विश्वमा कसरी मनाइन्छ बुद्ध जयन्ती ?

Razen Manandhar
16 min readMay 26, 2021

राजेन मानन्धर

संसारको इतिहासमा भगवान बुद्धको जन्म एउटा यस्तो एक अद्भुत संयोग थियो कि आज २५०० वर्ष पछाडि पनि मानिसहरु अचम्म छन् कि उनी एक जना व्यक्ति नै थियो र जसले संसारलाई यति धेरै कुरा दिएर गयो ? भनेर । बुद्ध नेपालमा जन्मेको भनेर उफ्रिने हामीले नेपालीहरुका लागि बुद्ध जयन्ती एउटा भासन गर्ने वा सुन्ने दिन, मन्त्री वा नेताको सँगसँगै जुलुस जाने दिन, बिदा मनाउने वा मासु खान पाइएन भनेर ठुस्स पर्ने दिन मात्र होला, तर विश्वका बौद्धजनहरुका लागि भने यो भगवानबुद्धले दिनुभएको अनुपम शिक्षाका लागि उहाँप्रति कृतज्ञता चढाउने, उहाँका शिक्षाबाट आफुलाई पुनर्ताजगी गर्ने अनि यसको प्रचारप्रसार गरेर संसारकै एक सानो अर्को कुनालाई लाभान्विन गरौं भनेर प्रतिज्ञा गर्ने पावन दिन हो । नेपालमा यस वर्ष २५६५औ बुद्ध जयन्ती २०७८ जेठ १२ अर्थात् २०२१ मे २६का दिन मनाइँदैछ ।

भगवान बुद्धको जन्म, बोधिज्ञान लाभ तथा महापरिनिर्वाण
भगवान बुद्धको जन्म कपिलवस्तु राज्यको राजपरिवारमा राजा सुद्धोधन महाराज र राजमाता मायादेवीको कोखबाट भएको थियो । उहाँको जन्म भने उहाँको राजकुल कपिलवस्तुबाट मावली देवदह जाने क्रममा लुम्बिनी उद्यानमा भएको थियो भनेर विभिन्न प्राचीन ग्रन्थहरुले उल्लेख गरेको पाइन्छ । अहिलेको विश्वमानचित्रमा कपिलवस्तुको राजप्रासाद तथा लुम्बिनी उद्यान दुबै नेपालभित्र पर्दछन् ।

जुन दिनलाई बुद्धजयन्ती भनेर मनाइन्छ त्यो बुद्धको जीवनको तीन प्रमुख घटनासँग सम्बन्धित छन् । कसैको जीवनमा एकै दिन परेर यस्ता घटना घटेको बिरलै देख्न वा सुन्न पाइन्छ तर बुद्धको जीवनीले यही भन्छ कि बैशाख पुर्णिमाका दिन बुद्धको जन्म, बोधिज्ञान लाभ तथा महापरिनिर्वाण भएको थियो ।

त्यसबेलाको परम्परा अनुसार यी घटनाक्रमहरु चन्द्रमासको समयतालिकाको नियम अनुसार अभिलेखीकरण गरिए र अहिले पनि यी महत्वपूर्ण दिनहरु यसै अनुसार नै मनाइने गरिन्छन् । यसलाई स्थानीय नेवार बौद्धहरुले पहिला यो फूल फुल्ने याम भएकोले होला स्वांया पुन्हि भनेर मनाउन थाले भने पछि राष्ट्रिय वा सरकारी स्तरबाट मनाउन थालिएदेखि बुद्धजयन्ती भन्ने शब्द बढी प्रचलनमा आयो । यद्यपि केही बौद्धहरु यसलाई जयन्ती नभनी पूर्णिमा नै भन्नु पर्छ भनेर पनि जोड दिन्छन् ।

बुद्धको जन्म कुन सालमा भयो भन्ने विषयमा केही इतिहासकारहरुमा मतभिन्नता पाइन्छन् । त्यस्तै बुद्धजयन्ती भनेर बुद्धको जन्म भएको साललाई स्मरण गर्ने कि परिनिर्वाण भएको साललाई भन्नेबारेपनि मतभिन्नताहरु सुनिनमा आउँछन् । अनि विभिन्न देशमा बुद्धको जन्म भएको दिन बारे नै परम्परागत धारणाहरु फरक छन् । फेरी कतै कतै त बोधिज्ञान लाभ र परिनिर्वाण भएको अरु नै दिनमा मनाउने पनि गरिन्छ ।

यी भिन्नताहरुलाई एकातिर पन्छाएर सन् २०००बाट संयुक्त राष्ट्र संघले नै बैशाख पूर्णिमाको दिनलाई यसको प्रधान कार्यालय लगायत सबै देशमा रहेका कार्यालयहरुमा मनाउने निर्णय गरे पश्चात् यस दिनले अन्तर्राष्ट्रिय अनि गैर बौद्ध जगतमा महत्व पाएको देखिन्छ । यसैकारण पनि यो दिन वा उत्सवलाई विभिन्न देशमा कसरी मनाइन्छ भन्ने एक विहंगम दृष्टिकोणको रुपमा सामान्य जानकारी नै लिनु जरुरी देखिन्छ ।

बुद्ध नेपालमा जन्मेको भएपनि अब उहाँ नेपालका मात्र हुनुहुन्न । जुन जुन देशमा बुद्धधर्म मानिन्छन् वा जसजसले बुद्धशिक्षा लिएर लाभान्वित भए, उनीहरु सबैमा बुद्धको अंश जान्छ, अथवा उनीहरुमा बुद्धको हक लाग्छ । यसै अर्थमा पनि उनीहरुले बुद्धको यस जयन्तीलाई मान्न पाउँछन् । यसै कारण त नेपाल लगायत जहाँ जहाँ बुद्धधर्मको प्रकाश छरिएको छ त्यहाँ त्यहाँ स्थानीय जनभावना, संस्कृति र परम्परामा सम्बन्धित भएर बुद्ध जयन्ती मनाइन्छ । यस लेखमा विश्वका विभिन्न देशमा बुद्ध जयन्ती कसरी मनाइन्छ भन्नेबारे संक्षेपमा जानकारी दिने प्रयास गरिन्छ ।

भारत
भारतमा बुद्धले बुद्धत्व प्राप्त गरेको र जीवनै बिताएको भनेपनि यहाँ पनि बुद्धधर्म समयकालसँगै विलुप्त नै भएर गएकोले बुद्ध जयन्ती मनाउने चलन बुद्धधर्मको पुनर्जागरणसँगै मात्र भएको देखिन्छ । यसलाई यहाँ बुद्ध जयन्ती, बुद्ध पूर्णिमा तथा बैशाख पूर्णिमा भनिन्छ ।

पहिले पहिले भारतमा बुद्ध जयन्ती कसरी मनाइन्थ्यो भन्ने अहिले पनि अनुसन्धानकै विषय भइरहेको छ । बुद्धजयन्तीको शुरुवात वर्तमानकालमा यहाँ डा. भीमराव अम्बेडकरले बुद्धधर्मको नयाँ लहर ल्याएपछि मात्र शुरु भएको प्रतित हुन्छ । डा. अम्बेडकरले सन् १९५६को अक्टोबर १४का दिन ६ लाख अपहेलित हिन्दुहरुलाई बुद्ध, धर्म र संघको शरणमा दीक्षा दिएपछि त्यहाँ लुप्त भएको बुद्धधर्मले पुनर्ताजगी पाएको थियो ।

अहिले बुद्धधर्मले पुनरुत्थान हुने मौका पाएका स्थानहरुमा बोधगया, सारनाथ एवं कुशीनगरमा अनि हाल बौद्धहरुको ठुलो जनसमुदाय भएको महाराष्ट्रका विभिन्न शहर तथा गाउँहरुमा बुद्ध जयन्ती मनाइन्छ ।

राजधानी दिल्लीमा मुख्यतः अन्तर्राष्ट्रिय बौद्ध महासभा तथा भारतीय संस्कृति मन्त्रालयको आयोजनामा एक समारोहको आयोजना गरिन्छ सरकार प्रमुख एवं भिक्षुहरु तथा अन्य सरकारी कर्मचारीहरुको उपस्थिति हुने गरिन्छ । अनि दिल्लीको तिबेत हाउसमा पनि कार्यक्रमको आयोजना गरिनछ । त्यसबाहेक दिल्लीमै एउटा बुद्ध जयन्ती पार्क छ, जहाँ यस दिन केही औपचारिक कार्यक्रम हुने गरिन्छ । त्यस्तै दिल्लीकै राष्ट्रिय संग्रहालयमा स्थित अस्थिधातु पनि सार्वजनिक प्रदर्शनका लागि राखिन्छ । त्यस्तै मुम्बइस्थित सुवर्ण प्यागोडामा पनि एकदिने विशाल विपस्सना ध्यान शिविर सञ्चालन गरिन्छ ।

ती सबै जसो ठाउँमा यसदिन बौद्ध भिक्षु एवं अनागारिकाहरु तथा उपासक उपासिकाहरु भेला भएर बुद्धपूजा गर्ने, जल, फूल वा फलफुल इत्यादि चढाउने, सूत्र पाठ एवं प्रवचनहरु दिने तथा दानप्रदानका कार्यक्रमहरु सञ्चालन गरिन्छन् । धेरै जसो ठाउँमा बिहान बुद्धप्रतिमा सहित रयालीहरु पनि आयोजना गरिन्छ । सन् २०१६ देखि भारतमा बुद्ध जयन्तीको सार्वजनिक बिदा दिएको देखिन्छ ।

यसबाहेक भारतमा बुद्ध जयन्ती विशेष गरी भारतका उत्तरी भेगमा, जहाँ हिमाली बुद्धधर्मको लामो समयदेखि प्रभाव रहिआएको छ, त्यहाँ मानिन्छ । यसमा सिक्किम, कालिम्पोङ, दार्जिलिङ, खर्साङ, तथा लद्दाख, अरुणाञ्चल प्रदेश आदिमा ठुलो लस्कर सहित मनाइन्छ (यद्यपि यस क्षेत्रमा एक महिनाभरी नै सागादावा भनेर अन्य किसिमबाट बुद्धको जन्म, बोधिज्ञानलाभ तथा परिनिर्वाणलाई मनाइन्छ ) ।

भुटान
नेपालको छिमेकी देश भुटान एक हिमाली बौद्ध देश हो । यहाँ बुद्ध धर्म राज्यद्वारा नै संरक्षित छ ।

यहाँ हिमाली परम्परा अनुसार एक महिना लामो सागादावालाई नै प्राथमिकता दिएर मनाइन्छ । यसलाई यहाँ दुइजाङ अर्थात् पवित्र समय भनिन्छ । यो समयावधिभित्र देशभरी नै कुनै अपवित्र काम हुन वा गर्न नदिन निर्देशन दिइएको हुन्छ र जनताहरु पनि गुम्बामा जाने, मर्मत सम्भार गर्ने तथा लामा गुरुहरुलाई दान प्रदान गर्ने, ब्रत बस्ने र अन्य सामाजिक पुण्यकार्यमा उनीहरु आफुलाई संलग्न गर्दछन् । कोही त यस समयामा गरिएको पुण्यले अन्य समयमा गरिएको भन्दा १ लाख गुणा बढी फल दिन्छ भनेर समेत भन्छन् ।

यसबाहेक यहाँ बुद्ध जयन्तीलाई पनि सार्वजनिक बिदा दिएर राज्य स्तरबाट मनाइने गरिन्छ । यस दिन पनि बौद्धहरु गुम्बामा धार्मिक कार्यक्रम गरेर तथा धर्मगुरुहरुबाट आशिर्वाद लिएर पुण्यसंचय गर्दछन् ।

श्रीलंका
श्री लंका दक्षिण एशियामै बढी बौद्ध जनसंख्या भएको देश हो जहाँ कुल जनसंख्याको ७० प्रतिशतभन्दा बढी जनताले बौद्ध धर्म मान्दछन् । यस हिसाबले पनि यहाँ बुद्धजयन्ती मनाउनेहरुको संख्या धेरै हुने भयो ।

बुद्ध जयन्तीलाई विश्वब्यापी बनाउने काम नै श्रीलंकाबाट भएको मान्न सकिन्छ । सन् १९५०मा श्रीलंकामा भएको वल्र्ड फेलोशिप अफ बुद्धिष्ट्सको पहिलो अधिवेशनले बैशाख पूर्णिमा वा वेशाकलाई बुद्धको जन्मजयन्तीको रुपमा मनाउने निर्णय गरेको थियो । यसले नेपालले गरेको निर्णयलाई अनुसरण गर्दै विश्वका सरकारहरुलाई यस दिनलाई बिदा दिएर मानवाताका अग्रनायकका रुपमा रहेका बुद्धलाई श्रद्धा चढाउनको लागि मनाउन अनुरोध गरिएको थियो ।

श्रीलंकालीहरु बुद्ध संवत्लाई निकै श्रद्धाका साथ अंगिकार गर्छन् । सबैजसो ठाउँमा बुद्ध जयन्ती चन्द्रमासको आधारमा बैशाख पूर्णिमाको दिन मनाइन्छ र यसलाई यहाँ बेशाक वा बैशाख भनिन्छ । तथापि यो उत्सवमा हप्ता भरी नै विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छ । एक हप्तासम्म यहाँ मासु तथा मद्यपदार्थको बिक्री वितरणमा रोक लगाइएको हुन्छ । यसबेला अन्य धर्मावलम्बीहरु पनि खुशीसाथ यस्ता कार्यक्रमहरुमा सरिक हुन्छन् ।

यहाँ नेपाल र भारतमा तिहारको बेलामा घर तथा बजारलाई सजाएजस्तै उनीहरु यसदिन आफ्नो ठाउँ फूल तथा बत्तीले सजाउँछन् । बाटोबाटोमा झिलिमिली बत्ती भएका कलात्मक ढोकाहरु बनाइन्छन् जसलाई पन्डाल वा थोरण भनिन्छ । यस्ता पन्डालहरुमा बुद्धजीवनी एवं जातककथासँग सम्बन्धित चित्रहरु पनि सजाइएका हुन्छन् । त्यस्तै कागज काटेर विभिन्न आकारका बत्ती (कुडू)बनाएर पनि लहर बनाइ झुण्ड्याउँछन् । अझ साँझको समयमा स्थानीय पोखरी तथा नदीहरुमा समेत बल्दै गरेको बत्ती बगाउने चलन पनि त्यहाँ छ । यस्तो दृष्य एकदम सुन्दर र उल्लासमय हुने गर्दछ ।

यस दिन उनीहरु आफ्नो टोल वा शहरको बौद्ध मन्दिर वा विहारमा भेला भएर सामुहिक, शील ग्रहण गरेर, बुद्ध पूजा गरेर, धुप बत्ती बालेर, भिक्षुहरुबाट प्रवचन सुनेर दानप्रदान गरेर मनाउँछन् । बेलुका दीपयात्रा गर्नु पनि त्यहाँको बुद्धजयन्तीको एक अभिन्न कार्यक्रम हो । उपासक उपासिकाहरुले सार्वजनिक ठाउँमा दानशाला बनाएर भिक्षुहरु मात्र होइन, सर्बसाधारणलाई पनि खाद्य एवं पेय पदार्थ र अन्य विभिन्न बस्तुहरु दान दिने गरिन्छ । त्यस्तै यहाँको ज्ञानमाला भजन भनेजस्तै आफ्नै भाषामा भक्ति गीत गाएर पनि हर्षउल्लास प्रकट गर्छन् । यसप्रकार श्रीलंका भरी नै एक हप्ता नै उल्लासमय वातावरण देख्न सकिन्छ ।

बंगलादेश
बंगलादेश मुश्लिमहरुको बाहुल्य भएको एक देश हो जहाँ सानो समुदायले अहिले पनि बुद्धधर्म नै अबलम्वन गर्दै आएको छ ।

यसलाई यहाँ बुद्धो पूर्णिमा तथा बुद्धो जोयोन्ती भनिन्छ र यो यहाँका अल्पसंख्यक (०.६ प्रतिशत) बौद्धहरुका लागि यो एक महत्वपूर्ण चाड हो । विशेष गरेर बौद्धहरुको समुदाय रहेको ढाका तथा चटगाँवमा उनीहरुले पूर्णिमाको अघिल्लो दिन आफ्ना टोलमा रहेका बौद्ध मन्दिर वा विहारहरुलाई बुद्ध सिंगार्छन् । यस दिनलाई यहाँ पनि सार्वजनिक बिदा दिइएको छ ।

बिहान राज्यस्तरमा बुद्धपूर्णिमाको धार्मिक कार्यक्रम शुरुहुन्छ जहाँ सरकारका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिहरु पनि उपस्थित हुन्छन् । हाल मुस्लिमहरुको वर्चश्व भएको देशमा धार्मिक समन्वय गर्नु पनि बंगलादेशमा चुनौतिकै रुपमा अघि सरेको छ ।

त्यहाँ दिनभरी मन्दिर क्षेत्र वरिपरी मेला जस्तै लाग्छ र उपासक उपासिकाहरु मन्दिरहरुको भ्रमण तथा दानप्रदान गर्दछन् । त्यहाँ भिक्षुहरुले गृहस्थहरुलाई शीलको महत्व तथा बौद्ध दर्शनका बारेमा धर्मदेशना दिन्छन् । सडक तथा खुल्ला ठाउँमा हुने यस्ता मेलामा विशेष गरी बंगाली खाना, लुगाफाटा तथा बच्चाहरुको लागि खेलौनाको बेचबिखन दिनभरी नै हुन्छ । त्यस्तै बुद्धको जीवन झल्काउने कलात्मक प्रस्तुतीहरु पनि हुन्छन् ।

म्यानमार
भारतसँगै जोडिएको म्यानमार दक्षिणपूर्वी एशियाको एक प्रमुख बौद्ध देश हो । यहाँका करिब ९० प्रतिशत जनताले बुद्धधर्म मान्दछन् ।

यहाँ बैशाख पूर्णिमालाई नै बुद्ध जयन्तीका रुपमा मान्दछन् र यसलाई कासोन पूर्णिमा भनिन्छ । यस दिनमा यहाँ सार्बजनिक बिदा दिइएको छ । यो म्यानमारको परम्परागत क्यालेन्डर अनुसार दोश्रो महिना हो ।

यस दिन यहाँ बिहानैदेखि मानिसहरु विहारहरुमा गएर सफा सुग्घर गरी, बुद्धपूजा गरी, शील लिएर, ध्यान बसेर मनाउँछन् । अनि भिक्षुहरुलाई दान दिने विशेष कार्यक्रम हुन्छ । त्यस्तै यस दिनमा माछा तथा चरा एवं जनावरहरुलाई खाना खुवाउनुलाई पनि पुण्यकार्यको रुपमा लिइन्छ ।

म्यानमारमा बुद्ध जयन्ती मनाउने विशेषता भनेको बोधिवृक्षमा पानी हाल्नु हो । यस दिनलाई नै न्याउङ्ग्ये थुन वा बोधिवृक्षमा पानी हाल्ने चाडको रुपमा सम्बोधन गरिएको छ । यस दिन उपासक उपासिकाहरु माटोको भाँडोमा बास्ना आउने पानी लिएर विहारहरुमा जान्छन् र त्यहाँ भएका बोधिवृक्षहरुमा पानी चढाउँछन् । भगवान बुद्धले बोधिवृक्ष मुनि बसेर नै बोधिज्ञान लाभ गर्नुभएकोले बौद्धहरु बोधिवृक्षलाई विशेष श्रद्धा गर्छन् । बैशाख पूर्णिमासम्म प्रायः मनसुनी वर्षा शुरु भएको हुँदैन र यस सुख्खा याममा रुखहरुलाई पानीको धेरै आवश्यकता हुन्छ । यसै रितीका कारण पनि बोधिवृक्षहरु सुख्खा याममा मर्नबाट बच्छन् ।

यसबाहेक यस दिनमा विभिन्न विहार वा मन्दिर प्रांगणमा नृत्य र संगीतको समेत कार्यक्रम आयोजना गरिन्छ जहाँ बौद्धहरुको विशाल समुदायले भाग लिन गर्दछन् ।

थाइल्याण्ड
दक्षिणपूर्वी एशियामा अवस्थित अर्को बौद्ध देश थाइल्याण्डमा पनि बुद्ध जयन्तीलाई धुमधामका साथ मनाइन्छ । यहाँका ९५ प्रतिशत जनता बौद्ध छन् ।

यसदिनलाई यहाँ विशाखा पूजा वा भनिन्छ र यो यहाँको एक सार्वजनिक बिदाको दिन हो । यहाँको मुख्य बुद्ध जयन्ती समारोहमा यहाँका राजा नै सरिक भएर नेतृत्व दिन्छन् । यस दिन बौद्ध उपासक उपासिकाहरु स्थानीय बुद्धको मन्दिर वा विहारमा भेला हुन्छन् र दिनभरी हुने विभिन्न धार्मिक एवं साँस्कृतिक कार्यक्रममा सरिक हुन्छन् । उनीहरु बिहानै आफुलाई पायक पर्ने विहारमा जान्छन्, त्यहाँ बुद्धपूजा गरेर, सूत्र पाठ गरेर, बौद्धगुरुहरुको प्रवचन सुनेर तथा भिक्षुहरुलाई यथाशक्य दानदक्षिणा दिएर पुण्यलाभ गर्छन् ।

त्यहाँ विहारहरुले पनि आजका दिनमा ठुल्ठुला धार्मिक सभाहरु आयोजना गर्छन् र राज्यका प्रतिनिधिहरुलाई अतिथिका रुपमा निमन्त्रणा गर्छन् । यस्ता सभाहरुमा उपासक उपासिकाहरुको ठुलो भीड लाग्ने गर्दछ ।

लाओस
थाइल्याण्डसँगै जोडिएको लाओस दक्षिण पूर्वी एशियामा रहेको अर्को बौद्ध देश हो । यहाँ बुद्ध जयन्तीलाई विछाखा बौछा भनिन्छ र यहाँको बुद्ध जयन्ती मान्ने तरिका धेरै किसिमले थाइल्याण्डको परम्परासँग मिल्छ ।

उनीहरुले यसदिनलाई भगवान बुद्धको जन्म भएको, बोधिज्ञान लाग गर्नुभएको तथा परिनिर्वाण हुनुभएको दिनको रुपमा मनाउँछन् ।

यस दिन उनीहरु बौद्ध मन्दिर एवं विहारहरुमा गएर सफा सुग्घर गरी, पूजाआजा गरी, सूत्र पाठ गरी, भिक्षुहरु एव गरिब गुरुवाहरुलाई दानप्रदान गरेर मनाउँछन् । यस दिन यहाँ मन्दिरहरुले ध्यान शिविरहरु आयोजना गर्ने गर्दछन् । यसबाहेक सामान्य जन समुदाय पनि यस दिननृत्यहरु, परेडहरु, रयालीहरु, नाटक एवं पुतली नृत्यआदि जस्ता मजोरञ्जक कार्यक्रमहरु गरेर दिन बिताउँछन् ।

थाइल्याण्ड तथा लाओस्का बिचमा मेखोङ नदी बग्दछ । देश फरक भएपनि यी दुइ देशको संस्कृतिमा केही समानताहरु पाइन्छन् । बैशाख पूर्णिमा यी मनसूनमा आधारित वर्षा हुने देशहरुका लागि सुख्खा मौसममा पर्दछ । यसैले होला यी नदी किनारमा बस्ने समुदायले यस समयमा घरमा बनाइएको रकेटहरु आकाशमा छोड्छन् । त्यसैले उनीहरु बुद्धपूर्णिमालाई बोन बाङ फे अर्थात् रकेट फेस्टिभल पनि भन्दछन् । उनीहरु यस्तो गरेमा चाँडै बर्षा हुन्छ भन्ने विश्वास गर्छन् ।

परम्परागत रुपमा त भिक्षुहरुले नै बाँसमा बारुद भरेर रकेट बनाउने गर्दथे । अब यस्ता रकेटहरुको प्रतिस्पर्धा नै हुने गर्दछ मेखोङ नदीको दुबै किनारामा । यो पनि थाइल्याण्ड तथा लाओस्को बुद्ध जयन्तीको एक महत्वपूर्ण अङ्ग भएको छ ।

क्याम्बोडिया
क्याम्बोडियामा पनि बौद्धहरुको उल्लेख्य जनसंख्या छ । यहाँका ९७ प्रतिशत जनताले बुद्धधर्म अँगाल्छन् । यहाँ पनि बुद्धको जन्म जयन्तीलाई धुमधाससँग मनाइन्छ । त्यहाँ यस दिनलाई यहाँको खमेर भाषामा विसाक बोच्या भनिन्छ र दिन भरी विभिन्न धार्मिक कार्यक्रमहरु आयोजना गर्ने गरिन्छ । यहाँ पनि यस दिनमा सार्बजनिक बिदा दिइएको छ ।

यस दिन यहाँ बौद्ध रयाली निकालिन्छ जसमा भिक्षुहरु र उपासक उपासिकाहरु बौद्ध झण्डा, कमलको फूल, धूप तथा मैनबत्ती लिएर नगर परिक्रमा गर्दछन् । यस्ता रयालीहरुको आयोजना स्थानीय विहारहरुले गरेका हुन्छन् । उपासक उपासिकाहरु यसदिन विहारमा जम्मा भएर त्यहाँ आयोजना गरिएका धार्मिक समारोहहरुमा सरिक हुन्छन् र भिक्षु एवं अन्यहरुलाई दान प्रदान गरेर पुण्यसंचय गर्छन् ।

भियतनाम
भियतनाम दक्षिणपूर्वी एशियामा अवस्थित एक बौद्ध देश हो जहाँ महायानी बुद्धधर्मको बाहुल्यता छ । अहिले यहाँका धेरै मानिसहरुले धर्म मान्न छोडेको छ भने सबैभन्दा धेरै धार्मिक जनसंख्या बौद्धहरुको छ ।

यहाँ महायनी तथा थेरवादीहरु भएको कारणले यहाँको बुद्ध जयन्ती मनाउने तरिकामा केही विविधता पाइन्छ । तर विभिन्न तरिकाले देश भरी नै यो महत्वपूर्ण चाडलाई त्यहाँका सबै बौद्धहरुले श्रद्धा र उल्लासका साथ मनाउँछन् । यसदिन यहाँ पनि विभिन्न बौद्ध मन्दिरहरुले उपासक उपासिकाहरुका निमित्त विभिन्न धार्मिक कार्यक्रमहरु आयोजना गरेर आकर्षण गर्दछन् । त्यस्तै त्यहाँका प्यागोडाहरुलाई पनि विभिन्न सजावटका सामाग्री प्रयोग गरेर सिंगारिन्छ ।

भियतनाममा राजनीतिक उथलपुथल हुनु अगाडि, सन् १९७५सम्म दक्षिण भियतनाममा मात्र यहाँको चन्द्रमासको क्यालेण्डर अनुसार चौथो महिनाको आठौं दिन ले फत दान भनेर बुद्धको जन्म जयन्ती मनाइन्थ्यो । यसबेला यसदिन सार्बजनिक बिदा हुन्थ्यो, बाटो भरी धार्मिक परिक्रमाहरु गरिन्थ्यो र पानीमा बत्ती बगाउने तथा झल्लर बनाएर बत्ती झुण्ड्याउने पनि चलन थियो । त्यसबेला मानिसहरु बुद्धको गुणलाई सम्झेर लाल्टिन बत्ती बोकेर पदयात्रा गर्दथे ।

सन् १९७५मा त्यहाँ राजनीति परिवर्तन भयो । त्यस पछि नयाँ राजनीतिक व्यवस्थाले यसलाई सार्बजनिक बिदा दिइएन । र धार्मिक कार्यक्रमहरुको महत्व पनि घट्यो ।

पछि सन् २००० पछि, यहाँको कम्युनिष्ट व्यवस्थामाथि यहाँ रहेका क्रिश्चियन अल्पमतको समुदायले धर्मिक अत्याचार गरे भन्ने लान्छना लगाउला भनेर यस दिनलाई देशै भरी मनाउने व्यवस्था गरियो । अहिले यहाँको भियतनामी बौद्ध संघले भव्य रुपमै मनाउने गर्दछ र विभिन्न देशबाट अन्तर्राष्ट्रिय अतिथिहरुलाई समेत निमन्त्रणा गर्ने गरिन्छ । यस्ता कार्यक्रमहरु यहाँ सन् २००८, २०१४ र २०१९मा आयोजना गरिएको स्मरणीय छ ।

यहाँ बुद्धको जन्म जयन्ती मनाउने दिनको चयन भने फरक ढंगबाट गरिन्छ । यहाँको क्यालेण्डरको आधारमा यहाँको बुद्ध जयन्ती कहिले थेरवादीहरुको जस्तो बुद्ध पूर्णिमाको नजिक पर्छ भने कहिले एक महिनासम्म पछि पर्न सक्छ ।

यस दिन हानोइ, होचिमिन लगायतका शहरहरुमा सिंगार पटार गरिन्छ । यसदिन साँझ खोला तथा पोखरीमा कमलको फूल आकारको बत्ती बगाउने पनि चलन छ । मन्दिरहरु र प्यागोडाहरुमा भिक्षुहरुले प्रवचन दिन्छन् र सबैको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्छन् । बौद्धहरु कमलको फूल अथवा यस्तो आकारको बत्तीले घर सजाउँछन् । उनीहरु मन्दिरमा धुप र बत्ती बाल्छन् र फलफूल तथा खानेकुरा पनि चढाउँछन् ।

मलेशिया
मलेशिया दक्षिणपूर्वी एशियामा अवस्थित एक बहुधार्मिक देश हो । यहाँ बौद्धहरु लगभग २० प्रतिशत मात्र भएपनि बुद्ध जयन्तीलाई राष्ट्रिय सार्वजनिक बिदा दिएर सम्मानसाथ मनाइन्छ । यसलाई यहाँ वेसाक भनिन्छ ।

यस दिन यहाँका बौद्धहरुले बौद्ध मन्दिर अथवा विहारमा गएर बुद्धपूजा गरी मनाउँछन् । यसदिन उनीहरु बिहानै विहारमा जान्छन् र भिक्षुहरुको निर्देशनमा अष्टशील लिएर भगवान बुद्धको जन्म, बोधिज्ञान लाभ तथा परिनिर्वाण भएको दिन स्मरण गर्छन् । साथै भगवानबुद्धको प्रतिमामा फूल, खाद्य पदार्थ तथा धुप तथा बत्ती पनि अर्पण गर्दछन् । उनीहरु भिक्षुहरुका साथसाथमा सूत्रहरु पाठ गर्छन् र प्रार्थना सभामा भाग लिन्छन् । यस बाहेक यसदिन विहारहरुमा ध्यान शिविरहरु पनि सञ्चालन हुन्छन् ।
साँझको बेलामा धेरै विहारहरुमा मैनवत्ती सहित नगर परिक्रममा गर्ने कार्यक्रमहरु पनि राखिएका हुन्छन् । यसबाहेक यस दिनमा बौद्धहरु भिक्षुहरुलाई, गरिबहरुलाई दान दिएर तथा पिंजडामा रहेका जनावरहरुलाई मुक्ति दिएर पनि पुण्य कार्य गर्छन् ।

टाइवान
दक्षिणपूर्वी एशियामा रहेको टापू टाइवान सानो भएपनि यहाँ बौद्धहरुको संख्या धेरै (३५ प्रतिशत) छ र यहाँ सँधै जस्तो अन्तर्राष्ट्रिय बौद्ध कार्यक्रमहरु भइरहन्छन् ।

यहाँ बुद्धको जन्म जयन्तीलाई राष्ट्रिय बिदाको रुपमा मानिएको छ । यसदिन दिनभरी नै यहाँका साना ठुला बौद्ध मन्दिरहरुको विभिन्न किसिमका धार्मिक कार्यक्रमहरु सञ्चालन गरिन्छन् । यहाँका बौद्ध उपासकहरुको यस दिन बिहान सिद्धार्थ प्रतिमामाथि बास्नासहितको पानी खन्याएर बुद्धको गुणस्मरण गर्दछन् र नयाँ दिनको शुरुवात गर्दछन् । यसरी पानी खन्याउनुलाई यहाँबा बौद्धहरु जीवनमा नयाँ शुरुवात गर्नेको प्रतीकको रुपमा लिन्छन् ।

यस वर्षको बुद्धजयन्तीको कार्यक्रममा १ हजार भिक्षुहरु सहित १लाख ३०हजार बौद्धहरुले भाग लिने भनिएको छ । तर यस पर्वलाई यहाँ सार्वजनिक बिदा भने दिइएको छैन ।

सिंगापुर
दक्षिणपूर्व एशियाको सानो तर सम्पन्न देश सिंगापुर एउटा बहुधार्मिक देश हो । यहाँका बौद्ध समुदायहरु स्वतन्त्र भएर बुद्धको जन्म जयन्ती मनाउने वातावरण यहाँ छ ।

यहाँ पनि बुद्धको जन्म जयन्तीलाई वेसाक वा वेसाक दिवसको रुपमा मनाइन्छ । यस दिन यहाँ सार्वजनिक बिदा दिइएको हुन्छ । यस दिन यहाँका बौद्ध मन्दिरहरुहरुले विभिन्न धार्मिक कार्यक्रमहरु आयोजना गर्ने गर्छ र मन्दिरहरुलाई बौद्ध झण्डा लगयात विभिन्न बौद्ध प्रतिकात्मक बस्तुहरु राखेर श्रृङ्गार गरिएको हुन्छ ।

ठुलो संख्यामा उपासक उपासिकाहरु ती मन्दिरहरुको कार्यक्रममा सरिक हुन्छन् । उनीहरु यहाँ बुद्ध प्रतिमा अगाडि बसेर पूजा, पाठ र प्रार्थना गर्नुका साथै यहाँका बौद्ध भिक्षुहरुलाई दान प्रदान समेत गरेर पुण्य संचय गर्छन् र बुद्धशिक्षाप्रति श्रद्धा प्रकट गर्छन् ।

इण्डोनेशिया

दक्षिणपूर्वको देश इण्डोनेशिया त्यहाँका बौद्ध सम्पदाहरुको कारणले विश्व प्रशिद्ध छ तर अहिले त्यहाँ पनि बौद्धहरु अल्पसंख्यामा मात्र छन् । मुस्लिमहरुको बाहुल्यता भएको यो देशमा बुद्धधर्म लुप्त भएर गएको भएतापनि त्यहाँ अहिले बौद्धरु संगठित छन् र बौद्ध संगठनहरुले उल्लेखनीय प्रयास गरिरहेको छ ।

इण्डोनेशियामा वैसाक अर्थात् बुद्धको जन्म जयन्तीलाई सार्वजनिक बिदा दिइएको छ । विशेष गरी यहाँको विश्वकै सबैभन्दा ठुलो भनिएको चैत्य बोदोबुदुरमा विशाल बौद्ध कार्यक्रमको आयोजना गरिन्छ र बौद्धहरुले भगवान बुद्धको गुणस्मरण यहाँका भिक्षुहरुको निर्देशनमा विभिन्न धार्मिक कार्य गरेर गर्ने गर्छन् । यस दिन राती आकाशमा बत्ती उडाउने चलन यहाँ पनि छ ।

चीन
चीन मध्य एशियाको एक विशाल देश हो । विश्वकै सबैभन्दा धेरै बौद्धहरुको जनसंख्या (२४४ मिलियन) भएको यो देशमा राजनीतिक परिवर्तनहरुले गर्दा धर्मलाई कम महत्व दिइन्छ तर पनि यहाँका बौद्धहरुले अहिलेको वातावरणमा निर्धक्कसँग बुद्धको जन्म जयन्ती मनाउन सक्छन् । विशाल देश र विभिन्न संस्कृति एवं बुद्धधर्मका विभिन्न निकायलाई अवलम्बन गर्ने विविधतायुक्त भएको देश भएकोले यहाँ बुद्धजयन्ती मनाउने प्रक्रिया र परमपरामा पनि विविधता पाइन्छ ।

चीनका मुख्य शहरहरुमा बौद्ध उपासक उपासिकाहरु बौद्ध मन्दिर गएर त्यसको सजावट गर्छन् । भिक्षुहरुको निर्देशनमा रही शरणगमन, शीलग्रहण तथा बौद्ध सूत्रहरुको पाठ गर्छन् । यस दिन उनीहरु बुद्धप्रतिमा अगाडि धुप बाल्छन् र भिक्षुहरुलाई दानप्रदान गरेर पुण्य संचय गर्छन् ।

हङकङमा बुद्ध जयन्तीलाई सार्वजनिक बिदा घोषणा गरिएको छ । यहाँ बुद्ध जयन्तीलाई फोदान भनिन्छ । यहाँका बौद्धहरु सिद्धार्थको प्रतिमालाई पानीले नुहाएर भगवानबुद्धलाई यहाँ जन्म लिनुभएकोमा कृतज्ञता व्यक्त गर्छन्, जसलाई युफोजी भनेर भनिन्छ । साथै उनीहरु लालटिन बत्ती सहित परिक्रमा पनि गर्छन् । उनीहरुले लालटिन बत्तीलाई भगवानबुद्धको बोधिज्ञानको प्रतीकको रुपमा ब्याख्या गर्ने गर्दछन् । यसरी नै चीन अन्तर्गतको अर्को टापु मकाउमा पनि यस दिनलाई सार्बजनिक बिदा दिइएको छ ।

तिब्बतमा हिमाली बुद्ध धर्मको बाहुल्यता भएकोले यहाँ सागादावाको चलन अनुसार एक महिनासम्म विभिन्न धार्मिक कार्यक्रम गरी भगवान बुद्धको जन्म, बोधिज्ञान लाभ तथा परिनिर्वाणलाई स्मरण गर्ने गरिन्छ ।

मंगोलिया

मध्यएशियामा रहेको भूपरिवेष्ठित देश मंगोलिया प्राचीन कालदेखि नै बौद्ध देश हो । यहाँ भगवान बुद्धको जन्म जयन्तीलाई इख डुइचेन भनेर भनिन्छ र यो मंगोलियको चन्द्रमासको क्यालेण्डरका अनुसार निर्धारित गरिन्छ । त्यसकारण यो पूर्वी एशियाली देशहरु जस्तो नभएर दक्षिण तथा दक्षिण एशियाली देशहरुले मनाउने दिनमा मनाइन्छ । यसबाहेक यहाँ भुटानी क्यालेन्डर अनुसार चौथो महिनाको १५औं दिनलाई परिनिर्वाण दिवस अर्थात् डुचेन ङाजोम भनेर मनाइन्छ ।

बौद्धहरुले परम्परागत रुपमा धुमधामले मनाइने यस धार्मिक दिवसलाइ सन् २०१९देखि सार्वजनिक बिदा घोषणा गरिएको छ । यसदिन यहाँका करिब २०० बौद्ध मन्दिरहरु तथा लगभग ५०० जति भिक्षु भिक्षुणी सहितको संघले बौद्धहरुका लागि विभिन्न कार्यक्रमहरु गर्दछन् । बुद्धधर्मको लामो इतिहास भएको मंगोलियामा अहिले ५३ प्रतिशत बौद्ध छन् ।

उत्तर कोरिया
राजनीतिक व्यवस्थाका कारणले बाहिरी विश्वसँग कम मात्र खुलेको देश उत्तर कोरियामा पनि बुद्ध जयन्तीलाई मनाइने गरिन्छ । त्यहाँको संविधानले जनतालाई धार्मिक स्वतन्त्रता दिइएको बताइएको छ ।

बुद्धको जन्म जयन्तीलाई यहाँ छोफाइल भनिन्छ र यो कुन दिन मनाउने भन्ने कुरा यहाँको क्याबिनेटले यसको केही दिन अगाडि निर्णय गर्नुपर्छ । कोरियाली संस्कृतिमा बुद्ध जयन्ती एक राष्ट्रिय चाड हो । त्यसैले राजनीतिक तवरले उत्तर कोरिया र दक्षिण कोरिया भनेर विभाजित हुनु अगाडि देखि नै यहाँ बुद्धको जन्म जयन्ती मनाउने चलन थियो र सोही अनुरुप यहाँको बौद्ध समुदायले अहिले पनि श्रद्धासहित विभिन्न कार्यक्रमहरु आयोजन गरेर बुद्ध जयन्ती मनाउने गर्दछन् भन्ने जानकारी उत्तर कोरिया सम्बद्ध संस्थाहरुले दिएको पाइन्छ ।

अर्कोतर्फ दक्षिण कोरिया लगायतका सञ्चार माध्यमले भने उत्तर कोरियामा धार्मिक स्वतन्त्रता नभएको तथा त्यहाँको सरकारले कुनै पनि किसिमको धार्मिक गतिविधिमा रोक लगाएको जानकारी दिने गरेको छ ।

दक्षिण कोरिया
दक्षिण कोरियामा आफ्नै कोरियन चन्द्रमासको क्यालेण्डरको आधारमा बुद्धको जन्म जयन्ती मनाइन्छ । यहाँ यस दिनलाई बुछनिम ओसिन नाल भनिन्छ र यो राष्ट्रिय बिदाको दिन हो ।

यसदिन बौद्ध मन्दिरहरुमा धार्मिक सभाहरु आयोजना गरिन्छन् र बौद्ध भिक्षु तथा भिक्षुणीहरु दिनभरी नै विभिन्न धार्मिक कार्यमा व्यस्त रहन्छन् । बौद्ध उपासक उपासिकाहरु बौद्ध मन्दिरमा गएर प्रार्थना सभामा सामेल हुन्छन् र भिक्षु भिक्षुणीहरुको निर्देशन अनुसार शील ग्रहण गर्ने र धार्मिक प्रवचन सुन्ने काम गर्दछन् । यस दिन मन्दिरहरुका उपासक उपासिकाहरुका लागि अथवा उनीहरुले निशुल्क खानाको व्यवस्था गरिएको हुन्छ ।

कमलको फूल आकारको लालटिन बत्ती बालेर मन्दिरमा तथा आफ्नो घरमा समेत झुण्ड्याउने कोरियाली बौद्धहरुको पुरानो परम्परा हो ।

अहिले यहाँको बुद्ध जयन्तीलाई यहाँका बौद्ध तथा अन्यले पनि हर्षउल्लासका साथ मनाउने गरिआएको पाइन्छ । यो अहिले कोरियाका सबैभन्दा ठुला साँस्कृतिक पर्वहरु मध्ये एक भएको छ ।

जापान
पूर्वी एशियाको एक आधुनिक सम्पन्न देश जापानमा बुद्धधर्म धेरै अगाडि पुगेको थियो र यो धर्म देशकै परिचय बन्यो हजारौं वर्षदेखि । यहाँका जनता मध्ये ६७ प्रतिशत जनताले अहिले पनि बुद्धधर्मका विभिन्न निकायहरुको अवलम्बन गर्छन् ।

यहाँ जापानमा आफ्नै किसिमले भगवान बुद्धको जन्म जयन्ती मनाइन्छ । यहाँ यस पवित्र दिनलाई कानबुचुए वा हानामात्सुरी भनिन्छ जसको अर्थ फूलको पर्व भन्ने लाग्छ (संयोग नै भन्नुपर्छ नेपालको नेवार समुदायले पनि यसलाई फूलको पुर्णिमा भनेर मान्छन्) । यस दिनलाई गोतानए, बुस्शोए, योकुबुत्सुए, रयुगेए र हानाएशिकि पनि भनिन्छ ।

अहिले सामान्यतयाः जापानमा बौद्ध क्यालेण्डर अनुसार बुद्ध जयन्ती अप्रिल ८का दिन पारेर मनाइन्छ । ओकिनावा जस्ता कुनै कुनै ठाउँमा मात्र चन्द्रमासको चौथो महिनाको आठौं दिनमा बुद्ध जयन्ती मनाइन्छ ।

यस दिन आमाचा अर्थात् हिद्राङगिया सेराता भनिने फुलबाट तयार पारिएको चियाले बुद्धको टाउको नुहाइदिएर बुद्धप्रति श्रद्धा चढाइन्छ । यसरी बुद्धको प्रतिमालाई नुहाइदिने प्रथा चीनबाट आएको र सन् ६०६ देखि चलिआएको भन्ने गरिन्छ । उनीहरु बुद्धको जन्म हुँदा नौवटा ड्रागनले उहाँको टाउकोमा अमृत खन्याइदिएका थिए भन्ने गर्छन् र यसकै प्रतिकस्वरुप यो चलन चलेको थियो ।

यसदिन बुद्ध मन्दिर तथा विहारहरुमा धार्मिक कार्यक्रमहरु सञ्चालन गरिन्छन् । ती कार्यक्रमहरु भिक्षु तथा भिक्षुणीहरुद्वारा निर्देशित हुन्छन् भने ठुलो संख्यामा उपासक उपासिकाहरुको जमघट हुन्छ । तर यो यहाँ राष्ट्रिय बिदा भने होइन ।

यस्तै किसिमले हाल बुद्धधर्मको विश्वब्यापी प्रचार हुँदै गएपछि एशिया भन्दा बाहिरका देशहरुमा पनि बुद्धको जीवनीबारे चर्चा हुन थाल्यो, बुद्धको जीवनीसँग सम्बन्धित दिनहरुको महत्व बुझ्न थाल्यो अनि त्यहाँ पनि बौद्ध चाडपर्व मनाउन त्यहाँका बौद्ध संस्था, संघहरु वा विहारहरु सक्रिय हुन थाले । यसैको फलस्वरुप अहिले आएर संयुक्त राज्य अमेरिका, ब्रिटेन, फ्रान्स, जर्मनी, क्यानाडा, ब्राजिल, अष्ट्रेलिया आदि देशमा पनि विभिन्न कार्यक्रम गरी बुद्धको गुणस्मरण गरेका समाचारहरु पढ्नमा पाइन्छन् । स्थानाभावले ती देशका गतिविधिहरु यस लेखमा सम्मिलित गर्न सकिएन ।

फोटोहरु विभिन्न वेभसाइटबाट संकलन गरिएका हुन् ।

--

--

Razen Manandhar

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.