हो, नेवारहरुकै हो यो नेपाल संवत्

राजेन मानन्धर
वर्षैपिच्छे नयाँ वर्ष आउँछ, त्यही उत्साह, उमंग र केही नयाँ गरेर देखाउने शक्ति लिएर । आफैले पनि देशमा भएका सबैको ऋण नै तिर्न नसकेतापनि आफुले जन्म लिएको देशलाई सकेसम्म सुन्दर र विकसित बनाउने सन्देश पनि हो नयाँ वर्ष भनेको । नेपालमा भने यो झन् विशेष किसिमले आउँछ ।

नेपालमा विभिन्न मौलिक कुराहरु छन् । संसारसँग केही ागेर लिन नपर्ने बेलामा हाम्रो भनेको सबै मौलिक थियो — बोल्ने, खाने, लगाउने, सिंगार्ने, बजाउने, गाउने, नाच्ने सबै हाम्रै थिए । यस्तो युगमा आफ्नैपनले भरिएको नेपाल संवत् मात्र नहुनुपर्ने कारण थिएन । अरु अरु कुराहरु जसरी हाम्रा थिए, त्यो पनि हाम्रै थियो । यहाँका जनता यस संवतप्रति मोहित, गर्वित थिए । किनकि त्यो उनीहरुको थियो, उनीहरुको दैनिक जीवनको, धर्म, संस्कृति र व्यापार व्यवसायको हिस्सा थियो, नेपाली थियो । सयौं वर्षमात्र होइन हजारौं वर्षसम्म यो आफ्नै किसिमले हाम्रो भइरह्यो । निर्विकल्प नेपालको भइरह्यो ।

पछि यहाँ बाहिरबाट यहाँको सत्ता आफ्नो हातमा लिई यहाँको अपार धनसम्पत्ति, आर्थिक श्रोत र साधनमा होली खेलेजस्तै खेल्नेहरु आए । उनीहरुलाई अरु त काम लाग्यो, तर यो संवत मन परेन । अनि कुनै एक राणा प्रधानमन्त्रीले सौता ल्याए झैं नेपालको नेपाल संवत् छोडेर बाहिरी देशमा स्थापित विक्रम संवतलाई सरकारी कामकाजको संवत बनाउने भन्ने उर्दी जारी भयोे, करिब १ सय वर्ष जति मात्र पुरानो कुरा हो यो । यो अचम्मको कुरा थिएन किनभने उनीहरुका लागि नेपाल संवत् पनि आफ्नो थिएन अनि भारत बनेको विक्रम संवत् पनि आफ्नो थिएन । मात्र यहाँको हावापानीमा बनेको, मौलिकताले भरिएको सबै जनताका धार्मिक, सांस्कृति अनि आर्थिक जीवनशैलीसँग टाँसिसकेको संवत्ले उनीहरुलाई बिझाउन थाल्यो । सत्ता भनेकै त्यस्तो — मन पर्ने मन पर्छ, मन नपर्ने मनै पर्दैन । यस प्रकार सत्तालाई मन नपर्ने भएकोले एक हजार वर्षसम्म यहाँ नेपालको निर्विकल्प रुपमा राजनीति, समाज र अर्थतन्त्रको हिस्सा बनेको नेपाल संवतको प्रयोग यसै नेपाली धरतीमा मन्द हुँदै गयो ।

त्यस्तो अवस्थामा आजभन्दा ४० वर्ष अगाडि आफ्नो देशको मौलिक संवतलाई फेरि त्यसै गरी प्रचलनमा ल्याउनु पर्यो भन्ने आह्वान सहित यहाँका आदिवासी नेवारहरु जुरमुराए । र उनीहरुले नयाँ वर्षको उपलक्ष्यमा शत्रु–मित्र, आफन्त–पराई कुनै भेदभाव नराखी भिंतुना (शुभकामना) बाँड्ने अभियान थाले ।

यो उमंगको प्रदर्शन र शुभकामनाको आदान — प्रदान मात्र थियो तर त्यसका साथसाथै यसले एउटा आन्दोलनको रुप लियो — कि देशको नामबाट स्थापित यो मौलिक संवतलाई फेरी स्वीकार गरेर नेपालको राष्ट्रिय संवत भनी यसलाई राज्यले प्रयोगमा ल्याउ भनेर । एक जात एक भाषाको पकडमा रहेको त्यो निरंकुश पञ्चायती अवस्थामा पनि जनताको यो आवाज बन्द भएन । शुभकामना बाँड्न आएका स्वबासीहरुमाथि लाठी बर्साइन्थ्यो, पुलिसलाई छक्काएर अरु नै ठाउँबाट शुभकामना बाँड्नुपर्ने अवस्था समेत आउँथ्यो ।

यही मौकामा अरु बेलामा जनताकहाँ जान समेत नसक्ने विभिन्न प्रतिवन्धित पार्टीहरुका नेताको लागि व्यवस्थाको विरोध गर्ने एउटा भर्याङ बन्थ्यो त्यो भिंतुना आन्दोलन । अरु बेलामा जनताका बिचमा नदेखिनेहरु तथा भाषिक र जातीय अधिकार दिनुहुन्न भन्ने नेताहरु पनि त्यस दिनमा त्योे हुलमुल उभिन आउँथे र भन्थे — “नेपाल संवत राष्ट्रिय संवत, सरकारी मान्यता दिनै पर्छ” (ती मध्ये धेरैलाई हामीले झण्डावाल गाडीमा देखिसक्यौं)। आफ्नो, मात्र आफ्नो संवतलाई राष्ट्रको भनिदेउ भन्ने मागलाई त्यसबेलाको व्यवस्थाले साम्प्रदायिक भन्यो, हुन त अहिले पनि यसो भन्न छोडेको छैन सत्तामा बस्नेहरुले ।

अहिले समय फरक छ, व्यवस्था फेरिएको छ । अहिले पार्टीलाई प्रतिबन्ध नभएको मात्र होइन कि, अब त पहिले एकताका प्रतीक भनिएका, विष्णुका अवतार मानिएका राजा नै रहेन, देश गणतान्त्रिक भएको छ । विविधतालाई नै एकताको रुपमा स्वीकार गर्ने व्यवस्था आएको छ । “सयौं थुंगा फूल”लाई देशको परिभाषा बनाइएको छ । तर यथार्थ, व्यवस्था मात्र बदलेको हो, राज्यमा हालिमुहाली गर्नेहरु अहिले पनि उनीहरु नै छन् । यसबिच दुई दर्जन भन्दा पनि धेरै प्रधानमन्त्री फेरिए, समाजवाद, साम्यवाद व माओवादया शिद्धान्तबाट निर्देशित मानिसहरु सबै पालैपालो सत्तामा पुगे । तर उनीहरुको नेपाल संवतलाई हेर्ने दृष्टिकोण फेरिएन ।

झण्डै चार दशकसम्म एउटै नारा लिएर सडकमा जनता शान्तिपूर्ण ढंगले सरकारलाई घचघच्याउन आइरहनु भनेको शायद संसारमै दुर्लभ होला । यसमा उनीहरुको कुनै स्वार्थ थिएन, फाइदा पनि थिएन । भए नेपालमा बनेकोलाई नेपाली भनिदेउ भन्ने राष्ट्रिय भावनाले भरिएको आग्रह मात्र थियो, आह्वान मात्र थियो । यो विषयमा सयौं मात्र हैन हजारौं नै लेख लेखिए, अध्ययन अनुसन्धान गरिए, पुस्तक प्रकाशित भए, गीत गाइए, नृत्य प्रदर्शन गरिए, संस्था बनाइए, के मात्रै गरिएन ? तर जो जो सत्तामा पुगे, उस उसले यस संवत्लाई नेपाली देखेन, राष्ट्रिय मानेन ।

नेपाल संवत पनि त्यति नै नेपाली हो, जति नेपालको पशुपति मन्दिर नेपाली हो । उनीहरुले नै बनाएको, उनीहरुले नै पुज्ने, उनीहरुकोे आस्थाको धरोहर । तर आजसम्म सत्तामा पुगेका र त्यस मन्दिरको आयस्तामा मोज गरेका कसैले पनि पशुपतिलाई “नेवारहरुको मन्दिर” भन्यो ? भनेको छैन । पहिले राजा र अहिले राष्ट्रपति हुन आएकोले जानुपर्ने भनेर लिइएको कुमारीको रथजात्रामा जाँदा, मछिन्द्रनाथको भोटो हेर्न जाँदा, अनि महाअष्टमीका दिनमा जाने गरिएका पीठहरु भद्रकाली, संकटा, रक्तकाली र नवदुर्गाका मन्दिरहरुलाई “नेवारहरुको जात्रा, मन्दिर” भने ? भनेन । जब उनीहरुले शासन गर्ने सिंहासन (पहिले भौतिक, र अहिले प्रतकिात्मक) नै नेवारहरुको भएपछि, उनीहरुले फेरिरहेको सास समेत पनि नेवारहरुको भएपछि नेपाल संवत् मात्रै नेवारहरुको नहुनुपर्ने कुनै कारण छैन ।

अब प्रश्न उठ्छ कि अब ती सबै मन्दिर, दरवार अनि भोटसँग ब्यापार गरेर कमाइराखेको धनसम्पत्तिलाई नेपालको भन्ने कि नभन्ने ? यो त्यो सबै नेपालको हो भने संवत मात्र किन नेपालको हुन सकिरहेको छैन ? यदी संवत नेवारको मात्र हो भने पशुपतिको सम्पत्ति, ती राष्ट्रपति जानुपर्ने जात्राहरु अनि मन्दिरहरु किन नेपाली ? त्यस्तै अरु सबै “राष्ट्रिय” हो भने संवत् मात्र किन नेवारको ?
सत्तामा पुग्ने समुदाय (भिमसेनथापा देखि प्रधानमन्त्री भएकाहरुको नाम थर हेर्नुस्) र नेवारहरुको सभ्यतामा पानी बाराबार छ । उनीहरुलाई चािहएको सत्ता हो सभ्यता हैन । त्यसैले नेपाल संवतलाई नेपालको भनी सरकारी कामकाजमा प्रयोग गर्न त्यो समुदायको हात काम्छ । सिधै वा घुमाएर उनीहरुले यस नयाँ वर्षलाई “नेवारहरुको नयाँ वर्ष” भनिरहेका हुन्छन्, खस भाषामा भाषण गर्दा गर्दै नाके स्वर निकाल्दै सकी नसकी “न्हूदँया भिंतुना” भन्न पाएपछि नाक फुलाउँछन्, मानौं त्यो शुभकामना नेवारहरुलाई मात्र चाहिएको छ, उनीहरुले हामी नेवारहरुलाई कुनै गुण लगाइदिएको छ वा हाम्रो ऋण नै तिरिदिएको छ । त्यसैले त एक पल्ट डा. बाबुराम भट्टराईले नेपाल संवत् नयाँ वर्षको कार्यक्रममा नेपालभाषामा बोलेका थिए ।

बोलाउनेहरुले त मनकारी भएरै बोलाउँछन् प्रधानमन्त्रीहरुलाई बसन्तपुरमा हुने नयाँ वर्षको समारोहमा । त्यहाँ उनीहरुले हरेक वर्ष पचासौं हजार स्थानीय जनताको नगरपरिक्रमा गरेको हेर्छन्, शुभकामना लिन्छन् अनि मासा÷तोलामा तौलेर आश्वासन दिएर जान्छन् । संवत् भने उनीहरुको आफ्नो नभएको इतिहासको पानामा मात्र सिमित भइरहन्छ ।

यो गत ४० वर्षमा सरकारले नेपाल संवतका लागि के गर्यो भन्ने घाम जतिकै छर्लङ्ग छ । सँधै यो यति महत्वपूर्ण हो भनेर सुगा रटेको भासन छोडेर जान्छ तर हजारौं वर्षसम्म यहाँका राजाहरुले जनताले प्रयोग गरेर गएको नेपाल संवत एउटा आजको दिनमा प्रयोग गर्न कुनै प्रधानमन्त्रीको सरकार पनि राजी भएन, भारतमा समेत बेकार भइसकेको विक्रम संवतको मोहले उनीहरुलाई छोडेन ।
त्यसैले उनीहरुले ऋतु अनुसारको शुभकामना दिँदा कसैलाई दशैंको, कसैलाई दिवापलीको, कसैलाई छठको र कसैलाई “न्हूदँया”को शुभकामना दिन्छन् । उनीहरुकालागि नेपाल संवत भनेको शेर्पाहरुको ल्होसार, किरातहरुको साकेला, बाहुनछेत्रीको दशैं वा थारुहरुको माघी भन्दा फरक छैन, मात्र एउटा समुदायको चाड । अब कुनै प्रधानमन्त्री, मन्त्री अनि नेताहरु तथा संचार माध्यमले पनि नेपाल संवतलाई नेवारहरुको संवत भनेकोमा वा भनेमा नेवारहरुले यसलाई राज्यले स्वीकार गरेन भनेर चित्त दुखाइरहनु पर्ने अवस्था बाँकी रहेन ।

कमसे कम अहिले भएपनि नेपाल संवतलाई राष्ट्रिय संवत बनाउनुपर्यो भनेर काम गरिरहेको अभियन्ताहरुले बुझ्नु पर्यो, कि जबसम्म एउटा समुदायको हालिमुहाली हुने व्यवस्था यो देशमा रहिरहन्छ, तबसम्म नेपाल संवत फेरि नेपालको राष्ट्रिय संवत हुनसक्दैन । यति बुझेपछि हामीले किन यसो नभन्ने, कि नेवारहरुको सभ्यतामा मौलाएको यो देशमा जति पनि आफ्नो धर्म संस्कृति, परम्परा, मूर्त अमूर्त सम्पदा, जात्रा पर्व, जीवन दर्शन छ त्यो नेवारहरुको मात्र हो भनेर ? वर्षैपिच्छे यहाँ आउने विदेशी पाहुनाहरुलाई काठमाडौंमा भएका सुन्दर प्राचिन सम्पदा सबै नेवारहरुको मात्र हौ भनेर भनिदिउँ । त्यसो भनेको पशुपति, स्वयम्भु, हनुमानढोका, कृष्ण मन्दिर, पाँचतले मन्दिर, रातो मछिन्द्रनाथ, दोलखा भिमसेन सबै नेवारहरुको त हो नि । अनि नारायणहिति, शितल निवास पनि नेवारहरुको, सिंहदरवार पनि नेवारहरुको । यो पनि त हाम्रो भनेर दावी गर्ने कोही बाँकी हुँदैन । हेरौं, यति भयो कि नेपाल संवत नेवारहरुको भनेर भन्नेहरुले कसरी नेवारहरुको हावापानीमा सास फेर्छ ।

अहिलेसम्म, यो ४० वर्षसम्म कराएर पनि नेपाल संवतलाई नेपालको राष्ट्रिय संवत बनाउन नसकेपछि, सरकारी कामकाजको संवत बनाउन नसकेपछि अनि इतिहासै नभएको विक्रम संवतलाई नै सरकारले काखी च्यापेको देखेपछि यसलाई अब नेवार संवत बनाउने वाध्यात्मक परिस्थिति आएको छ । गोरखापत्रमा नेपाल संवत भनेर दुइटा अक्षर लेखिदिएर नेवारहरुलाई आफ्नो सर्वस्व नै दिएँ भनेर छाती फुलाउने आजका सत्तासीन समुदायलाई अहिलेको अवस्थामा नेपाल संवत राष्ट्रिय संवत भनेर वर्षको एकदिन भनिदिएमा थपडी बजाउने बानी भएकाहरु, यो नयाँ वर्षको आन्दोलनलाई यसरी फरक ढंगले प्रस्तुत गर्नुपर्ने देखिन्छ ।

कमसे कम अब नेवारहरुले यस संवतलाई नेवारहरुको संवत भन्नु पर्छ, नेपाल संवतमा लेखिएको इतिहास नेवारहरुको इतिहास भन्नु पर्छ । नेवारहरुले बनाएको सम्पदालाई नेवार सम्पदा भन्नु पर्छ । नेपाल संवत प्रयोग गरेका राजाहरुलाई नेवार राजा भन्नु पर्छ अनि नेपाल संवत प्रयोग भइरहुन्जेलको इतिहासलाई नेवारहरुको इतिहास भन्नु पर्छ ।

नेवारहरु भनेको नेपालको, अझ संसारकै एउटा यस्तो जाति वा राष्ट्र हो जसले आफ्नो देशको नाममा संवत बनाए भनेर विश्वमा चर्चा हुनुपर्यो । जसरी चाइनिजहरुको आफ्नो नयाँ वर्ष छ, त्यसरी नै नेवारहरुको पनि नेवार नयाँ वर्ष छ । अनि वसन्तपुरमा आएर भाषण दिने प्रधानमन्त्रीलाई नेवारहरुका तर्फबाट नेपाल संवतको उपलक्ष्यमा शुभकामना दिइनेछ । शायद यति गरेमा उनीहरुलाई एकछिनका लागि भएपनि हामी नेपाली हैनौं, आप्रवासी रहेछौं भन्ने स्मरण गराउँछ ।
विश्वभरी पहिचानको लडाइ शुरु भइसकेको छ, आफ्नो नभएकाहरुले पनि अरुको टिपेर आफ्नो बनाइरहेका छन् । यस्तो अवस्थामा आफ्नो भन्ने नै नभएका, धुर्तता व कपटीपनलाई नै संस्कृति बनाएर नेपाल जस्तो समुन्नत व सुसंस्कृत अनि विभिन्न आदिवासी जनजातिको विविधताले भरिपूर्ण देशको सिंहासनमा थपक्क बस्न आएकाहरुलाई एकपल्ट यो महशुस गराउनु परेको छ कि आफ्नो देशको नाममा बनेको संवत — त्यो पनि ११सय वर्ष पुरानो — हुनु भनेको नै समस्त देशवासीहरुको गौरवको कुरा हो । आफ्नो भनेको केही नभएकाहरुले पनि अरु कसैसँग नाता गाँसेर आफ्नो भन्नु पर्ने अवस्था छ । यो नयाँ रणनीति लिएर नयाँ ढंगले नेपाल संवतको आन्दोलनलाई अगाडि लान सकेको खण्डमा नेवारहरुको राजनीतिक अधिकारको आन्दोलन एक पाइला अगाडि सरेको मानिनेछ । नयाँ वर्षको यही शुभकामना ।

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.

Get the Medium app

A button that says 'Download on the App Store', and if clicked it will lead you to the iOS App store
A button that says 'Get it on, Google Play', and if clicked it will lead you to the Google Play store