्न किन सकेन भन्ने भने सबैको चासोको विषय हो । भारतका हरेक राजनीतिक, सामाजिक, आर्थिक एवं आधुनिकताका परिवर्तनले तुरन्तै प्रभाव पार्ने, अझ त्यसको देखासिखी नै गर्न खोज्ने नेपाल त्यहाँको यस ऐतिहासिक र क्रान्तिकारी धर्म परिवर्तन वा दीक्षा अभियानबाट कसरी अप्रभावित भइरहन सक्यो भन्ने कौतुहलताको खासै चित्त बुझ्दो जवाफ पाइँदैन ।

नेपालकै दलित मुक्तिका लागि अम्बेडकरलाई आदर्श मान्नेहरुले पनि उनले बुद्धदीक्षालाई उपायको रुपमा लिएका थिए भनेर भन्न अनकनाइरहेको अवस्था छ । त्यसैले देखिन्छ, नेपालका दलित मुक्ति अभियानका अभियन्ताहरुले बुद्ध धर्ममा परिवर्तित हुनुलाई प्रभावकारी उपायको रुपमा लिएन, अहिले बुझ्ने भनेको त्यति नै हो । हुन त समग्रमा हेर्दा भारतमा ५ लाख मानिसले बुद्ध धर्म ग्रहण गरेको समाचारले नेपालमा दलितहरु मात्र होइन अन्य कोही पनि गैर बौद्धहरुलाई आकर्षण गरेन, त्यो अर्को स्मरणीय पक्ष त छँदैछ ।

हाल आएर नेपालमा यहाँको दलित मुक्तिमा लागेका केही अभियन्ताहरुले अम्बेडकरलाई आदर्शपुरुष मानेर, उनले दिएको धर्म परिवर्तनको अस्त्रलाई प्रयोग गरेर बिस्तारै बुद्धधर्ममा दीक्षित हुने, धर्म परिवर्तन गर्ने एउटा अभियान मसिनो रुपमा नै भएपनि शुरु गरेको देखिन्छ ।

छुवाछुतको अमानवीय हिंसाबाट मुक्त हुने यो मात्र उपाय त नभनौं, तर यसले सदियौंदेखि बिना कुनै गल्ती हीनताको जीवन बाँच्न परिरहेकाहरुलाई केही हदसम्म शिर ठाडो बनाएर हिँड्ने अवसर दिने सम्भावना बोकेकोमा भने शंका गर्न मिल्दैन ।
यद्यपि, अहिले यो पनि बिर्सन हुँदैन कि, भारतका यी सबै बौद्धहरु पनि समानताको जीवन बाँच्न पाइरहेका छैनन् । सरकार र संचार माध्यमले उनीहरुलाई दलित भनेरै सम्बोधन गर्छन् । बौद्धहरुमाथि हिन्दु धर्म प्रभावित सरकारको विभेद जारी छ ।

त्यसैले भारतमा अहिले सबै नभए पनि एक अंश बौद्धहरुले आफुलाई दलित भन्नबाट स्वतन्त्र बनाउन सकिरहेको छैन । अर्कोतर्फ उनीहरु आफ्नो समय बुद्धधर्मको शिक्षा लिन, सो अनुरुप आचरण राख्नमा भन्दा हिन्दु धर्मको आलोचना गर्न र वर्ण व्यवस्थामाथि कटाक्ष गर्नमा नै समय व्यतित गरिरहेको आभास उनीहरुको व्यवहार र आन्दोलनले देखाइरहेको पाइन्छ । यसका विभिन्न कारणहरु होलान् । हजारौं वर्षदेखि जुन उत्पीडन, दमन र दलन खेपिरहनुपरेको थियो, त्यसबाट मुक्त हुनुको अनूभुति अरुले गर्न सक्दैन । उनीहरुले त्यसरी मात्र आफ्नो स्वतन्त्रता अनुभव गरिरहेका होलान् भने अर्कोतिर अहिलेको अवस्थामा पानि बौद्ध भन्ने शब्द अछुतको पर्यायवाचीको रुपमा लिने गरेकोले उनीहरु पहिचानकै लागि पनि आक्रमक नभएपनि प्रतिकारको रणनीतिबाट स्थापित हुनुपरेको थयार्थ छ ।

अब नेपालको कुरा गर्दा यहाँ अहिले दलित समुदायमा हामीलाई हिन्दुहरुले मात्र होइन बौद्धहरुले पनि विभेद गर्छन् भन्ने धारणा व्याप्त छ । अनि उनीहरुलाई हामी बौद्ध भयौं भने यहाँका बौद्धहरुले समेत स्वजन भनी नस्वीकारेर दलित बौद्ध भनी विभेद गर्लान् कि भन्ने शंका लागेको पनि केही हदसम्म जायज नै छ ।

यस्तो अवस्थामा जन्मैले बौद्ध भएकाहरुले आफु भित्र कतै कुनै कुनामा हामी ठुलो जातको अनि उनीहरु सानो जातको भन्ने अकुशल विचार मनमा बाँकी राखेको भएमा त्यो त्यागी सबैलाई समान दृष्टि राखी एकअर्कामा सहयोगी बन्ने वातावरणको सिर्जना गर्नु परेको छ ।

त्यस्तै जन्मले हिन्दु तर अछुत जीवन बिताएकाहरुले पनि बुद्धधर्ममा दीक्षित हुनुको कारण हिन्दु उच्च वर्णमाथि बैरी साँध्ने मनसायले जीवन भरी हिन्दु धर्मको आलोचना मात्र गर्ने भन्दा पनि शील समाधि प्रज्ञाको मार्गमा हिँडेर अनित्य दुःख अनात्मा बुझेर असल जीवन बिताउने प्रेरणा लिनसकौं भन्ने कामना गर्नुपर्छ । यसैबाट नै सबैको कल्याण हुन्छ ।

(Anandabhoomi, 2021 January)

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.

Get the Medium app

A button that says 'Download on the App Store', and if clicked it will lead you to the iOS App store
A button that says 'Get it on, Google Play', and if clicked it will lead you to the Google Play store