नेवार समाजमा महिला स्वतन्त्रता

राजेन मानन्धर
नेपाल जातीय, भाषिक, साँस्कृतिक तथा धार्मिक कोणबाट विविधताले भरिएको देश हो । यहाँ विभिन्न जातजातिका मानिसहरु बस्छन्, विभिन्न भाषाहरु बोलिन्छन्, विभिन्न संस्कृतिहरुको सहअस्त्वि छ र त्यस्तै मानिसहरु विभिन्न धर्म अपनाउँछन् । त्यसमध्ये काठमाडौं उपत्यकाका आदिवासी नेवारहरुको आफ्नै स्थान छ । उनीहरु विभिन्न दृष्टिकोणबाट वैदिक वा वर्णाश्रम वा हिन्दुधर्म मान्नेहरु भन्दा फरक छन् । अहिले यहाँ नेवाररुको समाजमा पाइने महिला समानता र महिला स्वतन्त्रताको बारेमा संक्षेपमा चर्चा गरिने छ ।

नेवारहरुको धर्र्म, संस्कृतिको अध्ययन अनुसन्धान गर्ने विद्वानहरु भन्छन् नेवार समाजमा महिलाहरुको ठुलो स्थान छ, हामीकहाँ महिलाहरुलाई दमन गर्ने चलन छैन, अझ हाम्रो समाजमा महिलाहरु नै निर्णयकर्ता हुन्छन्, आदि इत्यादि । यो कुरा गलत होइन । सामान्य अवलोकन मात्र गरेमा पनि नेवार समाजमा महिलाहरुलाई आदर गरिएको, समानता र स्वतन्त्रता दिएको मात्र होइन, निर्णय गर्ने अधिकार समेत दिइएको पनि धेरै उदाहरणहरु भेटिन्छन् । यसले हामीलाई सकारात्मक बनाउँछ, यो नराम्रो कुरा होइन ।

आफुसँग भएको कुरामा रमाउनु भनेका जीवनलाई सकारात्मकता तर्फ डोर्याउनु हो । तर यसका साथै नेवार समाजमा महिलाहरुलाई अगाडि आउन नदिने, प्रगति गर्न नदिने तत्वहरु पनि धेरै छन् । समय बदलिसक्यो, समाज फेरिसक्यो, तर यो एउटा तत्व अहिलेसम्म कुनै न कुनै रुपमा भएपनि सक्रिय छ । सक्रिय मात्र होइन, महिला स्वतन्त्रतालाई बन्धनमा राख्ने कुरालाई समेत तर्कको बलले यही हाम्रो पहिचान हो भनेर नेवार समाजलाई अलमलाउन समेत त्यो तत्व सक्रिय भइरहेको छ । त्यसकारण नेवार समाजमा महिलाको स्थान बारे सकारात्मक र नकारात्मक दुबै पक्षलाई हेर्न आवश्यक छ ।

सकारात्मक पक्ष ः

नेवार समाजमा वैदिक धर्म मान्नेहरुको उपस्थिति भएपनि यो जनजाति स्वभावको समाज हो । अर्थात् उनीहरु प्रकृति पूजक, समानताका पक्षपाती अनि मातृसत्ताको पक्षधर हुन् । त्यसो भएकोले यहाँका पुराना भन्दा पुराना प्रकृतिका बासस्थान, पारिवारिक संरचना, अनि नेवारहरुले पुज्दै आएका देवी देउताहरु पनि प्रकृति र त्यसपछि अजिमाको रुपमा नै हो । काठमाडौं उपत्यकामा प्राप्त भएका सबैभन्दा पुराना देवीदेउताका मूर्तिहरुमध्ये अष्टमातृकाहरुको मूर्ति हो भनिन्छ । हामी देख्दैछौं कि यहाँ त वैदिक प्रभाव भित्रिसकेपछि पनि स्थानीयहरुले मातृका अर्थात् अजिमाहरुको पूजा गर्न छोडेका छैनन् । अझ यहाँको यो विशेषता नै भन्नु पर्छ कि हामीले वैदिक धर्मअनुसार मानेका पुरुष देउताहरुलाई समेत नेवारहरुले महिला वा देवीको रुपमा पूजा गर्छन् । उनीहरु भनेको ती पुरुष देउताका श्रीमतिहरु होइनन् बरु तिनीहरुकै महिला रुपमा प्रस्तुत आकृतिहरु ह्ुन् । उदाहरणका लागि हामी ब्रम्हा, विष्णु, महेश्वर वा इन्द्र पूजा गर्ने होइन बरु तिनीहरुलाई नै ब्रम्हायणी, वैष्णवी, माहेश्वरी र इन्द्रायणीको रुप दिएर पूजा गर्ने हो । अन्यत्र शायदै ती देवीहरुको त्यसरी पूजा गरिन्छ होला । बरु पछि वैदिक संस्कार मान्नेहरुको बाहुल्यता हुनथाले पछि यहाँ पनि रुद्री गर्ने, स्वस्थानी व्रत बस्ने, चार नारायणको तीर्थ चलाउने आदि चलन भित्रिए ।

त्यसमा पनि एउटी बालिकालाई कुमारी देवी भनेर पूजा गर्ने, देवीले नै नेपालको रक्षा गरेको भनेर विश्वास गर्ने अनि आफुभन्दा माथिल्लो स्थानमा राखेर राष्ट्राध्यक्षले समेत उसको खुट्टा ढोग्ने हिम्मत, उदारता र दर्शन नेवारहरुसँग मात्र छ ।

हामीले देखिरहेका छौं, समाजमा महिलाहरु नै निर्णायक भइरहेका हुन्छन् — विवाह, बालबालिका वा बुढाबुढीका लागि गरिने विभिन्न संस्कारजन्य पूजाहरु, भोजभतेरको आयोजना, घर निर्माण आदि काममा घरका सबै सदस्य बसेर छलफल गरिन्छ भने निर्णय घरमूली अर्थात् जेठी महिलाले भनेकै कुरा सबै सकार्छन् । हामीले याद गरेपनि नगरेपनि यो नै औसत नेवारहरुको जीवन पद्धति हो ।

संस्कारको कुरामा हाम्रो स्वभावले नै महिलाहरुलाई प्राथमिकता दिएको पाइन्छ । उनीहरुको शारीरिक विकास वा मनोवैज्ञानिक विकासलाई ध्यानमा राखेर नै छोरीको अन्नप्राशन छोराको भन्दा पहिल्यै गरिन्छ । त्यस्तै उनीहरुको विशेष प्रकृतिको सम्मान गर्दै नै उनीहरुलाई इहि राख्ने र बाराय् राख्ने जस्तो अतिरिक्त संस्कार गरेर बालमनोविज्ञानमा छोरी भएर जन्मनु विशेष हो भन्ने अनुभूति गराइन्छ । यसका साथै यसको धार्मिक र साँस्कृतिक महत्व पनि छ । यिनै दुइ संस्कारको कारणले नेवार महिलाहरु विधुवा हुँदैनन् र उनीहरुमा ईश्वरको बास छ अनि त्यसै आधारमा उनीहरुलाई आफुमा स्वतन्त्र अस्तित्व छ भन्ने कुराको बोध गर्न मानसिक रुपमा तयार पारिन्छ ।

विवाहको सन्दर्भमा पनि नेवार समाजमा छोरीको सहमति बेगर उनको आमाबुबाले रोजेको कसैसँग विवाह गरिदिनु सम्भव छैन । बेहुलाको तर्फबाट ल्याइने लाखामरि सगुन भनेको आडम्बर देखाउन होइन कि त्यो सँगै पठाउने टिका–चुरा लगाउनु पर्ने जुन संस्कार छ त्यो भनेको छोरीको सहमति लिने एउटा सालीन माध्यम पनि हो । नेवार विवाह संस्कारमा मौलिक स्वरुप भनेको पुरोहितले इष्टदेवता पूजा गरेर दुबैलाई एउटै थालमा मिष्ठान्न खुवाएर ह्वंकेगु गर्ने हो । स्वयम्बर गर्ने, सिन्दुर लगाउने वा खुट्टा ढोगाउने चलन आएको धेरै भएको छैन भन्ने बुढापाकाहरु अहिलेसम्म जिउँदै छन् । विवाह पछि पनि बेहुलीलाई दुचायेकगु, वंजला इत्यादि संस्कारमा सामेल गराई नयाँ घरमा स्वागत गरिन्छ र उनलाई नयाँ वातावरणमा र नयाँ सदस्यहरुसँग घुलमिल हुने अवसर दिइन्छ, उनलाई घरको एक महत्वपूर्ण सदस्य भयौ भन्ने आभास दिइन्छ । यस्तै दिगु द्यः अर्थात् इष्टदेवताकहाँ भित्र्याउने संस्कारले पनि उनलाई त्यस परिवारका साँस्कृतिक जीवनको एक अंग बन्यो भन्ने अनूभुति गराउँछ ।

विवाहको समयमा दिइने सानो डल्लो सुपारीले नेवार समाजमा एक विशेष महत्व राख्दछ । यो बेहुलीको स्वाभिमानको प्रतीक हो । सुपारी हातमा थमाइदिनेको दर्शनमा ”पाले पुण्य मारे पाप“को निरहपन पर्दैन । यो भनेको अपमान, अन्याय सहेर कोही नेवार छोरी आफ्नो श्रीमानको घरमा बस्न बाध्य छैन भनेर उनका बुबाआमाले दिएको सुरक्षा कवच सरह हो । छोरी भनेको दानमा दिइएको बस्तु होइन, नाइँ, बस्दिन भनेपछि श्रीमानको मात्र हैन आफ्नै आमाबुबाको करले पनि कोही महिला कुनै अमुक पुरुषसँग जीवन बिताउन बाध्य हुने छैन भनेर दिइको अस्त्र सरह हो यो । त्यसैले विवाहित महिला जीवन भरी त्यस सुपारीलाई जतन गरेर राख्छन् । कुनै बेला पनि त्यस महिलालाई श्रीमानसँग बस्न कठिन भएमा त्यो सुपारी फर्काएपछि कसैले कर गरेर राख्न पाइँदैन । अझ कुरा सुनेन भने त्यो सुपारी आफ्नो तकिया मुनि राखेर हिँडेमा अब उनी फर्कँदैन, लिन नगए हुन्छ भन्ने समेत जनाउ हुन्छ । त्यो भन्दा पनि, यदि असमयमै श्रीमानको मृत्यु भएमा श्रीमतिले आफुले पाएको सुपारी श्रीमानको चीतामा चढाएर अन्त्यष्टीमा समेत नबसी हिँडेमा उनलाई विधुवाको जीवन बिताउन पर्दैन, उनी आफुले चाहेको नयाँ जीवन बिताउन स्वतन्त्र हुन्छिन् ।

नकारात्मक पक्ष ः
अब अर्को पक्षको पनि कुरा गरौं । यी माथि उल्लेखित कुराहरु मात्र भएर पनि नेवार समाजमा सबै महिलाहरु स्वतन्त्र र समान छन् भन्ने भ्रम पाल्नु पनि उचित देखिँदैन । नेवार सभ्यता र सामाजिक संरचनागत विकासको समयमा नेवार महिलाहरुलाई जस्तो जति अधिकार दिइराखेको भएपनि, समानताले भरिएको समाजको कल्पना गरिराखेको भएपनि आजको परिवेशमा हेर्ने हो भने नेवार समाजमा पनि भारतवर्षमा भएको वैदिक समाजको नै प्रतिविम्ब जस्तै पितृसत्तात्मक समाजको अंश भएर नेवार समाज अघि बढिरहेको देखिन्छ ।
हुन त संसारमा जहाँ पनि महिला अधिकारको कुरा र समानताको कुरा हाँत्तीको देखाउने र खाने दाँत जस्तै भन्ने गरिन्छ । बाहिर बाहिर महिला अधिकार छ भनेर दर्शनले समाजलाई सिँगारिन्छ, अर्कोतिर भित्रभित्रै महिलाहरुलाई पहिले दास र अहिले सजावट सामाग्रीको रुपमा चित्रण गरेको सबैले देखेकै कुरा हौ । अहिलको समसामयिक नेवार समाज पनि यो द्वैधताबाट अलग्ग छैन ।

अहिलेको कुरा गर्ने हो भने जसलाई अहिले हामी नेवार समाज, धर्म, संस्कृति वा रहनसहन भनिरहेका छौं, त्यसमा वर्तमान भाषामा बुझिने महिला अधिकारको शेष पाउन मुश्किल छ । यहाँ पनि महिलाहरु स्वतन्त्र, समान र अधिकार सम्पन्न भन्नु हाँत्तीको दाँत जस्तै देखिन्छ, विभिन्न दृष्टिकोणमा । एकातिर मौलिकताको विपरित धार जस्तै वैदिक धर्मको रोक्न नसकिने प्रभाव, अर्कोतिर हिन्दी फिल्म र टेलिसिरियलको प्रभावले नेवार समाज पनि अलग्ग बस्न सकिरहेको स्थिति छैन ।

हो, नेवार समाजमा महिलाहरुले के गर्ने र पुरुषहरुले के गर्ने भन्ने परम्परागत रुपमा कामको बाँडफाँड छ, त्यसैले जिम्मेवारी फरक । यसरी हेर्दा यो सामान्य र सकारात्मक नै देखिएतापनि यो विभाजन महिलाहरु कमजोर अनि उनीहरुलाई कमजोर नै बनाइराख्नुपर्छ भन्ने सोचले निर्देशित भएको देखिन्छ । यसमा अब गर्व गर्ने कि आपत्ति देखाउने, आआफ्नो विचार हो ।

नेवार समाजमा गुठीको महत्व भनरिहनु नपर्ला । गुठीका कामहरुमा अहिलेको परिवर्तित अवस्थामा पनि महिलाहरुको सदस्यता अघोषित रुपमा वर्जित नै छ (एकआध ठाउँमा सकारात्मक उदाहरण पाइन्छ, त्यो बेग्लै हो) । धार्मिक विभेद वैदिक हिन्दु समाजमा स्वाभाविक नै होला, तर त्यसका साथै बौद्ध समाजमा पनि पुरुषहरुलाई हुने सामान्य अधिकार महिलाहरुलाई हुँदैन । शाक्य वज्राचार्य समाजमा पुरुषहरु भिक्षु हुनु अनिवार्य मानिन्छ भने महिलाहरु भिक्षुणी बन्ने भन्ने ठाउँ छोडिएको छैन । आचार्य वा पुरोहित सँधै पुरुष मात्र हुन्छन् । त्यसैले बौद्धहरुको महान् संस्कार पञ्चदान लिने अधिकार महिलाहरुलाई छ कि छैन भन्ने विवाद अहिले पनि यथावत छ । यो विभेद हटाउने दुस्सहास भएको छैन । कहाँबाट आयो समानता समानता ?

रजस्वला एउटा प्राकृतिक हो भन्ने सबैलाई थाहा छ तर नेवारहरुको सभ्य समाजले यसलाई सहज मानिरहेको छैन । सुदुरपश्चिममा जस्तो छाउपडीमा राख्ने अमानवीय व्यवहार नै नदेखाए पनि भान्छा भित्र जान नदिने वा धार्मिक कार्यमा संलग्न नगराउने चलन अझै देख्न सकिन्छ । यो पनि लुकाउन सक्ने कुरा भएन ।

कमाइ भएर वा शिक्षण संस्था नजिक भएर, नेवार महिलाहरु अन्य भन्दा धेरै शिक्षित देखिन्छन् । तर त्यो शिक्षा कहाँ कति उपयोग भइरहेको छ भनेर हेर्यो भने धेरै नै शिक्षित महिलाहरु पनि घरधन्दामा नै सीमित भइरहेको तथ्यले देखाइरहेको हुन्छ । पढेर पेशा व्यवसायमा लागिसकेका महिलाहरु समेत कतिपय ठाउँमा विवाह पश्चात् काम छोडेर गृहिणी हुनुपरिरहेको दृष्टान्तहरु धेरै त छैन अहिले, तर पनि यो अवस्था कतिपय घरमा अझै बाँकी छ ।

आध

परम्परामा जे जस्तो भएपनि अहिले दिन त आफ्ना छारीहरुलाई पनि समाजले भन्छ कि भन्दै अलि अलि गर्दै स्वतन्त्रता दिइरहेका छौं । तर पनि छोरीहरुलाई एक्लै ढिलो बाहिर पठाउन अन्कनाउँछौं । धेरै जसो अभिभावक छोराहरु जहिले फर्केपनि हुने तर छोरीलाई बेलुका ७ बज्यो कि एकपल्ट फोन गरेर सोध्ने अवस्थामा औसत नेवारहरु छन् । छोरीलाई पढ्न पठाउँछन्, घुम्न पठाउँछन् र डिस्को जान पनि छुट छ तर कोसित बिहे गर्दैछन् भन्ने भने हेर्न छोडेको छैन । पहिले जस्तो प्रेम विवाहलाई अनुमति नै नदिने अवस्था नरहेपनि नेवारभित्रकै कथित ठुलो जात र सानो जात हेर्ने चलन अझै छ । त्यसैले बरु छेत्री बाहुन भए पनि हुन्छ तर (नेवारभित्रको) जातले नदिएकासँग चाहीँ नजानू भन्ने आदेश अझै छ ।
छोरी पनि बुहारी बन्छिन् भन्ने त थाहा छ अनि बुहारी पनि कसैकी छोरी हो भन्ने भने याद राख्दैनन् अधिकांश सासु ससुराहरु । त्यसैले छोरीलाई दिइने स्वतन्त्रता बुहारीलाई प्राप्त हुँदैन।

समान शिक्षा र समान अवसर भएपछि महिलाहरु पनि त्यसरी नै नेतृत्व वृत्तमा देखिनु पर्ने होइन र ? हुन त नेतृत्व भन्ने कुरा अवसर पाउनासाथ लिन सकिने कुरा त होइन तर पनि नेवार समाजमा महिला मिसा नेतृत्वको खडेरी भइरहेको कुरा यहाँ स्थापना गरिएका अधिकांश भाषा, संस्कृति, जातीय र अन्य संघसंस्थाहरुमा पुरुष नेतृत्व नै पाइनुलाई दृष्टिगत गरेर नै भन्न सकिन्छ । खुल्ला प्रतिस्पर्धामा जानसकिने अवस्था नआएसम्म कुनै तवरबाट आरक्षण दिएर भएपनि महिलाहरुलाई नेतृत्वमा ल्याउनुपर्यो, उनीहरुको क्षमता, सोचाइ र प्रतिभाको लाभ नेवार समाजमा जानुपर्यो भन्ने कुरा अहिलेसम्म नेतृत्वको बागडोर समातिरहेका नेवार पुरुषहरुले विचार नगरेसम्म यहाँको नेतृत्वमा महिलाहरुले समान वा समानुपातिक अवसर पाउनसक्ने सम्भावना निकै कम छ । त्यस्तै किसिमबाट देशको प्रशासन वा सरकारी जागिरमा पनि नेवार महिला उपस्थिति न्युन छ । हुन त यो नेपालभरीकै महिलाहरुको समस्या हो तर पनि देशको श्रोत केन्द्र यही काठमाडौं भएको अवस्थामा आफ्नै टोल छिमेकमै सयौं हजारौं सरकारी कार्यालय भएको अवस्थामा पनि नेवार महिलाहरु सरकारी जागिरमा आकर्षित नहुनु भनेको घरको वातावरणले नै प्रोत्साहन नगरेकोले पनि हो भनेर बुझ्न सकिन्छ ।

अब छोरा नै चाहिन्छ भन्ने मान्यता त धमिलो भइसक्यो । तर पनि धर्ममा दर्शनमा जे जस्तो लेखिएको भएपनि घरमा सा आफन्तको घरमा छोरी जन्मियो भने परिवारका सदस्यहरुको अनुहार अमिलो नै हुन्छ र अर्को पाली छोरा पाएस् भनेर कटाक्ष हान्न बेर लगाउँदैनन् । छोरीले छोरा पाइ भने राँगोको टाउकोको सगुन पठाउने र छोरी पाइ भने साधारण मात्र सगुन पठाउने चलन अझै हटिसकेको छैन ।

कुरा समाजशास्त्र, धर्म, दर्शन र संस्कृतिको होइन, यो हामी बाँचिरहेको प्रवृतिको हो । समाज परिवर्तनशील छ, बदलिरहन्छ तर हरेक समाजमा पनि समाज बदल्न नदिने, दुइसय वर्ष पहिलेको राम्रो कुरालाई अहिले पनि परम्परा हो, त्यसैले बदल्न मिल्दैन भन्ने र नयाँ कुरालाई स्वीकार गरिनहाल्ने परम्परावादीहरु हुन्छन् । नेवार समाजमा पनि त्यस्ताहरु नहुनुपर्ने भन्ने होइन । उनीहरुमा परिवर्तन आउन समय लाग्छ । तर त्यो भन्दा पनि यहाँ त नयाँ भनिएका, शिक्षित र संसार डुलेका भनिएका, अझ भन्नुपर्दा विशेष गरी महिलाहरु नै पनि आफुलाई परिवर्तन गर्न नचाहिरहेको अवस्था कसैबाट लुकेको छैन । कुरा महिलाहरुको सत्रु महिला नै भन्ने पुरानो उक्तिको होइन, कुरा त अहिलेको खुल्ला समाजमा पनि युगको द्योतक नेवार युवा महिलाहरु नै स्वतन्त्रता र समानता केलाई भनने भन्ने स्पष्ट छैन, तगारो यहाँ नेर छ ।

महिला अधिकारको कुरा गर्नु भनेको पुरुषलाई सराप्ने वा द्वन्द्वको वातावरण ल्याउने वा घर बिगार्ने होइन बरु सहअस्तित्वलाई स्वीकार गर्ने र महिला भएर सम्मानजनक जीवन बिताउने अनि आफ्नो हरेक सरोकारका विषयमा आफुले निर्णय गर्ने अधिकार हुनु हो भन्ने सबैलाई बुझाउन सकेमा समाज परिवर्तन गर्न धेरै कठिन हुँदैन । नेवारहरुको धमनीमा समानता छ, त्यहाँ असमानता व शोषण त फेसन जस्तै हिजो अस्ति मात्र आएको अनि यसलाई मौलिक समानतामूलक नेवारसमाजको पुनस्र्थापना गर्न जागरुक महिलाहरु नै आफ्नो मौलिक स्वभाव र समाजको विशेषता बुझेर एक कदम मात्र चालेपनि यहाँ धेरै भएको देखिने वातावरण चाँडै बन्छ । उनीहरु नै अगाडि बढ्ने समयको मात्र प्रतीक्षा छ ।

नेवाः मिसा दबूको स्मारिका २०१७ ११ ६ मा प्रकाशित नेपालभाषाको लेखलाई अनुवाद गरिएको

तसबिरहरु सामाजिक स‌ंजालबाट साभार

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.

Get the Medium app

A button that says 'Download on the App Store', and if clicked it will lead you to the iOS App store
A button that says 'Get it on, Google Play', and if clicked it will lead you to the Google Play store