तानाशाहले मेटाउन नसकेको क्याम्बोडियामा बुद्ध धर्म

Razen Manandhar
13 min readSep 10, 2022

राजेन मानन्धर
बुद्धको जन्मभूमि भन्दा धेरै टाढा रहेर पनि बुद्धशिक्षाबाट सिंचित केही देशहरु मध्ये क्याम्बोडिया एउटा प्रमुख देश हो । विभिन्न आर्थिक, सामाजिक र राजनीतिक उतारचढावका बाबजुद पनि त्यहाँका जनताले बुद्धधर्मप्रति जुन श्रद्धा र विश्वास देखाइरहेको छ त्यो विश्वकै लागि एउटा उल्लेखनीय उदाहरण हो ।

पहिले हिन्दु धर्म मान्ने भएर पनि बिस्तारै बुद्धधर्मको बोलाबाला बढ्दै गएका केही देशहरु मध्ये एउटा क्याम्बोडियाको नाम आउँछ । असमानता र जातीय विभेदमा आधारित धर्मले राज गरिरहेको ठाउँमा बुद्धधर्मले जरा गाड्न कम्ती गाह्रो भएको थिएन भनेर हामी सहजै अनुमान लगाउन सक्छौं । यद्यपि जनताले चाहेको जस्तो धर्म भएर होला यसले त्यहाँका जनतालाई विस्तारै प्रभाव पार्न सफल भयो । मानिसहरुले बिस्तारै हिन्दु धर्मलाई त्याग्न थाले । एकपल्ट सद्धर्ममा लागिसकेकालाई त्यहाँको कुनै पनि प्रतिकुल अवस्थाले पनि डकमगाउन सकेन । आज विश्वमा क्याम्बोडिया करिब ९७.९ प्रतिशत जनताले बुद्धधर्म मान्ने देश भनेर प्रतिष्ठित छ ।
यस लेखमा क्याम्बोडियामा बुद्धधर्मको प्रचारप्रसार तथा त्यहाँको प्रतिकूल राजनीतिक अवस्थामा पनि कसरी बुद्धधर्मको संरक्षण सम्भव भयो भन्नेबारे संक्षेपमा जानकारी दिने प्रयास गरिन्छ ।

बुद्ध धर्मको प्रारम्भ
भगवान बुद्धले बोधिज्ञान लाभ गरिसक्नुभएपछि आफ्नो खुट्टाले जहाँसम्म जानसक्नुभयो, त्यहाँसम्म गएर धर्मको प्रचार गर्नुभयो । त्यसको करीब दुइ शताब्दी पछि भारतमा एक यस्ता सम्राटले राज गरे जसले बुद्धधर्मको महिमा बुझेर यसलाई ग्रहण मात्र गरेन बरु आफ्नो जीवन नै दुर दराजसम्म बुद्धधर्मको प्रचार गरेर बिताए । यसै अन्तर्गत उनले इशापूर्व २७४ तिर विभिन्न ठाउँमा आफ्ना बौद्धविद्वानहरुलाई प्रतिनिधिमण्डल बनाएर पठाए र त्यहाँ बुद्धधर्मको बीजारोपण गरे भन्ने विभिन्न ग्रन्थहरुमा उल्लेख छ । त्यस मध्ये सोण र उत्तरलाई सुवर्णभूमि भन्ने ठाउँमा पठाएको भन्ने उल्लेख छ, जुन अहिले म्यानमारको मोन अथवा खमेर वा क्याम्बोडियनहरुको बसोबास क्षेत्र हुनसक्दछ । यो बेलामा यस भूमिमा रोपिएको बुद्धशिक्षाको बीज कति कहाँसम्म फैलियो भन्ने त इतिहासमा स्पष्ट छैन ।

हुन त क्याम्बोडियामा हिन्दुधर्मले पहिले प्रवेश पायो कि बुद्ध धर्मले भन्ने कुरा विवादकै विषय हो । एकातिर सम्राट अशोकको प्रचिनिधिमण्डल क्याम्बोडिया पुगेको अनुमान वा विश्वास छ भने अर्कोतिर त्यहाँ इस्वी ५०० तिर वृहत् भारतको साम्राज्य विसतारको क्रममा तथा भारतीय व्यापारीहरु त्यहाँ पुगेर फैलिएको भनिन्छ ।

इशाको ५००सम्ममा थाइल्याण्ड, क्याम्बोडिया र भियतनाममा फुनान भन्ने राज्य वा संघीय राज्य बनेको थियो । त्यसबेला त्यहाँका राजाहरु विष्णु र शिवा मान्थे त्यसकारण त्यहाँका समाजमा हिन्दुहरुलाई राजकीय संरक्षण प्राप्त थियो । तर पनि त्यहाँ लामो समयसम्म हिन्दु धर्म र बुद्ध धर्म दुबै प्रचलनमा थियो भन्ने पनि चीनियाँ दस्तावेजहरुले देखाउँछ । फूनान क्षेत्रमा यस्ता बौद्ध विद्वानहरु बस्थे कि तिनीहरु मध्ये मान्द्रसेना तथा संघवर नाम गरेका भिक्षुहरुले ५औ अथवा ६औं शताब्दीमा चीनमै बसेर महाप्रज्ञापारमिता तथा मञ्जुश्रीपरिवर्त सूत्र जस्ता महायानी ग्रन्थहरुको अनुवाद समेत नीनियाँ भाषामा गरेका थिए । चीनियाँ यात्री इत्सिङले इस्वी ४५० देखि कम्तीमा ७औं शताब्दीको अन्तसम्म क्याम्बोडियामा बुद्धधर्मले निकै ठुलो प्रख्याती पाएको बताएका थिए । यसरी हेर्दा क्याम्बोडियामा लामो समयसम्म हिन्दुधर्म र बुद्ध धर्म दुबै सहअस्तित्वमा थिए भन्न सकिन्छ ।

क्याम्बोडियामा पाइएकाे ७अौं शताब्दीकाे लोकेश्वर

हामीलाई यतिसम्म थाहा छ कि क्याम्बोडियामा बुद्ध धर्मले ब्यापकता पाउनु अघि त्यहाँ आदिबासीहरुको धर्म र वैदिक धर्म प्रचलनमा थियो । राजाहरु पनि आफुलाई देउता भनेर वा दैवी शक्तिको आधारमा शासन गर्ने गर्थे । त्यहाँ वर्णाश्रम थियो भन्ने बितिक्कै भारत तथा नेपालमा जस्तो उँचनीच, छुवाछुत र भेदभाव थियो भन्ने बुझिन्छ । त्यहाँको समाज कस्तो थियो होला भनेर हामी भारत तथा नेपालकै अवस्थासँग परिचितलाई यसका विभिन्न पक्षबारे अनुमान गर्न कठिन छैन । बिस्तारै बुद्धधर्मले प्रवेश पायो, मानिसहरुले हिन्दु धर्म र बुद्ध धर्मको बिचको अन्तर बुझे अनि आफुलाई जुन धर्म सहज लाग्यो त्यही अपनायो ।

हिन्दु धर्मबाट बुद्ध धर्ममा परिवर्तन
इस्वीको ५०० देखि ७००को बिचदेखि क्याम्बोडियामा चेल्ना वंशको उदय भयो । यसबेला बुद्ध धर्मले अलि कम प्रश्रय पाएको देखिन्छ । यसबेला यहाँ संस्कृत भाषामा आधारित बुद्धधर्म अन्तर्गतको सर्वास्तिवाद यसै समयमा त्यहाँ अभ्यासमा रहेको देखिन्छ । यहाँ अवलोकितेश्वरको उपासना गर्नेहरुको पनि अवस्था राम्रै थियो । यहाँका महायानसँग सम्बन्धित थुप्रै मूर्तिहरु यसैबेलाका अर्थात् ६०० देखि ८०० इस्वीको समयका पाइएका छन् ।

यस अघि एक लामो समयावधिका लागि त्यहाँको सत्ताले दुबै धर्मलाई संरक्षण भने गरिरहेको थियो । शैलेन्द्र वंशका राजा आफुलाई हिन्दु देवताको अवतार भनेर घोषणा गर्ने गर्थे, तर यस्तो अवस्थामा एकजना हिन्दु राजालाई हिन्दु धर्म त्यागेर बुद्धधर्म र संघको शरण जानु भनेको सजिलो काम थिएन । एउटा धर्मबाट अर्को धर्ममा प्रवेश रातारात भएको थिएन । केही सय वर्ष लाग्यो त्यहाँका वैष्णव तथा शैवहरुले विस्तारै बुद्ध तथा महायान धर्मले देखाएको जस्तो अवलोकितेश्वरको उपासना गर्न वा त्यस्तो किसिमको जीवन शैलीमा बाँच्न ।

क्याम्बोडियमा भेटिने केही हिन्दु देवताका मूर्तीहरु

इश्वीको ९औं देखि १५औं शताब्दीको बिचको समयमा आङ्कोर क्याम्बोडियाको राजधानी बन्यो । यो धार्मिक साँस्कृतिक एवं आर्थिक दृष्टिकोणले पनि सम्पन्न समय थियो । यसलाई क्याम्बोडियाको इतिहासमा आङ्कोर साम्राज्य भनिन्छ ।
यसै साम्राज्यका जयवर्मन द्वीतियले आफुलाई शिवको अवतार र चक्रवर्ती भनी घोषणा गरेका थिए । यसै बेलादेखि आङकोर युगको शुरुवात भएको मानिन्छ । तर पनि उनी महायान बुद्धधर्मको संरक्षक पनि थिए । यिनको पालामा बुद्धधर्म र शैवको तन्त्रिक विद्याको बिचमा एक किसिमको सहकार्य जस्तै थियो । त्यस्तै राजा यशोवर्मनले पनि इस्वीको ८८७ र ८८९को बिचमा थुप्रै बौद्ध मन्दिरहरुको निर्माण गराए । राजा राजेन्द्र वर्मन द्वीतिय शैव थिए तर उनले एक बौद्धलाई प्रधानमन्त्री नियुक्त गरेर देशमा बुद्धधर्मको संरक्षणलाई नियमित गराए ।

क्याम्बोडियामा दुबै धर्मको उपस्थिति र प्रभाव भइरहेको अवस्थामा बुद्ध धर्मलाई राज्य धर्मको रुपमा स्थापित गर्नमा राजा जयवर्मन सातौं (११८१–१२१५ इस्वी) को प्रमूख भूमिका थियो । उनी महायानी बौद्ध थिए र आफूलाई बोधिसत्व तथा धर्मराजाको रुपमा प्रस्तुत गर्ने गर्दथे । यिनी आफै त महायानी थिए तर पनि आफ्नो देशमा थेरवाद र संघ प्रणालीको विकास गराउनमा ठुलो भूमिका खेले । यसै बेला यिनले आफ्ना छोरा तमलिन्दलाई श्रीलंकामा पालि भाषाको अध्ययन गर्न पठाए । उनले दश वर्ष पछि भिक्षु बनेर क्याम्बोडिया फर्केपछि यहाँ थेरवाद अनुसारको थिति बसाले । १२९७ तिर यहाँ पालि भाषा तथा थेरवाद भिक्षुहरुको बाक्लो उपस्थिति देखिसकेको थियो । यसप्रकार तेह्रौं शताब्दीमा श्रीलंकामा तामिलहरुले र अन्य देशहरुको मुस्लिमहरुले बुद्ध धर्ममाथि आक्रमण गरिरहँदा क्याम्बोडियामा भने थेरवाद बुद्धधर्मले जरा गाड्दै लान सफल भयो ।

संसारमा सबैभन्दा ठुलो धार्मिक स्मारक मानिएको आङकोर वाटको निर्माण यसै बेला अर्थात् १२औ शताब्दी तिर भयो । वैष्णवबाट बौद्ध तर्फ समाज परिवर्तन भइरहेको अवस्थामा करिब ३७ वर्ष लगाएर बनाइएको यस मन्दिरको धार्मिक प्रयोजनको बारेमा विभिन्न तर्कहरु पाइन्छन् । कोही यसलाई हिन्दु भन्छन् त कोही बौद्ध । अझ हिन्दु भनेर निर्माण शुरु गरेको यस मन्दिर पछि निर्माताहरुले नै बौद्ध रुप दिएको होकि भनेर अनुमान गरिन्छ । यसलाई क्याम्बोडियालाई बौद्ध देशको रुपमा रुपान्तरण गरिनुको प्रतिकको रुपमा मानिन्छ । अहिले यसलाई सामान्य ढंगबाट हिन्दु–बौद्ध मन्दिर भनेर चिनाइन्छ ।

थेरवादको विकास
१४औ शताब्दीपछि खमेर साम्राज्यको पतन भयो । यसको कारण पनि समाज वैष्णव वा शैवबाट थेरवाद बुद्धधर्ममा प्रवेश गरेपछि समाजमा समानता आएको र यसले राजनीतिक चेतना पनि बढाएकोले हो भनेर भनिन्छ । त्यसपछिको समयमा क्याम्बोडियाका जनता थेरवादमा रुपमान्तरण भयो । यो स्वाभाविक, वैज्ञानिक र समावेशी पनि भएकोले यसलाई शिक्षित, बौद्धिक तथा गाउँले जनताले सहज रुपमा स्वीकार्यो ।

खमेर युगको अन्त्यपछि क्याम्बोडियामा मात्र हैन समस्त दक्षिण–पूर्वी एशियामा नै थेरवादको व्यापक प्रचारप्रसार भयो । पुरोहितवादमा आधारित समाजको अन्त्य भएर बिस्तारै समतामूलक समाजको विकास भयो जुन भगवान बुद्धको देशनामा आधारित थियो । त्यसका साथै त्यहाँका विहारहरुलाई पनि भिक्षु अनुशासन केन्द्रमा मात्र सीमित नगरी शिक्षा, सामाजिक सेवा, साँस्कृतिक केन्द्रको रुपमा पनि विकास गरिए । १९औ शताब्दीसम्म क्याम्बोडिया लगायतका दक्षिणपूर्वी एशियाली देशहरुमा शिक्षाको विकास भएको तथ्यांकलाई मनन गरेर हेर्दा यसको पछाडि त्यहाँ थेरवाद बुद्धधर्मको विकास भएको दृष्यलाई देख्न सकिन्छ । यहाँ त बुद्धधर्म यहाँको खमेर भाषा र संस्कृतिको प्रचारकको भूमिकामा पनि देखिन्छ । एक प्रकारले हेर्दा क्याम्बोडियामा थेरवादको प्रचारप्रसारले त्यहाँको राजालाई देवता मान्ने अनि हिन्दुधर्मको प्रभुत्वलाई बिस्तारै क्षीण बनाउँदै लग्यो ।

मध्य युग
मध्य युगमा क्याम्बोडियामा बुद्धधर्मको आफ्नै किसिमले विकास हुँदै गयो । एकातिर यसले समाजलाई उन्नत, विकसित तथा आधुनिक बनाउँदै लग्यो भने अर्कोतिर यसैमा विस्तारै अन्धविश्वास तथा तन्त्र जस्ता तत्वहरुले पनि जरा गाड्न थाल्यो । पुरानो वैदिक धर्मको छाप समाजमा बाँकी नै रहेकोले होला, यसैबेला त्यहाँ चारवटा टाउको भएको (मूलतः चार दिशामा हेरिरहेने बुद्ध भन्ने अर्थ बोकेको) बुद्धको पूजा व्यापक हुन थाल्यो अनि पुरानो वैदिक धर्मका अवशेष स्वरुप राजालाई मैत्रेय बुद्धको रुपमा मान्ने जस्ता चलन देखा पर्न थाले । अब भने यहाँको परम्परा तान्त्रिक वा गुह्य भइकन यो धर्म नै तान्त्रिक थेरवाद जस्तो कहलिन थाल्यो ।

१५औं तथा १६औं शताब्दीमा क्याम्बोडिया आफ्नै कारणले राजनीतिक रुपमा अस्थिर हुन पुग्यो । स्याम देश वा अहिलेको थाइल्याण्डले धर्मरक्षाकै लागि भनेर भएपनि पटक पटक आक्रमण गरिरहँदा यहाँको सामाजिक अवस्था अस्थिर बन्यो । १६औ शताब्दीमा राजा आङचान (ई १५१६–१५६६) तथा राजा सथा (ई१५७६–१५४९) यस्ता केही राजाहरु थिए जसले बुद्धधर्मको विकासको लागि थप योगदान गरे ।

उपनिवेशकालमा क्याम्बोडिया
यसैबेलादेखि क्याम्बोडिया यूरोपेलीहरुको आँखामा पर्यो । विभिन्न मिसनरीहरुले यहाँ क्रिश्चियन धर्म फैलाउने निहुँले प्रवेश गर्न खोजिरहे । तर यहाँका थेरवाद बौद्धहरुको बलियो संगठन तथा जनमानसमा पनि बुद्धधर्मप्रतिको श्रद्धा वा प्रेमले गर्दा बाहिरी प्रभावले खासै बिगार्न सकिरहेको थिएन ।

यद्यपि शान्तप्रिय र धर्ममा निष्ठा भएका खमेरहरुको शान्ति थाइ बौद्धहरुको नियतको कारणले बेलाबखतमा खलबलिरह्यो । १९औ शताब्दीसम्म पनि थाइल्याण्डले यहाँको धार्मिक वातावरण धमिल्याउन कोशिस गरिरह्यो । यस्तैमा थाइ सरकारको सहयोगमा त्यहाँ धर्मयुक्तिक निकायको स्थापना भयो । यसलाई यहाँको आफ्नो महानिकायले प्रतिद्वन्द्वीको व्यवहार देखायो । उनीहरुले धर्मयुक्तिकलाई थाई सरकारप्रति समर्पित रहेको आरोप समेत लगाए ।

यसप्रकार १९औ शताब्दीमा क्याम्बोडिया प्रत्यक्ष अप्रत्यक्ष रुपमा एकातिर थाइल्याण्डबाट र अर्कोतिर भियतनामबाट निर्देशित गरिएको राज्य जस्तो बनिरहनुपर्यो । राजा नरोद्धमले यस्तो अवस्थामा फ्रान्सको संरक्षण खोज्यो । अन्ततः क्याम्बोडिया १८८६मा फ्रेन्च संरक्षित क्षेत्रको रुपमा स्थापित भयो । त्यहाँ राजतन्त्र त रह्यो तर शक्ति भने त्यहाँको फ्रेन्च रेसिडेन्ट जनरलमा गयो । सबै सरकार सञ्चालन सम्बन्धी अधिकार फ्रेन्चहरुमा गयो । यसैबेला फ्रेन्चहरुका विरुद्ध क्रान्तिका केही प्रयास त भए तर सफल हुन सकेन ।

अरु जे जस्तो भएपनि धार्मिक दृष्टिकोणले हेर्दा उपनिवेश कालमा बुद्धधर्मले केही संरक्षण पाएको थियो । भिक्षुहरुको सामान्य तथा बौद्ध शिक्षाको लागि केही व्यवस्था भयोे । १९१४मा पालि हाइस्कुल, चार वर्षे डिप्लोमा प्रोग्राम खुल्यो अनि बौद्ध विश्वविद्यालय पनि सञ्चालनमा आयो । त्यसैले होला त्यहाँ फ्रेन्च शासनका विरुद्ध राष्ट्रवादी आन्दोलनहरु खासै उठेन ।
दोश्रो विश्वयुद्ध ताका क्याम्बोडिया जापानको नियन्त्रणमा गयो ।

खमेररुज कालमा बुद्ध धर्ममाथि अत्याचार
दोश्रो विश्वयुद्ध पछि विश्व नै दुइभागमा विभक्त जस्तै थियो । शीतयुद्ध चर्किरहेको थियो र चीनमा कम्युनिष्ट शासन चलिरहेको थियो । यस्तो राजनीतिक परिपस्थितिले गृहयुद्ध मार्फत सन् १९७५देखि ७९सम्म कम्युनिष्ट पार्टी अफ कम्पुचिया (खमेररुज) नामक कम्युनष्टि पार्टीको हातमा क्याम्बोडियाको सत्ता पुग्यो । खमेररुजका सैन्य नेता सलोथ सोर अथवा पोलपोट देशको प्रधानमन्त्री बने । आफुले चाहेको जस्तो पक्का कम्युनिष्ट राज्य चलाउने सुरमा उनको योजनाले मात्र चार वर्षमा क्याम्बोडिया कम्युनिष्ट इतिहासमै सबैभन्दा क्रुर र अतिवादी देश बन्यो जहाँ २० लाख भन्दा बढी मानिस (जुन क्याम्बोडियाको कुल जनसंख्याको एक चौथाइ थियो) मारिए र कयौं अरुको पनि नाश भयो । नयाँ प्रणाली र शुद्ध समाज बनाउने धुनमा उनले आफुले मन नपराएका सबै सबैको अत्यन्त दानवी तरिकाले आम नरसंहार गरे ।

यातना दिएका मारिएका क्याम्बोडियाली जनताकाे खप्परहरु

यो पार्टीको विधानमा गैरधार्मिक वा नास्तिक राज्य बनाउने भन्ने थियो । यसले धर्म मान्ने वा कुनै पनि धर्म नमान्ने स्वतन्त्रता त दिएको भन्ने थियो तर यससँगै कुनै प्रतिक्रियावादी धर्मलाई छुट नदिने भन्ने पनि थियो । उनीहरुको नजरमा बुद्ध धर्म एक प्रतिक्रियावादी धर्म थियो । त्यहाँ धार्मिक क्रियाकलाप त गर्न पाइन्न थियो तर यस पार्टीको थेरवाद बुद्धधर्मको सम्बन्ध भने अप्ठेरो थियो । किनभने यसका प्रमुख व्यक्तिहरु नै पहिलेका भिक्षुहरु थिए अनि तल्ला कार्यकर्ता पनि बौद्ध अनुयायी थिए ।
अन्य व्यवस्था, संस्कृति र परम्परा जस्तै क्याम्बोडियाको १५०० वर्ष पुरानो बुद्ध धर्म पनि खमेररुजको निशानामा पर्यो ।

कम्तिमा पनि आधा शताब्दीदेखि नियमित हुन थालेको क्याम्बोडियाको संघ मन्दिर विहारहरुमा बस्दै आइरहेको थियो । दुःख नै संसार हो भन्ने बौद्धहरुले पोलपोटको शासनको चार वर्षमा यति दुःख भोग्नु पर्यो जुन इतिहासको कुनै पनि कालखण्डमा संसारको कुनै देशमा पनि भोग्न परेन होला ।

प्रधानमन्त्री पोलपोट (जो त आफै बाल्यकालमा १८ महिना श्रामणेर बनेका थिए)ले त क्याम्बोडियन समाजबाट बुद्ध धर्मलाई नीति नै बनाएर मेटाउन चाहेको थियो । यसैको लागि खमेररुजले बुद्धधर्मलाई प्रतिक्रियावादी धर्मको सूचिमा राखेको थियो र विधानमा भएको धर्महरुलाई दिइने अधिकारबाट पनि बञ्चित गरेर राखेको थियो ।
राज्यले बौद्धजनमाथि अत्याचार गरेको जस्तो नगरेपनि धेरै मानिसहरुलाई तिनीहरुको घरबाट जबरजस्ती हटाएको थियो । बौद्ध भिक्षुहरुलाई त अझ असामान्य व्यवहार थियो — धेरै भन्दा धेरै धार्मिक नेताहरु मारिए भने सामान्य भिक्षुहरुलाई विकट गाउँको विहारमा पठाइन्थ्यो जहाँ उनीहरुले शारीरिक श्रम गर्नुपथ्र्यो ।

खमेररुजले त भिक्षुहरुलाई सामाजिक परजीवी भन्थ्यो । सत्तामा आएपछि त्यहाँबा कम्युनिष्ट शासकहरुले भिक्षुहरुलाई गाउँमा सहकारीमा र सिँचाइमा श्रमदान गर्न पठाएको थियो । शहरी र ग्रामिण भिक्षुहरुलाई फरक फरक व्यवहार थियो । गाउँले विहारबाट आएकालाई नयाँ भिक्षु भनिन्थ्यो र गाउँका श्रमिक पृष्ठभूमि भएका आधारभूत भिक्षुहरुसँग बस्न पठाइन्थ्यो ।

यस अवधिमा कति जना भिक्षुहरु मारिए होलान् त भन्ने प्रश्नको जवाफ दिन सजिलो छैन । एक अध्ययन अनुसार १९६०को अन्त्यसम्म त्यहाँ ६५ हजार भिक्षुहरु थिए । खमेररुजको चार वर्षको शासनमा २५ हजार भिक्षुहरुलाई त मृत्युदण्ड नै दिइयो भनिन्छ । त्यस मध्ये प्रमुख भिक्षु हुवोट ताट पनि एक थिए । बाँकी भिक्षुहरुलाई जबरजस्ती, गृहस्थ बनाउँथ्यो, अपरान्ह खाना खुवाउँथ्यो, रक्सी पिउन लगाउँथ्यो । ती भिक्षुहरु मध्ये धेरै त मारिए, जो चीवर त्याग्न तयार भए, जो सत्ताको सेवामा लागे वा जसले श्रमिक भएर बाँच्न चाहे उनीहरु मात्र बचे । उनीहरु पनि धेरै जसो विदेशमा शरणार्थी भएर बसिरहेका थिए ।

यसरी हेर्दा धेरै भन्दा धेरै भिक्षुहरु र श्रामणेरहरु मारिए वा संघबाट छोडेर भागे वा शरर्णी बन्न जान बाध्य भए । सबै जनतालाई समान सुख दिन्छु भन्ने कम्युनिष्टहरुले बौद्धहरुलाई क्याम्बोडियामा जति अन्त कतै यातना दिएन होला भन्न सकिन्छ । उनीहरुको शासन सकिएपछि १९७९मा पुग्दा त्यहाँ १०० जना भन्दा कम भिक्षुहरु मात्र बाँकी थिए ।

त्यस्तै किसिमले यही बेलामा क्याम्बोडियाका अनगिन्ती प्राचिन बौद्ध विहारहरु र मूर्ति तथा अन्य साँस्कृतिक महत्वका तथा धार्मिक आस्थाका केन्द्रहरु भत्काइएका थिए । त्यहाँ पहिले ४ हजार बौद्ध मन्दिर वा विहारहरु थिए, ती मध्ये धेरै त ५०० देखि एक हजार वर्ष पुराना पनि थिए । तर १९७० देखि ७५को बिचमा ती विहारहरु मध्ये एक तिहाइ विहारहरु नष्ट गरिए । अन्गिन्ती बौद्ध धार्मिक ग्रन्थहरु जलाइए । एक जनाले भिक्षुले सुनाए अनुसार उसले सेवा गर्ने विहारलाई खाद्य गोदाम बनाइएको थियो र त्यहाँ सुँगुर पालिन्थ्यो । त्यस्तै बुद्धका विशाल मूर्तिहरुको निधारमा गोली हनिन्थ्यो ।

भनिन्छ, माओसेतुङको चीन वा तिब्बतमा समेत आध्यात्मिक परम्पराका विरुद्ध भौतिकवादी विचारधार यति क्रुर तरिकाले लादिएको थिएन । खमेररुजको सवालमा त माक्र्सको धर्मले वर्ग सम्बन्ध लुकाउँछ भन्ने धारणालाई समेत पछाडि पारिदियो । यसप्रकार खमेररुज सत्ताले अतीतमा कुनै पनि जरा नभएको नयाँ प्रणाली बनाउनको लागि खमेरहरुको पहिचानको आधारभूत श्रोतको रुपमा यति लामो समयदेखि रहिरहेको संस्था बुद्धधर्मलाई निमिट्यान्न नै पार्न खोजेको देखिन्छ । बुद्धधर्मप्रतिको खमेररुजको नीति भनेको भिक्षुहरुलाई चीवर त्याग्न लगाउने, विहारहरु भत्काउने, सहयोग नगर्ने भिक्षुहरुलाई मृत्युदण्ड दिने नै थियो । यसले अन्ततोगत्वाः क्याम्बोडियामा बौद्ध संस्थाहरुलाई कमजोर बनायो ।

अचम्मको कुरा यहाँ पनि छ कि कम्युनिष्ट कम्युनिष्टहरु नै भएपनि अन्तमा आएर क्याम्बोडिया र भियतनामी सत्ताको बिचमा कुरा मिलेन र एक अर्कालाई सत्रु सरह व्यवहार गर्न पुग्यो । र पछि कम्युनिष्टहरुको भियतनामले आक्रमण गरेर नै खमेररुजको सत्ता ढल्न पुग्यो ।

यसरी लाखौं जनतालाई मारेर बनाएको क्याम्बोडियाको खमेररुज सरकार पनि धेरै टिकेन । विभिन्न परिस्थितिमा भियतनामले क्याम्बोडियामा हमला गरेर हेङ समरिनको नेतृत्वमा नयाँ सरकार बनाइदियो । विभिन्न चरणहरु पार गर्दै सत्ताको भरमा लाखौं मानिसको ज्यान लिने पोलपोटको पनि अन्त्य दुखद भयो । पछिल्लो सरकारले नै पोलपोटलाई नजरबन्दमा राख्यो जहाँ उसको मृत्यु भयो (अथवा उनले आत्महत्या गरे) । अनि बिडम्बनाको कुरा बाल्यकालमा श्रामणेर बनेर पनि राजनीतिक नेतृत्वमा पुगेर बुद्धधर्मको नाश गर्न कुनै कसर बाँकी नराखेका पोलपोटको लासलाई उनकी श्रीमतिले बौद्ध परम्पराअनुसार नै दाहसंस्कार गर्नुपर्यो ।

भारतदेखि अफगानस्तानसम्मको इतिहास हेर्दा विभिन्न परिस्थितिहरुमा त्यहाँको सत्ताले बुद्ध धर्मलाई अत्याचार गरेर अन्त्य गरिदिएको देखिन्छ । तर पनि क्याम्बोडियामा जस्तो हाकाहाकी बौद्ध भिक्षुहरुलाई मृत्युदण्ड नै दिएर, विहारहरु भत्काएर बुद्ध धर्मको नाश गरेको भने निकै थोरै देशहरुमा मात्र भेटिन्छ ।
तर पनि गर्वको कुरा यो छ कि त्यहाँ बुद्धधर्मको बीजारोपण यति राम्रो ढंगले भएको रहेछ कि यस्ता कैयन अत्याचारहरुको सिलसिलाका बाबजुद पनि क्याम्बोडियन जनतामा बुद्ध धर्मप्रतिको श्रद्धा डगमगाएन । १९७५को अन्तसम्म पनि खमेर जनजीवनको महत्वपूण आधार भनेको बुद्ध धर्म नै रहिरह्यो । अनि खमेररुजको सत्ता समाप्तिसँगै त्यहाँको वातावरण सामान्य बन्दै गएपछि जनता स्वतःस्फूर्त भएर नै बुद्ध धर्मको संरक्षणमा सक्रिय हुन थाले ।

युद्ध पछिको क्याम्बोडियामा बुद्धधर्म
खमेररुजको कालपछि पनि क्याम्बोडियामा बुद्धधर्ममाथिको नियन्त्रण कम हुन थाल्यो । १९७९ देखि धार्मिक वातावरण अलि खुकुलो भयो । यसपछि खमेररुज कालमा भियतनाम गएर बसेका भिक्षुहरुलाई फिर्ता बोलाइयो । १९८१मा तेपभोङलाई संघराजाको पद दिइयो । धर्मयुक्तिक र महानिकायको भेद हट्यो । नयाँ भिक्षुहरुको प्रवज्यालाई सरकारले प्रायोजन गर्न थाल्यो ।

भियतनामी सेना फर्के पछि त्यहाँ क्याम्बोडियन जनता पार्टी गठन भयो । यसले १९९१मा नीतिपत्र मार्फत बौद्ध संघसँग समन्वय गरेर बुद्ध धर्मलाई क्याम्बोडियाको राज्य धर्मको रुपमा घोषणा गर्यो । १९९१मै निर्वासनमा रहेका राजा सिँहानुक फर्केर दुइ निकायलाई दुबै जना संघराजा प्रतिष्ठापन गरेको छ । देशमा निर्वाचित सरकार छ, विकासका नयाँ नयाँ कार्यक्रमहरु ल्याइँदैछ ।

तर पनि यति छोटो समयमा १५सय वर्षको सभ्यतालाई तहसनहस गरेको देशमा राज्य अथवा जनताले नै कोशिस गरेपनि क्याम्बोडियामा बुद्धधर्मलाई पहिले जस्तो स्थापित गर्न र जनतालाई पनि सहज रुपले जीवन गुजारा सकिरहेको छैन । एकातिर त्यहाँ खमेररुज कालीन शासकहरुलाई सजाय भैसकेको छैन, भने अर्कोतिर विनाश भएको अर्थतन्त्रलाई स्वाभाविक विकासको बाटोमा डोर्याउन पनि सजिलो छैन । यस्तो अवस्थामा आम जनतामा धर्म र संस्कृति भन्दा पनि जीवनयापन र स्वाभिमानको जीवन फिर्ता पाउनु भनेको महत्वपूर्ण कुरा हो । यद्यपि, क्याम्बोडियाको जनतामा बुद्ध धर्मप्रति श्रद्धा छ, ती शासकहरुले गरेको अक्षम्य अपराधका बारेमा कतै क्षोभ छ, कतै त्यो उनीहरुको कर्म हो र भोग्नु पर्छ भन्ने धारणा छ भने कतै करुणा जागेर उनीहरुले माफी पाउन भन्ने पनि छ । यस्तो अवस्थामा त्यहाँ अहिले बुद्धधर्म नयाँ मोडबाट फेरि शुरु हुँदैछ भन्न सकिन्छ ।

अहिले त्यहाँ बुद्धको शिक्षाले दुःख, पीर र असन्तुष्टीबाट छुटकारा पाउने प्रयासमा हुन्छन् । दुःख भनेको जीवनको अभिन्न अङ्ग हो र यसबाट पार पाउन धर्मको बाटोमा लाग्नु पर्छ भन्ने धारणा अझै जीवन्त छ । धेरैजसो पुरुषहरु केही समयाका लागि भएपनि प्रवजित हुन्छन् । महिलाहरुमा उमेर गएका विधुवाहरु अनागारिका वा मेइची बनेर विहारमा सेवा गर्न जान्छन् । उनीहरुका लागि न्याय र स्वतन्त्रताको लागि लडिरहनु भन्दा पनि मानवताको संरक्षण ठुलो कुरा हो ।

अर्कोतिर हेर्ने हो भने हजारौं वर्षसम्म थेरवाद बुद्धधर्म अवलम्बन गरेर पनि क्याम्बोडियाली जनतामा भूत प्रेत र भाग्य, दोष वा भविष्य हेर्ने इत्यादिले प्रभाव पार्न छोडेको छैन । अझ ग्रह दशा, ब्यापार, विवाह र बिरामी परेपनि भिक्षुहरुलाई मन्साउनको लागि गुहार्ने पनि चलन छ । अझ पाप मोचनको लागि तथा विशेष लाभको लागि पालि सुत्र पढ्नेहरु समेत पाइन्छ । यस बाहेक केही युवा भिक्षुहरु राजनीति रुपमा सक्रिय छन् र देशको राजनीतिक व्यवस्थामा बोल्ने तथा सरकारको नीति वा कार्यक्रमको खुलेर विरोध गर्छन् ।

अहिलेको क्याम्बोडियाली बौद्ध समाज दुइ निकायमा विभक्त छ । एउटा पहिलेदेखि चलिआएको महानिकाय अनि पछि थाइ बौद्धहरुको सहयोगले बनेको धम्मयुक्तिक निकाय । महा निकाय ठुलो छ र समाजमाय यो प्रभावशाली पनि छ । धम्मयुक्तिक निकायलाई पहिले राजसी संरक्षण पाएको भएपनि यसको प्रभाव नगण्य छ । समग्रमा दुबैको बिचमा भाइचाराको वातावरण भने छ ।

अर्को तर्फ थेरवाद नै भएपनि त्यहाँ परम्परावादी र आधुनिकवादी भनेर छुट्याउने ठाउँ देखिन्छ । परम्परावादीहरु पहिलेदेखि जे गर्दै आएको हो त्यसमा सीमित हुन चाहन्छन् भने आधुनिक शिक्षा, आधुनिक जनजीवन आदिको कारणले आधुनिकवादीहरु बुद्धधर्ममा अनेक प्रश्न प्रतिप्रश्न गरेर बैचारिक मन्थनमा सहभागी हुन चाहन्छन् । परम्परावादीहरु अध्ययन र विश्लेषणमा भन्दा पालि त्रिपिटकको अध्ययन र कण्ठ गर्नमा नै बढी केन्द्रित हुन चाहन्छन् । उनीहरु त विपस्सनालाई समेत बाहिरी प्रभावको रुपमा मान्ने खालका छन् ।

आर्थिक, सामाजिक तथा राजनीतिक कारणले आज क्याम्बोडियाली जनता विश्वका विभिन्न देशमा छरिएर बसेका छन् । जहाँ बसेको भएपनि अधिकांशले बुद्ध धर्म छोडेको छैन । बरु आफ्नो देशमा बुद्ध धर्मको विकासको लागि मनग्गे सहयोग जुटाइ रहका हुन्छन् । सन् २०१८ फेब्रुवरी मा लुम्बिनीमा क्याम्बोडियन मन्दिरको उद्घाटन भयो । यसमा पनि विदेशमा बसेका क्याम्बोडियन जनताको ठुलो सहयोग थियो । उनीहरु पनि यस कार्यमा सहभागी हुन विभिन्न देशबाट आए ।

अन्तमा, क्याम्बोडिया विश्वकै यस्ता थोरै देशहरु मध्ये एउटा हो जहाँ बुद्धधर्म निकै ठुलो उचाइसम्म पुग्यो, राजनीतिक व्यवस्थाले तहसनहस गर्न खोज्यो तर जनतामा बुद्धधर्म प्रति भएको असिम श्रद्धाले आज पनि एक बौद्ध देश भनेर सगौरव विश्वसामु आफुलाई प्रस्तुत गरिरहेको छ । यसले हामीलाई यो सिकाउँछ कि राजनीतिक अवरोधले गर्दा बुद्ध धर्ममा कहिलोकाहीँ मार आए पनि बौद्धहरुमा अधिष्ठान छ भने त्यस्ता मार क्षणिक मात्र हुन्छन् र मानिसहरुलाई सद्धर्ममा लाग्न कसैले रोक्न सक्दैन ।

From Buddhist Monthly Anandhabhoomi, 2022 09.

--

--

Razen Manandhar

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.