४०० वर्ष लामो नेपालाभाषा कविता यात्रा

राजेन मानन्धर

नेपालभित्र बोलिने एक सय भन्दा बढी विभिन्न भाषाहरुको आआफ्नै इतिहास र विशेषता छन् । ती सबै भाषाहरु नेपालका सम्पदा हुन्, गौरव हुन् । ती मध्ये एउटा भाषा भनेको नेपालभाषा हो, जसलाई आजभोलि बोलिचालीमा नेवारभाषा वा नेवाः भाय् भनिन्छ । यहाँ यसै भाषाको साहित्यको बारेमा र विशेष गरेर यसको काव्ययात्राको बारेमा चर्चा गरिनेछ ।

१ पृष्ठभूमि
१.१ नेपालभाषा

भाषा वैज्ञानिकहरुले नेपालभाषालाई भोट बर्मेली भाषा परिवारका केही लिखित परम्परा भएका भाषाहरुमध्ये एक भाषा भनेर स्वीकार गरेकाका छन् ।

नेपालभाषा नेपालका केही लिखित इतिहास भएका पुराना भाषाहरु मध्ये एक हो । तर पनि यो कति पुरानो भनेर यकिन भन्न सजिलो छैन । यो भाषा बोलीचालीमा आएको त हजारौं वर्ष भएको हुनसक्छ तर यहाँ पुरानो भाषा भनेर लिखित परम्परामा यो भाषा कहिलेदेखि आयो भन्नेर जान्ने कोशिस गरिन्छ । नेपालका पहिला शिलालेखहरु मध्येका एक चांगु नारायणको अभिलेख (इस्वी ४६४) संस्कृत भाषामा लेखिएको भएपनि त्यसमा केही स्थानीय भाषाका शब्दहरु परेका छन् अनि शिलालेख आदिमा ने.सं ३५३ (इस्वी १२३३) देखि नेपालभाषाको प्रयोग भएका देखिन्छ (मल्ल, नेसं १०९८ः १५८) । नेसं ४५४को काष्ठमण्डपमा राखिएको ताम्रपत्रलाई नेपालभाषाको पहिलो क्रिया रुपावली प्रयोग गरिएको अभिलेख मानिएको छ (तुलाधर, विसं २०५७ः २०) । यसरी १२औँ शताब्दीमा विभिन्न शिलापत्र जस्ता अभिलेखहरुमा नेपालभाषाका बाक्य वा बाक्यांशहरुको प्रयोग बढ्न थालेको देखिन्छ ।

१.२ साहित्य
अब मूल विषयमा प्रवेश गरौं । नेपालभाषाको प्रयोग सबै ठाउँमा तहमा हुनथाले पछि यसको वाङमय र साहित्यले पनि फस्टाउने मौका पायो । कुन लिखोटलाई सहित्य भन्ने, कुनलाई भन्न मिल्दैन भन्ने यावत विवादका बिचमा नेसं ६२५ (सन् १५०५)मा लेखिएको भागवत पुराण जस्तो सम्पूर्ण नेपालभाषामै लेखिएको गद्य साहित्यलाई यस भाषाको प्रारम्भिक साहित्य यसै बेलादेखि शुरुभएको भन्न सकिन्छ (तुलाधर, विसं २०५७ः ३५) ।

२. नेपालभाषा काव्य साहित्य
मल्लकाल
नेपालभाषा साहित्यमा पहिलो कविता कुन हो भन्ने विषयमा व्यापक चर्चा, अध्ययन र अनुसन्धान भएको छ । सबैको आआफ्नै खालका तर्कहरुको बिच अहिलेसम्म पत्ता लागेको कुराको अधारमा भन्नुपर्दा एउटा गीत “प्रभुजन गन जि लुमनी” भन्ने गीतको रचनाकाल नेसं ५८७ हो भनेर राइट्सले लेखेको हिस्ट्री अफ नेपालका उल्लेख गरिएको कुरा प्रा प्रेमशान्ति तुलाधरले उल्लेख गर्नुभएको छ (तुलाधर, विसं २०५७ः ४७)।

नेसं ६९१मा रचना गरिएको एउटा अपूर्ण गीत तथा नेसं ६९४मा रचना गरिएका गीतहरु “प्रनमति श्री जुगपति” (सन् १५७२ ) र “अमल सहश्र नाम श्री बुंगलोकेश्वर”लाई लिइएको छ । त्यस्तै कविकै नाम उल्लेखित कविताको कुरा गर्दा महिन्द्र मल्ल (नेसं ६८०–६९४) ले रचना गरेका दुइटा गीतहरु — “कपटि मायान क्येन्या हे रामा” तथा “मेव मदु जित छि शरण” पाइएका छन् (तुलाधर, विसं २०५७ः ४६) । यसप्रकार नेपालभाषा काव्यक्षेत्रमा सबैभन्दा पहिला सर्जकका रुपमा राजा महिन्द्र मल्ललाई चिनिन्छ । यस मध्ये कपटी माया नामक गीतलाई सर्बप्रथम मानदास सुगतदासले नेसं १०७७मा संकलन गर्नुभएको देखिन्छ ।

उनी पछि केही काल बिराएर भएपनि नेपालउपत्यकाका राजपरिवारमा कविता वा गीत लेख्ने चलन पछिसम्म चल्यो । यसमा उल्लेखनीय राजाहरु जगतज्योति मल्ल, सिद्धिनरसिंह मल्ल, प्रताप मल्ल, श्रीनिवास मल्ल, जगतप्रकाश मल्ल, जयप्रकाश मल्ल आदि हुन् । त्यसबेला राजाहरुसँगसँगै रानीहरु पनि कविता वा गीतहरु लेख्थे । देखिन आएका केही कवियत्री रानीहरु निम्न छन् — ऋद्धिलक्ष्मी, भुवनलक्ष्मी, वृिद्धलक्ष्मी आदि । यसबेलाका केही जनसाधारणको कोटीबाट देखिएका कविहरुमा जगतकेशरी, केशव उदासल आदिको नाम आउँछ ।

विषयवस्तुको कुरा गर्दा त्यसबेला गीतहरु पूजा उपासनाको उद्देश्य लिएर रचिने भएकोले त्यसमा धर्म र भक्ति जस्ता विषय पर्नु अस्वाभाविक होइन । यद्यपि केही गीतमा भने रसरङ्ग र देशप्रेम जस्ता विषयहरुले समेत प्रवेश पाएको तथ्यहरु फेला परेका छन् ।

त्यसबेलाको राजनीतिक स्थिति गंभीर भएपनि त्यसबेला राजपरिवार तथा सर्वसाधारण अज्ञात कविहरुले यथार्थपरक आत्मपरक गीतहरुको सिर्जना गरेको आधारमा नेसं ६८० भन्दा अगाडि वा पछाडिको समयावधि नेपालभाषा काव्यको इतिहासमा महत्वपूर्ण देखिन्छ (बैद्य, विसं २०५९ः ९४)।

यसमा धेरै साहित्यप्रेमीहरुले नेपाभाषाका गीत कविताहरु विभिन्न श्रोतबाट संकलन गरेका छन् । मानदास तुलाधरले करिव एक हजार वटा संकलन गर्नुभएको छ भन्ने पुलांगु मे मुनाका सम्पादक काशीनाट टमोटको भनाइले कति गीतहरुको संकलन भइनसकेको भन्ने बुझाउँछ । संकलनको क्षेत्रमा धेरै काम भएको छ । अझै पनि कतै मन्दिर विहारहरुको भजन गर्ने ठाउँमा त्यस्ता अप्रकाशित गीतहरु भेटिएको सुनिन आउँछ ।

शाहकाल
समृद्धि तथा धर्म र संस्कृति नै जीवन हो भनेर बाँचिरहेको नेपाल उपत्यकाका राज्यहरुमा अकस्मात पृथ्वी नारायण शाहले आक्रमण गरेर अधिपत्य जमाउँदा यहाँको राजनीतिक मात्रै होइन, धार्मिक, साँस्कृति तथा भाषिक अवस्थामा पनि अप्रत्याशित परिवर्तन आए । यसको प्रभाव साहित्यमा पनि पर्यो ।

शाहकालका राजाहरु बढी जस्तो समय राज्य विस्तार, दरवारभित्रको आन्तरिक कलह र सत्ताको लागि हानथापमा बढी लागेको तथा गोरखाबाट पनि राजाहरुको सिर्जना गर्ने त्यस्तो उन्नत परम्परा बोकेर नआएकोले होला, शाह राजाहरुले मल्ल राजाहरुले जस्तो साहित्य सिर्जना गरेको देखिएन । यद्यपि शाहकालमा पनि एकदुइ राजाहरुले पहिलेको जस्तो भजन तथा गीतिकथा लेखेर परम्परा भने जोगाए । त्यसबेला (नेसं ८८८–८९५) नेपालभाषी सर्वसाधारण प्रजाजनको भवनामा आएको परिवर्तन यस समयावधिको नेपालभाषा काव्यमा स्पष्ट प्रतिविम्बित भएको छ (वैद्य, विसं २०५९ः १५६) ।

शाहकालसँगै साहित्य सिर्जनामा देखिने गरिकन सर्वसाधारणहरु अगाडि आइपुगे । यसबेला जनसाधारणबाट धेरै भन्दा धेरै कविता वा गीतहरु सिर्जना गरिए । यसमा धेरजसो कविता वा गीत मानिसहरुले आफूले आराधना गरिआएका देवी देवताहरुको गुणगान गर्दै लेखेका देखिन्छन् । राजाहरुको गुणगान गर्न त तत्कालीन व्यवस्थाले सर्जकहरुलाई बाध्य पनि गरे होला, यसबाहेक श्रृंगारयुक्त, सम्बादमात्मक गीतहरु पनि यसैबेला सिर्जना गरिए जसमा राजनीतिकि कारणले नेपालीले भाग्नुपरेका कुराहरु पनि पाइन्छ ।

यस कालमा नेपालभाषा काव्य साहित्यको एक मौलिक विधाका रुपमा लिन सकिने बाखंम्ये (कथागीत)हरु त्यसबेला धेरै रचिए । गीत गाउँदै कथा सुनाउने वा कथालाई लय हालेर भन्ने यस्ता गीतहरुले त्यसबेलाको सामाजिक जनजीवनका साथै राज्यव्यवस्थाको प्रहार भोग्नुपरेको समेत वर्णन हुने गर्थे । यसमा सामन्तहरुको अन्याय अत्याचार देखि विदेशमा श्रम गर्न जानुपर्नेहरुको व्यथा समेत चित्रित हुन्थे । रणबहादुर शाहको राज्यकालमा उनले विफर लागेका बालबालिकाहरुलाई जबरस्ती उपत्यकाबाट बाहिर धपाएको प्रसंगमा लेखिएको “सितलामाजु” (कसा, नेसं ११००ः ७४–७६), जस्ता कथागीतहरु यसका उदाहरण हुन् । त्यस्तै अर्को कथा गीत “जि वया ला लछि मदुनि”(कसा, नेसं ११००ः ४१–४७), जसमा आफ्नी भरखर बिहे गरेकी श्रीमतिलाई छोडेर भोटमा ब्यापार गर्न जान बाध्य भएका एक युवकको मर्मस्पर्शी कथा उनिएको छ, त्यो पनि उल्लेखनीय देखिन्छ यहाँ ।

यसबेलाका कविहरुमा बौद्ध पण्डित सुन्दरानन्द, अमृतानन्द, स्वामी अभयानन्द, विजयानन्द, मक्षध्वज र विश्वहर्ष जस्ता कविहरुको नाम आउँछ । सुन्दरानन्द खासगरी राजा राजेन्द्र विक्रमको जयकारमा गीत लेख्थे, तर पनि उनमा जनताका सुख दुखका कुराहरु भेटिन्छन् । लक्ष्मी सुनन्दनलाई नेपालभाषामा सबैभन्दा पहिले वार्णिक छन्दमा कविता लेख्ने कवि भनेर चिनिन्छ । अमृतानन्द अर्का बौद्ध विद्वान कवि थिए जसले १४ वटा जति बौद्ध भजनहरुको रचना गरे । विजयानन्द राजा गिर्वाणयुद्धको पालामा दरवारमा प्रवेश पाएका कवि थिए । उनले १६वटा भन्दा बढी भजनहरु लेखे । राजा राजेन्द्र विक्रमका पालाका कवि मक्षध्वजले पनि भजनहरु लेखेको पाइन्छ । अनि विश्वहर्षको पनि ४वटा बौद्ध भजनहरु संग्रहित छन् (तुलाधर, विसं २०५७ः ६६–६८)।

त्यसबेला लेखिएका गीतहरु बढीमात्रामा धार्मिक छन् । यसका साथै उपदेश, व्यंग्य, प्रकृति वर्णन पनि त्यसबेलाका प्रमुख विषयवस्तुहरु थिए । बिधागत रुपमा भन्नु पर्दा कथाभएका गीतहरु, भजनहरु, स्तोत्रपाठहरु, मुक्तक गीतहरु, रोपाइँका गीतहरु, हास्यव्यंग्यगीतहरु नै मुख्य चलनचल्तीका सिर्जनाहरु थिए । धेरै जसो मुक्तक गीतहरुमा नायिकाको रुपको वर्णन हुन्थ्यो । कुनै कुनैमा महिलाहरुको भोग्नु पर्ने विभिन्न दुखको चित्रण पनि हुन्थ्यो ।

राणा काल
शाह राजाहरुको शासन रहँदा राजपरिवारबाटै केही कविताहरु रचना भएको पाइयो भने यस कालमा सर्बसाधारणले त्यसबेलाको धर्म र संस्कृति अनि जनजीवन झल्किने गीतहरुको रचना गरे । पछि जंगबहादुर राणा र उनी पछि उनकै भाइ भतिजाहरुले नेपालको शासन सत्ता हथ्याएपछि ( नेसं ९६७ वा इसं १८४७) शासक र साहित्यको सम्बन्ध टुट्यो । राणाकालको जगनै आपसी झैझगडा र सत्ता हथ्याउनलाई भाइभारदारको हत्या गर्ने जस्तो कार्यमा बितेकोले र उनीहरु यहाँको मौलिक जात्रा पर्वमा भन्दा बेलायतको देखासिखीमा सुखसयमा बिउताउने भएकोले उनीहरुबाट मौलिक कला र साहित्यको विकासमा केही योगदान हुने सम्भावना थिएन । त्यसैले यसकालमा नेपालभाषा साहित्यमा खासै उन्नती भएको पाइँदैन ।

यद्यपि जनमानसमा भने विशेष गरी भक्ति रचना तर्फ केही कविहरुको झुकाउ भएको पाइयो । यसबेला पनि पहिले जस्तै भक्तिमार्गमा प्रवाहित हुने जस्तो भजनहरुको सिर्जना भयव् । तर यहाँ फरक के भने पहिले मल्लकाल र पूवार्धका शाहकामा जस्तो कुनै देवदेवीको परक्रमको चर्चा गर्ने र हामीलाई रक्षा गर भन्ने खालको भजनका साथै अहिले भक्तिमै लीन हुने प्रकारका नयाँ धार्मिक गीतहरुको रचना गरिए । यसलाई समस्तिमा सन्त उपदेशात्मक प्रवृति र निर्गुण भक्ति काव्य भनिन्छ (तुलाधर, विसं २०५७ ः ७३) । त्यसबेलाको असहज वातावरणका बाबजुद स्वामी अभयानन्द, हरिभक्त माथेमा, मानलाल मास्के, बखतबहादुर जस्ता केही कविहरुले नेपालभाषामा कविता वा गीत रचना गरेको पाइएको छ ।

पछि हुँदै नेसं १०२६ (सन् १९०६)मा त्यसबेलाको राणा सरकारले नेपालभाषामा लेखिएका कुनै पनि कागजपत्रलाई मान्यता नदिने भन्ने आशयको सुचना जारी गरेपछि त्यसले नेपालभाषा कसैगरी कलम चलाइरहेको सर्जकहरुमा पनि प्रभाव पर्यो । यस कालमा राणा प्रधानमन्त्रीहरुले नेवार र नेपालभाषालाई देशद्रोही जस्तै व्यवहार गरे ।

तर यसको उल्टो यसै बेला फेरि एकपल्ट नेपालभाषा साहित्यमा अद्भुत विकास पनि भयो । यसको पहिलो चरणमा सिद्धिदासले नेसं १०२६ मा सुन्दरी नामक कविता प्रकाशित गराए । यसको केही वर्ष पछि नेसं १०२९मा ‘एकविंशति प्रज्ञापारमिता’ र ‘ललितविस्तर’ जस्ता गद्य बौद्ध साहित्यलाई नेपालभाषामा अनुवाद गरिए । त्यहाँ देखि नेपालभाषामा लेख्ने नयाँ लहर शुरु भयो ।

एकातिर त्यसबेला राजधानीमा विभिन्न सामाजिक अभियान चलाएर भएपनि जनतालाई राणा शासनको विरुद्ध जनचेतना ल्याउने काम भइरहेको थियो । आर्य समाज प्रचार अभियान, लाइबे्ररी पर्व, दरबार स्कुलको स्थापना र सर्बसाधारणको शिक्षामा पहुँच जस्ता केही घटनाले जनतालाई आन्दोलित गरिरहेको थियो । अर्कोतिर यही समयमा नेवार समुदायका शिक्षित वर्गमा मातृभाषाको पुनर्जागरणका लागि केही काम गर्नुपर्छ भन्ने सोच विकसित हुँदै थियो । यसैको फलस्वरुप भन्नुपर्छ एकै समय जस्तै महाकवि सिद्धिदास अमात्य र कवि योगवीर सिंहका साथै निष्ठानन्द बज्राचार्य, मास्टर जगतसुन्दर मल्ल, शुक्रराज शास्त्री धर्मा्दित्य धर्माचार्य आदिले आआफ्नो ढंगले मातृभाषाबाट सिर्जना गरेर आफ्नो ज्यान नै खतरामा पर्ने काम गरेर देखाए ।

यसैबेला थुलिंचा नामक कविता संग्रह (नेसं १०४७) तथा नेपाली विहार (नेसं १०५९) निस्किए । फत्तेबहादुर सिंहले राज्यको निषेधको विरुद्धमा नै अझ चुनौति नै दिएर “नेपाली विहार” नामक कवितासंग्रह प्रकाशन गरेर नेपालभाषा काव्यमा नयाँ युगको शुरुवात भएको घोषणा नै गरे । यसमा भारतीय भूमिमा प्रकाशित बुद्धधर्म, धर्मोदय तथा धर्मदूत जस्ता पत्रिकाहरुको भूमिका पनि महत्वपूर्ण नै थियो । यसरी हेर्दा नेसं १०२९ पछिको नेपालभाषा कवितामा निम्न विषयमा मुख्य परिवर्तनहरु देखिए — भाषाको प्रयोग र जीवनमुखी विषय, रोमानीवादी शैली, समष्टी र मुक्तक गद्य, (मल्ल, विसं २०३८ः ३१–३६) ।

जेलकाल
यसको लगतै पछि नेसं १०६१ (सन् १९४१) मा नेपालभाषा प्रमुख लेखकहरुलाई विभिन्न मुद्दामा सर्वस्व सहित जेल जन्मकैदमा जेल चलान गरे । जेलमा बसेका चित्तधर हृदय, फत्तेबहादुर सिंह, सिद्धिचरण श्रेष्ठ, योगवीर सिंह सिद्धिचरण श्रेष्ठ आदिले जेलभित्र पनि कविता लेख्न छोडेनन् । नेपालभाषाका केही उदाहरणीय कृतिहरु जेलमै सिर्जना भए । चित्तधर हृदयको सुगत सौरभ जेलको एक बेजोड उपहार भयो नेपालभाषा साहित्यको क्षेत्रमा ।

यसबेला एउटा पुनर्जागरण भएको थियो साहित्य र साहित्यपारखीहरुको माझ । यस कालमा नेपालभाषा साहित्य क्षेत्रमा नयाँ वातावरणमा नयाँ जोश र अध्ययनको क्षेत्र फराकिलो हुँदै नयाँ विधा तथा नयाँ शैलीको थुप्रै प्रयोग गरिए अनि परिणाम पनि उत्साहजनक निस्के । यस्तै किसिमबाट नेपालभाषाका काव्यमा पनि नयाँ क्षितिजको उदय भयो । जति जति सरकारले नेपालभाषा साहित्य क्षेत्रलाई दबाउने कोशिस गरे त्यति त्यति नै संख्या र स्तरमा वृद्धि भयो नेपालभाषा सिर्जनाको । र त्यसमा पनि सबै भन्दा बढी सिर्जना काब्य क्षेत्रमा नै भयो भन्न सकिन्छ ।

जेलकाल मुख्य गरी काव्य सिर्जनाको काल थियो (तुलाधर, विसं २०५७ ः १०९) । जेल कालमा आएर सबभन्दा बढी विकास भएको विधा काव्य मान्नुपर्छ । यसबेलामा पनि जनमानसलाई आकर्षण गर्ने भनेको गीत कविता इत्यादि पद्य साहित्य नै थियो । जेलभित्रै रचिएका कविताहरुमा छायावाद, स्वच्छन्दवादको प्रवृति देखिए ।

प्रजातन्त्रकाल
नेसं १०७१ (सन् १९५१)मा राणाकालको अन्त्य भई देशमा खुला प्रजातान्त्रिक वातावरण छाउनाले सबैक्षेत्रमा जस्तै नेपालभाषा साहित्य क्षेत्रमा पनि नयाँ उमंग देखियो । अब नेपालभाषामा लेख्न डराउनु पर्दैन भन्ने भाव संचार भएलगत्तै विभिन्न साहित्यिक संघसंस्थाहरु खुले । च्वसापासा, नेपालभाषा परिषद्, साहित्य मन्दिर आदि संघसंस्था खुले तथा उनीहरुले आफ्नै साहित्यिक प्रकाशनहरुको थालनी गरे र नयाँ पुस्ताका लेखकहरुलाई प्रोत्साहन दिए । ती मध्ये कतिले निरन्तर प्रकाशन गरिरहेका पनि छन् ।

नयाँ युगको शुरुवात सँगै नेपालभाषा काव्य जगतमा पनि नयाँ परिवर्तनहरु देखिए । विशेष गरी स्वच्छन्दवादी युगको शुरुवात भएको संकेत तुरन्तै देखियो । यस धाराको नेतृत्व कवि सिद्धिचरणले गरेको भन्न मिल्छ । यसको प्रभाव चित्तरञ्जन नेपाली, हरिकृष्ण श्रेष्ठ, जस्ता नवप्रतिभाहरुमा पर्यो । नारायणदेवी श्रेष्ठ महिला कविहरुमाझ छुट्टै पहिचान लिएर झुल्किए (माली, नेसं ११२८ः ५८)। स्वच्छन्दवादी धारा र प्रगतिवादको समिश्रण भएर केदारमान ‘व्यथित’ देखिए । दुर्गालाल श्रेष्ठले स्थानीय लोक गीत संगीतमा आफुलाई डुबाएर अद्वीतिय गीतहरुको सृजना गरे ।

भरखरको प्रजातन्त्र, त्यसको सकारात्मक र नकारात्मक प्रभाव, समाजमा शिक्षित जनशक्तिको संख्यामा वृद्धि, हिन्दी सिनेमा इत्यादि जस्तो वातावरणले त्यसबेलाका कविहरुका रोमानीवाद, स्वच्छन्दतावाद तथा शास्त्रीयवादका कविहरू अनि कतै कतै शास्त्रमाथि चुनैति दिने प्रयोगधर्मीहरुको प्रवेशले यस अवधिमा निकै सकारात्मक परिवर्तनहरु देखिन थालेको थिए ।

राणा शासनको अन्त्य भएसँगै नेपाल आफैदेखि स्वतन्त्र भएजस्तो भयो । अन्य क्षेत्रमा जस्तै कविता लेखनमा पनि स्वतन्त्रताको आभास भयो, नयाँ शैली, बिम्ब अनि विषयवस्तुमा कविता लेखिए । नेपालभाषा कवितामा रोमानीवादको प्रचुरमात्रामा विकास भयो । नेसं १०७४मा थुलिंचा नामक कविता संग्रह निस्केपछि यसले आधुनिक कवितातर्फ नेपालभाषा साहित्यलाई डोर्यायो । यसपछि नेपालभाषा कविहरुले राजा वा देवदेवीको ग्ुणगान छोडेर अब सामाजिक व्यवस्था, क्रान्ति अनि भाषाप्रेमका विषयमा कविता कोर्न थाले ।

व्यक्तिगत खुशी वा दुःख, सपना, आकांक्षा, परम्पराप्रतिको मोह र विज्ञानसम्मत हुने कोशिस आदि यसबेलाका कविहरुलाई मार्गनिर्देश गर्ने तत्वहरु थिए । कोही व्यक्तिवादी बने, कोही राजतन्त्रमा मोहित थिए, कोहीले अझ धेरै स्वतन्त्रताको कामना गरे । यो सबैभन्दा सकारात्मक पक्ष यो थियो कि कविता सिर्जना भइरहेको थियो । नयाँ केही गर्ने र समाजमा कवि भएर स्थापित हुने जाँगर थियो । हुनसक्छ, साहित्य पारखी पाठकहरु अनि अध्ययनशिल समालोचकहरुको सजगताले पनि त्यसबेलाको साहित्य, अनि विशेष गरी काव्य फाँटलाई चलायमान बनाइरहेको थियो ।

पञ्चायत काल
पञ्चायत काल (सन् १९६५–१९९०)मा राज्यले एक देश, एक भाषाको नीति अपनाएपछि नेपालभाषा सर्जकहरुमा नकारात्मक प्रभाव पर्न थाल्यो जसको फलस्वरुप काब्य सिर्जनामा शिथिलता देखियो । तर पनि यसै बेला जेलकालमा निखारिएका कविहरुले झन् परिष्कृत कृतिहरु दिनथाले । त्यस्तै थुप्रै नयाँ युगका सम्बाह कविहरुको उदय भयो ।

प्रजातन्त्रकालमा बल्ल भाषिक अधिकारको छन्को दिने गरी रेडियो नेपालले नेपालभाषा कार्यक्रमलाई स्थान दिएको थियोत । तर नेसं १०८५ (२२ साल) मा रेडियो नेपालबाट प्रसारण हुँदै आएको नेपालभाषाको समाचार, जीवन दबूजस्ता कार्यक्रम हटाइदियो । यसकोे विरोधमा नेवार सर्जकहरुले टोलटोलमा साहित्य सम्मेलन गरी यसको प्रतिरोध सुरु गरे । यस्ता साहित्य सम्मेलनले थुप्रै नयाँ कविहरु जन्माए भने साहित्यलाई व्यवस्थाको विरोधमा लेख्ने माध्यमको रुपमा पनि प्रयोग गरिए । यसै सिलसिलामा नेपालभाषा कविहरुका बिच प्रगतिवाद निकै फस्टायो ।

नेसं १०८४मा पूर्ण बहादुर वैद्यको सरासू कविता संग्रहले श्रेष्ठ सिरपा प्राप्त गरे भने नेसं १०८६मा गाजलं दाःगु चा नामक आधुनिक कविता संग्रहको प्रकाशन भयो । यी दुई कृतिलाई नेपालभाषा साहित्यको काव्य फाँटमा आधुनिक कविताको नयँ युगको प्रारम्भको रुपमा चिनिन्छ । परम्परागत लेखन भन्दा एकदम अलग्ग धार बोकेर, नयाँ भाषाशैलीको माध्यमबाट छन्द, अलंकारहरु जस्तो परम्परागत नियम त्यागेर सशक्त गद्य माध्यमबाट कविता लेख्ने क्रमलाई उनीहरुले तिव्रता दिए । एकातिर शैली नयाँ भने उनीहरुले नयाँ विचार पनि बोके, परम्परासँगको असन्तुष्टी, नयाँ युगको आह्वान, संकीर्णताको उपहास गर्नलाई उनीहरुले कविता लेखे ।

पूर्ण वैद्य, आनन्द जोशी, बुद्ध साय्मि, योगेन्द्र प्रधान, श्यामसुन्दर सँैजु, सुन्दर मधिकर्मी, नातिबज्र, त्रिरत्न शाक्य आदि कविहरुले नयाँ युग नै शुरु गरे । कविताका पुस्तकहरु समेत छाप्न असजिलो अवस्थामा कविता छाप्नकै लागि पनि थुपैै्र साहित्कि पत्रिकाहरु निस्के जसको मुख्य अंश नै काब्यात्मक रुपमा पञ्चायतको विरोध गरिएको हुन्थ्यो । पञ्चायतकाल भरी नै नेपालभाषा कविताका प्रायः विषय र प्रवृति नै निर्दलीय व्यवस्थाको विरोध गर्नु जस्तै थियो ।

भियतनाम तथा मध्य अमेरिकाका देशहरुमा भएका राजनीतिक परिवर्तनले पनि नेपालभाषाका केही कविहरुलाई धेरै हदसम्म प्रभावित पार्यो । यो सकारात्मक पक्ष होला तर कतिले अनि बुझेर वा नबुझेरै पनि अन्तर्राष्ट्रिय परिवर्तनका लहरहरुलाई आफ्नो कवितामा उतार्ने लहर चल्यो ।

हुन त पञ्चायतको विरोधमा अन्य भाषाका कविहरुले पनि त्यतिकै योगदान गरेको सबैमा विदितै छ, तर त्यसमा पनि नेपालभाषा काव्य क्षेत्रमा यो विषय एकदम चर्चित र फलदायी बन्यो । पञ्चायत ढल्नुमा साहित्यको पनि देन भएको धेरै समालोचकहरुले स्वीकारेको छ ।

बहुदलीय व्यवस्था
लामो संघर्ष र आन्दोलनको फलस्वरुप नेसं ११०९मा बहुदल आएपछि यसको प्रभाव सबै क्षेत्रमा परेजस्तै नेपालभाषा काब्य जगतमा पनि पर्यो । धेरै समयसम्म पञ्चायतको विरोधमा सबै शत्रुलाई सामन्ध जमिन्दार र शोषक भन्दै क्रान्तिको बिगुल फुक्द,ै राँको बाल्दै, घण्टा बजाउँदै भन्ने कविता लेखेर बसेका कविहरु एकाएक विषयहिन बने । बहुदलीय प्रजानन्त्रको पुनस्र्थापना पछि भने नेपालभाषा कविता केही समयको लागि दिशाहीन जस्तै भए । पहिला एकमात्र विषय नै पञ्चायतको विरोध थियो भने अहिले के लेखुं र कसरी लेखुं भन्ने अलमलमा केही समय नेपालभाषा कविता क्षेत्रले गति र दिशा फेला पार्न समय लागेकै थियो ।

अर्कोतिर पहिले बहुदल आएपछि भाषिक, जातीय असमानता हट्छ र सबैले आफ्नो अधिकार पाउँछ भनेर उत्साहित बनेका नेपालभाषाका कविहरुले नयाँ व्यवस्थामा पनि एक भाषा नीतिकै बोलाबाला देखे, यो देखेर निराश भएका कविहरुले फेरि नयाँ जोश र उमंगका साथ सिर्जना गर्न सकेन । न उनीहरुले पुरानो व्यवस्थालाई नै ठिक भन्न सके, न नयाँ व्यवस्थालाई स्वागत गर्न पाए । यसै दोधारमा उनीहरुको सिर्जना फेरि अकमकिए । यो शुन्यता लामो समयसम्म रह्यो ।

त्यसमा पनि पहिले जसजसलाई सामन्तवादको विरोधी र सर्वहारावर्गका मसिहा भनेर गुनगान गाएर कविता रचिएको थियो, उनीहरुको जीवनमा आएको परिवर्तन, हिजो भरखर सामान्य जीवनमा रमाउने बामपन्थी नेताहरुको भ्रष्टाचारीहरुसँगको मेलजोल अनि समाजमा देखिएको मध्यमवर्गको रवाफले पनि त्यसबेलाका कविहरुमा के लेख्ने के नलेख्ने भन्ने असजिलो व्याप्त बनायो ।

कुनै बेला रोमानीवादको ठुलै चर्चा हुन्थ्यो नेपालभाषा साहित्यमा । प्रेम, श्रृंगार र वियोग त नेपालभाषा कविताका सयौं वर्ष पुराना प्रिय विषयहरु थिए । तर समाजमा देखिन थालेको नाटकीय परिवर्तनमा प्रेमको बजारीकरणको तिरमिराउने दृष्यले यसबिषयमा पनि कविहरु अब धेरै आकर्षित हुन नसकेको स्पष्ट देखिन्थ्यो । बरु दर्शन जस्ता अमूर्त विषयमा केही कविहरु रमाउन थाले ।

वर्षैपिच्छे जस्तै फेरिने सरकारले मानिसहरुको तनाव थियो भने । यसै बिचमा कम्युनिष्टहरुबिचको माओवादी समुहले सशस्त्र विद्रोह गरेपछि देशले कहिल्यै नदेखेको जनधनको क्षति ब्यहोर्नुपर्यो । कस्ता कस्ता नेताहरुलाई सही अर्थमा जनमुक्तिको उपायको रुपमा मानेका नेपालभाषाका कविहरुले यसलाई न खुला दिलले स्वागत गरेर अब यसैबाट जनताको मुक्ति हुन्छ भनेर गाउन सके, न यसको विरोधमा कलम चलाउने आँट गरे । त्यसैले निकै थोरैमात्र नेपालभाषा काविहरुले यस विद्रोहलाई सिर्जनाको विषय बनाए । यस्तो जल्दोबल्दो विषयमा सिर्जना नगर्नु वा गर्न नचाहनु वा गर्न नजान्नु उनीहरुको कमजोरी पनि हुनसक्छ वा सुझबुझ पनि हुनसक्छ । यस विषयमा छुट्टै र गहन अध्ययन हुनुपर्ने देखिन्छ ।

बरु द्वन्द्वकालमा गाउँगाउँमा सुरक्षाको नाममा भएका कारवाहीले गर्दा शहरतर्फ बसाइसराइ बढ्यो । शहरले यो जनसंख्याको चाप धान्न सकेन र अस्तव्यस्ता छताछुल्ल भयो । यो अवस्थामा बढी कविहरु यी दैनिक जीवनका समस्याहरुमा केन्द्रित हुन थाले । लोडशेडिङ, पानी नआउने धारा, फोहर बागमति, ट्राफिक जाम, सडकको धुलो इत्यादिमा कविहरु रुमलिन थालेदेखि साश्वत् विषयहरु कविका आँखामा पर्न छाडे । कविता र अखबारका समाचार धेरै उस्तै उस्तै हुन थाले ।

तर यसै बिच यसै द्वन्द्वकामा उठाइएको मुद्दाले गर्दा मानिसहरु फेरि एकपल्ट जातीय पहिचानको कुरा गर्न तम्सिए । त्यसबेला नेतृत्व गर्नेहरुले जुनसुकै नियतले जातीय मुद्दा उठाएको भएपनि, त्यसले गर्दा जातीय पहिचान माग्ने र अधिकार माग्नेहरुले केही पाएपनि वा नपाएपनि यस मुद्दाले कविहरुमा फेरि यस विषयमा कविता कोर्न भने उत्साहित गर्यो ।

सम्झौतामा विद्रोह सकियो, गणतन्त्र आयो । मानौं जनताले चाहेको सबैथोक आयो । यस्तो अवस्थामा नेपालभाषा काव्य क्षेत्र फेरि एकपल्ट खुलेर हुर्कनुपर्ने थियो । तर त्यो पनि अपेक्षाकृत सक्रिय बन्न सकेन । न नयाँ सिर्जनाले नयाँ रंग देखाउनपायो, न पुराना हस्तीहरुले आफुलाई समयसापेक्ष बनाएर पस्कन पाए ।

अर्कोतर्फ अब समाज पहिले जस्तो साँघुरिएको, परम्परावादी वा यथास्थितिवादी रहेन । मोबाइल र इन्टरनेटले समाजलाई व्यापक परिवर्तन गरिदिएको छ । हाल आएर अंग्रेजी साहित्यमा रुची, इन्टरनेट इत्यादिको कारणले गर्दा विदेशी साहित्य पनि सर्बसुलभ हुनथालेदेखि नेपालभाषाका कविहरुमा पनि उनीहरुको विषय छनौट, लेखाइ, भाषाशैली इत्यादिलाई अन्तर्राष्ट्रिय साहित्यले प्रभावमा ल्याएको देख्न सकिन्छ । कविहरुपनि अब यस्ता प्रविधि र त्यसबाट परेका प्रभावबाट अलग्ग छैन । उनीहरुले लेख्ने कविताहरुमा पनि यी कुराहरु देखिन थाले ।

अनि समसामयिक अंग्रेजी साहित्य पहिले भन्दा निकै सुलभ हुन थालेदेखि विदेशी साहित्य पढेजस्तै त्यहाँको भाषा, शैली, शिल्प तथा विषयवस्तुको प्रभाव उनीहरुको सिर्जनामा पनि देखिन थालेको छ । यस बाहेक नेपाली भाषाका कविहरुसँगको सामिप्य तथा नेपाली कविताहरुको सुलभताले गर्दा त्यहाँका कविहरुको प्रभाव नपरीकन नेपालभाषाका कविहरु पनि बस्न नसक्ने भयो । विधागत विविधताको कुरा गर्दा पनि अहिले काव्यभित्र कविताका विविधरुपहरु — महाकाव्य, खण्डकाव्य, गीत, गीतिकथा, छन्द वा मुक्त कविता, गजल हाइकुसम्म पनि अटाइएका छन् ।

आजभोलि ६० वर्ष वरिपरीका कविकवियत्रीहरुमा विदेश हेरेर आउने अवसर धेरै मिलेको छ । ती मध्ये कतिले कविताहरुमार्फत विदेशी जनजीवन र रहनसहनको बारेमा सकारात्मक वा नकारात्मक प्रतिक्रिया दिएका छन् । यता नेपालमा बस्नेहरुमा पनि दिनहुँ बाध्यताले विदेशमा गएर काम गर्नुपर्ने नेपालीहरुको दुःख, यसले यहाँको सामाजिक जीवनमा ल्याएको परिवर्तन अनि बुढेसकालमा छोराछोरीसँगै नहुनुको पीडा पनि कविताहरुमा पोखिन थालेका छन् । हालसालैको कुरा गर्दा केही वर्ष अगाडिका महाभूकम्प तथा नेपाल–भारत सीमानमा आएको अवरोधको कारणले गर्दा नेपालीहरुको भोग्नुपरेको कठिनाइमा पनि धेरै कविताहरु रचना गरिए । अर्कोतर्फ नेपालभाषाका कविताहरु केही मात्रामा भएपनि अन्तर्राष्ट्रिय सम्मानका हकदार भएको कुरा पनि यहाँ प्रासंगिक हुन्छ ।

संक्षिप्तमा समसामयिक नेपालभाषा साहित्यका केही प्रतिनिधि कविहरुको नाम लिनुपर्दा पुष्पराज राजकर्णिकार शाक्य सुरेन, पुष्परत्न तुलाधर राजभाइ जकःमि, प्रतिसरा साय्मि, माधव मूल, केशवमान शाक्य, श्रीराम श्रेष्ठ, सुधीर ख्ववि, नवीन चित्रकार, ईश्वरी मैयाँ श्रेष्ठ, सुदन खुसः, नारद बज्राचार्यले पंचायतकालको काव्य श्रृंखलालाई वर्तमानसँग जोडछ । त्यसभन्दा नयाँ भन्नुपर्दा योगेशराज, सुुरेश किरण, रजनी मिला, अगिब बनेपाली आदि आजको नेपालभाषा क्षेत्रका उदाँउदा कविहरु हुन् ।

उपसंहार
यद्यपि, नेपाल सरकारले दिने प्रोत्साहनको कमि, स्थानीय भाषामा अध्ययन अध्यापन गर्ने स्थानकै अभाव अनि अन्तर्राष्ट्रिय भाषाहरुमा आकर्षण बढेको यर्थाथ कसैबाट लुकेको छैन । यस्तो अवस्थामा नेपालभाषा कविताले उचित बजार अथवा पाठक पाइनरहेको अवस्थामा पनि नेपालभाषा कविहरुले जसरी आफुलाई मातृभाषामा कविता सिर्जना गर्नमा आफुलाई जसरी होमिरहेको छ त्यो स्तुत्य देखिन्छ ।

यो चार शताब्दीमा नेपालको राजनीतिक, सामाजिक, साँस्कृतिक अवस्थामा कैयन परिवर्तनहरु आए । यसले यहाँका मानिसहरुमा सोच्ने तरिका, जीवन जिउने कला, जीवनलाई अथ्र्याउने दर्शनमा पनि यिनै परिवर्तनहरु परिविम्बित भए । यसैक्रममा नेपालभाषामा लेखिने साहित्यको दर्शन, भाव, विम्ब र अभिव्यक्तिको शैलीमा पनि केही परिवर्तनहरु आए । यी सबै कुरालाई एकै ठाउँमा राखेर सरसरी अध्ययन गर्ने र सबैकुरालाई बुझेमा अहिलेको समसामयिक नेपालभाषा साहित्यमा काव्य प्रवृत्तिको अध्ययन गर्न पनि सहज हुने तथा विशेष गरी गैर नेवारहरुमा नेपालभाषा साहित्यको विगत र वर्तमानलाई बुझ्न पनि सजिलो बनाउने भएकोले एक दिने गोष्ठीको आयोजना गर्नु श्रेयष्कर हुने देखिन्छ ।

नेपालभाषा साहित्यको प्राचिनकालदेखि अहिलेको अवस्थासम्म हेर्दा सबैभन्दा बढी लेखिएको, बढी पुस्तक प्रकाशन भएको तथा बढी सर्जकहरु भएको विधा कविता नै हो । यसका साथै विषयमा विविधता भएको, प्रवृतिगत विकास भएको, परम्परालाई नछोडेको पनि यही विधा मान्नु पर्दछ ।

सन्दर्भ सामाग्री
मल्ल, कमल प्रकाश (नेसं १०९८), सिकःमिया स्वाने । काठमाडौं, नेपालभाषा परिषद् ।
तुलाधर, प्रेमशान्ति (विसं २०५७), नेपालभाषा साहित्यया इतिहास । काठमाडौं, नेपालभाषा एकेदमि ।
वैद्य, डा. जनकलाल (२०५९), नेपालभाषाया प्राचीन काव्य सिर्जना । काठमाडौं, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान ।
सं. कर्माचार्य माधललाल र अन्य (२०५३), नेपालभाषा कविता संग्रह । काठमाडौं, नेपालभाषा परिषद् ।
माली, इन्द्र (२०६५), नेपालभाषय् मिसा च्वमिपिं । भक्तपुर, कुतः पिकाकः ।
सं. कसा प्रेम बहादुर (नेसं ११००), बाखं–म्ये । काठमाडौं, च्वसापासा ।
अ. श्रेष्ठ, हरि (विसं २०३१), नेवारी लोकगीत । काठमाडौं, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान ।
स. माली, इन्द्र (२०४९), नेवारी भाषाका केही आधुनिक कविता । काठमाडौं, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान ।
हृदय, चित्तधर (नेसं ११०२ तेश्रो संस्करण), झीगु साहित्य । काठमाडौं, नेपालभाषा परिषद् ।
टमोट, काशीनाथ (विसं २०७१), नेपालभाषा वाङ्गमय । काठमाडौं, रामभक्त भोमि ।
स. टमोट, काशीनाथ (नेसं ११०१), पुलांगु मे मुना । काठमाडौं, नेपालभाषा परिषद् ।
मल्ल, कृष्ण सुन्दर (विसं २०३८), नेपालभाषाया न्हूचिनाखँ । काठमाडौं, त्रिभुवन विश्वविद्यालय, नेपालभाषा केन्द्रीय विभाग । (अप्रकाशित शोध ग्रन्थ)

(यो कार्यपत्र २०७६ जेष्ठ ३ गते नेपाल प्रज्ञाप्रतिष्ठान पुस्तकालय कक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपालभाषा परिषद्को सहकार्यमा नेपालभाषाको चारसय वर्ष पुरानो काव्ययात्रा विषयक विचारगोष्ठीमा प्रस्तुत गरिएको थियो ।)

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.