विश्वमा फैलिरहेको बुद्धधर्मका केही पक्षहरु

राजेन मानन्धर
भगवान बुद्ध जन्मनुभएको देश नेपालमा बुद्धधर्मको अवस्था उत्साहप्रद नभएतापनि विश्वका थुप्रै देशहरुमा बुद्धधर्म विभिन्न किसिमले फैलिरहेको छ । इतिहासका विभिन्न कालक्रममा बुद्धधर्म विश्वका विभिन्न ठाउँमा पुग्यो । कुनै ठाउँमा भगवान बुद्ध आफैले लानुभयो, उहाँका शिष्य अथवा उपासकहरुले पनि लिएर गए अनि एशियाका विभिन्न ठाउँमा सम्राट अशोकका धर्मदुतहरुले लगे । त्यसपछिको लामो समयमा बुद्धधर्म धेरै प्रचार हुन पाएन । गएको २५ सय वर्षमा थुप्रै बौद्ध देशहरुमा बुद्धधर्मको नामोनिशान मेटियो भने अहिले आएर विशेष गरेर गत एक अथवा दुइ शताब्दीमा त्यस्ता देशहरुमा बुद्धधर्मले प्रवेश पायो जहाँ पहिले बुद्ध र उहाँको धर्मको बारेमा कुनै जानकारी पनि गएको थिएन ।

इतिहासको कुरा गर्दा एलेक्जेन्डर दि ग्रेटले इशापूर्व तेश्रो शताब्दीमा नै युरोपेलीहरुको माझमा बुद्धधर्मको परिचय गराएको थियो । सम्राट अशोकको धर्मदुत पनि हेलिनिस्टिक क्षेत्रमा पुगेका थिए भनिन्छ । त्यो त प्राचिनकालीन इतिहास भइसक्यो । यसबिच कतिपय बौद्ध देशहरुले बुद्धधर्मको पाइला मेटिसके भने कतिपय त्यस्तादेशहरु जहाँ केही सय वर्ष अगाडिसम्म बुद्धधर्मको बारेमा केही जानकारी थिएन त्यहाँ अहिले बौद्ध केन्द्रहरुको विकास हुँदैछ । यस लेखमा १९औं तथा २०औं शताब्दीमा मात्र बुद्धधर्म प्रवेश गरेका अथवा नयाँ चरणमा बुद्धधर्मको विकास वा पुनर्जागरण भएका क्षेत्रहरुमा बुद्धधर्मको कसरी प्रचार प्रसार भइरहेको छ अथवा बुद्धशिक्षाले त्यहाँको समाजमा कस्तो प्रभाव पार्न सकिरहेको छ भन्नेबारे संक्षिप्त जानकारी दिने प्रयास गरिन्छ ।

हुन त गत २०० वर्षको अवधिमा बुद्ध धर्मले विश्वका नयाँ महादेश वा प्रदेशहरुमा प्रवेश पायो तर यसका साथै यसले थुप्रै चुनौति र अवसरहरूको पनि सामना गर्नुपर्यो । स्वाभाविक हो, भगवा बुद्ध स्वयम् जन्मनुभएको यस दक्षिण एशियको क्षेत्रमा त यसले धार्मिक एवं राजनीतिक अवरोधहरुको सामना हजारौं वर्षदेखि गरिरहनु परेको छ भने बिलकुलै नयाँ समाज, संस्कृति र धर्मको पृष्ठभूमि भएका देशहरुमा बुद्धधर्मलाई प्रवेश पाउन तथा त्यहाँका समाजमा स्वीकृत हुन कम अवरोधहरु भोग्न परेन होला । त्यसकारण पनि यो भन्न सकिन्छ कि त्यहाँका चुनौतिहरुले त्यहाँको क्षेत्रीय धार्मिक र सांस्कृतिक ढाँचालाई समेत नाघ्यो ।

अमेरिका तथा यूरोपमा बुद्ध धर्म
हुन त अमेरिका तथा यूरोप यति ठुलो क्षेत्र हो कि यहाँको बुद्ध धर्मलाई दुइचार परिच्छेदमा व्याख्या गर्न सकिन्न । तथापि संक्षेपमा भन्नुपर्दा गएको ५० देखि १०० वर्ष भित्र विभिन्न कारणले विभिन्न परिवेशमा यी देशहरुमा बुद्ध धर्मले प्रवेश पाएको छ । समग्रमा पहिलो विश्वयुद्ध पछाडि युरोपमा बुद्धधर्मको प्रचारप्रसार शुरु भएको भन्न सकिन्छ । अहिले स्थान विशेषमा एशियाली मूलका बौद्धहरुको सहयोग र प्रयासले थेरवाद एवं महायानी अथवा हिमाली बुद्धधर्म स्थापित नै भइसकेको छ, सानोतिनो समुदाय वा समाजमा नै भएपनि । त्यहाँ पनि बौद्ध संघहरु बनेका छन् र संस्थागत प्रयासले स्थानीय समाजमा बुद्धधर्मको प्रचार एवं शिक्षण भइरहेको छ ।

त्यहाँ सबै कार्यकलापहरु संगठित तथा औपचारिक हुने भएकोले त्यसको अभिलेखीकरण पनि हुन्छ । त्यसकारण त्यहाँको बुद्धधर्मको विकासमा संगठनको भूमिकाको आँकलन गर्न सकिन्छ । जस्तै । बेलायतमा मात्रै सन् १९७९ देखि २००० भित्रमा बौद्ध संगठनहरुको संख्या ७४बाट ४०० पुग्यो । यो त एक उदाहरण मात्र हो । त्यसअनुरुप त्यहाँ बौद्धहरुको संख्या पनि बढ्दै गइरहेको छ । अमेरिकी प्यू रिसर्च इन्स्टिच्युटले सर्भेक्षण गरे अनुसार सन् २०१०मा युरोपमा बौद्ध जनसंख्या १३.५ लाख थियो भने सन् २०५० सम्ममा यो बढेर २५ लाख पुग्ने अनुमान गरिएको छ ।

यस प्रकार नयाँ भूभि भनौं अमेरिका तथा यूरोपमा बुद्धधर्मको प्रचारप्रसार बढ्नुमा त्यहाँ विशेष गरी तिब्बती शरणार्थीहरुको प्रयास, थाइल्याण्ड, भियतनाम, क्याम्बोडिया आदि देशहरुबाट बसाइसराइ गरेर गएका बौद्धहरुको सहकार्यलाई श्रेय जान्छ । सानोतिनो समुदायमा भएका प्रयासहरु अक्सर त्यहाँको समाज र संचारले नदेख्ने भएकाले ती कुराहरु त्यति ठुलो लाग्दैन तर पनि केही संभावना, विश्वास र आशाका किरणहरु भने यसले पक्कै छर्दै गरेको हुन्छ । यसबाहेक, ८०को दशकपछि विभिन्न एशियाली देशहरुबाट शरणार्थीहरुमा गएका प्रवासीहरुको कारणले पनि अधिकांश पश्चिमी यूरोपेली देशहरुमा बौद्ध जनसंख्या बढेको तथ्यांकमा आएको छ, यसको बारेमा भने यहाँ चर्चा गरिने छैन । यद्यपि उनीहरुको कार्यकलाप तथा धार्मिक कार्यक्रममा देखाउने स्वभाविक रुची वा श्रद्धाले त्यहाँका मूलबासीहरुमा केही आकर्षण थप्न गएकोमा भने शंका गर्न सकिन्न ।

त्यहाँ विकास भइरहेको बुद्धधर्ममा सामान्यतया तीनवटा विशेषता देख्न सकिन्छ ।

विज्ञानको रुपमा बुद्धधर्म
युरोपमा कुनैबेला गहिरो धार्मिक कट्टरता थियो । प्रायः राज्यले एउटा एउटा धर्मलाई काखी च्यापेको हुन्थ्यो, अन्य धर्ममाथि विभेद गरिन्थ्यो, धर्मको कारणले मान्छेहरु मारिन्थे । धर्मकै कारण राज्यसत्ताहरु पल्टिए, आर्थिक र सामाजिक संरचनमा परिवर्तनहरु आयो । पछि आर्थिक विकासमा नयाँ नयाँ छलाङ मारेपछि उनीहरुले यही निष्कर्ष ल्याए कि आखिरमा धर्म भनेको सामाजिक विकासको अवरोध नै रहेछ । त्यसपछि उनीहरु कमाउन र धनी बन्ने बेतोडको घोडा दौडमा सामेल भए । यसमा त्यहाँ विकास भएको पूँजीवाद र बजारमुखी अर्थतन्त्रले पनि सहयोग गरे । उता साम्यवादको विकासले केही हदसम्म समाजमा समानतातिर उन्मूख विकास गरेपनि त्यसको पतन भएपछि आखिरमा जो धनी हो उही सही हो भन्ने जस्तो सिद्धान्त स्थापित भयो । त्यसपछि मानिसहरुले धर्मलाई तिरस्कार गर्न थाले र यसैका कारण त्यहाँ अधार्मिक वा नास्तिकहरुको संख्या अत्याधिक रुपमा बढ्न गयो । तर समयकालमा मानिसहरुले यो अनुभूत गरे कि आखिरमा पैसा नै सबै होइन रहेछ । मनको शान्तिका लागि उनीहरुले धर्म भन्न नमिल्ने एउटा कालजयी सिद्धान्त वा दर्शनको रुपमा बुद्धधर्मलाई भेट्टाए र गर्वका साथ आफुलाई बौद्ध भनेर परिचित गराए ।

पश्चिमी मुलुकहरुमा तीनप्रकारका मानिसहरु बौद्ध भएको पाउन सकिन्छ । पहिलो, बुद्धधर्मको गहन अध्ययन, योग्य गुरुको साथ र निर्देशन पाएकाहरु । दोश्रो आफुलाई धार्मिक भन्न नरुचाउने तर कुनै एक समय–प्रमाणित दर्शनको साथ चाहनेहरु । र तेश्रो समाजले नगरेको वा थाहा नपाएको कुरा केही पुस्तक पढेको भरमा थाहा पाएको भनेर सजिलै समाजमा अलग्ग भएर देखाउन चाहनेहरु । तिनीहरुले अहिले आआफ्नै किसिमले नयाँ समाजमा बुद्धधर्मलाई चिनाउन योगदान दिइरहेको पाइन्छ ।

त्यसमध्ये कसैले बुद्ध शिक्षालाई आफ्नो जीवनमा उतार्छन् । बुद्ध, धर्म र संघप्रति अगाध श्रद्धा देखाएर स्थानीय बौद्ध मन्दिरमा संरक्षकत्व प्रदान गरेर, बौद्ध भिक्षु वा लामाहरुलाई दान इत्यादि दिएर, एशियाली बौद्ध धर्मगुरुहरु आउँदा आथित्य प्रदान गरेर अनि प्रवचनको व्यवस्था गरेर पनि उपासक गृहस्थ जीवन बिताउनेहरु पनि भेटिन्छन् ।
कसैले बुद्धधर्म नै नअँगालेपनि उनीहरु बुद्धधर्मका पुस्तकहरु पढेर, अनुवाद गरेर, त्यसमा अध्ययन अनुसन्धान गरेर बुद्ध शिक्षालाई प्राज्ञिक अध्ययनको विषय बनाउँछन् ।

अझ जन्मजात बौद्धहरुले पढ्ने र कण्ठ गर्ने सुत्र इत्यादिलाई विश्लेषण गरेर त्यसलाई अर्थशास्त्र, मनोविज्ञान एवं समाजशास्त्र र राजनीतिसँग तुलनात्मक अध्ययन गर्दै बुद्धका कोरा शिक्षाहरुलाई वर्तमान जनजीवनमा प्रयोग वा एप्लाइ गर्दछन् । यसमा कोही कोही बुद्ध दर्शनलाई कहिल्यै नटुंगिने बहसको विषय बनाएर नजान्नेहरुको बिचमा पण्डित्याइँ देखाउने, बुद्धधर्म खासमा केही होइन भनेर फुर्ति लाउने र सँधै जन्मजात वा श्रद्धा भएका बौद्धहरुलाई नीचा दखाउने प्रवृति भएका केही पनि पर्न आउँछन् ।

कसैले भने कमसेकम घरमा वा बगैंचामा बुद्धको मूर्ति वा चित्रसम्म सजाएर समाजमा आफु बुद्धधर्मबारे जानकार हुँ भनेर प्रतिष्ठा बटुल्छन् । पूंजीवादी बाजारले बुद्ध शिक्षा नै फैलाउन नसकेपनि बुद्धको प्रतिमा, महायानी देवी देवताहरुको मूर्ति, वज्र–घण्टी इत्यादि धार्मिक बस्तुहरुलाई बुद्धधर्मको प्रतिकको रुपमा मानेर त्यसलाई आफ्नो घरमा सम्मानका साथ राख्ने अथवा सजावटकै लागि भएपनि अझ त्यसलाई शान्ति र करुणाका प्रतिका रुपमा घरमा सजाउने चलन पनि यो विश्वमा फैलिरहेको बुद्धधर्मले नै बढायो । बुद्धधर्मको अध्ययन नै नगर्नेहरुले पनि बुद्धको प्रतिमा वा चित्र, बौद्ध धार्मिक बस्तुहरु सम्मान योग्य कुराहरु हुन् भनेर भएपनि युरोपेली समाजले स्वीकारेको अवस्था छ । यसलाई पनि बुद्धधर्मको विश्वव्यापीकरणको एक पाटो वा आयाम मान्न सकिन्छ ।

अर्कोतिर संसार भर बुद्धधर्मको एउटा सकारात्मक सार्वजनिक छवि बनेको छ । त्यसकारण योे धर्म अन्य धर्मावलम्बीहरुका लागि आफ्नो धर्म नछोडीकन पनि नयाँ र वैज्ञानिक जीवन पद्धति सिकाउने माध्यम भएकोले त्यहाँको परम्परागत वा धार्मिक कहलिएको समाजमा समेत व्यवहारिक एवं सुलभ विकल्प अथवा परिशिष्टको रूपमा स्थापित भएको छ । त्यसकारण पनि यो परम्परागत र अझ रुढिवादी भनिएको पश्चिमी समाजमा समेत स्थापित अनि सम्मान वा श्रद्धाको विषय बनिरहेको देखिन्छ ।

विपश्यना ध्यान
भगवान बुद्धले देशना गर्नुभएका विभिन्न विषयका धर्म वा शिक्षाहरुको सिक्न सजिलो, यहीँ परिणाम देखिने र वैज्ञानिक भन्न मिल्ने उपहार भनेको विपश्यना ध्यान हो । जसले जतिसुकै बुद्ध शिक्षालाई अपहेलना र निन्दा गरेपनि कसैले नकार्न वा काट्न नसक्ने शिक्षा हो यो । त्यसकारण पनि यो बौद्ध अबौद्ध सबैका लागि स्वीकार्य मात्र हैन सम्माननीय पनि बनिरहेको छ ।

हजारौं वर्ष देखि लुप्त र केही केही बौद्ध भिक्षुहरुको मात्र अभ्यासको विषय बनिरहेको यस ध्यान अभ्यास अहिले समय परिस्थितिले विहार, भिक्षुहरुमात्र हैन अपितु बौद्धहरुको घेराभन्दा बाहिर आइसकेको छ । यसका लागि म्यानमारका गुरु लेदी सयादो, महासी सयादो तथा उहाँका शिष्य भारतीय मूलका म्यानमारवासी सत्यनारायण गोयन्काको प्रयास सराहनीय छ ।

विपश्यना ध्यान र यसको विभिन्न रुप वा तहहरुलाई विभिन्न किसिमको रुपमा धर्मनिरपेक्ष शिक्षाको रुपमा र जीवन, अनित्यताको बोध नै नगरेपनि कमसेकम थोरै समयको अभ्यासबाट नै मानसकि तनाव कम गर्ने, शारीरिक पीडा व्यवस्थापन गर्ने शक्ति दिने तथा शरीरमा जागरूकताको विकसित गर्ने एक आधुनिक तथा वैज्ञानिक उपायको रुपमा मानिसहरुले ग्रहण गर्न थालेको छ । धेरै अध्ययन गर्न नपर्ने, बुद्ध धर्म अवलम्बन गर्न अनिवार्य नभएको तथा चाँडै नै यसको परिणाम वा लाभलाई अनुभव गर्न मिल्ने भएकोले यस ध्यान अभ्यासले छोटो समयमा एशियाका बौद्ध देशहरुको सीमा नाघेर विश्वब्यापी नै बनिसकेको छ । त्यसैले यसो पनि भनिन्छ कि आचार्य वा प्रशिक्षकहरुले विपश्यनाको माध्यमबाट बुद्धको नामै नलिई पश्चिममा बुद्धधर्मको प्रचार गरे । जाति, धर्म, नश्ल र रंगका सबै प्रकारका विभेदहरुलाई नाघेर सबैलाई समान व्यवहार गरिने भएकोले पनि यसले विश्वका नयाँ नयाँ देशमा प्रवेश पाउन सजिलो भएको छ ।

७०को दशकमा गोयन्का गुरुको प्रयासले यस ध्यान अभ्यासले तोडेको धर्मको घेरा अहिले विश्वाव्यापी हुन थालेको छ । उहाँ तथा अन्य साधकहरुको प्रयासले गर्दा अहिले विपश्यना पचासौं देशमा फैलिएको छ ।

अहिलेको अवस्थामा अफ्रिकामा एउटा, अमेरिकाहरुमा ३० वटा, एशियामा १६१वटा, युरोपमा १७ वटा र ओसेनियामा ९वटा विपश्यना केन्द्र तथा उपकेन्द्रहरु संचालित छन् । यो भनेको साउथ अफ्रिका, उजबेकिस्तान, हङकङ, जापान, मंगोलिया, दक्षिण कोरिया, टाइवान, क्याम्बोडिया, इन्डोनेशिया, मलेशिया, म्यानमार, फिलिपिन्स, थाइल्यान्ड, भारत, नेपाल, श्रीलंका, इजराइल, इजरायल, पोल्याण्ड, रसिया, स्वीडेन, बेलायत, इटली, स्पेन, अस्ट्रिया, बेल्जियम, फ्रान्स, जर्मनी, स्वीजरल्याण्ड, अष्ट्रेलिया, न्युजिल्याण्ड आदि देशमा विपश्यना केन्द्रहरु छन् भने त्यस्तै विभिन्न देशहरुमा उपकेन्द्रहरु मार्फत् पनि ध्यान शिविरहरु चलिरहेका छन् । त्यहाँ सञ्चालन हुने धर्मशिविरहरुमा यसका प्रतिपादक वा अन्वेषकको बारेमा चर्चा हुन्छ, उहाँले दिनुभएको शिक्षालाई संक्षेप वा विस्तृतरुपमा अध्ययन, अध्यापन र विश्लेषण हुन्छ ।

हिमाली बुद्धधर्म र तन्त्रवाद
सुन्दा यो अचम्म लाग्ला तर विदेशमा अझ भनौ अमेरिका तथा युरोपमा बुद्धधर्म फैलिनुको एक कारण भनेको बुद्ध धर्मको विशेष गरी हिमाली बुद्धधर्ममा निहित तन्त्रवाद वा रहस्यवाद पनि हो भन्नुपर्ने अवस्था छ ।

लामो समयसम्म वैज्ञानिक अनुसन्धान, भौतिकवादी विकास, बजारमुखी अर्थतन्त्र र दैनिक भागदौडदेखि वाक्क लागेका पश्चिमाहरुमा कतिपय मानिसहरु अहिले यो सब केही होइन, मुख्य जीवनको आनन्द नै आध्यात्मिक, तान्त्रिक र रहस्यवादी जीवन हो भन्ने निष्कर्षमा पुगेका हुन्छन् । उनीहरुले भौतिक जीवनबाट मुक्ति पाउनको लागि र जीवनलाई तथा जीवनका बारेमा कैयन अनुत्तरित प्रश्नको अर्थ पत्ता लगाएर जीवन अर्थपूर्ण बनाउन महायानी बुद्धधर्ममा पाइने तन्त्रयानी र रहस्यावादी कुराहरु महत्व दिन थालेकाछन् ।

चीनमा ६०को दशकमा आएको राजनीतिक परिवर्तन र दलाइ लामाको निर्वासनले पश्चिमी विश्वमा एउटा हलचल ल्यायो । जसले जुन कारणले उहाँलाई र उहाँको प्रवचनलाई महत्व दिएपनि उहाँका व्यवहारिकतासँग मिल्ने बुद्धधर्मको प्रवचनले धेरै भन्दा धेरै पश्चिमाहरुलाई आकर्षण गरेको छ । त्यसैले भनिन्छ, चीनमा परिवर्तन नभएको भए र दलाइ लामाले निर्वासनको जीवन नरोजेको अनि युरोप अमेरिकामा भ्रमणको क्रममा प्रवचनहरु नदिएको भए पश्चिमाहरुमा बुद्धधर्मको प्रभाव यति सजिलै पुग्ने थिएन होला ।

उहाँमा भएको बुद्ध धर्मका गहन कुराहरु पनि सजिलो र व्यवहारिक तरिकाबाट व्याख्या गर्ने खुबी, भाषामा पकड अनि समय र वातावरण हेरेर हल्का र ठट्यौलो पाराले गर्ने सम्बाद एवं साधारण देखिने जीवन शैलीले गर्दा धेरै युरोपेलीहरु प्रभावित नभइरहन सकेन । उहाँले जुनकुरा पनि भित्री तहसम्म गएर अध्ययन गर्ने बानी भएका युरोपेलीहरुका लागि ज्ञानको नयाँ ढोका खोलिदिनुभयो ।

तीमध्ये कतिलाई हिमाली बुद्धधर्म भित्रको वज्रयान, तन्त्रयान अनि रहस्यवादी कुराहरुले आकर्षण गर्दछ । उनीहरुलाई अवातारवाद, अवतारी लामा, अलौकिक शक्ति, पूजा आजा, मन्त्र, मुखौटा सहितको नाच, व्याख्या गर्न नसकिने पुस्तकका ज्ञान, मृत्यु पछिको जीवन, पुनर्जन्म, स्वर्ग नर्कमा विशेष रुची हुन्छ । यसमा लेखिएका पुस्तकहरु रोमाञ्चकारी हु्न्छन् र उनीहरुलाई यसमा जीवनको सार छ जस्तो लाग्न थाल्छ । यही ज्ञानको खोजीमा उनीहरु नेपाल, भारत र तिब्बत जान्छन् र अध्ययन गर्न थाल्छन् । कति त आफ्नो देश फर्केर लामा नै भएर नै जीवन बिताउनेहरु पनि धेरै छन् । यही कारण हो कि अहिले सरसरी हेर्दा युरोपमा हिमाली बुद्धधर्मले बढी प्रभाव पारेको भेटिन्छ ।

युरोप तथा अमेरिकाका कुन देश वा राज्यमा कुन कुन विहार, मन्दिर वा गुम्बा बनेका छन् भनेर एक सानो लेखमा सबिस्तार वर्णन गर्न सम्भव छैन । यहाँ त केबल भुगोलका ती क्षेत्रहरु जुन पहिले बुद्धधर्मसँग अनभिज्ञ थियो, त्यहाँ गत एक देखि दुइ शताब्दीका बिच कसरी भगवान बुद्धको शिक्षाले प्रवेश पायो, त्यहाँका जनताले यसलाई उचित तथा स्वागतयोग्य मान्यो अनि अहिले त्यहाँ यस धर्मले कसरी समाजिक संरचनामा स्थान बनायो भन्नेबारे संक्षिप्तमा जानकारी मात्र दिने प्रयास गरिएको हो ।

यसबाट हामीले बुद्ध भूमिमा जन्मने सौभाग्य प्राप्त गरेर पनि बुद्ध चिन्न नचाहेकाहरु, चिन्नमा भुल गरिरहेकाहरु तथा भगवान बुद्धको शिक्षालाई केवल रीतिरिवाजका हिस्साको रुपमा मात्र जीवनमा ल्याइरहेकाहरुले बुद्धधर्म कसरी यस्ता विकसित देशहरुका शिक्षित जनताको मनमा समेत बसेर यसको अध्ययन चिन्तन र अवलम्बनबाट जीवनलाई सुखी बनाइरहेका छन् भन्ने ज्ञान लिओस् भन्ने सामान्य जानकारी लिनसक्छौं । यति मात्र जानकारी पाएपनि हामीले बुद्ध तथा बुद्धको शिक्षालाइ हेर्ने तरिकामा फरक आउने छ तथा हामी यही एउटा बत्ती बालेर आफ्नो तथा समाजकै भविष्य उज्यालो पार्नमा योगदान गर्न सक्छौं कि भन्ने आशा गर्ने ठाउँ बनाएका छौं ।

आनन्द भूमि वर्ष ४९ अंक १र२ स्वांयापुन्हिरज्यास्पुन्हि संयुक्त अंकमा प्रकाशित लेख

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.