लुम्बिनीमा बुद्धवंश उद्यान : परिकल्पना र चुनौति

राजेन मानन्धर

भगवान बुद्धको जन्म भएको स्थल लुम्बिनी उद्यान हो । यस्तो हामीले पढ्दै र सुन्दै आएका छौं । त्यस पछाडि जहाँ जहिले जसले भगवान बुद्धको जन्मेको ठाउँको बारेमा उल्लेख गरेका छन् सबैले त्यस स्थानलाई उद्यान नै भनेका छन् ।

नेपालको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा अवस्थित बुद्धको ज्मस्थल भनेर विभिन्न बौद्ध साहित्यहरूमा लुम्बिनी नाउँको एउटा उद्यानलाई चिनाइएको छ । इपू २४९मा मौर्य सम्राट अशोक भगावन बुद्धको खोजी गर्दै लुम्बिनीसम्म आए । उनले यस पवित्रस्थलको तीर्थाटन गरे र यसको संस्मरणमा स्तम्भ नै राखेर गए । उनले कति टाढादेखि स्तम्भ ल्याएर खडा गराए तर यो भूमि उद्यानकै रुपमा मात्र रह्यो । इस्वीको पाँचौं शताब्दीमा चिनियाँ यात्री फाहियान र सातांै शताब्दीमा अर्का चिनियाँ यात्री हुयेनसाङले यहाँ आएर यहाँको उद्यानको बारेमा विस्तृत विवरण आफ्ना यात्रा संस्मरणमा लेखेका छन् । फाहियान होस् वा हुयेनसाङ होस् सबैले यस पवित्र भूमिलाई उद्यानकै रुपमा वर्णन गर्न मन पराए । त्यसबेलाका शासकहरुले वा बौद्ध भिक्षुभिक्षुणी वा उपासक उपासिकाहरुले चाहेको भए यहाँ ठुल्ठुला महल, मन्दिर वा अन्य त्यस्तै भवन बन्न सक्थे तर सबैले यसलाई उद्यानकै रुपमा राख्न मनपराए ।

इतिहासको लामो कालखण्डमा लुम्बिनी लुप्त भइरह्यो । सन् १८९६मा खड्ग समशेरले यहाँको स्तभ पत्ता नलगाउन्जेल अनि यो नै लुम्बिनी वन हो भन्ने प्रमाणित नहुन्जेलको कुरा एकातिर राख्दा त्यस पछिका दिनमा पनि राष्ट्रि«य अन्तर्राष्ट्रिय चासो बढ्दा पनि यसलाई उद्यानकै रुपमा राख्न नै सर्बसम्मति भएको पाइन्छ ।

अहिले जापानी योजनाकार केन्जो तान्गेको परिल्कपना बमोजिम यहाँ तीन वर्ग माइलको गुरुयोजना क्षेत्र छ । जहाँ बुद्धको जन्म भएको थियो त्यसलाई एक वृत्ताकार पवित्र उद्यानको नाम दिएर संरक्षण गरिएको छ भने अन्य दुइ वर्ग माइल पनि नहर, विहार, मन्दिर, स्तुप र होटलहरुले ओगटेको ठाउँ बाहेक हराभरा नै छ ।

तर आश्चर्य छ । लुम्बिनीको यस विशाल क्षेत्र निर्धारण भएको लगभग आधा शताब्दी भइसक्दा पनि यहाँ एउटा मनले सोचेको जस्तो सार्वजनिक उद्यान भने छैन । पवित्र उद्यान त पवित्र नै भइहाल्यो, त्यहाँको पवित्रता कायम गर्नका लागि नै रमाइलो गर्ने, आनन्द लिने जस्ता काम निरुत्साहित गरिने होला । हुन पनि विश्व सम्पदा क्षेत्रको रुपमा सूचिकृत यस पवित्र स्थलमा आएका तीर्थयात्रीहरुले सेल्फी लिने, टिकटक बनाउने काम अशोभनिय लाग्छ । यसबाहेक यहाँबाट बाहिर निस्केर एकातिर विश्व बन्यजन्तुकोषले बनाएका सानो उद्यान पनि यही वृत्त भित्र नै पर्छ । त्यहाँबाट शान्ति दीपसम्म इँटा बिछ्याइएको बाटो सुन्दर लाग्छ । त्यहाँदेखि सीधा उत्तर नहर छ र नहरको दायाँबायाँको बाटो इँटा बिछ्याएर केही हदसम्म सुन्दर बनाइएको छ । त्यसबाहेक पनि छिटपुट ठाउँमा सानो प्रयासमा केही सानोतिनो बगैंचा जस्तो बनाउन खोजिएको त देखिन्छ तर समग्रमा हेर्दा त्यस्तो विशाल भूभि अधिग्रहण गरेर राखेको छ, त्यहाँ आफै रुख र झारपात उम्रिन्छ, हुर्किन्छ मर्छ । कतै उराठ छ त कतै पानीको धाप छ । त्यसैले साँझ तिर नीलगाइ, स्याल वा बँदेल यताउति गर्छन् । जंगलको संरक्षण त भएको छ तर खै उद्यान ?

उद्यान भन्ने बित्तिक्कै हामी व्यस्त जीवनबाट वा घुमफिरबाट पनि थकित भएर आएर बस्ने यस्तो सार्वजनिक स्थल भनेर कल्पना गर्छौं जहाँ हरियाली होस्, फूल, बोटबिरुवा, घाँसे मैदान राम्रोसँग गोडमेल गरेर सजाएर राखेको होस्, विभिन्न जातको फूलहरु बाह्रै महिना फुलिरहोस् । अझ कतै सँग्लो पानीको पोखरी होस्, कलकल गर्दै पानी झर्ने झरना होस् । र सके विभिन्न जातजातिका चराचुरुङगी वा ससाना राम्रा लाग्ने जनावरहरु नै खेलुन् । र त्यो उद्यान यस्तो एक विषयमा केन्द्रित होस् जहाँ आगन्तुकहरुले त्यहाँको वातावरणको आनन्द लिँदै त्यस विषयमा अध्ययन गर्दै केही सिकेर पनि जाने मौका मिलोस् ।

यस्तो सबै लुम्बिनीमा सम्भव छ त ? यही प्रश्न हामीकहाँ तेर्सिन्छ । जति ठुलो भएपनि लुम्बिनी गुरुयोजना क्षेत्रको मोनास्टिक जोनमा एकातिर थेरवाद र अर्कोतिर महायानी देशहरुले गुम्बा वा मन्दिर बनाउन् भनेर छाडिएको छ । कसैले बनाइसके भने कसैले बनाउने तरखर गरिरहेका छन् । बाँकी भागमा के गर्ने भनेर गुरुयोजना वा लुम्बिनी विकास कोषले केही ठोस काम गरेको देखिँदैन । नहरका दाँयाबाँया बाहेक यति ठुलो फाँटमा रुख उम्रेका छन्, झाडी झाँगिएका छन् तर आठ दश वटा कुर्सी राखेर आगन्तुक वा तीर्थयात्रीहरुलाई सुस्ताउने केही समय बिताउने वा मनोरञ्जन गर्ने स्थानको बनाइदिएको देखिँदैन । यहाँ यस्तो विश्रामस्थलको अभाव अहिले तड्कारै छ । यस अर्थमा दशकौंसम्म बन्जर भइरहेको ठाउँमा अहिले केही चमत्कारिक काम सरकारी निकायबाट हुने आशा गर्ने ठाउँ पनि देखिँदैन । के लुम्बिनी सँधै यस्तै भइरहन्छ त ? भन्ने प्रश्न अनि यसको आशा लाग्दो जवाफ कसैसँग देखिँदैन ।

०००

लुम्बिनी क्षेत्रमा के गर्नुपर्ने अनि के नगर्नुपर्ने भन्ने विषयमा बादबिवाद चलिरहन्छ । तर यहाँ के गर्न पाइन्छ, के गर्न पाइँदैन भन्ने निश्चित गरेर भन्न सकिन्न । नपाइने कामहरु भइरहेको देखिन्छ, गरिनुपर्ने कामहरु भइरहेको देख्न पाइँदैन । झीना मसिना विवादहरु त भइ नै रहन्छ तर पनि यहाँ सबैले चाहेको जस्तो वा सोचेको जस्तो कुनै सार्वजनिक उद्यान बन्ने सम्भावना भने नभएको होइन ।

हालै यहाँको अहिले थेरवाद बुद्ध विहार भएको स्थानको छेउमा एक विशाल उद्यान निर्माण गर्ने योजना अगाडि आइरहेको छ । यहाँ यही योजना अन्तर्गत बन्न गइरहेको उद्यानको बारेमा संक्षिप्त जानकारी दिने प्रयास गरिन्छ ।

सबै लुम्बिनीमा आएका पर्यटकहरु यहाँ धेरै समय बसेनन् भन्ने गुनासो गर्छन् । तर यहाँ के गरेर बस्ने भन्ने प्रश्नको जवाफ हुँदैन । यहाँ बस्ने भनेको कि पवित्र उद्यान भित्र हो, कि यहाँका विहार वा गुम्बाहरुमा हो । यी स्थानहरु धर्मिक र पवित्र भएकाले निश्चित समय शान्त भएर पूजापाठ वा प्रार्थना गर्न बाहेक अन्य केही गर्ने स्थान छैन वा ती स्थानमा पनि वातावरण छैन । त्यसकारण लुम्बिनीमा यस्तो ठाउँको आवश्यकता छ, जुन धार्मिक होस् तर नियन्त्रण गर्ने वा कडा नियमभित्र बसाउने नहोस् । बरु एक हदसम्मको खुल्ला वातावरणमा आगन्तुकहरुलाई रमाइलोसँग स्वच्छन्द प्राकृतिक सन्दर्यको आनन्द लिँदै बुद्धधर्मका बारेमा सामान्य शिक्षा लिने अनि त्यही वातावरणमा केही घण्टा प्रार्थना र ध्यान पनि गर्न मिलोस् । यहाँ बुद्धधर्मको बारेमा केही ज्ञान नभएको मानिसले पनि एक छिनको बसाइमा आधारभूत बुद्धधर्म सिकेर जाओस्, आफ्नो जीवनमा बुद्धशिक्षालाई उपयोग गरोस् — यो उद्यानको परिकल्पना यसै उद्देश्य राखेर बनाउन लागेको देखिन्छ ।

यो उद्यान अहिलेको गुरुयोजना मुताबिक मोनास्टिक जोन भित्र थेरवाद पक्षमा क्याम्बोडिया विहार, नेपाली थेरवाद विहार तथा बोधी इन्स्टिच्युट क्षेत्रको बिचमा परेको पूर्व–पश्चिम फैलिएको नहर क्षेत्रमा बन्ने छ । उद्यानको बिचबाट नहर जान्छ भने छेउमा एउटा अर्ध चन्द्र आकारको मञ्च जस्तो संरचना हुन्छ । यही नै यस उद्यानको केन्द्रविन्दु पनि हो ।

यस उद्यानमा निम्न आकर्षण वा विशेषता हुने छन् ।

२८ बुद्धहरु
बौद्धहरु लुम्बिनीमा जन्मनुभएको शाक्यमुनि बुद्ध भन्दा पहिला पनि २७ जना बुद्धहरु विभिन्न कल्प अथवा कालखण्डमा जन्मनुभएको र उहाँहरुले आआफ्नो समयमा जगतसंसारमा रहेका मनुष्यमात्रलाई सद्धर्मको शिक्षा दिएर उद्धार गर्नुभएको विश्वास गर्दछन् । हामीलाई शाक्यमुनि बाहेक अन्य बुद्धहरुको बारेमा धेरै जानकारी छैन । यहाँ ती सबै आदि बुद्धहरुको प्रतिमा एवं जानकारी राखिनेछन् । यसबाहेक सिद्धार्थ जन्मको पनि एक विशाल प्रतिमा हुनेछ ।

७ वटा कमलको फूल
सिद्धार्थ राजकुमारको जन्म हुँदा उहाँले जन्मने बित्तिकै जमिनमा उभिएर सात पाइला चाल्नु भयो भन्ने विश्वास छ । भगवान बुद्धको जन्मको यो एक विश्मयकारी कदमले उहाँमा भएको अद्भुत क्षमतालाई प्रतीकात्मक ढंगले बुझ्न सकिन्छ । यहाँ भएको एक लामो नहरमा यसै कुरालाई दर्शाउन र भगवान बुद्धको जीवनको झल्को देखाउन सातवटा ठुल्ठुला कमलका फूलहरु राखिनेछन् । यी फूलहरुले भगवान बुद्धको जन्मलाई सम्झाइरहन्छन् ।

आठ मंगल चिन्हहरु
भगवान बुद्धको जन्म हुँदा उहाँसँगै आठ व्यक्ति वा बस्तुहरु पनि उत्पति भए भन्ने गरिन्छ । ती हुन् — आनन्द, यशोधरा, कालुदायी मन्त्री, छन्दक सारथी, कन्थक घोडा, बोधिवृक्ष, मंगल हात्ती तथा सुनका चारवटा घडाहरु । यस उद्यानले भगवान बुद्धको जन्मको महानता झल्काउन यी कुराहरुलाई प्रतीकात्मक ढंगले देखाइने छ ।
चारवटा पाटीहरु
काठमाडौं उपत्यकाको संस्कृतिमा पाटी वा फल्चाको छुट्टै महत्व छ । विभिन्न धार्मिका कार्य गर्नका लागि, दौतरीहरु बसिबियालोका लागि र अन्य सामाजिकरणका अभ्यासका लागि एकदम बलियो एकताको सुत्रको रुपमा पनि यसको महत्व बौद्ध समाजमा रहेको छ । यहाँ पनि चारतिर चारवटा पाटी बनाइने छन् जुन मानिसहरु सुस्ताउन र धर्मका बारेमा छलफल गर्नको लागि यी पाटीहरु प्रयोग हुने छन् । साथै यहाँ अडियो भिजुवल प्रविधिको प्रयोग गरी भिक्षु तथा गुरुमांहरुका प्रवचनहरु प्रशारण पनि भइरहनेछ । यसप्रकार यहाँको एक छिनको बसाइ निरर्थक हुने छैन ।

आठ प्रकारका चैत्यहरु
भगवान बुद्धको परिनिर्वाण भएदेखिनै उहाँको गुणस्मरण गर्नका लागि चैत्यहरुको निर्माण गरिए । समय र भूगोलसँगै चैत्यहरुको स्वरुपमा परिवर्तनहरु देखिए । नेपालको सन्दर्भमा कुरा गर्दा पनि प्राचीनकालदेखि नै यहाँ चैत्यहरुको स्थापना गरी पूजा गर्ने चलन देखिन्छ । त्यसमा पनि विश्वका अन्य स्थानमा जस्तै नेपालको चैत्यले कालान्तरमा एउटा मौलिक रुप लियो भने त्यो पनि समयसँगै विकसित हुँदै विभिन्न प्रकारका चैत्यहरु बने । त्यसमा नेपालको लिच्छवीकालका चैत्यहरुदेखि अहिले बनेका विभिन्न स्वरुपका चैत्यहरुको प्रतिनिधिस्वरुप वा नेपालमा अहिलेसम्म मुलतः आठ प्रकारका चैत्यहरुको निर्माण भएको भन्ने हिसाबले यहाँ यस पार्कमा आठ प्रकारका चैत्यहरुको स्थापना गरिने छ । ती चैत्यहरुसँगै त्यसको विशेषताका बारेमा पनि जानकारीपत्र राखिने भएकोले यहाँ नेपालका चैत्यहरुको विकासक्रमको एकै ठाउँमा अध्ययन गर्ने पनि अवसर प्राप्त हुने देखिन्छ ।

११,६६४ बुद्धमूर्तिहरु
विश्वभरी नै बौद्धहरु श्रद्धावश बुद्धमूर्तिहरु स्थापना गर्न चाहन्छन् । यो एक दूर्लभ पुण्यकार्यका रुपमा लिन्छन् उनीहरु । भगवान बुद्धको जन्मभूमि भएकोले लुम्बिनी एक पवित्र तीर्थस्थल हो । स्वाभाविक हो, यहाँ बौद्धहरु बुद्ध प्रतिमा स्थापना गर्न चाहन्छन् । तर अहिलेको व्यवस्थामा लुम्बिनीमा बुद्धमूर्ति राख्ने अवस्था वा अनुमति छैन । यस्तो अवस्थामा यो उद्यान एउटा मात्र यस्तो स्थल हुने छ जहाँ श्रद्धालु बौद्धहरुले पूण्य संचय गर्नका लागि बुद्धमूर्तिहरु स्थापना गर्न सक्नेछन् । एकरुपता एवं सौन्दर्यका लागि ती मूर्तिहरु एकै प्रकारका हुनेछन् ।

१०८ भनेको बौद्धहरुको लागि शुभ संख्या हो । यहाँ यही १०८ लाई १०८ले गुणन गरी आएको संख्या बराबर ११,६६४ वटा बुद्धमूर्ति राख्ने योजना बनाइएको छ । यी मूर्तिहरु पनि यसरी राखिएका हुन्छन् कि प्रत्येक आगन्तुकले ती मूर्तिहरु एकपटक भएपनि पूर्ण रुपले प्रदक्षिणा गर्ने छन् । यसप्रकार हेर्दा यी मूर्तिहरु प्रदक्षिणा गर्दा १०८ गुणा १०८ पटक सुत्र पाठ गर्नु बराबरको पुण्य प्राप्त हुने समेत विश्वास गर्न सकिन्छ । साथै यस क्षेत्रमा २४ घण्टा जस्तै साना स्पीकरहरुबाट सुत्रपाठ पनि भइरहेको हुन्छ जसले गर्दा त्यहाँको धार्मिक वातावरण बिग्रन पाउँदैन । ती मूर्तिहरुको संरक्षकको रुपमा दाताहरु नै रहने अनि उनीहरुले नै विभिन्न समयमा वर्षबन्धन जस्ता धार्मिक कार्यक्रमहरु आयोजना गरिने भन्ने आशा गरिएको छ ।

यसबाहेक पनि यहाँ एउटा सार्वजनिक शौचालय र एउटा चमेना गृह पनि हुनेछन्, जुन सामान्य लागेपनि आगन्तुकहरुका लागि एक नभइनहुने सुविधाहरु हुन् ।
०००
अब यी त भए लुम्बिनीमा उद्यान बनाउन कमर कसिरहेका अभियन्ताहरुले दिनुभएको जनकारी अनुसारको उद्यान परिकल्पनाको एक झलक । सुन्दा मिठो लाग्छ, हामीले दशकौंदेखि खोजिरहेको यही हो जस्तो लाग्छ । तर व्यवहारिक भएर यथार्थको धरातलमा उभिएर हेरौं — के यो सम्भव छ?

सबै भन्दा पहिले त लुम्बिनी विकास कोषको नियतमा नै भर पर्ने ठाउँ निकै झीनो छ । एक जना अधिकारी आउँछ, मिठो मसिनो कुरा गर्छ, नयाँ नयाँ प्रस्तावहरु पारित गर्छ, सबैको ताली खान्छ, तर जब काम गर्ने बेला आउँछ, कैयन अप्ठेरा, झमेलाहरुको ताँती बसाइदिन्छ ।

यति ठुलो परियोजना कसले सम्पन्न पार्छ भन्ने ठुलो चिन्ता छ । अहिले भनिए अनुसार त यही बुद्धमूर्ति राख्न चाहनेहरुको दान वा चन्दाले यो सबै उद्यानको निर्माण हुन्छ । तर कहाँ यो सबै सम्भव छ र ? अहिलेलाई सकारात्मक हुने बाहेक अरु सोच्नु उचित पनि त छैन ।

हाम्रो नेपालमा बनाउन जति सजिलो छ, त्यसको मर्मत सम्भार गर्न त्यति सजिलो छैन । काठमाडौंको हकमा कुरा गर्दा यहाँ ठुल्ठुला मन्दिरहरु, धारा, पौवाहरु इत्यादि त्यसकारण जीवित छन् कि त्यसका निर्माताहरुले ती संरचनाका साथै गुथि बनाएका हुन्थे, जसको आयस्ताले सरोकारवालाहरु एकत्रित हुन्थे र जीर्णोद्धार गर्थे । लुम्बिनी उद्यानको बारेमा यस्तो गुथि वा त्यस्तै कुनै अविछिन्न अक्षयकोष जस्तो नबनाएमा विकास कोषले जिम्मा लिएर यसको संरक्षण गर्छ भनेर विश्वस्त हुने आधार देखिँदैन ।

जीवन्तता यहाँको अर्को चुनौती हो । यहाँ यो उद्यान फूल, पानी र निर्जीव बुद्धको मूर्तिको लागि मात्र हो भने यसले सारमा बुद्धधर्मलाई कुनै सहयोग गर्दैन । यदि यहाँ यो साँच्चै बुद्ध उद्यान बनाउने हो भने यहाँ हरेक दिन बिहानदेखि बेलुकासम्म पूजा पाठ, धर्मदेशना चलिरहनुपर्छ, बाह्रै महिना यहाँ कार्यक्रमहरु भइरहनुपर्छ । अहिलेको अवस्था हेर्ने हो भने लुम्बिनीका अधिकांश विहार गुम्बाहरु स्थान ओगट्ने वा सके गेष्टहाउस चलाउने हिसाबले नै बनेका देखिन्छन् । न त्यहाँ नियमित पूजा वा धार्मिक कार्यक्रम हुन्छ, न त जिम्मेवार पदाधिकारी नै भेटिन्छन् । नेपाली बौद्ध भन्ते गुरुमांहरु पनि निकै थोरै मात्र लुम्बिनीमा बस्न सकिरहेको अवस्थामा यहाँ बौद्ध भन्ते गुरुमांहरुको नियमित उपस्थिति देखाउन सजिलो छैन । अहिलेको मायादेवी मन्दिर परिसरमा जस्ता देखावटी जोगीहरुले भरेर यहाँको महत्व रहँदैन । यस्तो अवस्थामा यस उद्यानले निरन्तर जीवन्त कार्यक्रम दिइराख्नु भनेको निकै नै चुनौतिपूर्ण देखिन्छ ।

आगन्तुक नै प्रमुख समस्या हुने सम्भावना छ । विदेशी बाहेक नेपालीहरुको कुरा गर्दा लुम्बिनी भ्रमण आउने मध्ये १० प्रतिशत पनि बौद्ध हुँदैनन् । उनीहरु म्युजियम आए सरह आउँछन्, सम्झनाको लागि विभिन्न हाउभाउमा सेल्फी फोटो लिन्छन् र जान्छन् । यस उद्यानमा पनि मनोरञ्जन गर्न वा त्यस्तै उछृंखल भएर फोटो लिने, होहल्ला गर्ने वा टिकटक बनाउने भए त झुम्मिने होलान् तर घरमा बुद्धशिक्षाको बारेमा ज्ञान नलिएकाहरु व संस्कार नभएकाहरुले यस बुद्ध उद्यानलाई आकर्षणको रुपमा लिन्छ जस्तो लाग्दैन ।

स्थानीय बासिन्दाहरुको असहयोग लगभग निश्चित छ । स्थानीय बासिन्दाले यो बुद्ध जन्मेको स्थल बौद्ध तीर्थस्थल हो भनेर जानेको पनि एक शताब्दी भइसक्यो । तर पनि उनीहरुले एकआध बाहेक कसैले पनि बुद्धधर्म ग्रहण गरेको देखिँदैन । उनीहरुलाई त बौद्ध तीर्थयात्रीहरुबाट केही रकम वा काम गर्न पाए पुग्छ । यो उद्यान पनि निर्माण हुँदा कामदारका रुपमा स्थानीयहरु आउलान् तर पछि उनीहरुले यहाँ आएर लाभान्वीत हुने अवस्था छैन । अनि स्थानीय साहभागिता बिना लुम्बिनीका हरेक धार्मिक साँस्कृतिक दिवस वा उत्सवहरु सुनसान नै लाग्ने छन् ।

अहिले यी कुराहरु निकै नकारात्मक भए जस्तो लाग्ला । तर अहिलेसम्म जसले जति काम लुम्बिनीमा गरे त्यसको आधारमा भन्नुपर्दा लुम्बिनीमा यस्तो उद्यान निर्माण गर्नु फलामको चिउरा चपाउनु जस्तो हुनेछ । यसका लागि प्रवर्धकहरु चनाखो भई सम्भावित खतरा, असहयोग र चुनौतिलाई सामना गरेर अगाडि बढ्नुको विकल्प छैन । सबैको मंगल होस् ।

आनन्दभूमि सीपुन्ही अंकमा प्रकािशत (Anandabhoomi, November 27, 2021)

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.

Get the Medium app

A button that says 'Download on the App Store', and if clicked it will lead you to the iOS App store
A button that says 'Get it on, Google Play', and if clicked it will lead you to the Google Play store