अष्टमहास्थान अन्तर्गतका बौद्ध तीर्थहरु

Razen Manandhar
14 min readJan 28, 2024

राजेन मानन्धर

काठमाडौंका बौद्ध समुदायमा भगवान बुद्धको जीवनसँग सम्बन्धित लुम्बिनी, बोधगया, सारनाथ तथा कुशीनगरलाई लिएर चारधाम तीर्थ जाने चलन पुरानो हो । तर भारतका अन्य केही महत्वपूर्ण स्थानहरु जुन उहाँको जीवनसँग सम्बन्धित छन्, ती स्थानहरु पनि बौद्धहरुका लागि महत्वपूर्ण छन् । त्यसैले त्यसका साथै बैशाली, संकाश्य, राजगीर तथा श्रावस्ती समेत जोडेर आठवटा तीर्थहरु बौद्धहरुले अष्टमहास्थान भनेर तीर्थ जाने गर्दछन् ।

गएको २०८० पुस महिना २८ जना बुद्धधर्ममा रुचि राख्ने विद्यार्थीहरुको हाम्रो समुहलाई ती स्थानहरुको भ्रमणमा जाने संजोग मिलेको थियो । यसलाई तीर्थ यात्रा वा अध्ययन भ्रमण वा दुबै भन्न मिल्ने अवस्था थियो । यस लेखमा हामीले यात्राको दौरानमा देखेका दर्शन गरेका विभिन्न धार्मिक तीर्थ स्थलहरुको जानकारी र महत्व संक्षेपमा प्रस्तुत गर्ने कोशिस गरेको छु ।

०००
भिस्वा स्तुप

Viswa Stupa, Birgunj, Nepal

नेपाल–भारत नाकाको रुपमा परिचित वीरगञ्जमा एक ऐतिहासिक भिस्वा स्तुप छ । शायद कुनै बेला यो विश्व स्तुप थियो होला । यसलाई कसैले बुद्धको महापरिनिर्वाण पछि शरिर दहन गर्दा बचेको अंगार राखेर मौर्यहरुले बनाएको स्तुप हो भनी मानेका छन् । अहिले यो चारै तिर पर्खालले घेरेको छ र पछाडि एउटा गुम्बा बनाइएको छ । ढिस्को माथि चारै तिर बौद्धहरुले ठुला ढुंगाका बुद्ध मूर्तिहरु स्थापना गरेका छन् । तर यहाँ संरक्षणको कुनै काम भएको छैन । बरु यसमाथि कुनै हिन्दु मन्दिर बनाइएको छ । स्थानीयबासी सबै हिन्दु भएकोले कसैलाई यसप्रति अपनत्व भएको जस्तो लाग्दैन ।

०००
केशरिया स्तुप

Keshariya Stupa

भारतको बिहार के पूर्वी चम्पारण जिल्लामा पटनादेखि ११० किलोमीटर टाढा राजमार्गको छेउमा विशाल केशरिया स्तुप रहेको छ । यस स्तूपको निर्माण ईसा पूर्व तोश्रो शताब्दीमा भएको मानिन्छ । यसको उचाइ ३२ मीटर तथा परिधि १२० मीटर छ । यस अर्थमा यो विश्वकै केही ठुला स्तुपहरु मध्ये एक मान्न सकिन्छ । अहिले यसको उत्खनन् वा सफाइको काम भइरहेको छ र यहाँ टाउको अथवा शरीरको आधा भाग भाँचिएको अवस्थामा भगवान बुद्धकै वा अन्य तपस्वीहरुको मूर्तिका अवशेषहरु भेटिएका छन् । यसलाई अहिले संरक्षण गरिएको छ ।

पहिले दबिएको अवस्थामा भएको यो चैत्यको पत्ता लगाउने काम १९औं शताब्दीमै शुरु भएतापनि यसको विधिवत् उत्खनन् सन् १९९८मा आर्किओलोजिकल सर्भे अफ इण्डियाबाट शुरुभएको छ । तथापि यहाँ अशोक स्तम्भको माथिल्लो भागसँग मेलखाने अवशेषहरु भेटिएको आधारमा यसलाई अशोक कालीन भनिएको छ । अझ बौद्ध ग्रन्थहरुमो उल्लेख भएअनुसारको लिच्छवीहरुले भगवान बुद्धको भिक्षा पात्र राखेर बनाएको स्तुपको वर्णन अनुसारको यो भएको देखिएकोले यसलाई बुद्धको जीवनकालकै स्तुपको विस्तारित रुप होकि भनेर पनि अनुमान गरिएको छ ।

०००
वैशाली
भगवान बुद्धको समयमा वैशाली एक प्रमुख नगर थियो । यो वृजी महाजनपदको एक अंग थियो अनि यो आफैमा भने गणतन्त्रको एक ज्वलन्त नमुना पनि थियो । भगवान बुद्धले यस स्थानमा धेरै समय बिताउनु भएको थियो । विशेष गरेर उहाँले यहाँ अन्तिम उपदेश दिनुभएको थियो । त्यस्तै किसिमबाट इशापूर्व ३८३मा यहाँ दोश्रो बौद्ध संगायना भएको थियो । यहाँ इशाको चौथो शताब्दीमा फाहियान तथा सातौं शताब्दीमा हुयन साङले भ्रमण गरेर आफनो यात्रा वृतान्तमा यहाँको बुद्ध धर्मको विकासको बारेमा लेखेका थिए । यसैका लेखनको आधारमा सन् १८६१मा ब्रिटिश अधिकारी एलेक्जेन्डर कनिङघमले वैशाली पत्ता लगाएर बौद्धहरुका माझ राखिदिए ।

वैशालीको विश्व शान्ति स्तुप

World Peace Temple Vaishali

वैशालीमा पनि नेपालको लुम्बिनी र पोखरामा जस्तै विश्व शान्ति स्तुप बनाइएको छ । विश्व शान्तिको कामना गर्दैजापानी बौद्धहरुको संस्था द्वारा विश्वका विभिन्न देशमा एकै स्वरुपका स्तुपहरु बनाउने क्रममा यहाँको कोरोनेशन पार्कको अभिषेक पोखरी नजिकै पनि यस्तो स्तुप बनाइएको हो ।

वर्ष १९९०मा थालिएको यो स्तुपको निर्माण १९९६मा सम्पन्न भयो । यो स्तूप१२५ फीट अग्लो र ११८ फीट चौड़ा छ, अनि यसको डोमको मात्र ब्यास ६५फीट छ । यस भित्र भगवान बुद्धको पवित्र अस्थि धातु राखिएको छ । स्तुपको अगाडि ठुलो बगैंचा बनाइएको भएपनि त्यो भने व्यवस्थित देखिँदैन ।

०००
अस्थि धातु स्तुपको अवशेष

Stupa with the Buddha’s relic, Vaishali

वैशालीको अभिषेक पुष्करणीको अर्कोतर्फ हरियो बगैंचाको बिचमा भगवान बुद्धको अस्थि धातु राखिएको स्तुप अवस्थित छ । यो नै वैशालीको सबैभन्दा पुरानो र महत्वपूर्ण संरचना हो पनि भन्न सकिन्छ । भगवान बुद्धको महापरिनिर्वाण पछि उहाँको अस्थि वितरण हुँदा वैशालीका लिच्छवीहरुले उक्त अस्थि ल्याएर यहाँ स्तुप बनाएर राखेको मानिन्छ । यस अर्थमा यस माटोको स्तुप इशापूर्व पाँचौं शताब्दीमै बनेको देखिन्छ ।

०००
वैशालीको अशोक स्तम्भ

Ashoka Pillar, Vaishali

सम्राट अशोकले स्थापना गरेका स्तम्भहरु मध्ये एउटा वैशालीमा अवस्थित छ । पटनाबाट करिब ६५ किलोमिटर टाढा रहेको यो ठाउँलाई अहिले कोल्हुवा भनिन्छ । यो रातो बलौटे ढुंगाबाट बनेको स्तम्भ १८.३ मिटर अग्लो छ । अनि यसको शीरमा फक्रेको कमल तथा त्यसमाथि सिंहको मूर्ति समेत छ । यहाँ कमललाई स्वच्छता र बुद्धको जन्मको प्रतिकको रुपमा तथा सिंहलाई बुद्ध स्वयम् तथा बद्ध धर्मको संरक्षकको प्रतिकको रुपमा वर्णन गरिएका पाइन्छ ।

यस स्तम्भमा अशोकको कुनै अभिले नभएतापनि अन्य स्थानका अशोक स्तम्भ र यसको आकृति तथा ढुंगाको प्रकार हेरेर यसलाई पनि अशोक स्तम्भ नै हो भनेर पुरातत्वविदहरुले भनेको छन् । अझ कोही कोही त यसलाई आशोक भन्दा पहिलेको वा अशोककै पनि पहिलो स्तम्भ हुन सक्ने र पछि मात्र उसले स्तम्भमा अभिलेख राख्न थालेको कुरा अनुमान गरेका छन् । यसको सँगै एउटा ठुलो इटाबाट बनेको स्तुप छ ।

०००
ह्वेन त्सांग स्मृति संग्रहालय

Xuanzang Memorial Hall, Nalanda

नालन्दामा ह्वेन त्सांगको सम्झनामा चीनियाँ शैलीको एकतले भवनमा एक संग्रहालय हल बनाइएको छ । चीनियाँ यात्री ईस्वी ६३३ मा नालन्दा विश्वविद्यालयमा बुद्ध धर्मको अध्ययन गर्न आएका थिए । उनले यहाँ १२ बसेर धर्म मात्र हैन यहाँको बुद्ध धर्मको विशेषता विविधता तथा विकासको बारे पनि विस्तृत जानकारी लिए ।यसैको आधारमा उनले लेखेको कृति नै आज भारतका बुद्धधर्मको इतिहासको बारेमा जानकारी लिने एक भरपर्दो प्रमाण भएको छ । करिब १३ सय पुरानो उनको कृतिले गर्दा नै आज भारतीयहरु आफ्नो देशमा बुद्ध धर्म यति धेरै फैलिएको थियो भनेर गर्व गर्न पाएका छन् । उनले जुन स्थानमा बसेर अध्ययन गरे त्यसै स्थानमा अहिले स्मृति भवन बनाइएको छ । यसको निर्माणको शुरुवात सन् १९५७मा पंडित जवाहरलाल नेहरूले गरेको थियो । यो सन् १९८४मा सम्पन्न भयो भनेतापनि आजसम्म पनि यसको विस्तार कार्य भइरहेको छ ।

०००
नालन्दा विश्व विद्यालय अवशेष

Ruins of Nalanda University, Nalanda

कुनै बेला नालन्दा प्राचीन भारतमै उच्च शिक्षाकालागि सर्वाधिक महत्वपूर्ण अध्ययन केन्द्र थियो । यो स्थान अहिले बिहार राज्यको राजधानी पटनादेखि ८८.५ किलोमीटर दक्षिण–पूर्वमा अनि राजगीरदेखि ११.५ किलोमीटर उत्तरमा पर्दछ ।

यसलाई विश्वकै सबैभन्दा पुरानो विश्वविद्यालय मानिन्छ । यसको स्थापना ४७० इस्वीमा सम्राट कुमार गुप्ताले गरेको थियो । पछिका समयमा यहाँ थुप्रै राजनीति परिवर्तन भएतापनि सबै राजवंशहरुले जस्तै यसलाई संरक्षण नै दिएको पाइन्छ । सातौं शताब्दीका चीनीयाँ यात्री ह्वेनसाङ्ग तथा इत्सिंग आफ्नो यात्रा वृतान्तमा यस विश्वविद्यालयको बारेमा वर्णन गरेका थिए । ती मध्ये ह्वेन साङ्गले त यहाँ एक वर्ष विद्यार्थी तथा शिक्षकको रुपमा बसेका पनि थिए । लगभग ८०० वर्षसम्म समस्त भारतकै सबैभन्दा ठुलो शिक्षाको केन्द्र रहिरह्यो । यहाँ एकै समयमा २ हजार शिक्षक तथा १० हजार विद्यार्थीहरु पढ्थे ।

यो नालन्दा हो भन्ने अनुमान सन् १८४७ तिर भयो । पछि अलेन्जेन्डर कनिङ्गघमले सन् १८६१मा यहाँको सर्भे गरेर नालन्दा पत्ता लगाए । इतिहासकारहरुले तुर्क वा अफगानी शासक बख्तियार खिल्जीले इस्वीको १२०० तिर यसको विनाश गरेको थियो भन्ने गर्छन् । विभिन्न कथनहरुमा यहाँका लाखौं पुस्तकहरु जलाइए र यहाँ पुस्तकहरु मात्र ६ महिनासम्म जलिरहेको भन्ने कथन छ । तर त्यसबेला मुस्लिमहरुले गरिएको भनिएको आक्रमणमा त्यहीँ वरपर रहेका हिन्दु मन्दिरहरु किन परेनन् भन्ने प्रश्नको चित्त बुझ्दो जवाफ भारतीय इतिहासकारहरुको लेखमा पाइँदैन ।

०००
राजगीर
बौद्ध साहित्य अनुसार बोधिज्ञान लाभ पछि भगवान बुद्ध राजगीर जानुभयो । त्यहाँ राजा बिम्बिसारले उहाँलाई भेट्नभयो र बेणुवन नामक विहार दान दिनुभयो । भगवान बुद्धले यहाँ धेरै वर्ष व्यतित गर्नुभएको थियो । यहीँ सारिपुत्र तथा मौदगल्यान भगवान बुद्धको शरणमा गएका थिए । यही स्थानमा देवदत्तले भगवान बुद्धलाई नीलगिरी हात्ती पठाएर तथा चट्टान गुडाएर भौतिक आक्रमण गरेका थिए भन्ने पनि बौद्ध ग्रन्थहरुमा उल्लेख पाइन्छ । भगवान बुद्धको परिनिर्वाण पछि उहाँले दिएर जानुभएका सबै शिक्षाहरुलाई एकत्रित गर्ने काम सबैभन्दा पहिले राजगृह अथवा राजगीरको सप्तपर्णी गुफमा भएको थियो । यस कार्यलाई पहिलो संगायना भनिन्छ ।

०००
राजगीर विश्व शान्ति स्तुप

World Peace Temple, Rajgir

नालन्दाको राजगीर स्थित रत्नागिरी पहाडको ४०० मिटर उचाइमा पनि एक विश्व शांति स्तूप बनाइएको छ । पवित्र गृद्धकुट पर्वत जाने पहाडको शीरमा निर्मित यो स्तुप बौद्ध धर्मावलम्बी तथा अन्य पर्यटकहरुका लागि पनि मनमोहक केन्द्र बनेको छ । पहाडको फेद देखि यहाँसम्म पैदल पनि जान सकिन्छ र अहिले यहाँ केबलकारको पनि सुविधा छ । यो १२० फीट अग्लो छ भने यसको व्यास १०३ फीट छ । यसका चारै तिर सुनको मोलम्मा लगाइएका बुद्ध मूर्तिहरु राखिएका छन् जसमाउहाँको जन्म, बोधि लाभ, धर्मचक्र प्रवर्तन तथा महापरिनिर्वाण जस्ता जीवनका महत्वपूर्ण घटनाहरुको चित्रण पाइन्छ ।

०००
गृद्धकूट पर्वत

Gridhakura or Vulture Peake, Rajgir

भारतको विहार राज्यमा भएका प्रमुख धार्मिक स्थलहरु मध्ये एक राजगृह वा राजगीरमा अवस्थित गृद्धकूट पर्वत हो । यसलाई पालीमा गिज्जाकुटा भनेको पाइन्छ । अहिले स्थानीहरुले यसलाई गढ़कूट भन्दोरहेछ । कुनै स्थानबाट यसलाई हेर्दा यो पखेटा फिजाएर बसेको गिद्ध जस्तो देखिने भएकोले यसलाई यसो भनेको भनिछ ।
यसको बारेमा थेरवाद तथा महायानी ग्रन्थहरुमा धेरै पटक उल्लेख भएको पाइन्छ । अझ महायान सूत्रहरुकमा अनुसार यहाँ भगवान बुद्धले दोश्रो पटक धर्म चक्र प्रवर्तन गरको पनि भनिन्छ । यहाँ बुद्धलेहृदय सूत्र, कमल सूत्र तथा शूङ्गम समाधि सूत्रका साथै प्रज्ञापारमिता सूत्र पनि देशना भएको मानिन्छ ।

०००
बिम्बिसारको झ्यालखाना
बुद्धकालीन राजा विम्बिसार एक दयालु राजा थिए र भगवान बुद्धको उपासक थिए । तर उनका छोरा अजात शत्रु भने निर्दयी स्वभावका थिए । उनले राजा बन्न हतार भएर आफ्ना बुबा विम्बिसारलाई झ्यालखानामा कैद गरेर राजसिंहानसमा बसेका थिए । उनले आफ्नै पिताको निर्मम ढंगले हत्या समेत गराए । अहिले राजगीरमा उनले आफ्ना पिताका लागि बनाएको झ्यालखानाको अवशेष हेर्न पाइन्छ ।

०००
बोधगया महाबोधि मन्दिर

Mahabodhi Temple, India

भगवान बुद्धको जन्मस्थल जतिकै महत्वपूर्ण तीर्थ स्थल बोधगया हो, जहाँ उहाँले बोधिज्ञान लाभ गर्नुभयो । यहाँको महाबोधि मंदिर बिहार राज्यको राजधानी पटना भन्दा ११० किलोमिटर दक्षिणमा गया जिल्लामा अवस्थित छ ।

यहाँ भएको पुरातात्विक अुनसन्धानले यो स्थलमा कमसेकम पनि मौर्य कालदेखि निर्माण र जीर्णोद्धार भएको थियो भन्ने पत्ता लागेको छ । यहाँको सबैभन्दा पुरानो मन्दिर सम्भवतः सम्राट अशोकले बनाउन लगाएका थिए । इस्वीको ५औ शताब्दीका चीनियाँ तीर्थयात्री फाहियान तथा ७औं शताब्दीका तीर्थयात्री ह्वेनसांगले आफ्नो यात्रा विवरणमा यहाँको बारेमा वर्णन गरेका थियो । ११औं र १३औं शताब्दीतिर बोधगया स्थानीय सरदारहरुको नियन्त्रणमा थियो । त्यसैबेलादेखि यहाँ बौद्धहरुको आगमन कम हुँदै गयो र यस्तो पवित्र तीर्थस्थल गैर बौद्धहरुको कब्जामा पर्दै गयो । पछि १३औं शताब्दीमा बाहिरीहरुको आक्रमण पछि यो ध्वस्त र निर्जन हुँदै गएको अनुमान गरिएको छ ।

अलेक्जेन्डर कनिङघमले सन् १८७८ मा उत्खनन् गरे । त्यहाँ ईशापूर्व दोश्रो वा पहिलो शताब्दीमा केही निर्माण भएको तथा त्यसपछि त्यसमाथि इस्वीको चौथो शाताब्दीको मन्दिर र त्यसमाथि १०औ र १२औं शताब्दीमा अर्को मन्दिर बनाएको पाइन्छ । यो त्यतिबेला सम्म जारी रह्यो जतिबेला सम्म मानिसहरुमा बुद्ध धर्म र महाबोधि मन्दिरप्रति श्रद्धा थियो । पछि यो मन्दिर हिन्दुहरुको कब्जामा गयो । उनीहरुको हातबाट महाबोधि मन्दिरलाई फुत्काएर लिन र यो बौद्ध मन्दिर हो भनेर प्रमाणित गर्न नै बौद्धहरुले धेरै संघर्ष गुर्नपरेको इतिहास छ ।

०००
सुजाता स्तूप

Sujata Stupa, Bodhgaya

बोधगया भन्दा केही पर रहेको बकरौरमा एउटा ठुलो स्तुप छ, यसालाई सुजाताको स्तुप भनेर भनिन्छ । यो स्थान बोधयगाबाट जाँदा फल्गु नदीको पारी पर्छ । बौद्ध साहित्य अनुसार आफु बुद्ध हुन्छ भन्ने निश्चित गरेर सिद्धार्थले भिक्षाटन जानु अगाडि रुख मुनि आराम गरिरहँदा सेनानी भन्ने गाउँकी सुजाता नामक युवतीले खिर दान दिएकी थिइन् । खिर ग्रहण गरेपछि सिद्धार्थले त्यहाँको नेरञ्जना नदीमा पात्र बगाए । त्यही नदीलाई आजभोलि फल्गु नदी भनिन्छ । अहिले देखिएको स्तुप ईशापूर्व दोश्रो शताब्दीको मानिन्छ ।

०००
तुंगसिरि

Tunga Siri, Gaya, Bihar

सिद्धार्थ कुमारले एकपल्ट खाना नखाई आफ्नो शरिरलाई एकदमै दुख दिएर छाला र हाड मात्र बाँकी हुने गरी तपस्या गर्नुभएको प्रसंग आउँछ । यसकार्यलाई बौद्ध साहित्यमा दुष्कर चर्या भनेर चिनाइन्छ । उहाँले यस्तो गर्नुभएको ठाउँलाई हाल उरुबेलाको तुंगसिरि यसलाई आझभोलि ढुंगेश्वरी भनेर समेत सम्बोधन गर्ने चलन छ) भन्ने पाहाड माथि रहेको गुफा हो भनेर मानिएको छ । यहाँ पहाडमाथि एउटा गुम्बा छोर्तेन बनाइएको छ र त्यसमाथि सानो कोठा जत्रो गुफा छ, त्यस भित्र दुष्करचर्या स्वरुपको बुद्धको मूर्ति स्थापना गरिएको छ ।

०००
सारनाथ

Sarnatha, UP, India

भगवान बुद्धले बोधिज्ञान लाभ गर्नुभएपछि पञ्चवर्गीय भिक्षुहरुलाई प्रथमोपदेश दिनुभयो । त्यो स्थान सारनाथको ऋषि पतन थियो । यसै महान् कार्यको स्मृति गर्दै बौद्धहरु यस पूण्यभूमिमा तीर्थटनको लागि जाने गर्दछन् । यो स्थान हाल भारत उत्तर प्रदेशको वाराणसीबाट ६ किलोमिटर उत्तर पश्चिममा पर्दछ ।

भगवान बुद्धको जीवन पछि धेरै वर्षसम्म सारनाथ एक उन्नत नगरको रुपमा विकास भइरह्यो । यो कुरा चौथो शताब्दीमा भारत आएका चीनियाँ यात्री फाहियान र सातौं शताब्दीमा आएका चीनियाँ यात्री हुयेन त्साङको विवरणबाट पुष्टी हुन्छ । इस्वीको ८औ देखि ११औ शताब्दीसम्म पनि यहाँ बुद्ध धर्मको विकास निरन्तर रुपमा भइरहेको देखिन्छ । र १२औं शताब्दीदेखि भने यसको विलय र विनाश शुरु भएको अनमान गरिन्छ । यसको पछाडि मुस्लिमहरुको आक्रमणको भूमिका थियो भनिन्छ ।

१९औं शताब्दीमा अंग्रेजहरुको यसको महत्व बुझे । सन् १८३६ मा एलेक्जेन्डर कनिङघमले यो सारनाथ हो भनी पत्ता लगाए । त्यसपछि यहाँ क्रमिक रुपमा उत्खनन् गर्ने र यहाँको धार्मिक तथा पुरातात्विक महत्वको बारेमा संसारले जान्न पाए ।

सारनाथ क्षेत्रका महत्वपूर्ण धार्मिक स्थलहरको बारेमा कुरा गर्दा यहाँको धमेक स्तुप सबैभन्दा ठुलो र आकर्षक स्थल मान्न सकिन्छ । यो करिब १२८ फीट अग्लो स्तुप हो । यहाँको धर्मराजिक स्तुपलाई अशोक भन्दा पुरानो स्तुप मानिन्छ । तर हाल यसको जग मात्र बाँकी छ । यहाँ सम्राट अशोकले स्थापना गरेको स्तम्भ छ, तर यो अहिले खण्डित अवस्थामा छ । यसको शीरमा रहेको सिंहको मूर्ति अहिले सारनाथ संग्रहालयमा संकलित छ । भगवान बुद्धले पहिलो वर्षावास पुरा गर्नुभएको स्थानमा बनाइएको मुलगन्धकुटी विहारको अवशेष यहाँ छ । यस क्षेत्रमा अहिले थुपै्र विहार तथा स्तुपहरुको अवशेषहरु छन् । यसै विहारको नक्कल गरी यसै क्षेत्रमा सन् १९३१मा नयाँ मुलगन्धकुटी विहार बनाइएको छ । यसै क्षेत्रमा भगवान बुद्धले पञ्चवर्गीय भिक्षुहरुलाई धर्मदेशना गरिरहनुभएको मूर्ति पनि छ ।

भगवान बुद्धले पञ्चवर्गीय भिक्षुहरुलाई भेट्नुभएको स्थानमा स्तुप बनाइएको छ, जसलाई अहिले चौखण्डी स्तुप भनिन्छ । अहिले भने यसमाथि स्रमाट हुमायुँलेको सम्झनामा बुर्जा बनाइएको छ । यसबाहेक यहाँ उभिरहेको बुद्धको मूर्ति सहितको एक पार्क पनि बनेको छ ।

०००
संकाश्य

Sankissa, Farrukhabad, UP, India.

भगवान बुद्धले बुद्धत्व प्राप्ति पछि निकै कठिन मानिएको अभिधर्मको चर्चा आफ्नी आमा मायादेवीलाई गर्नुभएको थियो, जो त्यसबेला तावतिंस देवलोकमा जन्म लिएर बस्नुभएको थियो — यस्तो प्रसंग भगवान बुद्धको जीवनीमा पढ्न पाइन्छ । जुन ठाउँमा उहाँले अवतरण गर्नुभयो, त्यो ठाउँ संकाश्य वा संकिस्स हो । यसलाई अहिले स्थानीयहरु संकिसा भनेर चिन्दछन् । यो ठाउँ अहिले उत्तर प्रदेशको फरुखावाद जिल्ला अन्तर्गत काली नदीको किनारमा पर्दछ ।

पछि सम्राट अशोकले यो स्थानको महत्व बुझेर यहाँ विकास गरे, स्तुप निमार्ण गराए र आफ्नो एक स्तम्भ समेत खडा गरे ।
चीनियाँ यात्रीहरु फाहियान तथा हुयेन साङ यहाँ आउँदासम्म यहाँ बौद्ध स्मारक तथा भिक्षुहरु थिए । पछि बौद्धहरुले धर्म छोडेपछि यो पनि सयौं वर्षसम्म जमिन मुनि लुकेर रह्यो । सन् १८६२मा जनरल कनिङघमले यो ठाउँलाई महत्वपूर्ण स्थान भनेर पहिचान गरे ।

अहिले यहाँ दर्शनीय स्थल भनेको नै इटा तथा माटोको ढिस्कोको रुपमा मात्र रहेको छ, जसमाथि स्थानीहरुले हिन्दु मन्दिर स्थापना गरेका छन् । त्यसका साथैं यहाँ अशोक स्तम्भको माथि राखिने फक्रेको कमलको फूलमाथिको हात्ती छ जसको सुँड पनि भाँचिएको छ । छेउमै एउटा भगवान बुद्धको अवतरणलाई देखाउने प्रस्तरको मूर्ति भएको सानो मन्दिर छ ।

यहाँ हालै कुनै व्यवस्थित उत्खनन् भइसकेको नहुँदा यहाँको पुरातात्विक महत्वको बारेमा देखाउने खासै कुरा केही छैन । तर पनि यहाँ विशेष गरी श्रीलंकाली बौद्धहरुको प्रयासमा बौद्ध स्तुप, बोधिसत्वहरुको मूर्तिहरु तथा एउटा विहार बनेको छ ।

०००
श्रावस्ति
भगवान बुद्धको जीवनकाल श्रावस्तिसँग धेरै नजिक रहेको थियो । श्रावस्ति कोशल राज्यको राजधानी पनि थियो । यो स्थान हाल उत्तर प्रदेशको श्रावस्ति जिल्लामा रापती वा अचिरवती नदीको किनारमा, लखनउ एअरपोर्टबाट १७० किलोमिटर टाढा पर्दछ ।

जेतवनाराम विहार

Jetavana Monastery, Sravasthi, UP, India

यहाँका प्रमुख बौद्ध स्थल मध्ये एउटा भनेको जेतवन विहार हो । भगवान बुद्धलाई यो विहार अनाथपिण्डिक नाम सेठले सुनको सिक्का भुइँमा बिछ्याएर पैसा तिरेर किनेको भन्ने कथा छ । बुद्धको जीवनकालदेखि कम्तिमा पनि १३औ शताब्दीसम्म यो ठाउँको धार्मिक महत्व बाँकी थियो । पछि क्रमश यो पनि ढुंगामाटोमा मिसिएका गयो । यहाँको बौद्ध सभ्यता नष्ट भइसकेपछि यहाँका मानिसहरु यस पवित्र स्थलको ऐतिहासिकतबाारे अनभिज्ञ भए । उनीहरुले यस जेतवन श्रावस्ति क्षेत्रलाई सहेथ महेथ भन्ने नाम दिए । एलेक्जेन्डर कनिङघमले चीनियाँ यात्रीहरुको विवरणको आधारमा सहेत महेत भनिने ठाउँहरु बास्तवमा जेतवन श्रावस्ति भएको पत्ता लगाए । पछि सन् १९८६ देखि १९९६को बिचमा जापानी पुरातत्वविद्हरुको नेतृत्वमा यहाँ उत्खनन् भएको थियो ।

अहिले यहाँ जेतवन परिसरलाई संरक्षण गरेर राखेको छ । अहिले जेतवनलाई एक पुरातात्विक पार्कको रुपमा विकास गरिएको छ । यहाँ गन्धकुटी तथा कोसाम्बकुटी जस्ता विहारहरुको अवशेष तथा स्तुपहरु छन् । एउटा बोधिबृक्ष छ, जुन भिक्षु आनन्दले बोधगयाको बोधिवृक्षबाट ल्याउनुभएको थियो ।

त्यस्तै किसिमबाट यो ठाउँलाई भगवान बुद्धले यमक ऋद्धिप्रतिहार्य प्रस्तुत गर्नुभएको ठाउँ भनेर पनि चिनिन्छ । यस स्थानमा एउटा ढुंगा माटोको स्तुप छ जसको संरक्षण अहिले भइरहेको छ । त्यस्तै यसै क्षेत्रमा माता विशाखाले दान दिएको पूर्वाराम विहारको अवशेष छ, जहाँ नयाँ विहार बनाइएको छ । यसै क्षेत्रमा एउटा स्तम्भको अवशेष छ,जसलाई अशोक स्तुप भनेर चिनाइएको छ ।

०००
कुशिनगर

Kushinagar, UP, India

जुन ठाउँमा भगवान बुद्धले महापरिनिर्वाण हुनुभयो, त्यो ठाउँ कुशिनगर हो । अहिले यो स्थान उत्तर प्रदेशको कुशिनगर जिल्लामा गोरखपुरबाट ५३ किलोमिटर टाढा पर्दछ ।

त्यसबेला यो मल्लहरुको राज्य अन्तर्गत पथ्र्यो । यो राज्य त्यति वैभवशाली नै नभएतापनि भगवान बुद्धले आफ्नो परिनिर्वाणको लागि यही ठाउँ रोज्नुभएको थियो । उहाँ परिनिर्वाणको ७ दिन पछि उहाँको शरीरको अन्तिम संस्कार गरिएको थियो र त्यसपछि प्राप्त भएको अस्थिधातुहरु आठ भागमा बाँडिएको थियो । बुद्धको महापरिनिर्वाण पछि यो स्थान खासै महत्वपूर्ण बनेन । ईशापूर्व २६०मा मात्र सम्राट अशोकले यस स्थानको तीर्थाटन गर्नुभयो र यहाँ केही स्तुपहरु बनाउनुभयो । यही स्तुपले बुद्धको महापरिनिर्वाण भएको वास्तविक ठाउँ जनाउँछ । चौथो शताब्दीमा कुशि नगर पुगेका चीनियाँ यात्री फाहियानले यहाँ स्तुपहरु तथा विहारहरु देखेका थिए । ईस्वी ४५० तिर एकजना स्वामी हरिबल नामक व्यक्तिले यहाँ ठुलो निर्वाण मूर्ति बनाएका थिए । यसबेलासम्म यो स्थानको महत्व जनमानसमा रामै्र थियो भन्न सकिन्छ । तर इस्वीको ६४०तिर यहाँ आएका चीनियाँ यात्री हुयेन त्साङले भने यहाँ खण्डहर भएको देखे । तर पनि ११औ शताब्दी तिर सम्म पनि यहाँ बुद्ध मूर्ति स्थापना गर्नेहरु थिए भन्नेकुरा यसबेला यहाँ निर्मित बुद्धको मूर्तिले देखाउँछ, (जसलाई आजभोलिसम्म पनि स्थानीयहरु माथाकुँवरको नामले सम्बोधन गर्छन्) । त्यसपछि भने यो महत्वपूर्ण तीर्थस्थलप्रति मानिसहरुको श्रद्धा हराएर गएको देखिन्छ । र यो स्थान आफै माटो मुनि हराएर गयो ।

सन् १८६१मा एलेक्जेन्डर कनिङघमले यसको पहिचान गरे । पछि उनका सहायक कारलायलले सन् १८७६मा यहाँ उत्खनन् गरे । धेरै चरणका उत्खनन्हरु पछि यहाँका महत्वपूर्ण अवशेषहरु प्रकाशमा आए ।

अहिले यहाँको प्रमुख दर्शनीय स्थल भनेको यहाँको निर्वाणमूर्ति हो । यो मूर्ति ६ मिटर भन्दा लामो छ र एउटै ढुंगाबाट बनेको छ । अहिले सको चारै तिर फलामको बार लगाइएको छ । यसमाथि अहिले बनेको मन्दिर भारत सरकारले सन् १९५६मा बनाएको थियो । यसको ठिक पछाडि अग्लो र प्रचिन स्तुप रहेको छ । यो ४५ मीटर अग्लो छ । यसको वरिपरी ८ वटा जति विहार वा स्तुपहरुको अवशेषहरु छन् । यस भन्दा करिब १ किलोमिटर टाढा एक ठुलो प्रचिन इँटको स्तुपको अवशेष छ । यो मुकुटबन्धन चैत्य हो र स्थानीयहरु यसलाई रामाभार चैत्य भन्छन् । यो भनेको भगवान बुद्धको अन्तिम संस्कार गरिएको स्थल भनिन्छ ।

०००
लुम्बिनी

Lumbini, Nepal (and our team)

जसलाई हामी भगवान बुद्ध भनेर चिन्छौं उहाँको जन्म नेपालको लुम्बिनी वनमा सिद्धार्थ राजकुमारको रुपमा भएको थियो । यस अर्थमा लुम्बिनी विश्वमा समस्त बौद्धहरुका लागि अद्वितीय तीर्थ हो ।

ईशापूर्व २४९मा सम्राट अशोक यहाँ आएर यहाँ बुद्ध जन्मनुभएको भन्ने अभिलेख सहितको स्तम्भ राखेर गए । पाँचौं शताब्दीया चीनियाँ तीर्थहरुयात्री फाहियान तथा हुयेन साङले यसको बारे उल्लेख त गरेर गए तर यसको अवस्थितिको बारेमा कसैलाई थाहा थिएन ।

पछि सन् १८९६मा जनरल खड्ग समशेर तथा डा. फुहररले यहाँ स्तम्भ पत्ता लगाए । कालान्तरमा विकासको धेरै चरण पछि यसको विकासको लागि गुरुयोजना बन्यो र त्यसै अनुसार यहाँ अहिले विकास निर्माण भइरहेको छ । अहिले यहाँ उत्खनन् गरिएको मायादेवी मन्दिर, पुष्करणी पोखरी, अशोक स्तम्भ तथा विहारहरु छन् । बिचमा नहर बनाइ एकातिर महायानी तथा अर्कोतिर थेरवादी विहारहरु गरी ३०वटा भन्दा विहारहरु विभिन्न देशहरुबाट आफ्नो आफ्नो धर्म वास्तुकलासँग मिलाएर बनाइएका छन् र यसको उत्तर तर्फ विश्व शान्ति स्तुपको निर्माण गरिएका छन् । यस पवित्र स्थलालाई अहिले युनेस्कोले विश्व सम्पदा स्थलको रुपमा सुचिकृत गरेको छ ।

यसबाहेक यस क्षेत्रमा सिद्धार्थले २९ वर्ष बिताएको कपिलवस्तु राजदरवार, भगवान बुद्धलाई स्वागत गरिएको निग्रोधाराम वा कुदान, क्रकुच्छन्द बुद्धको जन्म भएको गोटिहवा, कनकमुनि बुद्धको जन्म भएको निग्लिहवा, उहाँले जीवन बिताउनुभएको अरौराकोट, शाक्यहरुको नरसंहार गरिएको सगरहवा, सिद्धार्थको मावली देवदह, बुद्धको अस्थिधातु भएको रामग्राम स्तुप आदि यहाँका प्रमुख दर्शनीय स्थलहरु हुन् ।

यी भगवान बुद्धको जीवनसँग सम्बन्ध राख्ने तीर्थहरु हरेक प्रकारले पवित्र छन् र यहाँको भ्रमणले बौद्धहरुको मनमा नयाँ तरंग, संवेदना जगाइदिन्छ । यसका साथै विभिन्न तीर्थहरुमा भएका विकास, संरक्षण तथा तीर्थयात्रीहरुको भ्रमण, त्यहाँ उनीहरुले गर्ने बुद्ध पूजा, पाठ, ध्यान, वन्दना इत्यादि देख्दा अन्य स्थानीय व्यक्तिमा पनि ती स्थानहरुको महत्वको बारेमा जानकारी पाएर उनीहरुमा समेत श्रद्धा बढ्नजाने सम्भावना हुन्छ । यसका साथै त्यस्ता पवित्र स्थलमा सयौं हजारौं वर्षदेखि बसोवास गरेर आइरहेका स्थानीय व्यक्तिमा अहिलेसम्म पनि धर्म जागरण नभइसको देखेर यस क्षेत्रमा हामी अझ बढी जाँगरका साथ लाग्नु पर्ने भन्ने उत्प्रेरणा जाग्छ कि भन्ने समेत आशा लिन सकिन्छ ।

Published in Anandabhoomi, Buddhist Magazine, 2024 January

Photographs by the author

--

--

Razen Manandhar

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.