आन्ध्र प्रदेशमा बुद्ध धर्मको अवस्था

Razen Manandhar
12 min readNov 6, 2023
Remains of Amaravati stupa real at Amaravati in Andhra Pradesh, India

राजेन मानन्धर

आन्ध्र प्रदेश भारतको एक दक्षिण पूर्वी तटीय प्रान्त हो । यसको उत्तरमा महाराष्ट्र, छत्तिसगढ र उडिसा पर्छ भने पूर्वमा बंगालको खाडी पर्छ, दक्षिणमा तामिलनाडु तथा पश्चिममा कर्नाटक पर्छ । पहिले यसको नाम आन्ध्र वा आन्ध्रदेश थियो । यहाँका बासिन्दाहरु आठौं शाताब्दी इशापूर्वमा उत्तर भारतबाट बसाइ सर्दै यहाँ आएको भनिन्छ । अशोककालमा यो मौर्य साम्राज्यको एक अङ्ग थियो । पछि यो पल्लवहरु, पूर्वी चालुक्यहरु, विजयनगर साम्राज्य, कुतब शाही वंश, निजाम वंशको हुँदै पछि इस्ट इन्डिया कम्पनी तथा व्रिटिश राजको अन्तर्गत पर्न गयो ।

सन् २०१४मा यस प्रान्तले अहिलेको स्वरुप लिएपछि यहाँको राजधानी गुन्टुर जिल्लामा कृष्णा नदी किनारमा अवस्थित अवरावतीलाई बनाइएको छ । यहाँको सबैभन्दा ठुलो तटीय शहर विशाखापट्टनम् हो । यहाँको प्रमुख भाषा तेलेगु हो । यहाँका ६० प्रतिशत जनता कृषिसँग सम्बन्धित छन् । यो भारतको एक प्रमुख धान उत्पादक राज्य पनि हो । यहाँ अहिले ९० प्रतिशत जनता हिन्दु छन् भने ०.०१ प्रतिशत जनता मात्र बौद्ध छन् ।

आन्ध्र प्रदेशमा बुद्ध धर्म
पहिला आदिबासीहरुको धर्म चलिरहेको आन्ध्र प्रदेशमा बुद्ध धर्मको प्रवेश भगवान बुद्धको जीवनकालमै भएको देखिन्छ । यहाँको गुन्टुर जिल्ला स्थित धान्यकटक पर्वतमा चैत्र शुक्ल पूर्णिमाका दिनमा भगवान बुद्धले आफ्ना शिष्यहरूलाई बज्रयान अभ्यास अन्तर्गत मन्त्र, तन्त्र, योगको उपदेश दिनुभयो भन्ने भनाइ छ । यसलाई तेश्रो धर्मचक्र प्रवर्तन भनेर समेत भनिन्छ ।

यद्यपि भगवान बुद्ध यस प्रदेशसम्म आइपुग्नुभयो भन्ने ऐतिहासिक प्रमाण जुटाउन सजिलो छैन तर पनि बुद्धको जीवनकाल पछिको समयदेखि हजारौं वर्षसम्म नै यहाँ बुद्ध धर्मले ठाउँ पाएको थियो भन्नलाई साथ दिने प्रशस्त आधारहरु भने छन् । प्रमाणको कुरा गर्ने हो भने पनि कमसे कम सम्राट अशोकको समयमा अर्थात् इशापूर्व २५० तिर यहाँ बुद्ध धर्मको प्रचार भैसकेको देखिन्छ । आज भन्दा लगभग एक हजार अगाडि आन्ध्रको कृष्णा नदी उपत्यका बौद्ध गतिविधिको एक केन्द्र थियो । यहाँका प्रमुख बौद्ध क्षेत्रहरु जस्तै अमरावती, नागार्जुनकोण्डा तथा जग्गयपेता जस्ता ठाउँहरु इशापूर्व तेश्रो शताब्दीदेखिका थिए । पछि यो क्षेत्र विशेष गरी महायान बुद्ध धर्मको केन्द्रको रुपमा विकास हुँदै गयो । विश्वका बौद्धहरु माझ निकै चर्चित प्रज्ञापारमिता सूत्रहरूको विकास यसै क्षेत्रमा भएको थियो भन्ने विश्वास गरिन्छ ।

सतवाहन काल
आन्ध्रको बुद्ध धर्मको इतिहास बुझ्नको लागि सतवाहन कालको बारेमा सामान्य जानकारी लिनु आवश्यक हुन्छ । भारतमा सतवाहनहरुको राज्यकाल इशापूर्व दोश्रो शताब्दी अथवा तेश्रो शताब्दीदेखि शुरु हुन्छ । यिनीहरुको साम्राज्य आन्ध्र प्रदेशदेखि तेलाङ्गाना तथा महाराष्ट्रसम्म फैलिएको थियो । उनीहरुलाई आन्ध्रभृत्य, आन्ध्रजातीय तथा आन्ध्र मात्र पनि भनिने भनेर पुराण इत्यादि ग्रन्थमा लेखिएकोले हालको अन्ध्र प्रदेश नै उनीहरुको राज्यको केन्द्रविन्दु भएको हुनुपर्छ । सम्राट अशोकको मृत्यु पछि शक्तिशाली भएको यो वंशले लगभग ४०० वर्ष सम्म शासन गरे । उनीहरुले एकताका आन्ध्रप्रदेशको अमरावतीलाई राजधानी बनाएको थियो, जुन बुद्ध धर्मको केन्द्र पनि थियो ।

Satvahana kingdom

भारतको बुद्ध धर्मको इतिहासको कुरा गर्दा सतवाहन राजाहरुको नाम उल्लेख गर्नु पर्ने हुन्छ । हुन त सतवाहनहरु हिन्दु थिए भनिन्छ तर पनि त्यसबेलाका महत्व बौद्ध विहारहरु बनाउनका लागि यी राजाहरुले धेरै सहयोग गरेको पाइन्छ । यसप्रकार हेर्दा भारतमा बुद्ध धर्मको विकासमा सतवाहन वंशको ठुलो योगदान देखिन्छ । भारतमा विशेष गरी आन्ध्र तथा महाराष्ट्र क्षेत्रमा बुद्ध धर्मसँग स्मारकहरुको निर्माणमा सतवाहन राजाहरुको हात थियो ।

अमरावती
भारतमा दुइटा प्रमुख अमरावती नाम भएका शहरहरु छन् — एउटा पश्चिम महाराष्ट्रमा र अर्को पूर्व आन्ध्र प्रदेशमा । यहाँ पूर्वको अमरावतीको मात्र चर्चा गरिनेछ । आन्ध्र प्रदेशको बर्तमान राजधानी होे अमरावती । अहिलेको अमरावतीको नजिकै रहेको प्राचिन शहर धरणीकोट प्राचिन कालमा धान्यकटक नामले प्रख्यात थियो र यो सतवाहनहरुको राजधानी पनि थियो ।

यसले २२ सय वर्ष पुरानो इतिहास बोकेको छ । धान्ध्रवंशका सतवाहन राजा शातकर्णीले लगभग ईशापूर्व १८० तिर अमरावतीलाई आफ्नो राजधानी बनाएका थिए । यहाँ अवस्थित अमरावती स्तुप विश्वकै बौद्ध स्मारकहरु मध्ये एक उल्लेखनीय स्मारक हो । वज्रयानी बौद्धहरु यहाँको धान्यकटक पर्वतमा भगवान बुद्धले बज्रयान अनुसारको तेश्रो धर्मचक्र प्रवर्तन गर्नुभएको भनेर समेत भनिन्छ ।

अमरावती कला
यही अमरावती क्षेत्रमा विकास भएको कलाले बुद्ध धर्मको कलाको विकासको एक पक्षको प्रतिनिधित्व गर्दछ । यसलाई आन्ध्र प्रदेशको बुद्ध धर्मको एक अभिन्न विशेषताको रुपमा लिन सकिन्छ । त्यसकारण आन्ध्र प्रदेशको बुद्ध धर्मको इतिहासको कुरा गर्दा यो पक्षलाई बिर्सन हुन्न । संक्षेपमा भन्दा यो भारतको एक प्राचीन कला शैली हो, जुन अवरावती क्षेत्रमा विकास भयो । इशापूर्व पहिलो दोश्रो शताब्दीदेखि इशाको तेश्रो शताब्दीसम्म लगभग ५०० वा ६०० वर्ष यो कलाले धेरै विकास गर्याे । यस शैलीबाट यहाँ थुप्रै बौद्ध स्तुप, विहार तथा मूर्तिहरु बनेका छन् । यहाँको कलाको छुट्टै विशेषता भएको कारणले गर्दा नै यहाँको कलालाई अमरावती कला भनिएको हो ।

भारतको कला इतिहासले तीन प्रकारको कला शैलीलाई मानेको छ — अमरावती, गान्धारा तथा मथुरा शैली । ती मध्ये अमरावती शैलीको कुरा गर्नु पर्दा यसका केही सामान्य विशेषतालाई सम्झनुपर्ने हुन्छ । यसको विकास वा संरक्षण सतवाहन राजाहरुले गरेका थिए । यस शैलीमा सेतो मार्बल ढुंगाको प्रयोग हुन्छ, अनि मानव, जनावर तथा फूलहरुको जीवन्त चित्रण हुन्छ, बौद्ध चित्रहरुको बारेमा भन्दा यस शैलीको विकास हुँदासम्म बुद्धलाई प्रायः (केही अपवाद बाहेक) प्रतीकात्मक रुपमा चित्रण गरिन्थ्यो । यो मुख्यतयाः बौद्धहरुको कला हो र धेरैजसोमा बौद्ध जातकहरुको अंश हुन्थ्यो । अमरावती स्थित अमरावती स्तुप तथा मध्यप्रदेशको साँची स्तुप यसका प्रतिनिधि नमुना हुन् । यो शैली यहाँ बाहेक नागर्जुनकोण्डा, गोली, घण्टशाला तथा भेन्गीमा पनि देखिन्छ । पछि यो शैली बिस्तारै पल्लव तथा चोल बास्तुकलामा परिणत हुँदै गयो । विस्तारै यौ शैली श्रीलंकासम्म पुग्यो र त्यहाँ १२औं शताब्दीसम्म यसले प्रभाव कायम राख्यो ।

अमरावती स्तूप
आन्ध्र प्रदेशको बुद्ध धर्मको चर्चा गर्दा यहाँको अमरावती स्तूप अथवा महाचैत्यलाई बिर्सन हुन्न । यो भनेको यहाँको बुद्ध धर्मको इतिहासको जिउँदो प्रमाण हो । यो चैत्यको निर्माण सम्राट अशोकको समयमा अर्थात् इशापूर्व २५० तिर निर्माण भएको अनुमान गरिएको छ । यो एकपल्ट निर्माण गरेर पछि त्यसमाथि अझ ठुलो आकारमा पुनःनिर्माण गरेको कि भन्ने भनाइ पुरातत्वविद्हरुको छ । आन्ध्र वंशका सतवाहन राजा शातकर्णीले यसको निर्माण गराएको थियो भनिन्छ ।

Sketch of Amaravati Stupa

तर दुर्भाग्य आन्ध्र प्रदेशमा बुद्ध धर्म लोप हुँदै जाँदा यहाँका यस्ता प्राचिन स्मारकहरु पनि मारमा परे । अहिले यहाँ यस स्तूपका केही अवशेषहरु मात्र बाँकी छन् । यसका भेटिएसम्मका राम्रा टुक्राहरु लण्डन स्थित ब्रिटिश संग्रहालय, कोलकाता संग्रहालय तथा चेन्नाई संग्रहालयमा राख्न लगिएका छन् । तिनै अवशेषहरुले आज आन्ध्र प्रदेशको विशाल तथा समृद्ध बौद्ध सभ्यताको वर्णन गरिरहेका छन् । ती टुक्राहरुमा यहाँको स्थानीय मौलिक शैली र उच्चस्तरीय कलाकारिता भेटिन्छ । यसमा भएका मूर्तिहरुले बुद्धको पूर्वजन्मका जातकहरु तथा बुद्धकै जीवनका केही घटनाहरुलाई चित्रण गरेका पाइन्छ तर बुद्धलाई सिधै मानव मूर्ति बनाएर प्रस्तुत गर्नुभन्दा केही विशेष प्रतीकहरुको माध्यमबाट बुद्धलाई वर्णन गरिएको छ । यसबाट स्पष्ट हुन्छ कि यो स्तुप त्यसबेला बनाइएको थियो जुन बेला बुद्धलाई मानव स्वरुपमा चित्रण गर्नु भनेको उहाँमाथि गरिएको आदरको विरुद्ध थियो ।

यहाँ बनाइएका मूर्तिहरु यति विशिष्ट थिए कि यिनीको आधारमा अमरावती कला शैली भन्ने नाम दिइएको थियो । यो भारतकै सबैभन्दा ठुला स्तुपहरु मध्ये एक थियो । यो स्तुप ३० मिटर अग्लो र ५०मीटरको व्यास भएको भनेर अन्दाज गरिएको छ । त्यो स्तुप वज्रयान बुद्ध धर्म र विशेष गरी कालचक्र पुजासँग सम्बन्धित हो भनेर भनिन्छ । यो स्तुप तेह्रौं शताब्दीसम्म थियो भन्नेकुरा त्यसबेला बौद्ध यात्रीहरुले यसको बारेमा उल्लेख गरेकोबाट थाहा हुन्छ ।

भारतमा क्रमशः बुद्ध धर्म लोप हुँदै गएपछि यहाँ पनि बौद्धहरु देखिन छोडे, यो स्तुप पनि त्यागियो अनि बिस्तारै माटो मुनि पुरियो । पछि ब्रिटिश उपनिवेशकालमा मेजर कोलिन मकेन्जीले सन् १७९७मा यहाँ स्तुपको अवशेष हेरेर गएका थिए तर पछि उ फर्कदासम्ममा स्थानीयहरुले यहाँका प्राचिन ढुंगाहरु मनिसहरुले घरबनाउन लिएर गइसकेका थिए । यस्तो काम त्यहाँका जमिन्दार वासिरेड्डी वेङकटाद्री नायडुले गराएको भनिन्छ । पछि स्न १८४५मा सर वाल्टर इलियटले उत्खनन् गरेर र बचेका महत्वपूर्ण टुक्राहरु विभिन्न संग्रहालयमा लगेर राखे । सन् १८८७मा जेम्स बर्गेसलेसम्म यहाँ खन्दा प्राचिन स्तुपका अवशेषहरु पाइएको कुरा लेखेका थिए ।

अहिले आएर यहाँको प्रान्त सरकारले अमरावतीलाई विशाल शहरको रुपमा विकास गर्ने योजना बनाइरहेको छ । यसको कारणले यहाँका यी अमुल्य बौद्ध सम्पदामाथि आँच आउने होकि भनेर पुरातत्वविद्हरुले चिन्ता गर्न थालेका छन् ।

आन्ध्रमा महायान
आन्ध्र प्रदेशलाई महायान बुद्धधर्मको केन्द्रको रुपमा पनि चित्रण गरिन्छ । यहीँबाट यो एशियाका अन्य भागहरूमा फैलिएको अनुमान गरिएको छ । इतिहासकारहरुका अनुसार नार्गाजुन, आर्यदेव, बुद्धपलित, भवविवेक, दीननाग, धर्मकीर्तिदेखि बुद्धघोषको जीवनीसम्म आन्ध्रप्रदेशसँग सम्बन्धित थिए ।

हुयन साङको अमरावती भ्रमण
चीनिया यात्री हुयन साङ अथवा जुआन्जाङ सातौं शताब्दीमा चीनबाट भारतमा भ्रमण गर्दै आएका थिए । उनले इस्वी ६४०मा यहाँका विभिन्न बौद्ध शहरहरुको भ्रमण गरे र त्यसको बारेमा आफ्नो यात्रा वृतान्तमा लेखे ।

Huien Tsang

उनी आन्ध्र प्रदेशसम्म आए र अमरावती स्तूप तथा नागार्जुनकोण्डाका विहारहरूको भ्रमण गरे । उनले यहाँको विजयवाडामा केही वर्ष बसेर यहाँका बुद्धमूर्तिहरुको अध्ययन तथा गरे तथा अमरावतीमै बसेर अभिधम्मपिटकको अध्ययन गरेर प्रतिलिपि समेत बनाए । उनले यहाँ अमरावतीमा धेरै विहार रहेको भने पनि ती मध्ये कतिपय सुनसान भएको अथवा बौद्ध भिक्षुहरु नभएको देखेका थिए । त्यसबेलासम्म आन्ध्रमा बुद्ध धर्म कमजोर हुन थालेको देखिन्छ ।

तिरुपति बालाजी एक बौद्ध तीर्थस्थल ?
आन्ध्र प्रदेशको तिरुपति जिल्ला स्थित तिरुमाला नामक पहाडी बस्तीमा श्री वेङकटेश स्वामी अथवा वेङ्कटेश्वरको मन्दिर छ, जसलाई स्थानीयहरु तिरुपति बालाजीको मन्दिर छ । चौथो शाताब्दीमा निर्माण भएको भनिएको यस मन्दिरलाई भारतकै सबैभनदा धनी मन्दिरहरु मध्ये एक मानिन्छ । तीर्थयात्रीहरु महिला होस् या पुरुष, सबै यहाँ दर्शन गर्नलाई केश मुण्डन गरेर जाने चलन छ । यहाँ भित्र रहेको मूल मूर्तिलाई विष्णुको एक रुप भनेर पूजा गरिन्छ । यो मन्दिर इस्वी ३०० देखि बनाउन थालिएको भनिन्छ तर यसको लिखित इतिहास भने १०औं शताब्दीको मात्र भेटिन्छ । सन् ९६६मा पल्लव वंशकी राजनी समाभाइले यसबलेला यहाँ गहना र जग्गा चढाएको अभिलेख छ ।

Tirupati Balaji was a Buddhist Shrine?

तर केही समयदेखि यो मन्दिर र मूर्ति बौद्ध समुदायको हो भन्ने आवाज उठेको छ । बौद्धहरुले विभिन्न आधार देखाएर यौ मौलिक रुपमा बुद्ध अथवा बोधिसत्वको मूर्ति हो र पछि बुद्धधर्मको अवसान पछि हिन्दुहरुले विष्णुको रुप दिएर पूजागर्न थालेको भन्ने गरिन्छ । यसबारे के जमनादासले विस्तृत पुस्तक नै लेखेका छन् । तर हिन्दुहरु यो कुरा मान्न तयार छैनन् अनि यी बौद्ध तीर्थ हो भन्ने दावी गलत भनेर भन्दै आएका छन् । यहाँ यसबारेमा यो भन्दा बढी चर्चा गर्नु उचित छैन ।

समग्रमा भन्नुपर्दा आन्ध्र प्रदेशमा १४०वटथा बौद्ध क्षेत्रहरु छन् जसले त्यहाँको इशापूर्व तेश्रो शताब्दी देखी इस्वीको १४औं शताब्दकिो बु्द्ध धर्मको इतिहसको बारेमा एक वृहंगम दृष्टिकोण बनाउन सहयोग गर्दछ । यसमा त्यहाँ रहेका जम्मा ५०१ प्राचिन अभिलेखहरु आउँछ, जसमा ३६०वटा शिलापत्रहरु, ताम्रपत्रका ७ जोडीहरु अनि भाँडा तथा शंखहरुमा कुँदिएका १३४वटा अभिलेखहरु पनि आउँछ । आन्ध्र प्रदेशमा अन्य प्रमुख बौद्ध धार्मिक क्षेत्र वा त्यसका अवशेषहरु निम्न छन् — आदुरु, बविकोण्डा, बोजन्नकोण्डा, बेलुम गुफाहरु, चन्द्रवरम्, एरावरम् गुफाहरु, गोली, गुडिवाडा डिब्बा, गुण्डुपिलार, गुण्टुपल्ली परिसर, जग्गयपेटा, जीलाकरा गुडेम, कोटिरु ध्नडिबालु, नागारर्जुनकोण्डा, बवुरालाकोण्डा, रामातीर्थम्, सालिहुन्दाम आदि ।

बुद्ध धर्मको अवनति
भारतमा बुद्ध धर्मको कुरा गर्दा अवनति वा क्षय वा लोपको कुरा नगरी हुँदैन । आन्ध्र प्रदेशको बुद्ध धर्मको इतिहास जति गौरवमय छ, यसको अवनतिको कथा त्यति नै दुःखद छ । भगवान बुद्धको जीवनकालदेखि कम्तिमा पनि हुयेनसाङको भारत भ्रमणको समया अर्थात् सातौं शताब्दीसम्म हालको भारतको मानचित्र भित्र परेका सबै प्रान्त वा प्रदेश भित्र बुद्ध धर्म फैलिएको ऐतिहासिक प्रमाणहरुले बताइरहेको छ । त्यसपछिको समयमा विस्तारै सबै ठाउँबाट बुद्ध धर्म सोत्तर भएर गयो । सोत्तर पनि यसप्रकार भएको छ कि यसकारण भयो भनेर भन्न मिल्ने प्रमाणहरु भेटिन असम्भव जस्तै छ ।

Remains of Nagarjunakonda

तर पनि भारतका इतिहासकारहरु किन र कसरी यसरी भारतका सबै ठाउँबाट बुद्ध धर्म अवनति वा लोप नै भएर गयो भनेर भन्न चाहँदैनन् । अनि बौद्ध इतिहासकारहरुले गरेको ब्याख्या वा विश्लेषणलाई हिन्दु इतिहासकारहरु पूर्वाग्रहको दृष्टीले हेर्छन् । यो भनेको भारतको इतिहासकारहरुले नियतवश नै सबैभन्दा बेवास्ता गरिएको विषयवस्तु मध्ये एक रहेको छ । त्यसैले भारतको समस्त क्षेत्रमा बुद्ध धर्मको विलय कसरी भयो भनेर सप्रमाण व्याख्या गर्न अहिले विदेशी इतिहासकारहरुलाई पनि निकै कठिन छ ।

भारतका बौद्धहरु यसको पछाडि कुमारिल भट्ट तथा आदि शंकराचार्यको भारतब्यापी अभियान, बौद्ध विहारहरुले राजसी संरक्षण गुमाउनु, हुणहरुको आक्रमण, वैदिक धर्ममा भएको सुदृढीकरण तथा मुस्लिमहरुको आक्रमणको भूमिका रहेको बताउँछन् । यसबाहेक बुद्ध धर्म भित्र विकास हुँदै गएका सम्प्रदायहरु र अनुयायीहरुका बिचमा विकास हुन थालेको प्रतिद्वन्द्वी भावनाले पनि अन्ततोगत्वाः बुद्ध धर्मलाई नै कमजोर बनाएको हुनसक्दछ ।

आचार्य नागर्जुन विश्वविद्यालयका डा. केभीएन राजुका अनुसार इशाको तेश्रो शताब्दीमा अथवा इक्क्षास्ु कालमा बुद्ध धर्म उच्चविन्दुमा पुग्यो । त्यसपछिका छ शताब्दीहरुमा यो अवनतितर्फ लाग्दै अन्तमा वीरशैवमतबाट पराजित भयो । उनले यसको मुख्य कारण ब्राम्हण धर्मको अभियानको नयाँ लहरलाई मानेका छन् ।

वर्तमान समयमा आन्ध्र प्रदेशमा बुद्ध धर्म
भारतका अन्य ठाउँमा जस्तै आन्ध्र प्रदेशमा पनि यहाँका बौद्ध स्मारक क्षेत्रलाई पर्यटन केन्द्रको रुपमा विकास गर्न र विश्वका बौद्ध पर्यटकहरुलाई आन्ध्रमा भित्र्याउनको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गएिका छन् । बेला बखतमा विभिन्न देशका बौद्ध भिक्षुहरु तथा अन्य पर्यटकहरुलाई बोलाएर कार्यक्रमहरु गरिरहन्छन् । यसको असरले त्यहाँका जनतामा पनि बुद्ध धर्मको महत्वबारे सकारात्मक सन्देश जाने विश्वास गरिएको छ ।

Buddha Shrine in Amaravati Capital of Andhra Pradesh

आन्ध्रको बुद्ध धर्मको गौरवमय इतिहासलाई स्मरण गर्दै यहाँको हुसेन सागर, हैदरावादमा सन् १९९२मा एकै ढुंगाबाट विशाल बुद्ध मूर्तिको स्थापना गरिएको थियो । अहिले आन्ध्र प्रदेश टुक्रिएपछि यो अहिले तेलाङगाना प्रदेशमा परेको छ । यसको बारेमा सम्बन्धित प्रान्तको बारेको लेखमा विस्तृत रुपमा चर्चा गरिनेछ । सन् २०१४मा आन्ध्र प्रदेशको पश्चिम गोदावरी जिल्लामा रहेको उन्द्रजवरम्मा बौद्ध केन्द्रको निर्माणको थालनी भएको थियो ।

यहाँ अमरावतीमा अहिले १२५फिट अग्लो ध्यान मुद्रमा बसेको भगवान बुद्धको मूर्ति निर्माण गरिएको छ । यो कार्य सन् २०१५मा सम्पन्न भएको थियो ।
यहाँको अमारावती क्षेत्रमा महायान बुद्ध धर्मको विकास भएको इतिहाससम्झँदै दलाइलामाले यहाँ सन् २००६मा एकलाख भन्दा बढी तीर्थयात्रुहरु सहभागी गराएर कालचक्र पुजा गराएको थियो । यसै सिलसिलामा यहाँ एक कालचक्र स्कुलको पनि स्थापना गरेको थियो ।

संविधान लेखक एवं भारतमा बुद्ध धर्मलाई पुनर्जीवित गर्न नेतृत्व दिने बिआर अम्बेडकरको १२५ फीट अग्लो सालिक विजयवाडामा बन्दैछ जुन अहिलेको सीमाङ्कन अनुसार आन्ध्र प्रदेशबाट तेलाङ्गाना राज्यमा पर्न जान्छ ।

Acharya Nagarjuna University Guntur AP

यहाँको गुन्टुर जिल्लाको नाम्बुरुमा आचार्य नागर्जुन विश्वविद्यालय छ जहाँ महायान बौद्ध अध्ययन केन्द्र समेत खुलेको छ र यहाँ देश विदेशबाट बुद्ध धर्मको अध्ययन गर्न आउँछन् ।
यसरी हेर्दा आन्ध्र प्रदेशमा अहिले फेरि केही मात्रामा बुद्ध धर्मको विकास भएको छ, यहाँ पनि बुद्ध धर्म बाँकी छ जस्तो कार्यक्रमहरु हुने गरेको छ । ती कार्यक्रमहरु बढी जसो बुद्ध धर्म मार्फत आन्ध्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा चिनाउने, बुद्धको नामबाट फाइदा लिने वा पर्यटनको विकास गर्ने उद्देश्यले भएको देखिन्छ ।
तर यथार्थमा आन्ध्र प्रदेशमा जति पनि बुद्ध धर्मको चर्चा हुन्छ, अध्ययन अनुसन्धान हुन्छ, त्यो सबै यहाँको गौरव गर्न लायकको इतिहासको बारेमा मात्र हुन्छ । यहाँको अहिलेको बुद्ध धर्मको बारेमा कोही पनि बोल्न वा लेख्न चाहँदैन ।

उपसंहार
यहाँ साना ठुला बौद्ध संस्थाहरु खोलिएका छन् जसले यहाँ भरखरै पुनर्जीवित भएको बुद्ध धर्ममा ज्ञानको खोजी गर्ने बौद्धहरुलाई समाहित गर्ने कोशिस भइरहेका छन् । थोरै बौद्ध संस्थाहरु, थोरै थेरवादी भिक्षुहरु पनि छन् । समयसमयमा बौद्ध धार्मिक तथा सामाजिक गतिविधिहरु सञ्चालनमा आइरहेका छन् । विशेष गरी विशाखापटनम तथा सकुन्दरावादमा बौद्ध संगठन तथा गतिविधिहरु बढ्दै आएको देखिन्छ ।

यति विशाल पुरातात्विक बौद्ध सभ्यताको इतिहास बोकेको आन्ध्र प्रदेशमा अहिले बौद्धहरुको संख्या नगन्य छ । सन् २००१ म त्यहाँ बौद्धहरुको संख्या ३२ हजार भनिएकोमा अहिले सन् २०११मा ३६ हजार देखाइएको छ ।

Young monks arrive at the 8th Buddhist convention in Tirupati

यसरी हेर्दा यहाँ बुद्ध धर्मको पुनर्जागरण गरेको जस्तो देखाउने केही गतिविधि बाहेक आन्ध्र प्रदेशमा बुद्ध धर्मको भविष्य निराशाजनक छ । अन्तर्राष्ट्रिय जगतमा यहाँ जे जति बुद्ध धर्मको इतिहासको र बौद्ध सम्पदाको चर्चा गरेपनि अहिले यहाँ कोही बुद्धको शिक्षा ग्रहण गर्न चाहँदैनन्, कोही बौद्ध बन्न तयार छैनन् । कुनै कुनै अपवाद बाहेक यहाँ बुद्धको नाम लिने र बुद्ध धर्म मान्ने भनेकै हिजोसम्म हिन्दु भएर पनि हिन्दुहरु द्वारा नै शोषित पीडित तल्लो जातका हिन्दुहरु मात्र हुन् ।

सन् १९५६मा दलितहरुलाई मुक्ति र स्वाभिमानको बाटो भनेर बुद्ध धर्ममा परिवर्तन गरिदिएपछि भारत भर केही न केही हदसम्म दलितहरुले बुद्ध धर्म अपनाएको देखिन्छ । तर पनि केही दलितहरु धर्म परिवर्तन गरेर पनि मुक्ति हुने होइन भनेर निराशामा छन्, कतिले डर र त्रासका कारण परिवर्तन गर्न सकिरहेका छैनन् भने कति धर्म परिवर्तन गरेर पनि स्वतन्त्र बौद्धको रुपमा जीवन बिताउन पाइरहेका छैनन् । उच्च जातका हिन्दुहरु उनीहरुमाथि अझै धर्मको नाममा दमन गर्न खोजिरहन्छन् । त्यसैले उनीहरु निरन्तर हिन्दुहरुको त्रास र अपमान खपिरहनुपरेको देखिन्छ ।

हिन्दुहरु बाहिर बाहिर हिन्दु धर्म र बुद्ध धर्म एकै हो कुनै एकै परिवारको सदस्य हो जस्तो आदर्शका कुरा गरेपनि उनीहरु बौद्धहरु प्रति हदैसम्म असहिष्णु छन् भन्ने उदाहरण आन्ध्र प्रदेशमा देख्न सकिन्छ । उनीहरु बौद्धहरु, नवयान तथा यसका उत्प्रेरक डा. अम्बेडकरलाई शत्रु समान व्यवहार गर्छन् र संगठित रुपमै आतंक सिर्जना गरेर बौद्धहरुलाई निरुत्साहित गर्छन् । हालै मात्र यहाँको कोनासीमा जिल्लालाई डा बिआर अम्बेडकर कोनासीमा जिल्ला नामकरण गरिएकोमा उच्चजातका हिन्दुहरुले हिंसात्मक दंगा सहित विरोध गरेको थियो ।

Violent protests took place in Amalapuram town of Andhra Pradesh on May 24 over the renaming of Konaseema district. Photo: Screengrab.

यो अवस्था अरु प्रान्तमा भन्दा आन्ध्र प्रदेशमा बढी छ कि जस्तो समाचार र लेखहरु पढ्न सकिन्छ । भारत भरी नै हिन्दुधर्मले अछुत भनिएकाहरुले अहिले धर्म परिवर्तन गरी बौद्ध बन्ने प्रचलन शुरु भएको आधा शताब्दी भएको छ । यही सिलसिलामा आन्ध्र प्रदेशमा पनि तिनीहरुले बुद्ध धर्म अँगाल्न थालेका छन् । उनीहरु संगठित रुपमा अगाडि आएका त छन् तर यहाँका परम्परागत उच्च जातका भनिएका हिन्द्ुहरुको कोपभाजन भने कायमै छ । उच्च जातिका हिन्दुहरु बुद्ध धर्मको अस्तीत्व स्वीकादैनन् र बुद्ध धर्म अँगालेकालाई शत्रु सरह व्यवहार गर्छन् । भारतको र विशेष गरी आन्ध्र प्रदेशको बुद्ध धर्मको अवस्थाबाट नेपाल लगायतका बौद्धहरुले पाठ सिक्नु पर्दछ ।

“Buddhism in Andhra Pradesh” Published in Buddhist Monthly “Anandabhoomi” in Nepal on November 2023.

Photographs were taking from various sources from the Internet

#buddhism in #AndhraPradesh #India #Amaravati #art #religion #culture #history #Nepal #razenmanandhar

--

--

Razen Manandhar

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.