तीन पाङ्ग्रे रथ — थेरवाद बुद्धधर्ममा भिक्षुणी कहाँ छन् त?

राजेन मानन्धर

बौद्ध समाजमा विशेष गरी थेरवाद वृतमा जति सुनाएपनि नकसिने र सुनुं सुनुं लाग्ने दुईवटा कथाहरु छन् । एक प्रसंगमा बुद्ध भन्नुहुन्छ, जबसम्म मेरो शासनमा भिक्षु, भिक्षुणी, उपासक र उपासिकाहरु धर्ममा सक्षम हुँदैनन् तबसम्म म परिनिर्वाण हुन्न । अर्को प्रसंगमा बुद्ध भन्नुहुन्छ, भिक्षु, भिक्षुणी, उपासक र उपासिका भनेका एक रथका चारवटा पाङ्ग्रा हुन् । हृदयस्पर्शी यी प्रसंग वा कथाहरुका साहित्यिक, भाषिक, प्रतीकात्मक र समाजशास्त्रीय अर्थ बिभिन्न होलान् । यसको प्रशंसा त धेरै भयो तर यसमध्ये एउटा पाङ्ग्रा कहाँ छ भनी सोध्यो भने जवाफ पाउन मुश्किल हुन्छ ।

कुरा भिक्षुणहरुको हो । बौद्धविद्वानहरुले प्रजापति गौतमीले प्रवज्या प्राप्त गर्न गर्नुभएको अनुरोध, याचनालाई क्रान्ति भनिएको छ, बुद्धले गरुधम्म अघि सारेर भिक्षुणी बनाउनु भएकोलाई बुद्धको युगान्तकारी महानता र उदारता भनी ब्याख्या गर्नेहरुको कमी छैन । हो, उहाँ भगवान्को त्यो कदम महिला उत्थानको लागि महान् कदम थियो । जे भए पनि अन्य धर्मभन्दा पृथक किसिमले बुद्धधर्ममा पुरुषहरु जति अघि आउन सक्छ महिलाहरु पनि त्यति नै अघि पाउन पाउँछ भन्नु नै विश्वका सम्पूर्ण बुद्धमार्गीहरुका लागि गर्वको कुरा हो, यसमा दुविधा राख्नुपर्ने आवश्यकता छैन । सहमत होऔं कि बुद्धधर्ममा यसप्रकार भिक्षुणी संघ बन्नु भनेको क्रान्तिकारी कदम नै हो । यसले महिला मुक्तिको ढोका खुलेको पनि स्वीकार गरौं ।

त्यसपछि बुद्धले अंगुतर निकायको एतदग्ग वग्गमा तेह्रजना भिक्षुणीहरुलाई अग्र भनी सम्बोधन गर्नुभएको पनि यहाँ उल्लेखनीय हुन्छ । उहाँहरु — महापजापतिगोतमी, खेमा, उप्पलवणा, पटाचारा, धम्मदिन्ना, नन्दा, सोणा, बकुला, भद्दा कुण्डलकेसा, भद्दा कपिलानी, भद्दकच्चाना, किसागोतमी र सिङ्गालकमाता — हाम्रो निमित्त विभूति नै हुन्, ं प्ररेणाका स्रोत नै हुन् । उहाँहरु लागायत अन्य भिक्षुणी वा थेरीहरुको जीवनगाथा, संघर्ष, बुद्धको मार्गमा आएर प्राप्त भएको शान्तिको ज्योतिको वर्णन थेरीगाथा र थेरीअपादान इत्यादि ग्रन्थमा स्वर्णक्षरमा लेखिएका छन् ।

यसबाट प्रष्ट हुन्छ बुद्धशासनमा महिलाहरुको पनि त्यति नै स्थान र अधिकार छ । शील, साधाना र प्रज्ञाले पूर्ण भएको महिलाहरुलाई बुद्धधर्ममा कतै पुरुषभन्दा निम्नस्तरमा राखेको, अघि आउन निषेध गरेको उदाहरण दुर्लभ हुन्छ । बुद्धकालमा बुद्धधर्मलाई प्रचारप्रसार गर्न र आवश्यक ठाउँमा आवश्यकता अनुसार यथासम्भव सक्रिय भएर तत्कालीन भिक्षुणीहरुले योगदान दिनुभयो । त्यस्तै अन्य धर्मका अनुयायीहरुले बुद्धधर्ममा शंका उपशंका गर्दा यथाशक्य तर्कविर्तक गरी बुद्धधर्मको ज्योति मधुर हुन दिनुभएन । हाललाई यस विषयमा शंका नगरौं ।

यही कारणले होला बुद्धकालीन महिलाहरुका योगदानलाई लिएर नेपालमा र विदेशमा पनि दर्जनौं पुस्तकहरु प्रकाशित छन् । सबैमा उहाँहरुको कथा हुन्छ, संघर्ष, योगदान र सहनशिलताको चर्चा हुन्छ । उहाँ लेखकहरुलाई साधुवाद नदिई रहन सकिन्न ।

तर यस विन्दुमा पुगरेर बुझ्न नसकिने कुरा के हो भने यति उल्लेखनीय भएको, बुद्धशासनमा योगदान दिइसकेको, बुद्ध स्वयम्ले नै महत्वपूर्ण भनी गौरव गरिसक्नुभएको भिक्षुणी संघ कहिले, कहाँ कसरी बिलायो अनि यस विषयमा पालि साहित्यमा यस्तो वर्णित छ भनी खोलेर कुनै लेखकले पनि स्पष्ट लेखेको पढ्न पाएको छैन ।

सरासर अध्ययन गर्दा बुद्ध परिनिर्वाण हुनुहुँदा नै त्यहाँ भिक्षुणीहरुको भूमिका अदृष्य भइसकेको छ । बुद्धको उपस्थितिमा अन्तिम उपसम्पदा प्रवज्या लिनुहुने सुभद्र हुनुहुन्थ्यो । बुद्धको अन्तिम दिनमा त्यस स्थानमा भिक्षुहरु मात्रै उपस्थित हुनुहुन्थ्यो, अनि अन्तिम बचन पनि भिक्षुहरुलाई मात्र लक्षित देखिन्छ । परिनिर्वाण हुनुभइसक्दा त्यहाँ विलाप गर्नेहरु पनि भिक्षुहरु मात्र जस्तो आभास हुन्छ । रोइरहने भिक्षुहरुलाई सान्त्वना दिने भिक्षु अनिरुद्र अनि उहाँले सम्झाउनु बुझाउनु भएको पनि भिक्षुहरुलाई मात्र । भिक्षु महाकश्यप ५०० भिक्षुहरुसंगै पावाबाट पाल्नुभयो तर भिक्षुणीहरु आउनुभएको प्रसंग पढ्न पाइँदैन । चितामा आगो लाग्नु अघि महाकाश्यपसंगै वन्दना पनि भिक्षुसंघले मात्र गरेको देखिन्छ । हामी कहाँ भएको, बौद्ध विद्वानहरुले यसको बारेमा लेखिएका पुस्तकहरुमा हालसम्म यहि मात्र देखेको छु । म गलत रहेछु भने विद्वानवर्गले सच्याइदिनुहुनेछ भन्ने आशा लिएको छु ।

परिनिर्वाणको तीन महिना पश्चात संगायना भयो । पाँच सय अर्हत् भिक्षुहरुको चयन गर्ने कार्य सम्पन्न भयो, तर भिक्षुणीहरुको उल्लेख समेत पनि भएन । त्यस बेलासम्ममा बुद्धको जीवनकालमा भएका त्यति धेरैजना अर्हत् भिक्षुणीहरु सबैको निर्वाण भैसकेको हो कि भन्ने कौतुहलताले बुद्धधर्मका विद्यार्थीहरुलाई पछ्याउनु स्वभाविक हो । अन्यथा भिक्षु र भिक्षुणी समान भनेर ब्याख्या गरिने बुद्धशासनको पहिलो संगायनामा आधा संघको अनुपस्थिति सामान्य हुनसक्दैन ।

उक्त संगायनामा अर्हत् भिक्षुणीहरुको उपस्थितिको अभाव एउटा समस्या हो भने यस विशेष संगायनामा उहाँहरुको अभाव अर्को दृष्टिकोणबाट पुनः अर्थपूर्ण हुनआएको छ । हामीलाई थाहा छ, सात महिनासम्म चलेको पहिलो संगायनामा विशेषरुपले भिक्षु र भिक्षुणीहरुको विनयमा केन्द्रित भएको छलफल भयो । यसबेला विनय पिटकमा संगायना भयो, विनय नै बुद्धशासनको आयु हो भनी सर्वप्रथम यसको संगायना हुनुपर्ने आवश्यकता महशुस गरिएको हो त्यसबेलाका बुद्धशासनका अगुवाहरुले । स्वभाविक हो, भिक्खु विभङ्ग र भिक्खुनी विभङ्ग संकलन गर्ने कार्य भयो । त्यसैले विनयपिटकलाई भिक्षु र भिक्षुणीसंघका लागि निर्दिष्ट नियमहरुको संग्रह भनिन्छ ।

अब कुरा आउँछ भिक्खुनीपातिमोक्खको । भिक्षुणीहरुले के के गर्न मिल्छ के के गर्न मिल्दैन भनी ३११वटा नियम संकलन गर्ने काम त्यसबेला सम्पन्न गरियो भनिन्छ तर यस्तो महत्वपूर्ण र एतिहासिक कार्यमा भिक्षुणीहरु पनि उपस्थित हुनुहुन्थ्यो भन्ने संकेत कतैबाट पनि दिएको देखिँदैन । भिक्षुणीहरुलाई बाहिर राखेर भिक्खुनीपातिमोक्ख रचना गरियो ? त्यसबेला आजभोलि जस्तो समानुपातिक सहभागितामूलक ढंगबाट संविधान लेखिनुपर्छ भन्ने अवधारणा नभएपनि भिक्षुणीहरुका लागि नियमको ब्याख्या हुँदा त्यहाँ एकजना पनि भिक्षुणी उपस्थित नहुनु संयोग मात्र हुनसक्दैन ।

परिनिर्वाणको समयमा भिक्षुणीहरु उपस्थित नभएको प्रसंगलाई विश्लेषण गर्दा त्यसबेला नै बुद्धशासनमा अग्रपंक्तिमा भिक्षुणीहरुको उपस्थिति नभइसक्यो अथवा भिक्षुणीहरु भन्ने नैे बुद्ध शासनमा लोप भैसक्यो, त्यसकासण उहाँहरुलाई उक्त प्रसंगमा उल्लेख नगरिएको हुनसक्छ भनेर अनुमान गर्ने ठाउँ छ । त्यसो हो भने फेरि बुद्धको परिनिर्वाणको बेलामा उपस्थित वा उल्लेख गर्नु अनावश्यक मानिएका भिक्षुणीहरुको लागि त्यति धेरै नियम किन बनाइयो होला भन्ने प्रश्न उब्जिनु पनि स्वभाविक हो । अथवा बनाउनु पर्ने र बनाउने बिचार कि उठ्नु नै पनि होला भन्ने विषयमा तर्कसम्मत हुन कठिन हुनुपर्ने अवस्था छ ।

यहाँ दुइटा कुरा महत्वपुर्ण हुनआउँछ — परिनिर्वाण हुँदा त्यहाँ भिक्षुणीहरु उपस्थित नहुने, अनि त्यसको तीन महिना पछि गरिएको प्रथम संगायनामा पनि भिक्षुणीहरु उपस्थित भएको नदेखिने तर त्यस संगायनाको एक महत्वपूर्ण अंश भनेको भिक्षुणी प्रातिमोक्षको संकलन गर्ने काम किन भयो होला भन्ने प्रश्न यहाँ उल्लेखनीय हुनआउँछ । परिनिर्वाणको समयमा भिक्षणी संघ नभइसकेको हो कि भन्ने अनुमान गर्ने हो भने नभइसकेका भिक्षुणीहरुको लागि फेरि किन विनय बनाइराख्नु पर्यो र भन्ने पहिलो प्रश्न हामी सामु तेर्सिन्छ ।

अर्को, मानौं, विनय संकलन हुँदा भिक्षुणीहरु अगाडि आउन नसकेतापनि कतै पृष्ठभूमिमा बसिरहे । यस्तो अनुमान गर्दा पनि त्यसबेलमा जीवित भएका भिक्षुणीहरुले आफ्नो निम्ति यसप्रकारको भिक्खुपातिमोक्ख भन्दा भिन्न नियमहरुको सँगालो आफ्नो अगाडि उभिन आउँदा यसको बारेमा कस्तो वा कसरी प्रतिक्रिया देखायो होला भनेर अनुमान गर्न कठिन छ । यसलाई उहाँहरुले चुपचाप अनुमोदन गर्नुभयो कि, सहमति वा असहमति देखाउनुभयो कि भन्ने थाहापाउने कौतुहता जाग्छ ।

यति विशाल संगायना भएको अवस्थामा आफ्नो भूमिका खोज्न उहाँहरु किन अघि आउनु भएन भन्ने एउटा प्रश्न हो भने गौरवपूर्ण थेरीगाथाको रचना गर्न सक्ने भिक्षुणीहरुले भिक्षुणी प्रातिमोक्षको सवालमा कुनै पनि किसिमको माध्यमबाट आफ्नो स्वीकारोक्ति वा असहमतिको साहित्य किन सिर्जना पनि गर्नुभएन भन्ने अर्को महत्वपूर्ण प्रश्न हो ।

यसबाट एउटै कुराको अनुमान यस्तो हुन सक्छ कि बुद्धको परिनिर्वाण हुँदासम्म भिक्षुणीहरु हराएर गएसकेका वा सक्षम नभएको होइन कि उहाँहरुलाई तत्कालीन भिक्षुसंघले वा दुईचारजना बुद्धशासन भनेको पुरुषहरुकाले मात्र कब्जामा हुनुपर्छ भन्ने पुरुष धर्माधिकारीहरुले भिक्षुणीहरुलाई अघि आउन नदिएको मात्र होइन उनीहरुलाई जसरी हुन्छ त्यसरी दमन गरिराखेको हुनुपर्छ । त्यसैले उहाँहरुलाई फेरि शिर उठान नसकने गरी दमन गर्न बुद्धबचनको नाम दिएर भिक्षुसंघले विनयको नाममा यस्ता यस्ता नियमहरुको घेरामा बन्दी बनाइदिए कि अब उप्रान्त कुनै पनि महिला भिक्षुणी भएर बुद्धशासनमा आफुलाई जीवनभर समर्पण गर्न नसक्ने अवस्था ल्याइदियो । यसलाई कुनै ऐतिहासिक दस्तावेजको रुपमा नलिई त्यस्तो होइन यस्तो हो भनेर बौद्धविद्वानहरुले दसिप्रमाण सहित खण्डन वा प्रतिकार गर्ने बाटो खोलिदिएको मात्र हो भनी ग्रहण गरिदिनहुन अनुरोध गर्दछु । यस्तो भयो भने म जस्ता अज्ञानीहरुले सत्य कुरा सिक्ने वा बुझ्ने अवसर पाउने छ भन्ने आशा लिएको छु ।

(मूल नेपालभाषामा लेखिएकाे लेखककै लेखको अनुवाद । तसबिरहरु इन्टेरनेटबाट साभार)

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.