बुद्धले आफ्नो जीवन बिताउनु भएको भारतमा बुद्ध धर्ममाथि प्रहार

राजेन मानन्धर
भगवान बुद्ध नेपालमा जन्भमुभयो र २९ वर्ष यहीँको हावापानीसँगै हुर्कनुभयो तर उहाँले अभिनिष्क्रमण गरेर गइसक्नुभएपछि उहाँको सम्पूर्ण जीवन भारतकै विभिन्न स्थानमा बित्यो । त्यस्तै उहाँले आफ्नो ज्ञान पनि यही भूमिमा बाँड्नुभयो । त्यसले त भारतका राजनीतिक सामाजिक नेताहरु पनि बेलामौकामा बुद्ध भारतको भनी गर्व गर्ने गर्छन् । तर यथार्थमा हेर्दा भारतमा नै बुद्धधर्मले हजारौं वर्षदेखि हिन्दु तथा मुस्लिम धर्मावलम्बीहरुको विभिन्न प्रकारका प्रहारहरु सहनु परेको देखिन्छ । उनीहरुले भारतबाट बुद्धधर्मलाई निमिट्यान्न पार्न राजनीतिक, धार्मिक र सामाजिक दाउपेचहरु चलाए ।

इतिहासले यही भन्छ, कि उनीहरुले धर्म र दर्शनबाट बुद्धधर्मलाई गलत साबित गर्न नसकेपछि त्यहाँका बौद्ध स्मारकहरुमा आक्रमण गरे । कतै भत्काए, बिरुप पारे वा त्यसमाथि हिन्दु एवं मुस्लिमहरुले आफ्नो अधिपत्य कायम गरेर त्यसलाई आआफ्नो धार्मिक केन्द्रको रुपमा जबरजस्ती विकास गरेर बौद्धहरुलाई आफुले सदियौंदेखि पुज्दै आफ्नो धार्मिक जीवन संस्कृतिको अंश बनाएका ती सम्पदाबाट विमुख बनाए । यस्ता आततायी गतिविधिले गर्दा भारतबाट बुद्धधर्म नाश हुन केही हदसम्म भूमिका खेलेको तथ्य हामीबाट लुकेको छैन । यस लेखमा भारतका विभिन्न स्थानमा रहेका केही बौद्ध धार्मिक स्मारकहरुमाथि भएका हिन्दु एवं मुस्लिम प्रहारहरुको बारे्मा संक्षिप्त जानकारी दिइन्छ ।

पृष्ठभूमि
बुद्धको मूर्ति कुनै व्यक्तिको शालिक मात्र होइन, त्यो भनेको विश्वभरका अर्बौं बौद्धहरुको आस्थाको केन्द्र र पहिचानको प्रतीक पनि हो । त्यसैले हिन्दुहरुले जब बुद्धधर्म, दर्शन वा शिक्षालाई आफ्नो दर्शन वा शिक्षाले जित्न सक्दैन तब उनीहरु चाहेर वा नचाहेरै पनि बुद्धको मूर्ति, चैत्य, स्तुप, गुफा, विहार, मन्दिर, गुम्बामाथि आक्रमण वा प्रहार गर्न थाल्छन् । बुद्धमूर्ति लगायत अन्य स्मारकहरु भनेको बौद्धहरुको आस्थाको केन्द्र, उपासनास्थल माात्र होइन, ती त संसार भरीकै बौद्धहरुको साझा सम्पति हो, अनि उनीहरुको इतिहास, धर्म, संस्कृतिको बिरासत बोक्ने पहिचानको प्रतीक पनि हो । त्यसकारण नै बुद्धधर्म, बुद्धशिक्षा र बौद्धहरुको सुखी जीवन देखेर डाहा गर्नेहरुले ती प्रतीकहरुमा आक्रमण गरेर मनमा केही आनन्द लिएको जस्तो अनूभुति गर्छन् ।

धेरैलाई अचम्म लाग्न सक्छ । आज संसारभरी नै जस्तो गरी फैलिरहेको बुद्धधर्मको इतिहास हेर्दा बुद्धको जीवनको अन्त्यपछिको भारतकै इतिहास भने त्यति उत्साहप्रद देखिँदैन । भगवान बुद्धको समयमा उहाँका बचनहरु सार्थक थिए, उहाँको जीवनशैली नै धेरैका लागि प्रेरणाका श्रोत थिए अनि कुनै पनि धर्ममा लागेका, क्रुर वा ह्रिंसक नै विधर्मी किन नहोस् उहाँको एक बचनले बुद्धको शरणमा आएका धेरै दृष्टान्तहरु पाइन्छन् । तर उहाँको परिनिर्वाण पछि उहाँको त्यो चमत्कारिक प्रभाव भारतीय समाजमा धेरै समय टिकेन । एकातिर बौद्ध भिक्षुहरुमै आफुभित्र दबाएर राखेको अहंकार इत्यादिको कारणले आपसी मतभेद र संघभेदसम्मका विवादहरु चुलिए भने अर्कोतिर भगवान बुद्धको समयमा शुषुप्त रहेका वैदिकहरुले बौद्ध श्रमणहरुमाथि शास्त्रार्थ देखि षडयन्त्र इत्यादि गरेर पराजित गर्ने क्रम चाले ।

भगवान बुद्धको परिनिर्वाण पछि केही कमजोर हुँदै गएको बुद्धधर्म इशापूर्व २५० तिर सम्राट अशोकले अवलम्बन गरेपछि यति प्रचार प्रसारमा आयो कि यो एशियाका विभिन्न देशमा समेत फैलियो । तर उनैको अन्त्य पछि उनको सन्ततिले भने यो धर्मलाई अभिभावकत्व दिन सकेन ।

भारतमा बुद्धधर्ममाथि प्रहार

एकातिर सम्राट अशोकले बुद्धधर्मको प्रचारप्रसार गरिदिएपछि हिन्दु पण्डितहरु उचित समय पर्खेर बसेको अनि अशोकको अर्थात् मौर्य शासकहरुको अन्त्यसँगै उनीहरु योजनावद्ध ढंगबाट नै बुद्धधर्ममाथि आक्रमक भएको सहजै अनुमान लगाउन सकिन्छ । इतिहासले भन्छ कि इशापूर्व १८० तिर मौर्यहरुका अन्तिम राजा बृहद्रथ मौर्यलाई उनैका व्राम्हण सेनापति पुष्यमित्र शुंगले हत्या गरेर आफुलाई राजा घोषणा गरेपश्चात् भारतमा बुद्धधर्मको पतन शुरु भयो । उनले आफ्नो राज्यभित्र भएका सबै बौद्धस्मारक एवं मन्दिरहरु भत्काउन आदेश दिएको तथा बौद्ध भिक्षुहरुको टाउको काटेर ल्याउनेलाई इनाम समेतको घोषणा गरेका थिए भनेर इतिहासकारहरुले भनेका छन् । उनले बौद्ध स्मारकहरुमाथि गरिएको अत्याचारलाई अशोकावदान जस्ता ग्रन्थहरुले वर्णन गरेका छन् ।

भरतमा गैरबौद्ध राजा वा राज्यव्यवस्थाको अनि हिन्दुहरुको प्रकोपलाई धेरै शताव्दीसम्म थेग्नु परेको इतिहास हामीसँग छ । कमसेकम इशाको सातौं शताव्दीसम्म पुग्दा बुद्धधर्म आफै पनि मूलधारबाट विचलित भइ वैदिक धर्मकै आडमा हुर्केको, कर्मकाण्ड, भक्तिमार्गतर्फ उन्मुख भएको र अझ तन्त्रमन्त्रलाई समेत बुद्धधर्मकै अंशको रुपमा व्याख्या गर्न थालेको हामीले पढेका छौं । नेपालकै बुद्धधर्मको इतिहासले पनि यही भन्छ । जब बौद्धहरु नै आफ्नौ धर्मको मूल दर्शनलाई बिर्सन थाले भने त्यस्तो बेलमा कुमारिल भट्ट तथा आदि शंकराचार्य जस्ता वैदिक धर्मका पण्डितहरुले बौद्ध पण्डितहरुलाई शास्त्रार्थमा हराए भन्ने मिथकहरु आधारहिन थिए भन्ने अवस्था बाँकी रहँदैन ।

यस्तो अवस्थामा बौद्ध पण्डितहरुले बुद्धले दिनुभएको वैदिक धर्मभन्दा अलग खालको दर्शनलाई व्याख्या गर्न नसक्ने भएपछि समाजमा बुद्ध धर्मको प्रभाव फितलो हुन थाल्यो र लगभग एक हजार वर्ष पहिलेदेखि बौद्धहरुले बनाएका विशाल बौद्ध स्मारकहरु बन्जर बन्नु, अनुयायीहरुले मान्न छाड्नु भएपछि त्यसको अस्तित्व नै नामेट भएर गएको तथ्य अजन्ता, एलोरा जस्ता विशालकाय बौद्धसम्पदाहरु नसिएर अथवा माटोमुनि पुरिए । नेपालकै कुरा गर्दा पनि लुम्बिनी जस्तो बुद्धधर्मकै पवित्रतम् तीर्थस्थल जंगलको बिचमा हराएको, माटोमा पुरिएको हामी आफैले देखेको कुरा हो ।

यसपछिको भारतको इतिहासमा कहिले बुद्धधर्मलाई प्रश्रय दिएको र कहिले यसको संहार नै गरेको लामो इतिहास छ । पछि पाँचौं शताब्दीमा मध्य एशियाबाट आएका हुणहरुले अहिलेको पश्चिम भारतका धार्मिक स्मारकहरुमा धेरै क्षति पुर्याए । यसबेला बौद्धमात्र हैन वैदिक एवं जैन स्मारकहरु पनि तारोमा परेका थिए । ईशाको ४४० तिर हुणहरुले त्यहाँ आफ्नो अधिपत्य जामाए । उनीहरुका राजा मिहिरकुलले ईशाको ५१५ तिर बुद्धधर्ममाथि अत्यचार गरेर थुप्रै बौद्ध मठ तथा अन्य स्मारकहरु नष्ट गरेको प्रमाण इतिहासकारहरु दिन्छन् ।

सातौं शताव्दीमा भारतमा अरब तथा तुर्कका मुसलमानहरुले निरन्तर आक्रमण गर्नथाले । उनीहरुले पहिले अफगानस्तानमा कब्जा जमाए र त्यहाँका बौद्ध स्मारकहरु नष्ट गरेर सबैलाई मुस्लिम बनाए । त्यसपछि तिनीहरुले भारत क्षेत्रमा प्रवेश गरे ।
एघारौं शताव्दीमा तुर्क राजा मुहमद गजनवीले सत्र पटकसम्म भारतमा आक्रमण गरेर त्यहाँ विध्वंश मच्चाए । उनको आक्रमणको उद्देश्य राजनीतिक तथा यहाँका मन्दिरहरुमा जम्मा गरिएका धनसम्पत्ति थियो । त्यसैले उनले त्यहाँका मन्दिरहरुमा तोडफोड गरेर लुटपाट मच्चाए । यसको धेरै समयसम्म धार्मिक एवं सामाजिक प्रभाव रहिरह्यो ।

यसप्रकार हेर्दा भारतको उत्तर पूर्वबाट आएका विधर्मीहरुको आक्रमणको कारणले यहाँ फस्टाइरहेको बुद्धधर्मलाई धेरै नोक्सान भयो । यस्तो अवस्थामा राजनीतिक अभिभावकत्व हरण भएको मात्र होइन कुनै धर्म मान्नु नै संकटको द्योतक भएपछि बुद्धधर्म नै क्रमशः बिलाउँदै जानु स्वभाविक पनि भयो ।

पाँचौं शताव्दीमा मिहिरकुलले तथा सातौं शताव्दीमा गौदासले तक्षशिलामा आक्रमण गरिसकेका थिए । फेरी तक्षशिला विश्वविद्यालयमा सन् ११३९मा तुर्क सेनापति बख्तियार खिलजीले आक्रमण गरी आगो लगाएर ध्वस्त बनाए । यस आक्रमणमा तीन महिनासम्म आगो बलिरहेको र त्यहाँ भएका ९० लाख बौद्ध ग्रन्थहरु नष्ट भएको भनिन्छ । उनले यहाँ भएका भिक्षुहरुको आमहत्या पनि गराए । उनको आक्रमणमा बौद्ध केन्द्रहरु नालन्दा, विक्रमशिल तथा ओदन्तपुरी नाश भए । यी आक्रमणहरुमा बौद्ध विद्वानहरु त नेपाल लगायतका क्षेत्रमा भागेर ज्यान बचाए तर बौद्ध स्मारकहरु भने क्षतविक्षत नै भए । त्यस्तै सन् ११९३मा कुतब उददिन एबाकले बौद्ध भारतमाथि राज गरे । मुस्लिम आक्रमणमा महाबोधी मन्दिर समेत लगभग पूर्णरुपमा नाश भयो ।

अर्कोतिर, उत्तर प्ररदेशको फैजावादमा एक स्थानमा सन् १५२७मा भारतका मुगल सम्राट बाबरले मस्जिद बनाए । त्यसबेलादेखि यो मस्जिद भनेर चिनियो । पछि त्यो मस्जिद पहिले हिन्दु स्मारक थियो र त्यहाँ नै रामको जन्म भएको भनेर हिन्दुहरुले यो स्मारक बाबरी मस्जिदलाई सन् १९९२ भत्काए । यस कार्यमा एकलाख ५० हजार मानिसहरु संलग्न रहे भने यस दंगामा लगभग दुइ हजार मानिसहरुले ज्यान नै गुमाए । यस स्थान वा स्मारकका लागि भारत भरी नै जस्तो हिन्दुहरु र मुस्लिमहरु लडिरहे । यसैबिच पनि केही बौद्धहरुले यो बौद्ध स्थल हो भनेर दावी गरिरहँदा खासै सुनवाइ भएन । तर पछि जुन ठाउँलाई हिन्दुहरुले मुस्लिमहरुको बाबरी मस्जिद भत्काएर रामको जन्मभूमि भनेर दावा गरेर राम मन्दिर बनाउन खोजिरहेका छन्, त्यो ठाउँ बास्तवमा बुद्धकै समयमा अस्तित्वमा आएको र पछि बौद्ध विहार बनेको साकेत भन्ने स्थल थियो भन्ने प्रमाण भेटिएका छन् । सातौं शताब्दीका चीनियाँ बौद्ध तीर्थयात्री हुयेन साङले समेत भारतका बौद्ध तीर्थस्थलहरुको वर्णन गर्नेक्रममा साकेतको उल्लेख गरेका थिए । यस अर्थमा यो मौलिक रुपमा बौद्ध तीर्थस्थल थियो र कालान्तरमा यसलाई मुस्लिम र हिन्दु रुप दिइएको थियो भन्न सकिन्छ ।

हिन्दुहरुले अगाध श्रद्धा राख्ने तथा भारतकै सबैभन्दा धनी मन्दिरहरु मध्ये एक भनेर चिनिने तिरुपति बालाजीको मन्दिर पनि पहिले मौलिक रुपमा बौद्ध मन्दिर थिए भनेर के जमनादास भन्ने विद्वानले अनुसन्धान गरेर पुस्तकै लेखेका छन् । अहिले हिन्दु अतिवादीहरु राजनीतिक रुपमा समेत सबल भएको अवस्थामा भारतकै एक सम्पन्न र परिष्कृत धार्मिक स्थललाई बौद्ध भनेर दाबी गर्न पनि त्यति सजिलो छैन । तर पनि यस तथ्यलाई विभिन्न पुरातात्विक र वैज्ञानिक तथ्यका आधारमा गरिएको अध्ययन अनुसन्धानलाई बेतुक भनेर हिन्दुहरुले पनि भन्न सकिरहेको अवस्था भने छैन ।

अहिले गरिएको अध्ययन अनुसार त्यो मूर्ति बौद्ध हो, त्यो विष्णु जस्तो भन्दापनि पद्मपाणी लोकेश्वर जस्तो देखिन्छ र त्यसका हात तथा आयुध पछि थपिएका हुन् ।
इतिहासकार डी एन झाले ब्राह्मणवादी सेनाद्वारा बौद्ध स्तूप, गुम्बा र अन्य संरचनाहरूको अपमान, विनाश र विनियोजनको सीमित सर्वेक्षणको आधारमा आफ्नो पुस्तक “अगेन्स्ट द ग्रेन्स् नोट्स इन आइडेन्टिटी, इन्टेलरन्स एण्ड हिस्ट्री”मा भनेका छन् — बौद्धसम्पदाको विनाशको प्रमाण अशोकको शासनकालको अन्तदेखि नै भेटिन्छन् ।

झाका अनुसार बौद्ध ग्रन्थ दिव्यवदानामा उल्लेख गरिएको छ कि ब्राह्मण शासक पुष्यमित्र शुंगले सेनाको साथ लिएर स्तूपहरू नष्ट गर्दै, मन्दिर जलाउने र भिक्षुहरूलाई मार्ने जस्ता कामहरु गरे । उनले शुंगले आधुनिक पटनाको अशोकस्तम्भ सहितको भवन एवं कुकुतरमा मठलाई नष्ट गरेको हो कि भन्ने शंका गरेका छन् । उनले यो शंका मध्य प्रदेशमा उत्खनन् गर्दा फेला पारिएका धेरै बौद्ध स्मारकका अवशेषहरुको आधारमा गरेका हुन् । उनले यस्ता प्रमाणहरु कट्टनी जिल्लाको सतधार एवं रेवा जिल्लाको देउरकोठार जस्ता स्थलमा पनि पत्ता लगाएका थिए ।

उनका अनुसार शुंग काल समाप्त भएपछि पनि मध्य प्रदेशमा बौद्ध स्थलहरूको विनाश र हिन्दुकरण जारी रहेको थियो । यसको उदाहरणका लागि, अहमदपुरमा पाँचौं शताब्दीमा बनाइएको एक ब्राह्मणवादी मन्दिर स्तूपको जगमाथि निर्माण भएको जस्तो देखिन्छ । त्यस्तै साँची स्तुपको नजिकै रहेको विदिशा नगरको वरपरका धेरै ठाउँमा पनि बौद्ध अवशेषलाई आठौं शताब्दीतिर शैव वा जैन पूजास्थलमा परिणत भएका थिए ।

त्यस्तै विदिशाको २५० किलोमिटर जति उत्तर पूर्वमा, खजुराहोमा चन्देलसको मुनि दशौं शताब्दीदेखि यता बौद्ध प्रतिष्ठानको रुपमा विकसित भैसकेको थियो । त्यस्तै यहाँको घन्टाई मन्दिर पनि नवौं वा दशौं शताब्दीमा जैनहरुले बौद्ध स्मारकको अवशेषमा अथवा त्यसलाई भत्काएर बनाएको हुनुपर्ने उनको अनुमान छ ।

कुशान कालमा फस्टाइरहेको पश्चिमी उत्तर प्रदेशको एक शहर मथुराबाट प्राप्त प्रमाणहरू प्रस्तुत गर्दै पनि झाले अहिलेका हिन्दु मन्दिरहरू, जस्तै भूतेश्वर र गोकर्णेश्वरको मन्दिर पुरानो समयमा बौद्ध स्थल थिए भनेका छन् । उनका अनुसार त्यहाँ कुषाण कालमा बौद्ध केन्द्रको रुपमा प्रख्यात कटरा ढिस्को पनि पछि एक हिन्दू धार्मिक स्थलको रुपमा विकास भयो भयो ।

त्यस्तै भारत भरीमा यस्ता सयौं वा हजारौं मन्दिरहरु थिए जसलाई पछिल्लो समयमा बढी प्रख्यात भएका हिन्दु तथा मुस्लिमहरुले आफ्नो कब्जामा लिए, तोडफोड गरे वा स्वरुप परिवर्तन गरेर हिन्दु मन्दिर वा मुस्लिमहरुको मस्जिद बनाइए । अहिले पनि भारतका विभिन्न ठाउँमा भेटिएका प्राचिन बौद्धमूर्तिहरुमा रंगरोगन गरेर, लुगा लगाइदिएर वा तोडफोडै गरेर पनि हिन्दु देवताका रुपमा स्थानीय पुरोहितले पूजा गरिरहेको फोटो तथा भिडियोहरु सामाजिक संजालमा सजिलै देख्न सकिन्छ ।

समग्रमा भन्नु पर्दा हिन्दुहरुको अतिवादलाई मुगलहरुको आक्रमणल केही मत्थर बनायो । यद्यपि मुगलहरुको आक्रमणमा पनि बुद्धधर्मकै अवनतिलाई सघाउ पुर्यायो । उनीहरुले पनि हिन्दु एवं बौद्ध तीर्थस्थलहरु तोडफोड गरे, नाश नै गरिदिए । त्यसमामाथि मुस्लिम तीर्थस्थल अथवा मस्जिदहरुमा परिवर्तन गरे ।

भारतमा अबौद्धहरुको निशानामा परेका थुप्रै बौद्ध स्मारकहरुमध्ये भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नुभएको बोधगया मन्दिर पनि एक हो । सम्राट अशोकले नै त्यहाँ विहार र मन्दिर बनाएका थिए भन्ने प्रमाण पाइन्छ तर अब त्यसको अवशेष पनि त्यहाँ छैन । बरु उनले बनाएको वज्रासन भने छ । यहाँको मन्दिर ५ देखि ७औ शताब्दीको बिचमा निर्माण भएको थियो जुन पटक पटकको आक्रमणमा क्षतिग्रस्त भइरहयो । पछि १९औं शताब्दीमा बर्माको राजपरिवारले यसको जिर्णोद्धार गरे ।

त्यस्तै भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नुभएको रुख बोधिवृक्ष पनि पटक पटक आक्रमणको चपेटामा पर्यो । सन् १८९१मा अनागारिक धर्मपाल महाबोधि पुग्दा उक्त मन्दिर शैवहरुको कब्जामा थियो र उनीहरुले बुद्धमूर्तिलाई समेत हिन्दु देवता बनाइसकेको थियो । अझ बौद्धहरुलाई त्यहा पूजा गर्न समेत निषेध गरिएको अवस्था थियो । बौद्ध अभियन्ताहरुले करिब ५० वर्षसम्म कानूनी लडाइ लडेपछिमात्र त्यो ब्राम्हण पुरोहितहरुको कब्जाबाट फुत्कियो । अहिलेसम्म पनि त्यस बौद्धस्मारकको व्यवस्थापन समितिमा हिन्दु पुरोहितहरुको बाहुल्यता हुने व्यवस्था गरिएको छ ।

हिन्दुहरुले भारतमा पछि सम्म पनि बौद्धस्मारकहरु नष्ट गर्ने सिलसिला चलाइरहेको पाइन्छ । सन् १७९४ मा बनासरका देवान जगत सिंहले निर्माण सामाग्री निकाल्नका लागि दुइवटा सम्राट अशोक भन्दा अगाडिका स्तुपहरु खनेर निकाले । यस क्रममा एउटा धर्मराजिक स्तुप पूर्ण रुपमा नष्ट भयो र यसको जग मात्र बाँकी रह्यो । यहाँ भित्र पाइएको हरियो मार्बलको भाँडोमा राखिएको बुद्धको अस्थिधातु गंगामा मिल्काइदिएको भनिन्छ । त्यस्तै धमेख स्तुपमा पनि ठुलो क्षति पुग्यो । यो कुरा तत्कालिन ब्रिटिश अधिकारीहरुले थाहा पाएर त्यसलाई रोकेकोले मात्र धमेख स्तुप बचेको भनिन्छ ।

त्यस्तै मध्य प्रदेशको देवकोठारमा पनि सन् १९८२मा मात्र केही बौद्ध स्तुपहरु पत्ता लगाइएको थिए । ती स्तुपहरु सम्राट अशोकले निर्माण गर्न लगाएको मानिन्छन् । यो स्तुप पुष्यमित्रले नष्ट गरेको भनेर अशोकावदान ग्रन्थमा वर्णन गरेका जस्ता छन् भनेर इतिहासकाहरु भन्छन् ।

निष्कर्ष
यी माथि उल्लेखित केही दृष्टान्तहरु केवल इतिहासका मात्र कुरा होइनन् । यी घटनावलीले एकातिर भारतको बुद्धधर्मको इतिहास धारिलो तरवारमाथि हिँड्नु सरह थियो भन्ने देखाउँछ भने अर्कोतिर वर्तमान परिस्थिति पनि भारतमा बुद्धधर्म एवं धर्मावलम्बीहरुका लागि अनुकूल भइसकेको छैन भन्ने जनाउँछ । अहिले विद्वान डा बाबासाहेब अम्बेडकरको अभियानको स्वरुप भारतमा बौद्धहरुको जनसंख्या बढिरहको छ । तर उनीहरु यस स्वतन्त्र र प्रजातान्त्रिक वातावरणमा पनि खुलारुपमा आफुले चाहेको जस्तो धार्मिक जीवन बिताउन पाइरहेका छैनन् । त्यहाँ अहिले जति पनि बौद्ध स्मारकहरु छन् त्यसलाई संग्रहालयको रुपमा सरकारले संरक्षण त गरेका छ तर ती स्मारकहरुलाई जीवन्त बनाउने बौद्धहरुमाथि भने राम्रो व्यवहार गरिएको छैन, उनीहरुलाई स्वाभिमानको जीवन बिताउन सकसै छ ।

यो कुरा नेपालका बौद्धहरुले यसकारण पनि जान्न बुझ्न जरुरी छ कि नेपालको सरकार पनि अहिले हिन्दु अतिवादीहरुकै स्वरुपमा विकसित हुँदैछ । एकातिर सरकार एउटा हिन्दु मन्दिरमा करोडौं मूल्य बराबरको सुन चढाउने निर्णय गर्दछ भने अर्कोतिर एउटा बौद्ध मन्दिरमा धर्मावलम्बीहरुलाई जान संग्रहालय हेर्न आएको जस्तो टिकट काटेर मात्र भित्र जान पाउने नियम बनाएर बौद्धहरुमाथि भेदभावको कानुन लादिएको छ । यस अवस्थामा नेपालका बौद्धहरुले भारतको यस क्रुरता र दमनले भरिएको इतिहासबाट केही नसिक्ने, जागरुक नहुने हो भने चाँडै नै नेपालका बौद्धहरु पनि इतिहासमा मात्र खोज्नुपर्ने पात्रहरु नबन्ला भन्न सकिन्न ।

आनन्दभूभि २०२१ मार्च

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.

Get the Medium app

A button that says 'Download on the App Store', and if clicked it will lead you to the iOS App store
A button that says 'Get it on, Google Play', and if clicked it will lead you to the Google Play store