भारतको तेलांगानामा बुद्ध धर्म

Razen Manandhar
12 min readDec 3, 2023
Buddhavanam

राजेन मानन्धर

तेलांगाना भारतको दक्षिण–मध्य स्थित सबैभन्दा नयाँ राज्य हो । यसको उत्तरमा महाराष्ट्र, उत्तरपूर्वमा छत्तीसगढ र ओडिसा, दक्षिणपूर्व र दक्षिणमा आन्ध्र प्रदेश तथा पश्चिममा कर्नाटक राज्यहरू पर्दछन् । पहिले योे क्षेत्र आन्ध्र प्रदेश भित्र पर्दथ्यो अनि सन् २०१४ जुन २ मा मात्र यो क्षेत्र छुट्टै राज्य बनेको हो । अहिले यसको राजधानी र सबैभन्दा ठुलो शहर हैदराबाद हो । यसबाहेक यहाँका अन्य शहरहरुमा वारन्गाल, निजामबाद, महबुबनगर तथा अदिलाबाद छन् ।

यहाँ अशोक साम्राज्यको प्रभाव परेको देखिन्छ । यसरी यहाँ मौर्य, सतवाहन, वकतक, विष्णुकुण्डिन, चलुक्य, राष्टकुल, कतिक्य, दिल्ली सल्तनत हुँदै यो मुगल साम्राज्यको अंग बन्यो र पछि ब्रिटिशहरुको कब्जामा गयो ।

Hyederabad — Telangana

यहाँ विभिन्न समुदायहरूका मानिसहरुको बसोबास छ । त्यस्तै यहाँ भाषा, धर्म र सामाजिक वर्ग वा जातिको पनि विविधता छ । यहाँको मुख्य भाषा तेलुगु हो र यसका साथै हिन्दी, कन्नड र मराठी आदि भाषाहरू पनि बोलिन्छन् । अहिलेको अवस्थामा यहाँ ८५ प्रतिशत हिन्दुहरु, १२.७ प्रतिशत मुस्लिमहरु र १.३ प्रतिशत क्रिश्चियनहरु छन् । यहाँ अहिले नगन्य संख्यामा मात्र बौद्धहरुको उपस्थिति देखिन्छ । यहाँका बासिन्दाहरूमा बहुमत हिन्दूहरुको छ । तैपनि चौथाइ जनता भने हिन्दु भित्रका “अछूत“ छन् जसलाई अहिले अनुसूचित जातिमा र अनुसूचित जनजातिमा राखिएको छ ।

तेलांगानामा बुद्ध धर्मको शुरुवात
तेलानामा बुद्ध धर्मको शुरुवात भगवान बुद्धको जीवनकालमै भएको मानिन्छ । यद्यपि उहाँ आफ्नो जीवनकालमै तेलांगाना पुग्नुभयो भन्ने ऐतिहासिक तथ्य त पाइँदैन तर पनि उहाँको जीवनकालमै उहाँको शिक्षा तेलांगानासम्म प्रचार भइसक्यो भन्ने उक्ति भने पाइन्छ । केही प्राचीन बौद्ध ग्रन्थहरूमा एक बावरी नामक ऋषिको प्रसंग आउँछ । यस अनुसार उनी हाल तेलांगानामा अवस्थित निर्मल जिल्लाको गोदावरी नदीमा रहेको कवितावन नामक टापुमा बसोबास गर्थे । उनले भगवान बुद्धको शिक्षाको बारेमा सुने र जान्न उत्सुक भए । तर उनी शरीरले कमजोर भइसकेकोले आफ्ना १६ जना शिष्यहरूलाई बुद्धको उपदेश सुन्न मगधमा पठाए । ती मध्ये मुख्य शिष्य पिंगियाले बुद्धका शिक्षाहरू लिएर आए र त्यही सुनेर उनी अर्हन्त बने । उनीहरुले जीवनभर तेलांगनामा बुद्ध धर्मको प्रचार गरिरहे ।

Buddha

भगवान बुद्धले दिनुभएको शिक्षाको प्रचार प्रसार बिस्तारै तेलांगाना भरी फैलिँदै गयो । यसरी हेर्दा यहाँ जग्याल जिल्लाको कोटिलिंगाला, पेड्डापल्ली जिल्लाको धुलिकट्टा, सूर्यपेट जिल्लाको फणीगिरी, खम्मम जिल्लाको नेलाकोण्डापल्ली, भद्राद्री कोथागुडेम जिल्लाको करुकोण्डा, नलगोण्डा जिल्लाको नागार्जुनकोण्डा मा क्रमशः फैलिएको र यहाँबाटर पछि आन्ध्र र महाराष्ट्रसम्म फैलिएको भनेर इतिहासकारहरुले भनेको पाइन्छ ।

सरसरी भन्नु पर्दा तेलंगनाका प्रमुख बौद्ध केन्द्रहरु यस प्रकार छन् — कोटिलिंगला, मुनुलागुट्टा, धुलिकट्टा, पशिगाम, ताम्बलापल्ली, गीसुकोण्डा, कोण्डापुर, पानीगिरी, तिरुमालागिरी, नगरम, चडा, वाधमानकोटा, गोपालयपल्ली, येलेस्वरम, नेलाकोण्डापल्ली, मुदिगोण्डा, चैतन्यमलापल्ली, अरविन्दपुरी, चैतन्यमलागिरि, अरविन्दुमपुरी, मुदिगोण्डा, मुनालगुट्टा, अरविन्दुमपुरी, कोलानुपाका , बेक्कल्लु र नागार्जुनकोण्डा इत्यादि ।

इतिहासकार तथा पुरातात्वविदहरुले देखाएका प्रमाणहरुका आधारमा यो भन्न सकिन्छ कि भगवान बुद्धको जीवनकालदेखि कम्तिमा पनि इस्वीको तेश्रो शताब्दीसम्म निर्बाध रुपले भगवान बुद्धको शिक्षाले तेलंगानाका मानिसहरूको मनमा स्थान बनाएको थियो । उनीहरुले बुद्धको शिक्षा बाहेक अरुलाई जीवन दर्शन बनाएका थिएनन् भन्ने कुरा त्यसबेला बुद्ध धर्मले त्यहाँ पाएको ब्यापकताले प्रमाणित गर्दछ । यसरी हेदा यो समय तेलांगानाको त्यो समय बुद्ध धर्मको गौरवशाली युग थियो ।

तेलांगानाले बुद्ध धर्मको इतिहास, दर्शन र कलामा गौरवमय स्थान ओगटेको छ । अहिले यहाँका विभिन्न क्षेत्रमा भेटिएका बौद्ध अवशेषहरू नै यसको साक्षी हो कि त्यसबेला यहाँ बुद्ध धर्म निकै प्रख्यात थियो । पुरातत्वविद्हरुले हालसम्म पत्ता लगाएका यस्ता अवशेषहरुले तेलंगानामा बुद्ध धर्मको व्यापक लोकप्रियता रहेको प्रमाणित गरेको छ । बुद्ध धर्मले मानिसहरूको धार्मिक र सामाजिक जीवनलाई प्रभाव पारेको हुनाले नै तिनीहरुले तन मन र धन लगाए यस्ता बौद्ध स्मारक बनाएको हुनुपर्छ ।

यहाँ चैत्य लगायतका बौद्ध स्मारकहरुको निर्माणको थालनी बुद्धको परिनिर्वाण लगत्तै भएको भनेर प्रमाणित गर्न नसकेतापनि हालका केही उत्खननहरुले दिएको परिणामले यही प्रमाणित गर्दछ कि यहाँ चैत्यको निर्माणको सिलसलिा इशापूर्व २५० तिर अर्थात सम्राट अशोक कालमा नै शुरु भएको थियो । पछि यो प्रचलन सतवाहन र इक्ष्वाकु कालमा चरम उचाइमा पुग्यो । यहाँ बौद्ध स्मारकहरुको निर्माण गर्ने क्रम ईस्वी ७००सम्म निरन्तर जस्तै चल्यो । त्यस पछाडिको समयमा भने भारतका अन्य राज्यहरुमा जस्तै विभिन्न कारणले यहाँका बौद्धहरुमा ढुलमुलेपन देखियो, वैदिक धर्म पहिले जस्तै बलियो हुन थाले, तिनीहरुलाई राजकीय संरक्षण मिल्न थाल्यो, जसको कारणले यहाँ बौद्धहरु कमजोर भए । यो कुरा यस पछिको समयमा धेरै स्मारकहरु बन्न छाडेको वा बनेको नपाइएकोले पनि देखाउँछ ।

अर्कोकुरा, तेलांगानामा कुनै बेला बुद्ध धर्म ब्यापक रुपमा फैलिएको थियो भन्नलाई इतिहासकारहरुसँग अहिले त्यहाँ भेटिएका बुद्ध मूर्ति वा बौद्ध विहारहरुको अवशेष मात्र बाँकी छन् भने पनि हुन्छ । त्यहाँका त्यस्ता अभिलेखहरु व हस्तलिखित ग्रन्थहरुले यी कुराहरुलाई प्रष्ट पारिरहेका छैनन् वा त्यस्ता सहायक प्रमाणहरुले ब्याख्या गरेको कुरा त्यहाँका इतिहासकारहरुले देखाइरहेका छैन् । यस अवस्थामा तेलांगानामा बुद्ध धर्म कसरी र कहिले लोप भयो भन्नेकुरा खुलाउन झन् धेरै कठिन भएको छ ।

त्यस्ता निकै थोरै अभिलेख मध्ये एउटाले तेलांगानामा इस्वी ४३५मा बुद्ध जयन्ति मनाउने चलन थियो भन्ने देखाएको छ । हैदराबाद भन्दा ७५ किमी टाढा अवस्थित नालगोण्डा जिल्लामा पाइएको एक अभिलेख अनुसार यस समय राजा गोविन्द राजु वर्माले बुद्ध पूर्णिमाको अवसर पारेर बौद्ध दशवल बलीलाई दइटा गाउँ दान दिएको देखिन्छ ।

विष्णुकुण्ड वंशले इस्वीको ५औं देखि ७औं शाताब्दीसम्म तेलांगाना र आसपासका राज्यहरुमा शासन गरे । उनीहरु नै त्यो अन्तिम वंश हुनुपर्छ जसले बुद्ध धर्मलाई त्यहाँ विकासमा साथ दियो । यस वंशको अन्तसँगै यहाँबाट बिस्तारै बुद्ध धर्म कमजोर हुँदै गएको देखिन्छ । यसैबेला यहाँको धर्मपुरीमा रहेका बौद्ध मन्दिरहरुलाई परिवर्तन गरी रामलिंगेश्वर स्वामी तथा नरसिंह स्वामी मन्दिर बनाइए भन्ने गरिन्छ ।

भारतका अन्य राज्यहरुमा जस्तै यहाँ पनि करिब ७औं शताब्दीमा बुद्ध धर्मको ख्याती घट्न थाल्यो । मानिसहरु विस्तारै पुनः वैदिक धर्ममा फर्कन थाल्यो । त्यहाँ बुद्ध धर्मलाई हिन्दुसँग मिसाउने अनि दुइटा एकै हो भन्ने जस्तो ब्याख्या हुन थाल्यो । उनीहरुले बुद्धलाई विष्णुको नवौं अवतार मानेर पूजा गर्न थालेपछि यहाँका बौद्ध सम्पदाहरु विस्तारै हिन्दु मन्दिरहरुमा परिवर्तन हुँदै गए ।

तेलांगानाका बौद्ध स्मारकहरु
मथि भनिएजस्तै तेलांगानामा बुद्ध धर्मको अस्तित्व देखाउने भनेकै यहाँका प्राचिन स्मारकहरुमात्र छन् । अहिले त्यहाँको सकारले यी क्षेत्रहरुमा बौद्ध स्मारकहरु रहेको जनाएको छ — धर्मपुरी, मक्काट्रोपेट, नेरेला, सारंगापुर, बुद्धपल्ली, डोनुरु, पोचमपल्ली र धर्मराममा छन् । ती बाहेक अन्य संभावित बौद्ध क्षेत्रहरु निम्न छन् — कोटिलिंगला, पशिगाम, स्तम्बमपल्ली, धुलिकट्टा, फनिग्री, गजुला बाण्डा, तिरुमागिरी, नेलाकोण्डापल्ली र जगगाईहपेटा हुन् । यहाँ यस राज्यमा भएको महत्वपूर्ण बौद्ध सम्पदा क्षेत्रहरुको बारेमा संक्षिप्तमा वर्णन गरिन्छ ।

भवपूर कुरु

Bhavapur Kuru

गोदावरीबाट १४ किलोमिटर टाढा एक टापुमा अवस्थित भवपूर कुरुलाई ५औं शताब्दीको बौद्ध स्थल मानिन्छ । निर्मल जिल्लाको खानापुर सहरबाट टाढा रहेको यस ठाउँबाट पुरातत्व विभागले त्यहाँको एउटा ढिस्कोमा प्रारम्भिक उत्खनन् गर्दा पूर्व–सतवाहन कालका ढुङ्गाका डबलीहरू र ईंटका संरचनाहरू फेला पारेको थियो । यहाँ थप उत्खनन् गरेमा यहाँ अन्य प्रमाणहरु भेटिने र यो स्थानलाई ऐतिहासिक बौद्ध स्थल भनेर स्थापित गर्न सकिने छ । यो ठाउँलाई तेलांगानामा बुद्धको जीवनकालमा बुद्ध धर्मले पहिलो पटक तेलुगु माटोलाई छोएको ठाउँको रुपमा लिइन्छ ।

कोटिलिंगला

Kotilingala

वेलगाटूर मण्डलमा गोदावरी नदीको दाहिने किनारमा छ र लगभग १९ किलोमिटरमा कोटिलिंगला अवस्थित छ । धर्मपुरीबाट र करीमनगरबाट ५२ किलोमिटर । यहाँ एउटा १००० मीटर लम्बाइ तथा ३०० मीटर चौडाइ भएको माटोको किल्ला छ । यसलाई मौर्य कालमा भारत आएका ग्रीक राजदूत मेगास्थनले आफ्नो पुस्तकमा उल्लेख गरेका ३० वटा किल्लाहरु मध्ये एक मानिन्छ । यहाँ पुरातत्व विभागले उत्खनन गर्दा ईसापूर्व चौथो शताब्दीको स्तुप लगायतका पुरातात्विक अवशेषहरु पत्ता लगाएको थियो । यो भनेको दोस्रो शताब्दी ईसापूर्व देखि इस्वीको पहिलो शताब्दीमा सातवाहनको सबैभन्दा पुरानो राजधानी पनि थियो ।

धुलिकट्टा

Dhulikatta

करीमनगर शहरबाट ३२ किलोमिटरको दूरीमा धुलिकट्टा वा धुलिकोटा अवस्थित छ । यो ईंटले बनेको प्रवेशद्वारहरू, स्तुप तथा विहारहरू, कोठाहरू, घरहरू, इनारहरू र नालीहरू आदि भएको माटोको किल्ला सहितको एक प्राचिन ऐतिहासिक स्थल हो । यहाँ उत्खनन गर्दा गुम्बज, पेटी सहितको बेदिका र चारैतिर प्रदक्षिणा–पथ समेत भएको स्तूप पत्ता लाग्यो । यहाँको गुम्बजलाई मुचिलिन्द नाग, बोधिवृक्ष, बुद्धपद आदिले घेरेर राखेको छ । यहाँका केही प्यानलहरू ईसापूर्व दोस्रो शताब्दीका हुन् । यहाँ भेटिएका अवशेषहरुमा प्रारम्भिक सातवाहन कालको कला र अमरावती कलाको विशेषता पाइएको छ ।

कोण्डापुर

Kondapur

हैदरावादबाट ६० किलोमिटरको दूरीमा कोण्डापुर गाउँमा यो माटोको किल्लाले घेरिएको रहेको छ । यसलाई मेगास्थेनिसले आफ्नो पुस्तकमा उल्लेख गरेका आन्ध्रहरूको ३० वटा पर्खालले घेरिएका शहरहरू मध्ये एक मानिन्छ । यस क्षेत्र भित्र पुरातात्विक उत्खनन् गर्दा ईटाले निर्मित स्तूप, चैत्य, विहार तथा केही अन्य भवनहरूका अवशेषहरु पत्ता लागेका थिए । यी अवशेषहरुलाई ईसापूर्व पहिलो शताब्दीको र इस्वीको दोश्रो शताब्दी बीचको सातवाहनकालका हुन् भनेर मानिएको छ । तेलांगानाको बुद्ध धर्म कति पुरानो थियो भनेर प्रमाणका साथ भन्न यहाँका अवशेषहरुको वैज्ञानिक अध्ययन हुनु पर्दछ ।

फणीगिरी

Phanigiri

फणीगिरी बौद्धस्थल हैदराबादबाट ११० किलोमिटर टाढा सुर्यपेट जिल्लामा रहेको एउटा पहाडको चुचुरोमा अवस्थित छ । पहिले यसको नाम धर्मचक्रपुर थियो । यहाँ तेलांगाना राज्य पुरातत्व तथा संग्रहालय विभागले गरेको उत्खननमा एक विशाल महास्तुप, चैत्यगृहहरु, स्तूपहरु, धम्महल, विहार, डबली, ढुंगाका तोरणहरु आदि पत्ता लागेको थियो । यी सामाग्रीहरु सातवाहन काल र इक्ष्वाकु कालका थिए । यसका साथै यहाँ सिद्धार्थको जीवन, जातक कथाहरू, र बुद्धका भित्ते कलाकृतिहरु अनि बुद्ध र बोधिसत्व जीवनकथालाई चित्रण गर्ने धेरै चूनढुङ्गाका भित्तेकलाकृतिहरु पनि पत्ता लागेका थिए । यहाँ तिनवटा विहारका अवशेषहरु पनि पाइएका छन् । यिनीहरुलाई यस क्षेत्रकै एक महत्वपूर्ण कलाकृतिका रुपमा लिइन्छन् । यी कलाकृतिहरु चोरी पनि भइसकेकोले यसलाई यहाँ राख्नु असुरक्षित छ । यहाँका केही अमुल्य कलाकृतिहरु न्युयोर्क सम्म पुगिसकेका छन् ।

गजुलाबन्द

Gajulabanda

स्थानीय रूपमा गजुलाबाण्डा भनेर चिनिने बौद्ध पुरातात्विक क्षेत्र इतुरु गाउँ नजिकै अलेरु नदीको बायाँ किनारमा अवस्थित छ । यहाँ तेलांगना राज्य पुरातत्व विभागले सन् १९७०–८० तिर गरेको उत्खननका क्रममा थुप्रै स्तुप, चैत्य तथा विहार परिसर पत्ता लागेको थियो । यहाँ ९.६ मिटर व्यास भएको महास्तुप सहित, विहार, स्तूपको आधार तथा अन्य ऐतिहासिक सामग्रीहरु पाइएका छन् । यी सामाग्रीहरु इस्वीको पहिलो वा दोश्रो शताब्दीका हुन सक्ने पुरातत्वविद्हरुले भनेका छन् । यस अर्थमा यहाँका पुरातात्विक सामाग्रीहरुले तेलांगानाको बुद्ध धर्मको इतिहासको बारेमा प्रकाश पार्न मद्दत गर्न सक्ने देखिन्छ ।

नेलाकोण्डापल्ली

Nelakondapalli

यो नेलाकोण्डापल्ली सडक छेउको गाउँ खम्मम र कोडाडाको बिचमा पर्छ । यहाँ थुप्रै एतिहासिक ढिस्काहरु भएको एक पुरानो सुदृढ शहर थियो । स्थानीय रूपमा विराटराज डिब्बा र बैरागुला गुट्टा भनेर चिनिने गाउँमा उत्खनन् गर्दा यहाँ एउटा महाचैत्य, उभिरहेका बुद्धका धेरै मूर्तिहरु, चित्रहरू, विहारहरू, इँटाबाट बनाइएको नालीहरु आदि पत्ता लागेका थिए । यस बाहेक यहाँ अन्य ढुंगाबाट बनेका स्तूपहरू, टेराकोटाका आकृतिहरू एवं असंख्य विष्णुकुण्डी कालका सिक्काहरू पनि भेटिए । यस अनुसार यी पुरातात्विक अवशेषहरु इस्वीको ४ वा ५औ शताब्दीका हुन् । यहाँ भेटिएका अन्य सामाग्रीहरुको आधारमा यसलाई बुद्ध मूर्तिहरु बनाउने स्थान समेत हो भनेर अनुमान गरिएको छ । यहाँ नजिकैको खोलामा माछा मार्दै गर्दा माझीहरुले एउटा काँसको पद्मपाणी बोधिसत्वको मूर्ति समेत फेला पारेका थिए । यहाँ पाइएका मूर्तिहरु पछिल्लो गुप्त कालको भएकोले यिनीहरु इस्वीको छैठौं शताब्दीका हुन् भनेर मानिएको छ ।

लुम्बिनी पार्क र हैदराबादको बुद्ध प्रतिमा

Hyderabad Buddha statue

हैदराबाद तेलंगाना राज्यको राजधानी हो । यहाँ बौद्धहरु नभएपनि बुद्ध धर्मलाई पर्यटनको श्रोतको रुपमा उपयोग गरेको देखिन्छ । यहाँको सहरको मध्यभागमा ३ हेक्टर (७.५ एकड) जमिनमा लुम्बिनी पार्क स्थापना गरिएको छ । यहाँको हुसेन सागरको छेउमा अनि बिरला मन्दिर र नेकलेस रोड जस्ता अन्य पर्यटकीय स्थलहरूको नजिक रहेको यो सानो सार्वजनिक, सहरी पार्क भएकोले यहाँ वर्षभरि धेरै आगन्तुकहरू आइरहन्छ । नामले लुम्बिनी भनेतापनि यो एक आधुनिक मनोरञ्जन पार्क हो र यहाँ पोखरीको बिचमा बुद्धको मूर्ति बाहेक अन्य बौद्ध जस्तो धार्मिक वा दर्शनीय कुराहरु छैनन् । सन् १९९४ मा निर्माण भएको पार्कको नाम आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री टी. अञ्जैयाको नाममा राखिएको छ ।

यहाँकोे हुसेन सागरको बीचमा भगवान बुद्धको संसारको सबैभन्दा अग्लो मोनोलिथ बुद्ध प्रतिमा भारतमा स्थापना गरएिको छ । पाँच वर्ष लगाएर ३० लाख अमेरिकी डलर खर्च गरेर ५८ फीट अग्लो उभिरहेको बुद्ध धार्मिक दृष्टिकोणबाट भन्दा पनि सुन्दरताको लागि र अझ अमेरिकाको स्वतन्त्रताको मूर्तिबाट प्रभावित भएर बनाएको भएतापनि यस मूर्तिले यहाँका असंख्य प्राचिन बौद्ध सम्पदाको स्मरण गराउँछ ।

बुद्धवनम्
तेलांगना राज्य भरी छरिएर रहेका बौद्ध केन्द्रहरु राष्टिय र अन्तराष्टिय बौद्ध पर्यटनको केन्द्र बन्न सक्ने सम्भावना देखेपछि यहाँ बौद्धहरु नै नभएपनि यहाँका ती केन्द्रहरुको विकास गर्ने योजना सरकारले बनाएको छ । यसै क्रममा यहाँ तेलंगाना राज्य पर्यटन विकास निगमले नागार्जुन सागरमा एक महत्वाकांक्षी पर्यटन परियोजना शुरु गरेको छ । यसले २७४ एकड सरकारी जग्गामा बुद्धवनम् ए बुद्धिस्ट हेरिटेज नामक एशियाकै सबैभन्दा ठुलो थिम पार्क बनाई विशेष गरी दक्षिण–पूर्वी एशियाली बौद्ध देशहरूबाट ठूलो संख्यामा पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले राखेको छ ।

Buddhavanam areal view

यसको केन्द्रमा अमरावती महास्तुपको विशाल प्रतिकृति बनाइएको छ । यस अन्तर्गत त्यहाँ बुद्धचरित वनम्, जातक वनम्, ध्यान वनम्, स्तूप वनम् तथा बौद्ध शिक्षा र शिक्षा केन्द्रहरू बन्ने छन् । साथै यहाँ होटलहरु, ध्यान केन्द्रहरु तथा चिकित्सा केन्द्रहरू पनि हुने छन् । राज्य पुरातत्व तथा सङ्ग्रहालय विभागले महास्तुपको भुइँतलामा बौद्ध सम्पदा सङ्ग्रहालय स्थापना गरेको छ । यसको निर्माण क्रमिक रुपमा भइरहेको छ ।

वर्तमान अवस्थामा तेलंगानामा बुद्ध धर्म
तेलांगनाको विगतमा बुद्धधर्मको इतिहास जतिसुकै गौरवमय भएतापनि, यहाँ यत्रतत्र हजारौं वर्ष पहिलेका बौद्ध सम्पदाहरु छरिएर रहेतापनि भारतका अधिकांश राज्यमा जस्तै यहाँ अहिलेको अवस्थामा बौद्धहरु छैनन् नै, वा नगण्य संख्यमा मात्र छन् । अझ पहिले देखि बुद्ध धर्म नै मानिएका त छँदै छैनन् , र अहिले जति पनि बौद्धहरु छन् उनीहरु सबै जसो मानिसहरु भनेको हिन्दुहरु तर हिन्दु धर्ममा भएको विभेद सहन नसकेर बुद्ध धर्म अँगाल्न आएका कथित तल्लोजातका अछुतहरु मात्रै छन् । बुद्धले बोधिज्ञान लाभ गर्नुभएको भारतमा बुद्ध धर्मको अंश समेत पनि बाँकी नरहेको अवस्थामा भारतका संविधान निर्माता डा. भीमराव अम्बेडकरले त्यहाँका अछुतहरुलाई बुद्ध धर्ममा प्रवेश गराएर भारतमै बुद्ध धर्मको पुर्नजागरण गराएको थियो । यसको प्रभाव तेलांगना राज्यमा पनि नपर्ने कुरै थिएन ।

सन् २०११को जनगणना अनुसार तेलंगाना को कुल जनसंख्या ८.७ करोड छ जसमध्ये ५४.३ लाख दलितहरू छन् । त्यो भनेको अहिले तेलंगानाको कुल जनसङ्ख्याको लगभग १५ प्रतिशत दलित छन् । तेलांगाना भारतकै एक एउटा यस्तो प्रमुख राज्य हो जहाँ जातपातका नाममा तल्लो जातमा राखिएका मानिसहरुमाथि चरम शोषण, दमन र अत्याचार हुन्छ । जोगिनी नामक धार्मिक अभ्यासको नाममा त्यहाँ दलित महिलालाई यौन दासी बनाइन्छ । तर पनि यहाँका दलितहरु आफ्नो हक अधिकारको लागि आवाज उठाउन अन्य राज्यका तुलनामा पछाडि नै छन् । अस्ति भरखर जुलाइ २०२३मा केही दलित व्यक्तिहरुले आफुलाई कपाल काट्ने ठाउँमा विभेद नगरियोस् भनेर प्रहरीमा उजुरी गर्नुपरेको थियो । यसले त्यहाँको जातीय समस्याको विकराल अवस्था दर्शाउँछ ।

तेलांगानामा हिन्दुहरुको जातीय भेदभावको विरुद्ध जनचेतना बढ्न थालेको धेरै अगाडि देखि नै थियो । सन् १९२२ तिर नै हैदराबाद राज्यमा भाग्य रेड्डी वर्माले हिन्दुधर्मको विरोधमा बुद्ध धर्मप्रति चेतना जगाइसकेको थियो । सन् १९५६मा अम्बेडकरले जसरी लाखौं दलितहरुलाई बुद्ध धर्ममा प्रवेश गराए । यसलाई बोलिचालीमा नवयान भनियो र त्यसछि यस प्रकार बौद्ध बनेकाहरुलाई नवायानी अथवा अम्बेडकरवादी पनि भनियो । आधा शताब्दी अगाडि एकजना व्यक्तिको दर्शन र लगनले भारतका विभिन्न राज्यमा बुद्ध धर्मको ब्यापक प्रचार प्रसार हुन थालेको छ ।

125-feet-tall statue of Dr B R Ambedkar near Hussain Sagar Lake

विश्वमा अहिले भारतमा पनि बुद्ध धर्म रहेछ भनेर नाम लिने भएको छ । तर पनि तेलंगानामा भने बुद्ध धर्मको अवस्था नाजुक नै छ । यहाँ व्यक्तिगत रुपमा बुद्ध धर्मप्रति आस्था राखेर बौद्ध जीवन बिताइरहेका बाहेक र कहीँ कतै आक्कलझुक्कल सानोतिनो संगठनात्मक अभियान चलाएको बाहेक त्यस्तो समाजमा नै प्रभाव पार्ने खालको बौद्ध समाज बन्न सकेको छैन । पहिले हिन्दु धर्म स्वीकार गरिसकेकाहरुमा आफु उच्चजातिको भन्ने घमण्ड छ र अरुलाई नीच देखाउन हिन्दु धर्म नै चाहिने भएकोले उनीहरु बुद्ध धर्ममा रुपान्तरित हुन चाहँदैनन् । अनि तल्लो जाति बनाइएका दलितहरुलाई राजनीतिक, आर्थिक तथा सामाजिक रुपमा यति दमन गरिएको छ कि उनीहरुले हिन्दु भएर दलन सहिरहनु बाहेक अरु विकल्प नै देखिरहेका छैनन् ।

हालको अवस्थामा तेलंगाना सरकारले त्यहाँ बौद्धहरु नभएतापनि यस राज्यलाई बौद्धहरुको आकर्षणका केन्द्रको रुपमा विकास गर्न खोजिरहेको देखिन्छ । सन् २०१७को फेब्रुवरीमा हैदरावादमा दलाई लामाले तेलंगानाको हैदराबादमा दलाई लामा सेन्टर फर एथिक्स एण्ड ट्रान्सफर्मेटिभ भ्यालुजको दक्षिण एशिया हबको शिलान्यास गर्नुभयो । यसको लगत्तै पछि त्यहाँको पर्यटन विभागले तेलांगानाको बौद्ध सम्पदामा अन्तर्राष्टिय सम्मेलन गर्यो । यस्ता पर्यटक लोभ्याउन बौद्ध सभा समारोह वा सेमिनारहरु भने त्यहाँ बेलाबखतमा भइरहेको पाइन्छ ।

उपसंहार
वैभवशाली इतिहास भन्दा पर गुमसुमको अतितबाट अलग्गिएर अब तेलंगाना सरकारले बुद्ध धर्मको महत्व बुझ्न थालेको देखिन्छ । अब त्यहाँको समाजले बुद्ध धर्मलाई अपनाउने र पुनः बौद्ध समाज समृद्ध हुने सम्भावना भएपनि नभएपनि त्यहाँ बुद्ध धर्मको पुनर्जागरण पछि देखा परेका केही नवयानी बौद्धहरुले तेलंगानाको प्राचिन बौद्ध सम्पदाको र जीवन्त बौद्ध समाजको झझल्को दिन खोजेको छ ।

यसका साथै अब तेलांगाना राज्यभरि फैलिएका सयौं महास्तुप, विहार र चैत्यहरूबारे ब्यापक अध्ययन अनुसन्धान गरी त्यसको प्राचिनता तथा धार्मिक र साँस्कृतिक महत्वलाई प्रकाशनमा ल्याउन सकियो भने यो राज्य पनि भारतको बुद्ध धर्मको लागि नयाँ गन्तव्यको रूपमा अगाडि आउन सक्छ । उत्खनन गरिएका स्थलहरूले विगतका सत्यतथ्यहरू प्रकट गरेका छन् जसले यहाँको त्यसबेलाको जीवनशैली र उत्कृष्ट शिल्प कौशलको व्यापकतालाई उजागर गर्दछ ।

तेलंगाना सरकारले त्यहाँका बौद्ध स्मारकहरुलाई पर्यटक केन्द्रका रुपमा विकास गर्न खोजेको सकारात्मक नै हो । यद्यपि भारतको यति सम्पन्न र शिक्षित राज्यमा पनि अनि बुद्ध धर्ममा यति धेरै अवसर र चुनौति देखिएपनि त्यहाँका जनतामा बुद्ध धर्म प्रति आस्था जगाउन नसक्नु वा त्यहाँका जनताले बुद्ध शिक्षाको महत्व नबुझ्नु भनेको दुःखद नै मान्नु पर्छ । यसका साथै मानिसहरुले धर्म त्याग्यो भने, वा धर्मको संरक्षण गर्न सकेन भने जतिसुकै प्रचिन सम्पदा छ भनेर गर्व गरेर पर्यटक बोलाउन खोजेपनि यसले संसारका बौद्धहरुलाई खासै आकर्षण गर्न सकिन्न भन्ने शिक्षा पनि दिन्छ ।

Published in Anandabhoomi Buddhist Monthly in 2023 November.

Photos are from various sources on the Internet.

Buddhism in Telangana of India

#buddhism #telangana #india #history #religion #culture #archaeology

--

--

Razen Manandhar

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.