रुसी साम्राज्यवादले पिल्सिएको युक्रेनमा बुद्धधर्म

Razen Manandhar
8 min readOct 9, 2023
White Lotus Temple in Cherkasy, Ukraine (photo: https:// www. tripadvisor. com/)

राजेन मानन्धर
गत केही महिनादेखि चलिरहेको रसिया र युक्रेनको युद्धले विश्वको ध्यानाकर्षण गरिरहेको छ । यसले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सबैजसो देशलाई प्रभाव पारिरहेको छ । अहिलेसम्म यस युद्धले कति जनधनको क्षति भयो भन्ने विवरण प्राप्त भएका छैनन् । तर दिनहुँ जस्तै सञ्चारमाध्यममा देखिने दृष्यहरुले समस्त जनताको मन करुणाले भर्न थालेको छ ।

हामी भगवान बुद्धलाई शान्तिका नायक भन्छौ, कतै शान्ति ल्याउनुपर्यो कि बुद्धशिक्षालाई अघि सार्छौं । यसै क्रममा अहिले युद्धमा रुमल्लिरहेका देश रसिया र युक्रेनमा पनि बुद्धधर्मको प्रचार भएको भए उनीहरु युद्धलाई प्राथमिकतामा राख्दैथे कि, अथवा शान्तिपूर्ण ढंगबाट समास्याको समाधान खोज्थे कि भनेर हामी सोच्छौं, जुन स्वाभाविक पनि हो ।

धर्मगुरु दलाइ लामाले, ताइवान स्थित बौद्ध चुचि फाउण्डेशनले, हिमाञ्चल प्रदेश स्थित डोङ्यु गाचाल लिङका प्रवर्तक जेचुमा तेन्जिङ पाल्मोले, सोका गाकाइका अध्यक्ष मिनोरु हारादाले, योन्गे मिङ्युर रिम्पोछेले, भियतनामी जेन मास्टर संघले यस युद्धको विरोधमा र शान्तिमार्गबाट समस्या सुल्झाउन वक्तव्यहरु दिइसकेका छन् ।

विश्व शान्तिका पक्षमा छ तर युद्ध रोकिने लक्षण भने अझै देखा परेको छैन । युद्ध अघिसम्म धेरै नेपालीहरु युक्रेनमा बस्थे र युद्धको कारण उनीहरु चपेटामा परेका छन् । केही पोल्याण्डको बौद्ध विहारमा शरणार्थी भएर बसेको खबर आएको थियो ।
रसियाको बुद्धधर्मको बारेमा गताङ्कमा केही जानकारी दिइसकेको छ । यस लेखमा युक्रेनमा बुद्धधर्म अवस्थाको बारेमा संक्षिप्त चर्चा गर्ने छौं ।

युक्रेनको बारेमा संक्षिप्त जानकारी
युक्रेन पूर्वी युरोप वा एशिया र युरोपको सन्धीक्षेत्रमा पर्ने देश हो । रसिया पछि युरोपको सबैभन्दा ठुलो देशको नाउँ लिनुपर्दा युक्रेनको नाउँ आउँछ । यसले लगभग २३०,००० वर्ग किलोमिटर क्षेत्र ढाकेको छ । यहाँ ४ करोड जनसंख्या बस्छन् । यसको वरिपरी उत्तरपूर्वमा रसिया, उत्तरमा बेलारुस, पश्चिममा पोल्याण्ड, स्लोभाकिया, हंगेरी अनि दक्षिण पश्चिमममा रोमानिया र माल्दोभा पर्दछ । यसका साथै दक्षिणमा कृष्ण सागर तथा दक्षिणपूर्वमा एजोभ सागर पर्दछ । यसको राजधानी क्यीभ हो र यहाँको भाषा युक्रेनियन भएपनि सबैजसो मानिस रसियन पनि बोल्दछन् ।

यो कुनै बेलामा रसियन साम्राज्यको अधिनमा गयो, १९१७मा युक्रेनियन जन गणतन्त्रको रुपमा उदय भयो र पछि बोश्लेभिकहरुले बलजफ्ती युक्रेनियन सोभियत समाजवादी गणतन्त्र बनाइदियो र पछि १९२२मा सोभियत संघको सदस्य बन्यो । सोभियत कालमा युक्रेनले निकै दुख सहनु पर्यो । स्तालिनको शासनकालमा कृत्रिम अनिकाल वा होलोडोमोर अर्थात् अनिकाल भयो भनेर यहाँ खाद्यान्न नपठाइदिएपछि यहाँका दशौं लाख जनता भोकमरीले मर्नुपर्यो । संक्षेपमा भन्नु पर्दा युक्रेन आफ्नै भाषा धर्म संस्कृति र इतिहास भएको देश हो । तर दुर्भाग्यवस यो देश निकै ठुलो शक्तिशाली साम्राज्यवादी देश रसियाको छेउमा पर्दछ ।

Buddhism, Ukraine and Russia (pic: theprint)

उता रसिया साम्राज्यवादी देश भएको, छिमेकीहरुप्रति ठुलो दाजु जस्तो भएर अधिपत्य जनाउने खालको व्यवहार गर्ने र अर्कोतिर आफ्नै देशमा पनि आफै जनतको पक्षमा उभिएर देशलाई सार्वभौम बनाइराख्ने भन्दा रसियाको कुरा मानेर उसले निर्देशनमा काम गरेर सजिलो सँग सत्ता टिकाउनेहरु भएकोले जनताले कहिल्यै स्वतन्त्रताको स्वास फेर्न पाएन । रसिया युक्रेनलाई कहिल्यै स्वतन्त्र राष्ट्रको रुपमा उभिन दिन चाहँदैन । अहिलेको युद्ध पनि यसै पृष्ठभूमिको परिणाम हो भन्न सकिन्छ ।

धर्मको कुरा गर्दा यहाँका मानिसहरु मध्ये ८२ प्रतिशतले आफुलाई धार्मिक र ७ प्रतिशतले अधार्मिक भन्ने गर्दछन् अनि ११ प्रतिशतले जवाफ दिन गाह्रो मान्छन् । सन् २०१९को तथ्यांक अनुसार यहाँ ८२ प्रतिशत क्रिश्चियन छन् । त्यस बाहेक जुडाइज्म, इस्लाम, हिन्दुधर्म मान्नेहरु प्रत्येक धर्म मान्नेहरु यहाँको जनसंख्या ०.२ प्रतिशत छन् । अहिले यहाँका मानिसहरु मध्ये ०.१ प्रतिशतले मात्र बुद्धधर्म मान्दछन् । यो भनेको यहाँको चौथो ठुलो धर्म हो । एक अनुमान अनुसार अहिले युक्रेनमा ५ हजार देखि १० हजार जति मानिसहरु बुद्ध धर्म मान्दछन् ।

Znamin Buddhist retreat center in Ukraine (photo: https:// www. diamondway-buddhism. org/)

युक्रेनमा बुद्धधर्मले कहिले प्रवेश पायो भन्ने विषयमा धेरै धारणाहरु पाइन्छन् । यहाँ धेरै पहिले नै बुद्धधर्म आइसकेको थियो भन्ने विश्वास गरिन्छ । तैपनि भरपर्दो धारणा अनुसार यहाँ १९औ शताब्दीमा मात्र बुद्धधर्म पुगेको देखिन्छ । यहाँ बुद्ध धर्मको प्रवेशको श्रेय क्याल्मिकहरुलाई दिन सकिन्छ । उनीहरु भनेको मंगोलियन मूलका आदिबासी रसियनहरु हुन् । उनीहरुले नै रसियामा बुद्धधर्मको अभ्यास र प्रचार प्रसार पनि गरेको पाइन्छ । यसबाहेक भियतनाम तथा कोरियाबाट बसाँइ सरेर आएका बौद्धहरुको कारणले पनि यहाँ बौद्ध जनसंख्या बढेको हो । अनि यहाँ नयाँ समाजमा बुद्धधर्म फैलिनुमा उनीहरुको पनि योगदान रहेको छ । युक्रेनियन बौद्धिक वर्गमा बुद्ध धर्मको दार्शनिक, सामाजिक र साँस्कृतिक पक्षको बारेमा चर्चा वा बहन हुन थालेको पनि १९औ शताब्दीमा आएर मात्र हो ।

त्यहाँ एक हदसम्म बुद्ध धर्मले जनताको मनमा स्थान लिन थालेको मात्र थियो, यहाँ धेरै चरणमा राजनीतिक परिवर्तन र उथलपुथलहरु भए । मानिसहरुले धर्मको कुरा गर्न पाएनन् । अझ सोभियत कालमा त धर्मको कुरा गर्न नै प्रतिबन्धित थियो । सोभियत अवधारणाको विरुद्ध कसैले धार्मिक विचारमा राखेपनि यातना भोग्नुपर्ने अवस्था थियो । त्यस्तो अवस्थामा कहीँ कतै त धर्मको अभ्यास भइरह्यो होला तर त्यहाँ बुद्धधर्मको बारेमा खुल्ला रुपमा कुरा गर्न थालेको भनेको १९८९को सोभियत संघको परिवर्तन पछि मात्र हो । नयाँ व्यवस्थामा राजनीतिक तथा दार्शनिक वा धार्भिक विषयमा बोल्ने वा अभ्यास गर्ने स्वतन्त्रता आएपछि मानिसहरुले पुनः बुद्ध धर्मको अध्यन गर्न थाले ।

https:// www. diamondway-buddhism. org/

सन् १९९१मा युक्रेनमा पहिलो पल्ट ओल्हीन्का, भोल्नोभाखा रायन, डोनेत्स ओब्लास्तमा बौद्ध समाज दर्ता गरियो । र सन् १९९३मा जुनजोन्पा नामक बौद्ध केन्द्रको स्थापना भयो, यो मुलतः तिब्बती बुद्धधर्म केन्द्र थियो र यसले लामाहरु तथा गृहस्थहरुका लागि कक्षाहरु संचालन गर्दथ्यो ।

सन् २०१४ फेब्रुवरीमा युक्रेनमा आन्दोलन भयो । यसलाई आत्मसम्मानको क्रान्ति वा मैदानको क्रान्ति पनि भनिन्छ । निर्वाचित राष्ट्रपति भिकतर यानुकोभिच हटाइए र रसिया–युक्रेन युद्ध शुरुवात भयो । यसैसँग जोडिएको अशान्तिका कारण नै अहिलेको युद्ध भएको हो ।

Ukrainian children practicing Buddhist meditation (Photo from Facebook)

युक्रेनका पुराना बौद्ध समुदायहरु मध्ये एक समुदाय कार्पाथिएन्सको किभोपिलियाको नजिकै दोनेत्स्कका आदिवासी थिए । नजिकैको डोनबासमा द्वन्द्व शुरु भएपछि उनीहरुलाई कार्पाथिएन्समा स्थानान्तरण गरे । त्यहाँका लामाहरुलाई नयाँ ठाउँमा जानु सजिलो थिएन ।

सन् १९९१मा दोनेत्स्क, खार्कोभ र लुगान्स्क आदि ठाउँमा तीनवटा दर्ता गरिएका बौद्ध समुदायहरुहरुको घर थिए । युक्रेन भरीमा यसबेला करिब १०० सम्म बौद्ध समुदायहरु छन् । त्यसमध्ये ३८वटा समुदायहरु औपचारिक रुपमा दर्ता गरिएका छन् ।

युक्रेनमा बुद्ध धर्मको प्रभाव मंगोलिया मूलका क्याल्मिकहरुबाट परेको हुनाँले यहाँको बुद्ध धर्म भनेको मुलतः तिब्बती बुद्ध धर्म नै हो । उनीहरु तान्त्रिक परम्पराको वज्रयान बुद्धधर्मलाई अबलम्बन गर्दछन् । यसमा पनि कर्मा काग्यू सम्प्रदायको विशेष प्रभाव छ ।

युक्रेनका बौद्ध समुदायहरुमध्ये सबैभन्दा ठुलो समुदाय कर्मा काग्यु समुदाय हो । यो भनेको तिब्बती काग्युपा निकायको शाखा हो ।

उनीहरु अखिल युक्रेनी कर्मा काग्यू बौद्धहरुको संगठन मार्फत संगठित पनि छन् । यसले गृहस्थहरुका लागि कार्यक्रमहरु बनाएर बुद्धशिक्षा दिन्छ । यस परम्परा अन्तर्गतको समुदायको अहिले युक्रेनको सबै क्षेत्रमा केन्द्रहरु छन् । यिनीहरुको छुट्टै बुद्धिज्म टुडे म्यनुवल नापक प्रकाशन समेत छ ।

वर्तमान युक्रेनमा रहेका बौद्ध केन्द्रहरु मध्ये क्यीभमा रहेको ड्रिकुङ काग्यु केन्द्र एक प्रमुख हो । सन् २००६मा दर्ता गरिएको यो केन्द्र गार्छेन रिम्पोचेको इच्छानुसार खोलिएको छ । संसार भरी नै विभिन्न देशहरुमा गार्छेन रिम्पोछेका केन्द्रहरु सञ्चालित छन् । गएको वर्षहरुमा गार्छेन रिम्पोछे लगायत यहाँ थुप्रै गुरुहरुले भ्रमण गरी प्रवचनहरु दिएर गएका छन् ।

युक्रेनमा निङमा सम्प्रदाय मान्ने बौद्धहरु पनि छन् । समुदाय तथा अभ्यासकर्ताको हिसाबमा यो यहाँको दोश्रो ठुलो बौद्ध सम्प्रदाय हो ।

यहाँ रिपा गेत्रुल जिग्मे रिम्पोछेको निर्देशन अनुसार केन्द्र खोलिएको छ र यहाँ जोङसार जाम्याङ खेन्चे रिम्पोछे लगायत अन्य गुरुहरु पनि आएका छन् । यसको पहिलो समुदाय सन् १९९३मा खोलिएको थियो जुन अखिल युक्रेन आध्यात्मिक प्रशासन बौद्ध गुम्बा संघ लुनजोन्पा अन्तरगत थियो । यसले गृहस्थहरु तथा गुम्बाहरुका लागि कार्यक्रमहरु संचालन गर्दछ । यस अन्तर्गत दोनेत्स्क प्रदेशमा ओल्ह्यान्का खोल्नेभस्क जिल्लामा बौद्ध गुम्बाको निर्माण गर्दैछ । युक्रेनमा व्यवस्थित किसिमले बुद्धधर्म अवलम्बन गर्न तथा औपचारिक रुपमा दर्ता हुने निङमा सम्प्रदाय नै हो । यहाँ लुनजोन्पाले दि लायन्स रोर नामक समाचार पत्र प्रकाशन गर्दछ । साथै यसको आफ्नै वेभसाइटहरु पनि छन् ।

त्यस्तै किसिमबाट युक्रेनमा अन्तर्राष्ट्रिय जोछेन समुदायका अभ्यासकर्ताहरु पनि छन् । युक्रेनमा जोछेन स्कुललाई तेश्रो ठुलो सम्प्रदाय मानिन्छ । चोग्याल नामखाइ नोर्बुको प्रयासमा पश्चिममा धेरै बौद्ध स्कुलहरुको विकास गरिएको छ । यसले पनि गृहस्थहरुका लागि धर्म शिक्षाका कार्यक्रमहरु चलाउँछ ।

त्यस्तै चोग्याम थ्रुन्पाद्वारा स्थापित शाम्बला केन्द्रका चारवटा शाखाहरु युक्रेनमा खोलिएका छन् । यस निकायका अभ्यासकर्ताहरु पनि युक्रेनमा बढ्दै गएको भनिन्छ ।
त्यस्तै क्यीभमै राङजुङ येशे केन्द्र खोलिएको छ र यसका अभ्यासकर्ताहरु युक्रेन भरी छन् । यस केन्द्रले चोकलिङ तेर्सार सम्प्रदायकालागि अभ्यास शिविरहरु चलाउँछ । सन् २०१२मा चोकि न्यीमा रिम्पोछे पनि त्यहाँ धर्म देशना लगायतका धार्मिक कार्यक्रमका लागि जानुभएको थियो ।

युक्रेनमा डाइमन्ड वे बुद्धिस्ट सेन्टरका शाखाहरु विभिन्न प्रान्त तथा शहरुहरुमा खोलिएका छन् ।

कोही युक्रिनियनहरु बुद्धधर्मको मार्शल आर्ट पक्षसँग प्रभावित छन् । उनीहरु मार्शल आर्ट गर्दै बुद्धधर्मको अभ्यास गर्छन् । यस लेखकले सन् २०१९को नोभेम्बरतिर केही युक्रेनियन बौद्धहरुलाई लुम्बिनीमा भेटेका थिए जो पवित्र बगैंचामा जीवनमा पहिलोपल्ट बुद्ध जन्मभूमि दर्शन गरेर त्यहाँ आफ्नो मार्शल आर्टको अभ्यास गर्दैै थिए । उनीहरुले यसका गुरुले क्याम्बोडिया जाँदा यस धर्म र कला सिकेर आएर युक्रेनमा सिकाउँदै गरेको बताएका थिए ।

Ukrainian Buddhists in Lumbini Nepal

यस बाहेक यो त्यो शाखा भनेर नखुलाइकन महायान बुद्धधर्मको अभ्यास गर्नेहरु छन् । अनि यहाँ थोरै संख्यामा भएपनि जेन बुद्धधर्मको अभ्यास गर्नेहरु, कोरियन जेन स्कुल अन्तर्गतको सोन स्कुल, जापानको निपोनजान मेहोजी संघ अन्तर्गतको निचिरेन शु बुद्ध धर्मको अभ्यास गर्नेहरु पनि छन् । निचिरेन बुद्धघर्मको सम्प्रदायले लुगान्स्कमा एउटा स्तपु बनाइरहेको छ । त्यसका साथै हाल सत्यनारायण गोयन्काको प्रशिक्षणमा आधारित विपस्सना ध्यानको केन्द्र समेत खोलिएको छ ।

सरसरी हेर्दा युक्रेनमा निम्न उद्देश्यप्राप्तिका लागि मानिहरुले बुद्धधर्मको अध्ययन तथा अभ्यास गर्ने गरेको पाइन्छ ।
क. नयाँ वा विचित्रको कुराहरुमा रुचि लाग्ने मानवीय स्वभाव । यिनीहरु मध्ये धेरै जना भने बुद्ध धर्मको अभ्यास गर्दा पालना गर्नुपने शील वा व्यक्तिगत आचरणका ल्याउनुपर्ने स्वाभावका कारण बुद्ध धर्म छोड्ने पनि हुन्छन् ।

ख. कोही कोहीले बुद्ध धर्मलाई पूर्वी मार्शल आर्टमा प्रवेश गर्नका लागि आवश्यक मानसिक तैयारीको अंशको रुपमा पनि लिने गरेको पाइन्छ । उनीहरु यसैका लागि भएपनि बुद्धधर्ममा गंभीर भएर लागेको देखिन्छ । यहाँ युवाहरुमा लडाकु समुहहरु बनेका छन् जसले बुद्धधर्मको अभ्यासलाई महत्व दिने गरेको छ ।

ग. केहीले व्यक्तिगत मनोवैज्ञानिक समस्याको समाधानको रुपमा, कसैको मनोवैज्ञानिक विषयमा प्रभाव पार्न बौद्ध मनोवैज्ञानिक प्रविधिमा रुचि भएको कारणले पनि बुद्धधर्मको अभ्या गर्ने गरेका छन् । युरोप तथा अमेरिकामा यस्तै हुने गरेकोबाट प्रभावित भएका छन् यिनीहरु ।

बाहिरबाट हेर्दा युक्रेनमा थोरै भएपनि बौद्धहरु छन् र अभ्यास गर्दैछन् अनि संगठित पनि छन् भनेको सुन्दा खुशी र गर्व लाग्छ । तर यथार्थमा त्यहाँ बुद्ध धर्म फैलनसक्ने आधार निकै कम छ । अझ त्यहाँको सरकार बौद्धहरु प्रति सकारात्मक छैन भन्ने समेत सुनिन्छ । अहिलेको अवस्थामा युक्रेन सरकारले सबै धर्मलाई समान व्यवहार गरिरहेको छैन । युक्रेनको संविधान र कानुनमा विवेक तथा धार्मिक संगठनहरुको स्वतन्त्रता दिएपनि राज्य संरचानाले सबै समान छन् तर कोही धेरै समान छन् भन्ने जस्तो बिडम्बनापूर्ण व्यवहार गरेको त्यहाँका बौद्धहरुले महशुस गरिरहेको अवस्था छ । उदाहरणको लागि त्यहाँको धार्मिक मामला सम्बन्धी राष्ट्रिय समितिले त्यहाँको एक मात्र बौद्ध स्कुल, बुद्धिस्ट एकेडेमी अफ युक्रेनको औपचारिक दर्ता गर्न अस्वीकार गरेको थियो । दोनेत्स्कस्थित शेन्चेन–लिन गुम्बाले गत ८ वर्ष देखि दर्ताको समस्या खेपिरहेको छ । त्यस्तै निपोनजान–मेहोजी समुदायलाई बौद्ध गुम्बा बनाउन दिइएन ।

युक्रेनको अपराध कानुनको दफा १६१ले कसैको धार्मिक विचारसँग सम्बन्धित भावनामा ठेस पुर्याउनुलाई अपराध भनेपनि कतिपय प्रकाशनहरुमा बुद्धधर्मलाई शैतानधर्म र बौद्धहरुलाई अतिवादी र आतंकवादी समेत भनिएको पाइन्छ । त्यसैले युक्रेनियन बौद्धहरु त्यहाँ सरकारको एउटा कानुन र गैर–परम्परागत धर्महरुको लागि अर्को अलिखित कानुन भएको महशुस गर्दछन् ।

सारांशमा भन्नुपर्दा युक्रेन आफ्नै धर्म संस्कृतिमा विविधता भएको देश भएपनि रसियाको अभिनायकवादी प्रवृतिले गर्दा र युक्रेनकै ठुलो देशको इशारामा राजनीति गर्ने नेताहरुको कारण आफै स्वतन्त्र हुन नसकिरहेको देश हो । यसैकारणले यसले निरन्तर रसियाको हप्कीदप्की र युद्धको त्रासदी भोग्न बाध्य छ । यो अवस्था धेरै किसिमबाट नेपालको वर्तमान राजनीति अवस्थासँग मिल्दोजुल्दो छ र यसैले पनि रुसको युद्ध नेपालको लागि एउटा पाठ हो भन्न सकिन्छ ।

Published in Anandabhoomi Buddhist Magazine 20220812

#buddhism #ukraine #peace #war #Nepal

--

--

Razen Manandhar

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.