बौद्धहरु किन धेरै सुखी र खुशी हुन्छन् ?

Razen Manandhar
8 min readMar 12, 2024

राजेन मानन्धर

बुद्ध नेपालमा जन्मेका हुन् सबै भन्छन् तर निकै थोरैले मात्र म बौद्ध हुँ भन्छन् । हालैको जनगणनामा बौद्धहरुको जनसंख्या ८.२ प्रतशित मात्र देखाएकोले पनि यो प्रष्ट हुन्छ । बाँकी रहेका मध्ये धेरैले म बुद्ध धर्मलाई सम्मान गर्छु वा म हिन्दु र बुद्ध दुबै मान्छु भनेर सतही कुरा गर्छन् । ती मध्ये धेरैलाई बुद्ध धर्म कस्तो हो भनेर थाहा हुँदैन । अहिले कसलाई बौद्ध भन्ने अनि एक जना बौद्धले के के कुरा जानेको सिकेको हुन्छ वा उ कसरी बौद्ध बन्छ भन्ने कुरा विश्वब्यापी नै छलफलको विषय बनेको छ ।

बुद्ध धर्म जन्म वा नश्लको आधारमा मानिने धर्म होइन । जो कोहीले पनि म बुद्धको शिक्षाबाट प्रभावित भएर आफुखुशी बुद्धको शरणमा जान्छु भनेर आफुलाई बौद्ध मान्न सक्छ । यति हुँदा हुँदै पनि बुद्ध धर्ममा केही आधारभूत कुरा वा सिद्धान्त वा मार्गदर्शनहरु छन् जसलाई अवलम्बन गरेर बौद्ध हुन सकिन्छ । अर्को शब्दमा भन्दा बौद्धहरु यस्तो जीवनशैलीमा बाँचेको हुन्छन् जसले गर्दा उसलाई बौद्ध समाजले बौद्ध भनेर स्वीकारेको हुन्छ । सबैले बुझ्ने भाषामा यसलाई पूर्णतामा पुर्याउने सूची भन्न सकिन्छ ।

१. दान दिने कामलाई बौद्ध समाजमा महत्वपूर्ण कार्यको रुपमा लिइन्छ । बौद्धरुका अनुसार दिनु भनेको आफ्नो स्वामित्वमा भएको कुरा त्यागेर अरुलाई सुम्पिनु हो । यो यस तरिकाले गरियोस् कि दिनेलाई दिएबापत धन्यवादको आशा नहोस्, सन्तोष होस् । यस्तो दान जबर्जस्ती वा अनिच्छाले दिइएको नहोस्, पाउने व्यक्तिलाई अनावश्यक नहोस् अनि उसलाई कुनै हानी पनि नहोस् । यस्तो काम गर्दा उक्त बस्तुमा मानिसको स्वामित्व खतम हुन्छ, जसले गर्दा उसमा आशक्ति नभएको भावनाको विकास हुन्छ, आफ्नो कारणले अरु कोही खुशी भएको हेर्ने अवसर पनि प्राप्त हुन्छ । दान के दिने भन्ने सवाल आइहाल्छ ।

बौद्ध दर्शन अनुसार दान तीन प्रकारको हुन्छ । क) बस्तु, धन वा अन्न दान दिँदा प्राप्त गर्नेको केही आवश्यकता टर्छ । तर यसलाई धेरै उत्तम मानिँदैन । ख) त्यो भन्दा आफुभन्दा साना, असहायलाई मबाट तिमीलाई भय हुने छैन भनेर विश्वास दिलाउनु अभय दान हो । यस्तो कुनै व्यक्ति, परिवार वा समाजलाई भयरहित बनाउनु भनेको ठुलो दानको काम हो । ग) अझ त्यो भन्दा ठुलो दान भनेको धर्मको ज्ञान नभएकालाई आफुले जानेको कुरा सुनाएर शिक्षा दिएर सही धर्मको मार्गमा ल्याउनु हो । त्यसकारण सबै दान भन्दा उत्तम दान भनेको धर्मदान भनिएको छ । (दान)

२.हरेक सभ्य समाजलाई केही नीति नियमले बाँधिराखेको हुन्छ । ती नियमहरु नै सभ्यताको परिचायक हुन् । बौद्ध समाजले पनि केही यस्ता नियमहरु बनाइराखेका छन् । ती नियमहरु पालना गर्नु प्रत्येक बौद्धको कर्तव्य हो । सामान्य बौद्ध गृहस्थहरुले प्राणी हिँसा नगर्ने, चोरी नगर्ने, झुठो नबोल्ने, परस्त्री वा परपुरुषसँग व्यभिचार नगर्ने अनि मदिरापान लगायतका नशालु पदार्थ सेवन नगर्ने सदाचार पालना गर्दछन् ।

यसबाहेक त्यागी वा भिक्षु भएकाहरु भने मध्यान्ह पछि भोजन नगर्ने, विलासका बस्तु प्रयोग नगर्ने, ब्रम्हचर्या पालन गर्ने जस्ता अतिरिक्त नियममा पनि बस्छन् । यी नियमहरु अर्थात् शिलहरु कर्म, बचन तथा मनले मात्र पनि भंग हुने खालका हुन्छन् त्यसकारण उनीहरु यसलाई जोगाउन सदैब होश पूर्वक बाँचिरहनुपर्दछ । बौद्धहरु अरुलाई देखाउन धेरै खर्च गर्ने र शरिरलाई दुःख हुने काम गर्ने भन्दा यस्ता आफुलाई संयम बनाउने जीवनशैलीलाई धेरै राम्रो मान्छन् । (शील)

३. आर्दशकै कुरा गर्ने हो भने ज्ञान लाभ गर्नका लागि वा जीवनलाई अर्थपूर्ण बनाउनका लागि घर परिवार त्याग्नु पर्छ । तर व्यवहारिक जीवनमा यो भन्ने कुरा मात्र हो । तथापि यसलाई प्रतिकात्मक रुपमा भएपनि बौद्ध समाजले उच्च मूल्यांकन गर्दछ । सामान्य मानिसको लागि आफु सँग भएको बस्तु वा घर, सम्पत्ति, पद, मान आदिलाई छोड्नु नै श्रेयष्कर जीवन हो । अथवा जेले हामीलाई दुःखपूर्ण जीवनमा बाँधिराख्छ त्यसलाई जान दिनु हो । त्यसकारण मनमा अनाशक्ति वा वैराग उत्पन्न हुनु भनेको जीवन सुखकर बनाउनु हो भने बौद्धहरु बुझ्छन् ।

आफुलाई मन पर्ने वा आवश्यक जस्तो भएको बस्तु, स्थिति वा सम्बन्धलाई छोडेर पठाउँदा वा आफु खाली हुँदा जुन आनन्द आउँछ, त्यो नै जीवनको सुख हो भनिन्छ । यो कुरा बुझ्न जति सजिलो छ, आजभोलिको भौतिक संसारमा अभ्यास गर्न त्यति नै कठिन छ । तथापि सिद्धार्थ राजकुमारले आफ्नो हक लागेको राजगद्दी, रानी, छोरा इत्यादि सबै त्यागेर गए — यो आदर्शले बाँधेर बौद्धहरु न्यूनतम आवश्यकताको कुराहरुमा सन्तुष्ट भएर जीवन यापन गर्दछन् ।(नैष्क्रम्य)

४. जान्नु निकै ठुलो कुरा हो । अरु धर्म र बुद्ध धर्ममा एउटा ठुलो फरक यो छ कि यसमा कुनै देवतालाई प्रार्थना गरेर उसले आर्शिवाद दिने वा संकट मोचन गरिदिँदैन । यहाँ सबै आफुले जान्नु पर्छ सिक्नु पर्छ, सिकेर आफ्नो जीवनको लक्ष्य आफै निर्धारण गर्नुपर्छ । तर पनि यहाँ एकै तहको सिकाइको कुरा मात्र गरिँदैन । यहाँ जीवजन्तुले जस्तो जानेको वा थाहा पाएकोलाई मात्र भनिएको छैन । यहाँ राम्रो वा उचितलाई राम्रो वा उचित भनेर जान्नेलाई महत्व दिइन्छ, जसलाई प्रज्ञा वा बोलिचालीको भाषामा विवेक भन्न सकिन्छ ।

प्रज्ञा तीन तहको हुन्छ भनिन्छ । क) अरुको कुरा सुनेर, पुस्तक पढेर वा आँखाले देखेर पनि जान्न सकिन्छ । ख) कुनै कुनै कुरा अरुको भनाइबाट प्रभावित भएर त्यसका बारेमा विचार गरेर वा त्यसमाथि तर्क गरेर पनि राम्रो कुरा निस्कन सक्छ वा थाहा पाउन सकिन्छ । ग) त्यसबाहेक अर्को विवेक भनेको आफैले अनुभव गरेर निस्कन्छ जुन ध्यान गरेर मात्र अनुभव गर्न सकिन्छ ।(प्रज्ञा)

५. हामी सबैलाई थाहा छ, जीवनको बाटो सजिलो छैन, यहाँ थुप्रै उकालो ओरालो, कठिन परिस्थिति पार गर्नु पर्छ र बाँच्नको लागि संघर्ष गर्नुपर्छ । यसकालागि चाहिने भनेको उत्साह, उद्योग र शारीरिक एवं मानसिक सहासपूर्ण काम हो । जीवनमा आइपर्ने कठिनाइहरुसँग लड्न वा समस्या समाधान गर्नका लागि अल्छी भएर होइन, डटेर सामना गर्न सक्नु पर्छ भनेर यसले हामीलाई सिकाउँछ । सिधै भन्नु पर्दा बुद्ध शिक्षा सजिलो छैन र कतिपय ठाउँमा मानिसहरु अलमलिन्छन् वा झर्को मान्छन् । यस्तो अवस्थामा आफुलाई अडिग र दृढ राखेर सही बौद्ध जीवन जिउन मद्दत वा प्रेरणा दिने शक्ति हुन्छ बौद्धहरुसँग । यसको लागि विद्वता चाहिन्छ भने यसले धैर्यवान् बनाउँछ । ( वीर्य)

६. जीवनका उतार चढावहरु सामना गर्न धैर्यका साथै सहनशक्ति पनि चाहिन्छ । यस्ता क्षणहरुमा विचलित नभई यस्ता कुराहरुले मनलाई छटपट हुन नदिई, सहेर, बेवास्ता गरेर वा सहिष्णु र संयम भई आफुलाई सन्तुलित राख्ने क्षमताको विकास बौद्धहरुले गर्ने गर्दछ । शारीरिक तथा मानसिक पीडा सहन शक्ति चाहिन्छ । उनीहरुलाई थाहा हुन्छ के जे भइरहेको हो त्यो क्षणिक हो अनि कार्य परिणामले गर्दा भइरहेको छ । सानोतिनो गल्तीमा मात्र हैन ठुलो धनसम्पत्तिको नोक्सानी तथा आफन्त जनको मृत्युमा समेत होश हवास गुमाएर भविष्य बिगार्न भन्दा पनि यस्तो बेलामा आफुलाई सम्हाल्ने कला उनीहरुसँग हुन्छ । यसले उनीहरुलाई कठिनाईको बेलामा पनि हरेश नखाई अगाडि बढ्न र जीवनमा परिश्रम गर्न सहयोग गर्दछ ।(क्षान्ति)

७. भगवान बुद्धले दिनुभएको आधारभूत शिक्षालाई चतुआर्यसत्य भनिन्छ । उहाँले सत्यलाई सत्यको रुपमा स्वीकार्न सिकाउनुभएको छ । यसकारण पनि भगवान बुद्धको शिक्षा नै सत्यमा आधारित भन्न सकिन्छ । संसार सत्यमा अडेको छ । बौद्धहरु सत्यमा विश्वास गर्छन् र सत्य छोड्दैनन् । जतिसुकै खराब परिस्थितिमा पनि अडिग रहन सिकेपछि उनीहरुमा सत्य सुन्न र सत्य कुरा गर्न तयार रहन्छन् । सत्य बोल्न धेरै सोच्नु पर्दैन र कसैले सिकाउनु पर्दैन भन्ने उक्ति बौद्धहरुमा लागु हुन्छ । सत्य सानो कुरा जस्तो लाग्छ तर यसमा नै मानिसका सबै जसो सदाचार निहित हुन्छ । त्यसैले सत्य बोल्ने मान्छेको बोलीमा शक्ति हुन्छ भनिन्छ ।

आफुले दिएको बचनबाट विमुख नहुने वा आश्वासनहरु पुरा गर्नु नै सत्यमा बस्नु हो । हुन त आजभोलिको जमानामा सत्य बिक्दैन भनिन्छ । राजनीतिज्ञहरुदेखि ब्यापारी तथा कर्मचारीहरु समेत आफ्नो स्वार्थपूर्तिका लागि झुठो बोलेर अरुलाई नोक्सानमा पार्छन् । उनीहरु आफ्नो फाइदाको लागि जे पनि बोल्छन् त्यसकारण पनि सत्यको जमाना नै छैन भन्छन् तर बौद्धहरुले सफल जीवनको लागि सत्यलाई नै जीवनको आधार मान्छन् । उनीहरुलाई थाहा छ, चन्द्र, सुर्य तथा सत्यलाई धेरैदिन लुकाउन सकिन्न भनेर । यही सत्यको बलमा हिँड्ने भएकोले उनीहरुको जीवन सुखी र खुशीले भरिपूर्ण हुन्छ । ( सत्य)

८. जब मानिसले जीवनमा एउटा लक्ष्य लिएर अगाडि बढ्छ, त्यो पुरा गरेरै छाड्छु भन्ने दृढ संकल्प लिनुपर्दछ । त्यो अधिष्ठानमा बसेमा मात्र उसले सफलता हासिल गर्दछ । कुनै काम गर्छु भनेर आँटिसकेपछि बिचमा बाधा अवरोध आयो भनेर छोडेर हिँड्नेले कहिल्यै सफल हुन पाउँदैन । बौद्ध विश्वास अनुसार क्ुनै बेलामा एक जना सुमेध नामक ऋषिले म बुद्ध हुन्छु भनेर मनमा लिएको थियो । उनले यो पुरा गर्न हजारौं वर्षसम्म सुकार्यहरु गरिरहनुपर्यो, त्यसैले नै उहाँ अन्तमा सफल हुनुभयो । त्यस्तै सिद्धार्थले पनि बुद्ध हुन्छु भनेर संकल्प गरेर घर त्यागे, भोक भोकै रुख मुनि बसे, त्यसैले नै उहाँले सम्बोधि ज्ञान लाभ गर्नुभयो । यी प्रतिकात्मक कथाहरुले बौद्धहरुको मनमा उर्जा थपिरहेको हुन्छ । (अधिष्ठान)

भगवान बुद्धले दिनुभएको शिक्षालाई ग्रहण गरिसकेपछि त्यसलाई जीवनमा उतार्ने वा व्यवहारमा प्रयोग गर्ने काम फेरि कठिन छ । यसको लागि आफुलाई जस्तो स्ुकै परिस्थितिमा पनि म यो मार्गबाट विचलित हुन्न, यी कुराहरुमा केन्द्रित भएर नै म आफ्नो जीवनलाई सफल र सुखमय बनाउँछु भन्ने निश्चय बौद्धहरुले गरिरहेको हुन्छ । यति भैसकेपछि सानोतिनो कुकार्यमा फस्ने, लोभ लालचमा फसेर धर्म छोड्ने जस्तो कार्य बौद्धहरुले गर्दैनन् । अथवा यस्तो कुमार्गमा लाग्नबाट आफुलाई हरदम बचाएर राख्छ । त्यसकारण उनीहरुको जीवन सफल हुन्छ ।

९. माथि भनिएका गुणहरु वा अभ्यासहरुले एक जना बौद्धको मनमा अरुप्रति स्नेह र सद्भाव यति भरिदिएको हुन्छ कि उसमा सबैप्रति मैत्री भावना भरिँदै आउँछ, अथवा आउनु पर्दछ । यो यस्तो मानसिक अवस्था हो जुन अरुलाई प्रेमले भरिएको भावना बाँड्दा मनमा उत्पन्न हुन्छ । जब मानिसमा आफुलाई घाउ हुँदा दुखे जस्तो अरुलाई पनि दुख्छ, आफुले नखाँदा भोक लागेजस्तो अरुलाई पनि लाग्छ भन्ने बुझ्छ, उसले अरुलाई मैत्रीपूर्ण व्यवहार गर्छ र एक्लै बस्दा पनि चिन्ने नचिन्ने, मानिस वा अरु प्राणीहरु निरोगी होउन्, सुखी होउन् भनेर कामना गर्छ ।

यति सोच्दा उसको मनमा म मात्र खाउँ, म मात्र लाउँ भन्ने स्वार्थी भावनाले पुरै छोडिसकेको हुन्छ । जब मान्छेमा को शत्रु, को मित्र भन्ने फरक हट्छ, तब उसले मैत्रीको पूर्णता प्राप्त गरेको ठहर्छ । त्यसपछि उसले के आफु, आफ्ना परिवार, आफन्त, देशबासीहरुमात्र हैन यस व्रम्हाण्डमा भएको सबै प्राणीरु प्रति समेत मैत्री भावना राख्दछ । यस्तो मैत्री भावना एक जनाले मात्र राखेर हुँदैन संसारमा सबै मानिसले यस्तो भावना राखेमा कतै कहीँ वादविवाद र युद्ध हुँदैन अनि विश्वमा शान्ति नै शान्ति छाउँछ । यो मनस्थितिसम्म आउनका लागि बौद्धहरु मैत्री भावना वा ध्यान गर्छन् र आफुले गरेका पुण्यकार्यहरुको फल अरुले पाओस् भनेर कामना समेत गर्छन् । (मैत्री)

१०. मनको चंचलता वा उद्वेग हटाउन मानिसमा मित्रप्रति आत्मीयता अनि शत्रुप्रति विरोधी भावना मेटिनु पर्छ । यहाँसम्म पुगिसकेपछि मानिसमा को शत्रु को मित्र, के सुख के दुख भन्ने जस्ता भेदभावका विचारहरु हटिसकेको हुन्छ । उ सुखमा मात्तिने र दुःखमा आत्तिने खालको सामान्य जीवनबाट माथि उठिसकेको हुन्छ । जीवनका हरेक उकाली–ओरालीलाई समताभावले हेर्न जानिसकेको हुन्छ । व्यापारी नाफा–घाटाबाट अबिचलित हुने र पण्डित निन्दा–प्रशंसाबाट अप्रभावित हुने हो भने जीवन सजिलो र सुखमय हुन्छ ।

त्यसैले यहाँ आफुलाई जानी जानी कष्ट पुर्याउने व्यक्तिसँग घृणा नगरी वा बदलाको भावना नराखी मित्रवत् व्यवहार गर्नु, निकै ठुलो दुःख पर्दा पनि आफुलाई सम्हाल्न सक्ने हुनु, अलिकति सुख हुने बित्तिकै घमण्डले फुल्ने नभई समान्य वा नम्र भएर समाजमा बस्न सक्नु भनेको ठुलो कुरा हो । यसका लागि उनले आफुलाई निकै मिहेनत गरेर तालिम दिनुपर्छ । त्यो भनेको माथि उल्लेखित गुणहरु प्राप्त गर्नु वा ती परीक्षाहरुमा उतीर्ण हुनु हो । (उपेक्षा)

अन्तमा, हुन त यी बुँदाहरु खासमा बौद्ध दर्शन अनुसार एक सच्चा बौद्धले पालना गर्नुपर्ने वा पालना गर्ने उद्देश्य लिनुपर्ने ती दशवटा सूचक हुन् जुन उनीहरुले बौद्ध जीवनमा पुण्य वा सफलता पाउन पार गर्नुपर्छ । यसलाई बौद्ध विद्वानहरुको भाषामा दश पारमिता भनिन्छ । सामान्य बौद्धहरुले यसलाई जानी नजानी जीवनको उद्देश्यको रुपमा लिएर जीवनको आर्दश वा जीवनशैली झैं लिएर हिँडिरका हुन्छन् ।

यी कुराहरु प्राप्त गर्न त्यति सजिलो छैन । अर्को कुरा, यी नियमहरुबाट बौद्धहरु निर्देशित हुन्छ भन्दैमा सबै बौद्धहरु शुद्ध, सभ्य र संस्कारी हुन्छ भन्ने पनि छैन । कतिले कति कुरा पालना गरिरहेका हुन्छन् भने कतिले चाहेर वा नचाहेर यी नियमहरु तोडिरहेका पनि हुन्छन् । त्यसैले बौद्ध समाजमा पनि अपराधी, पापीहरु पनि भेटिन्छन् । उनीहरु सही वातावरण र मार्गनिर्देशनको अभावमा बेला बेलामा मन विचलित भएर गलत मार्गमा लाग्छन् । यद्यपि, संसार भरका बौद्धहरुले यी आधारभूत जीवन दर्शनका कुराहरुलाई आफ्नो लक्ष्य मानेर यो संसारबाट हाँसी हाँसी पार लाग्न यिनै कुराहरुको साथ लिन्छन् । त्यसैले त बौद्ध समाज अरु भन्दा बढी सुखी र खुशी हुन्छ ।

Published in “Souvenir” of 25th Charter Day Celebration of Lions Club of Kathmandu Mahankal, August 2023

--

--

Razen Manandhar

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.