बुद्धधर्म र करुणामयको रथजात्रामा दिइने पशुबलि

राजेन मानन्धर

हरेक वर्ष बुंगद्यः वा करुणामय वा रातो मछिन्द्रनाथ वा अवलोकितेश्वरको मूर्तिलाई विशेष किसिमको रथमा राखेर पाटन शहर परिक्रमा गराइन्छ । नेवार बौद्धहरुको यो एउटा विशेष पर्व हो । यो भनेको पाटनमा बस्ने अनि बौद्धहरुको मात्र होइन सम्पूर्ण नेपालकै गौरवको कुरा हो । यसले करुणाको सन्देश दर्शाउँछ, मानिसहरुलाई अरु प्राणीहरुलाई करुणा दृष्टिले हेरेर उनीहरुको सुखमा सुख थप्न प्रेरणा दिन्छ ।

तर हामीलाई थाहा नभएको वा थाहा भएर पनि नेखेजस्तो गर्दै आएको वा विश्वास गर्न कठिन हुने एउटा कुरा यहाँ के उल्लेख गर्न जरुरी भएको छ भने करुणामयको जात्रा शुरु हुनु अगाडि र सकिनु अगाडि करुणामयको जात्रालाई कारण बनाएर पटक पटक पशुबलि दिन्छन् बौद्धहरुले नै । पान्जुहरुले नै दुकुछापमा बलि दिन्छन् भनिन्छ, खिचाबू मेय् भनेर बुंगमतिमै पनि बलि दिने चलन छ भनिन्छ । यसबाहेक जात्रा शुरु हुनुअगाडि पुलचोकमा रथको चक्कामा रगत चढाउनु पर्छ, नभए दुर्घटना हुन्छ भनेर बलि दिइन्छ अनि लगनखेलमा राख्दा पनि पूजा आजासँगै अर्को बलि दिइन्छ । यी सबै पशुहरुको हत्याको कारण उनै जगत् संसारको उद्धार गर्न बुद्ध हुने क्षमता राखेर पनि सबै सत्वप्राणीहरुको उद्धार नगरी बुद्ध हुन्न भनेर कम्मर कसेर बसेका लोकेश्वर श्री करुणामय नै हुन् ।

कस्तो अचम्म, तल एउटा निर्दाेष प्राणी जमिनमा भ्या–भ्या कराइरहेको हुनछ, हेर्दाहेर्र्दै विद्वान बौद्ध पुरोहितहरुलाई चारैतिर साक्षी राखेर उनीहरुलाई पवित्र मन्त्र पढ्न लगाएर एउटा मान्छेले सानो चक्कुले त्यो पशुको घाँटी चिर्छ, रगत उछिट्याएर तडपाई तडपाई मार्छ ।

यसरी चढाइन्छ रगत रथकाे चक्कामा। फोटो राजेन

यो देखेर पनि करुणामयको शरणमा गएका भनिएका, बुद्धको शिक्षा सर्बसाधारणलाई बुझाउने ज्ञान भएका बौद्ध पुरोहितहरुको मनमा कति पनि करुणा उत्पन्न हुँदैन । यस्तो हृदयविदारक दृष्य एउटा पातलो पर्दा पछाडि उभिरहेका करुणामय टोलाएर हेरिरहन्छ मात्र । कान थुन्न सक्दैन, पर्ख, पर्दैन, उसलाई बाँच्न पुगेको छैन भनेर रोक्न समेत सक्दैन । शायद उसको काम भनेको आफ्नो शरणमा आएका मानिसहरुको मात्र रक्षा गर्ने हो, अरु प्राणीहरुको रक्षा गर्ने उसको सामथ्र्य भित्र पर्दैन । घाँटी छिनालिसकेर पनि प्राण त्याग्न नसकेको राँगोको शरिर भुइँमा छटपटाइरहेको हुन्छ, अनि सँगै बौद्धहरु भजन गाइरहन्छ — “लोकनाथ, गर्नुहोस् जगतको उद्धार” ।

कथामा त मैले करुणामयलाई यहाँ नेपालमा वर्षा नभएर मानिसहरुमा हाकाकार भएकोले कामरुपकामाख्यादेखि यहाँका प्राणीहरुको रक्षा गर्न ल्याएको भनेर पढेको थिएँ । तर यथार्थमा त वर्षको एकपल्ट चार–पाँचवटा निर्दोष प्राणीको बलि दिएको देखाउन ल्याएका जस्तो भान भयो । वर्षा भएपनि नभएपनि कमसेकम हरेक वर्ष ती प्राणीहरुको हत्याको कारण र साक्षी त भइदिनुपरेको छ हामी सबैका करुणानिधान श्री करुणामय लोकेश्वरलाई ।

सयौं वर्षदेखि यौ प्रथा चलिरहँदा पनि बोल्नुपर्ने सरोकारवालाहरु मुखमा दही जमाएर बस्छन्, र अन्य मानिसहरुमात्र गनगन गरेको सुनिन्छ । त्यसमा पनि अन्य मानिसहरुले बुद्ध धर्मलाई वा बौद्धहरुलाई व्यंग्य गरेजस्तै जे पायो त्यही भन्न थाल्छन्, जुन स्वाभाविक पनि हो । प्राणी हत्या नै गरेको मानिसको हातमा लागेको रगत त पानीले धोएर पखालिन्छ, तर बुद्धधर्म, बुद्धको शिक्षा, बुद्धधर्मभित्र लुकेको दर्शनमा लागेको कलंक भने जेले धोएर पनि जाँदैन । रगतमा लतपतिएको रथमा सबार भएर करुणामय लोकको कल्याण गर्न भनेर पाटन परिक्रम गर्न जान्छन् ।

करुणामयको जात्रामा पशुबलि दिनुहुँदैन भन्ने कुरा उठ्यो कि यहाँको विशेष गरी नेवार समाजमा दुइ–तीनवटा कुराहरु एकआपसमा मिसाएर कुरा घुमाएर आफुमात्र ठिक हुँ जस्तो देखिने केही तर्क दिने चलन छ । त्यसैले यस्ता कुराहरुलाई बुँदागत रुपमा चर्चा गर्नु बेश हुने देखिन्छ ।

करुणामयकाे वास्तविक मूर्ति । फोटो राजेन

बुद्धधर्म, प्राणीहिंसा र शाकाहार । बुद्धधर्ममा प्रवेश गर्नुको पहिलो नियम प्राणी हिंसा गर्दिन भन्ने हो । तर शाकाहारको बारेमा यो बुझ्न यति सजिलो छैन । संसारमा बुद्धधर्म भनेको शाकाहारीहरुको मात्र धर्म होइन, अनि शाकाहारहरु भनेको बौद्धधर्मावलम्बीहरु मात्र पनि होइनन् । यी दुइटा अलग अलग कुरा हुन् । त्यस्तै प्राणी हिंसा गर्नु र मांसाहार भन्नु पनि सम्बन्धित भएपनि एउटै भने होइन । मासु खाने सबैले हिंसा नै गर्छ भन्न सकिन्न अनि मासु नखाने हुँदैमा उसले हिंसा गर्दैन भनेर बुझ्न पनि मिल्दैन । नेपालमा सशस्त्रयुद्ध ताका करिब १७ हजार मानिसकै हत्या भयो तर उनीहरुले मृतकहरुको मासु खाएनन् । कतिपय पशुबलि दिनेहरुले पनि आफुले चढाएको पशुको मासु खाँदैन ।

मांसाहार र हिंसा । यहाँ कोही कोही मासु खान्छ तर हिंसाको विरोध गर्र्छ भनेर तर्क दिएर हिंसा विरोधीलाई आरोप पनि लगाउने गरिन्छ । मासु संसारभर जस्तै खाइन्छ तर सबै प्राणी देख्नेबितिकै मार्न अघिसर्दैनन् । अधिकांश देशमा जनतालाई आफै पशु मारेर खाने अधिकार दिएको हुँदैन । हुन त प्राणी हिंसा गरेन भने मासु पाइँदैन भन्ने वा सिधै संसारका सबै मानिसहरु शाकाहारी होऔं भन्ने उत्तम आदर्श हो । सुखी संसारको अन्तिम चरण यही हो तर कमसेकम अव्यवसायीले मात्र वध नगरिदिएपनि हुन्थ्यो भन्नेसम्मको आशा गर्दा र बौद्धहरु मध्यममार्ग अपनाउने भएकाले उनीहरुमा शाकाहार बन्नेसम्मको ज्ञान नआउन्जेल विश्वका अन्य सभ्य मुलुकहरुमा जस्तै हाललाई मांसाहारको विरोध नगरिकनै जनसमुदायले सार्वजनिक स्थलमा आफै आफै गर्ने प्राणी हिंसालाई निषेध वा अस्वीकारसम्म गर्न सकिन्छ । अनि अहिलेलाई यति भनौं, आफ्नो इच्छाको निमित्त प्राणीलाई उद्देश्य राखेर हिंसा नगर्नु बुद्धधर्म हो ।

पशुबध व पशुबलि । मासु संसारमा लगभग जहाँतहीँ खान पाइन्छ, अमेरिकादेखि जापानसम्म । मासु खानलाई पशुको बध हुन आवश्यक छ । त्यहाँ पशुबध आधुनिक र व्यवसायिक हुन्छ । तर त्यहाँ पशुलाई अव्यवहारिक र अस्वस्थ तरिकाले अधिकतम शारीरिक पीडा दिएर मार्ने, अनि मारेर हामीले देउतालाई खुशी पारेका छौं भन्ने काम गर्दैनन् । आफ्नो मासु खाने लालच मेट्न कुनै देवता वा धर्मलाई दोष पार्ने काम गर्दैनन् ।

पशुबलिलाई धर्मको नाम दिएर, पछिको पुस्तालाई यस्तो कामलाई परम्पराको नाम दिएर गर्न बाध्य पार्ने अनि यस्तो गरेन भने यस्तो हुन्छ त्यस्तो हुन्छ भनेर मानसिक तनाव दिने काम अधार्मिक हो । त्यसकारण पशुबलि असभ्य हो, त्याज्य छ । कति पय जंगली अवस्थाका मानिसहरु, र कुनै हाम्रै नेपालमा पनि नरबलि दिइने गथ्र्यो । यो त अब अपराधै हो । धर्म एकै भएपनि भारतमा समेत अपवाद बाहेक पशुबलि दिइँदैन । पनि अब यसरी पशुबलि दिएर देउतालाई खुशी पार्नेहरुले आफ्नो आमाबाबु वा छोराछोरीको बलि किन दिँदैन होला भनेर एकपल्ट विचार गरेर हेर्न आवश्यक छ । यो भनेको पशुबलि दिने खालको धर्म मान्नेहरुको कुरा भयो ।

बुद्धधर्म व पशुबलि । अब मुख्य मुद्दामा प्रवेश गरौं — बुद्धधर्म व पशुबलि । हामीले पढेर आएका छौं बुद्धको जीवनकालमै बेद पढ्ने व्राम्हणहरुमा पशुबलि दिने चलन थियो । उनीहरु पनि विभिन्न बहानामा आफ्ना देउतालाई खुशी पार्ने भनेर पशुबलि दिने गर्थे । भगवान बुद्धले उनीहरुलाई सद्धर्मको मार्ग देखाउनुभयो, करुणाको खोला बगाउनुभयो र पशुबलि रोक्यो । आज वेद पढ्नेहरुले बुझेका छन् यो गलत हो भनेर तर हामी आफुलाई बौद्ध भन्नेहरुले भने बुद्धले धर्मचक्र प्रवर्तन गर्नुभन्दा अघिको युगमा बाँचेर बुद्धको नाम भजाइरहेका छौं ।

करुणामयकाे रथ जात्रा

गएको २५०० वर्षभित्र बुद्धधर्म व दर्शनमा धेरै किसिमका परिवर्तन आइसक्यो । इतिहासमा बुद्धधर्ममा १८ वटा निकाय भएको कुरा हामीले पढेर आएका छौं । अहिले समयअनुसार सामान्य मानिसले बुझ्ने गरी भन्दा थेरवाद, महायान वा वज्रयान भनेर विकास भएर आयो । यी सबै निकाय बुद्ध शिक्षा वा त्यसैको नै व्याख्या हो । तैपनि कसैले बुद्धधर्मको आधारभूत शिक्षाको कुरा गर्दा प्राणी हिंसा नगर भनेको शिक्षालाई बिर्सदैन ।

यसरी हेर्दा बुद्धधर्म र पशुबलिको त कुनै प्रकारको पनि सम्बन्ध हुनसक्छ भनेर कल्पना पनि गर्न सकिँदैन । करुणामयको जात्रामा हुने यो कथित परम्पराको नाममा गरिने प्राणी हत्या हेर्दा यो पशुबलि दिए देउतालाई खुशी पारेको होइन बरु यसले मानिसहरुलाई नै बुद्धधर्मबाट निष्काशन गरिरहेको प्रतित हुन्छ ।

जात्रामा जाँदा मानिसहरु दुइहात जोडेर भनिरहेका हुन्छन् — हामी करुणामयको शरणमा आएका छौं, हाम्रो रक्षा गर्नुहोस् । तर यस्तो दृष्य अहिलेका युवापुस्ताले पचाउँदैन । जुन करुणामयले आफ्नो ठिक सामुन्ने एउटा निरिह प्राणीलाई विनाअपराध कुनै देउता खुशी पार्न भनेर चक्कुले चुइँचुइँ काटेको देख्दा पनि एक शब्द बोल्न सक्दैन, उसले हाम्रो रक्षा कसरी गर्ला भनेर प्रश्न तेस्र्याउँछ, छ कुनै आचार्य नाम बोकेका बौद्ध विद्वानहरुसँग यसको उत्तर ? अन्ततः बुद्धभूमि नेपालमा बाँकी रहेको ९ प्रतिशत बौद्ध जनतामा पनि बुद्ध धर्मप्रतिको आस्था त्यही पशुबलिको रगतसँग बगेर जान्छ ।

नाथ र वैष्णवहरुले करुणामयलाई पनि विशेष पुजाआजा गरेर मान्छन् तर करुणामयको रथको चक्कामा पशुबलि दिनेहरुले कुनै पनि कोणबाट बुद्धधर्मलाई अँगालेको देखिँदैन । बुद्धधर्मको विद्यार्थी भएको नाताले बुद्धधर्मको कुनै पनि निकाय वा यानका शैद्धान्तिक पक्षमा मेरो सम्मान र श्रद्धा छ । वज्रयान भनेको नेवारहरुको मात्र पेवा होइन । संसारभरी फैलिएको वज्रयानमा कहीँ यसरी पशुको गर्धन काटेर बलि दिनु पर्दैन, अरुहरुले यसै यानमा पनि यस्तो क्रुर निर्दयी कार्यको अनुमति दिएको छैन भने नेवार वज्रआचार्यहरुले मात्र कसरी यसलाई बौद्ध कार्यको रुपमा व्याख्या गर्यो ? जसले असल कर्म गरेमा त्यसको असल फल प्राप्त हुन्छ भनेर विश्वास गर्दैन उसलाई कसरी बौद्ध भन्ने ? अनि बुद्धले भनेको मान्ने हो भने त रथ राम्रोसँग बनाएमा वा ढंग मिलाएर तानेमा दुर्घटना हुने सम्भावना नै रहँदैन नि । त्यस्तो जानेकाहरुले कुनै देवता विशेषलाई कुनै प्राणीको गर्धनको रगत चढाएको कारणले दुर्घटनाबाट बच्छ भनेर कसरी विश्वास गर्न सक्छ ? यति धेरै वर्षदेखि हरेक वर्ष प्राणीहत्या गरेरै रथ यात्रा चलाइरहेको हो तर कति कति पल्ट त दुखदायी दुर्घटना पनि त भयो नि । यहाँ त्यो आलो रगत पिएर रथ जात्रा सञ्चालन गराउने देवताले त्यसको जिम्मेवारी लियो त ? जब आफ्नो दीप आफै बन भन्ने बाटोमा लागेका मानिसहरु रुढीबादको गुफाभित्र छिर्छन्, उनीहरुलाई बौद्ध भनिराख्नु नै उचित हुँदैन । यो त १२ वर्ष कुकुरको पुच्छर कहाँ राखेको जस्तो कुरा भयो ।

हामी विदेशीहरुलाई नेपालमा बुद्ध जन्मेको भनेर सुनाउन पाए हात्तीको जत्रो नाक बनाउँछौं । तर उनीहरुलाई थाहा छ, नेपालमा नै बुद्ध जयन्तिको दिनमा सयौं पशुहरुको बलि दिइन्छ भनेर । अनि उनीहरुलाई यो पनि थाहा छ कि बौद्ध कर्मकाण्डमा समेत पशुबलि दिइरहेका छन् नेपालका बौद्धहरुले भनेर । करुणामयको जात्रामा दिइने पशुबलिलाई लिएर विभिन्न विदेशी विद्वानहरुले लेखेको लेख इत्यादि भेट्टाउन सकिन्छ । के उनीहरुले यो सबै देखेपछि वा पुस्तकमा पढेपछि हाम्रो बुद्धधर्मलाई सम्मानको दृष्टिले हेर्छ होला ? संसारमा बुद्ध धर्म कहाँ कहाँ फैलिसक्यो, बुद्धको दर्शनमा सुख, शान्ति र सुन्तुष्टी पाइन्छ भनेर मानिसहरु धमाधम बौद्ध हुन गइरहेका छन्, तर हामी बुद्ध जन्मकोे देशका बौद्धहरुले बुद्ध धर्मकै नाममा राँगो वा भेँडाको गर्धनमा छुरी चलाउन छोड्न सकेका छैनौं ।

देशमा ठुल्ठुला परिवर्तनहरु आइसके तर “पाणाति पाता” भनेर भन्ने बौद्धहरु स्वयम् पशुबलिको मतियार भएर निर्लज्जताको प्रदर्शन गरिरहेका छन् । प्रथा, परम्परा र चलनको बिचामा भेद बुझ्न नसकेर पनि हामीले पशुबलि बोकिरहेको हुनसक्छ । हाम्रो समाजमा पहिला दासप्रथा र सतिप्रथा जस्ता कुराहरु थिए, जुन अहिले कथा भइसक्यो । अब पहिलेदेखि गर्दै आएको भनेर बिरालो बाँधेर श्राद्ध गर्नेहरुलाई त के भनौं, तर नयाँ समयमा नयाँ विचारहरुले ठाउँ ओगट्ने कुरामा कसैको दुविधा नहोला । समाजले नै स्वीकार नगर्ने प्रकारका कामहरुलाई चलन भनेर तानतुन गरेर अगाडि लान खोजेमा त्यो समाजबाटै तिरस्कृत हुनेछ ।

अहिले पनि यो बलि दिएन भने के के विपत्ति आउँछ भनेर अन्धविश्वासको पछि पछि लाग्ने बौद्धहरु हाम्रो समाजमा धेरै छन् । नयाँ कुरा होला उनीहरुलाई बलिप्रथाको अन्त्य । यसका लागि केही समय लाग्ला तर नयाँलाई नल्याइ भएको छैन, पुरानोलाई त्याग्नुको विकल्प छैन अब ।

कसैलाई लाग्ला — यहाँ पनि भएको छ त्यहाँ पनि भएको छ । विसंगति जहाँ पनि होला । गर्न त संसारभरकै सबै प्रकारका जीवमाथि भएका अमानवीय व्यवहारको विरोध गर्नुपर्ने हो । अहिलेलाई स्पेनको बुलफाइटिङको भन्दा गढीमाइको पहिला विरोध गरौं, त्यो भन्दा पहिला खोकनाको विरोध गरौं, त्योभन्दा पहिला हाम्रै टोलमा शाक्त मन्दिरमा हुने पशुबलिको विरोध गरौं, त्योभन्दा अगाडि कमसे कम आज बुद्धधर्ममा देखिने पशुबलिको बिरोध गरौं । यो भनेको धर्ममा पनि नमिल्ने, कर्ममा पनि नमिल्ने काम हो । यसको समर्थनमा यसको संकल्प गर्ने बौद्ध आचार्यहरुसँग पनि तर्क हुने छैन । गलत कामको विरोध आज एक जनाले गरे पुग्छ, भोलि एक हुल बन्नेछ । आज हामीले नयाँ ल्याउन लहर तयार हुनसक्यौं भने हाम्रो करुणामयलाई कसैले औला ठड्याएर प्राणीहिंसाको कारण बन्यो भनेर आक्षेप लगाउने ठाउँ बाँकी हुने छैन ।

दुःखको कुरा, यस्ता कुरा गर्न हाम्रा बौद्ध विद्वानहरु पछाडि नै छन् । राष्ट्रिय अन्तराष्ट्रिय सभा सम्मेलन र सेमिनारमा जान हामी कहाँ बौद्धहरु छन् तर हाम्रो यस्तो छ, त्यस्तो इतिहास छ भनेर घमण्ड गरेर सिकाएर हिँड्ने हाम्रा ती विद्वानहरुले यस विषयमा ठोस निर्णय गरेर देखाउन सकेको छैन । मुखै फोडेर नभनेपनि, लेखेरै दस्तावेजमा नल्याएपनि उहाँहरुको ज्ञानचक्षुले यो बौद्ध काम होइन भनेर अनुभूत गरिरहनुभएको होला । उपयुक्त समय आएपछि उहाँहरुको पनि बिस्तारै बोली फुट्ला अनि बुद्ध धर्म साँच्चैका बुद्ध धर्म भएर अर्को हजारौं वर्षसम्म बाँचिरहने छ । अहिलेलाई यति आशा गरौं ।

(Translated and edited from my original article in Nepalbhasha, published in 2015 04 24 in Sandhya Times)

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.

Get the Medium app

A button that says 'Download on the App Store', and if clicked it will lead you to the iOS App store
A button that says 'Get it on, Google Play', and if clicked it will lead you to the Google Play store